विकासन्युज

नोरफ्रोस्ट डिप फ्रिजर अब नेपाली बजारमा

काठमाडौं, १९ असार । गोल्छा अर्गनाईजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले नोरफ्रोस्ट डिप फ्रिजर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार नोरफ्रोस्ट डिप फ्रिजरको उत्पादनहरु बेलायतमा चार दशक अघि शुरु भएको हो । बेलायती उपभोक्ताहरु माझ निकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । चेस्ट फ्रिजर अब एबाक कम्पनीले उत्पादन गर्ने भएको छ , जसले यसको ४० वर्षदेखिको गुणस्तर र कार्यदक्षतालाई निरन्तर सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । बजारमा डिप फ्रिजरअन्तर्गतका मोडलहरु १०० लीटर, १७५ लीटर र २१५ लीटरमा उपलब्ध छन् । उपभोक्ताहरुले यी डिप फ्रिजरहरु दुईवटा गुणस्तरीय रंगहरु सेतो र सिल्भरमा छनौट गर्न सक्ने कम्पनीले बताएको छ ।

इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई करिब तीन करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं, १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “पशुपति सङ्ग्रहालय” को विकास गर्ने सम्बन्धि सम्झौता भएको छ । “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर (ठूलो सदावर्त घर)लाई मर्मत–संभार गर्ने र सो घरलाई “पशुपति सङ्ग्रहालय” को रुपमा विकास गर्ने विषयमा सम्झौता भएको हो । उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डन तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सो सहमति सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । महास्नानघरकोे दक्षिण र पश्चिमपट्टिको भाग वि सं. २०७२ साल वैशाख १२ र २९ मा गएको माहा भूकम्पले गर्दा क्षति पुगेको अवस्थामा रहेको छ । सम्झौता गरेको एक वर्षभित्र महास्नानघर एवं तीन वर्षभित्र पशुपति सङ्ग्रहालय संचालन गर्ने गरी कार्य सम्पादन हुने विज्ञप्तिमा उल्लेख छ । उपरोक्त पुननिर्माण एवं मर्मत संभार कार्यको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रति वर्ष १ करोड रुपैयाँको दरले ३ बर्षमा जम्मा ३ करोड रुपैयाँसम्म खर्च गर्ने सम्झौता भएको छ । भगवान् पशुपतिनाथ मन्दिर रहेको पावन क्षेत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट विगतमा भष्मेश्वरघाटमा गरिएको मर्मत सुघार एवं योगदानको लागी उक्त कोषले सराहना समेत गरेको छ ।

नेप्सेले माघ्यो सेयर कारोबार अवधि बढाउने विषयमा सुझाव

काठमाडौं, १९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउनुपर्ने बिषय सम्बन्धि सबैसँग सुझाव मागेको छ । विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्ममा सीमित गरिएको छ । साथै बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा परिवर्तनपछि लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने माग गरिरहेका छन् । नेप्सेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘प्रविधिको विकाससँगै बजारको पहुँच विस्तारै हुँदै गएको र नयाँ लगानीकर्ताको प्रवेश गर्ने क्रम जारी रहेकोले कालको कारोबार समय बढाउनुपर्ने माग लगानीकर्ताहरुबाट भएको छ । कारोबार समय बढाउँदा सकारात्मक र नकारात्मक प्रभावहरु के के हुनसक्छन, यो बिषयमा सुझाव आवश्यक छ ।’ नेप्सेले ‘अहिलेको कारोबार अवधि सही छ या छैन, बढाउनुपर्ने आवश्यकता छ या छैन वा कति समय बढाउँदा लगानीकर्ताको माग सम्बोधन हुन्छ’ लगायतका बिषयमा अध्ययन थालिएको पनि विज्ञप्तिमा स्पष्ट छ । नेप्सेले एक साताभित्रमा कारोबार अवधिको बिषयमा कुनै सुझाव वा सिफारिस पठाएर सहयोग गरिदिन एक विज्ञेप्तिद्धारा आग्रह गरेको छ ।

मोरङमा झिँगा आतंक, गाउँले आन्दोलित

काठमाडौं, १९ असार । मोरङ जिल्लाको बेतौना गाउँमा झिँगा आतंकले गाउले त्रसित बनेका छन् । नजिकै रहेको कुखुरा फार्मका कारण झिँगा आतंक बढेपछि सो गाउँका जनता विगत एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । सोराभाग गाबिसमा रहेको पोल्ट्री फार्मका कारण गाउँमा झिँगा बढेपछि गाउँले खाना खान समेत नसकिरहेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए । झिँगाले स्वास्थ्यमै असर गर्न थालेपछि पोल्ट्री फार्म घेर्न गएका गाउँलेहरुमाथी प्रहरीले केहिदिन अघि लाठी चार्ज गरेको थियो भने केहि गाउँले विरुद्ध मुद्धा समेत चलाएको छ । गाउँलेहरुले इन्दिरा उप्रेतीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । हरियो झिँगाले सताएपछि गाउँलेहरुले झिँगा धपाउन स्प्रे गर्नु परेको तथा दुर्गन्धले स्वास्थ्यमै समस्या पारेको संघर्ष समिति संयोजक उप्रेतीले बताइन् । पोल्ट्री फार्मको आसपास चार चार किलोमिटरका एक हजार भन्दा बढि घरधुरी प्रभावित बनेको उनले बताइन् । आइतबार क्षेत्र नम्बर ४ का सांसद शिवकुमार भण्डल, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी प्रमुख संदिप भण्डारीले घट्नास्थलको निरिक्षण गरेका थिए । उनीहरुले पोल्ट्री फार्म हटाउन माग गरेका थिए भने प्रशासनले फार्म हटाउने आश्वासन दिएको थियो ।

माथिल्लो तामाकोसी निर्माण तीव्र गतिमा, निर्माण कार्यमा ब्रुमर मेसिनको प्रयोग

काठमाडौं, १९ असार । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ । भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो मेसिनको प्रयोग भइरहेको छ । भूकम्पका कारण आयोजनास्थल प्रवेश गर्ने काब्रेभिरको सडक ध्वस्त भएको थियो । कडा चट्टान काटेर सडक निर्माण गर्नुभन्दा सुरुङ निर्माण गर्नु नै उपयुक्त हुने हुँदा सुरुङ निर्माण सुरु गरिएको हो । “ब्रमुर मेसिनको प्रयोगले केही दिनमै सुरुङ सम्पन्न हुन्छ भन्ने विश्वास छ,” उनले भने । रोड टनेल निर्माण गर्न समेत जर्मनीको ब्रुमर प्रयोग गरिएको थियो । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, व्यवस्थापिका–संसद् विकास समिति, कृषि तथा जलस्रोत समितिका सभापतिसहितको टोलीले हालै स्थलगत निरीक्षण गरी आयोजना अगाडि बढाउन निर्देशन दिएको थियो । काब्रेभिरमा सुरुङ निर्माणसँगै बाँधस्थल तथा अन्य भौतिक संरचनाको कामलाई समेत अगाडि बढाइएको छ । वीरगन्ज भन्सारमा थन्किएका सामग्री आयात सुरु गरिएको छ । नाकाबन्दीका कारण कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज भन्सार सामान आइपुग्न लामो समय लागेको थियो । बर्खा लागेपछि ट्रान्सफर्मर, पेनस्टक पाइपलगायत सामान आयात गर्न समस्या भएको प्रवक्ता न्यौपानेले बताए । वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय निकुन्ज विभागको स्वीकृतिपछि प्रसारण लाइनको कामले समेत गति लिएको छ । गोगरदेखि खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनमध्ये ४५ वटा टावर निर्माण गरिएका छन् भने फाउन्डेसनको काम पनि अन्तिम चरणमा पुगेको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको आयोजनालाई आव २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

गाडी र फुटपाथले विश्वसम्पदा बौद्ध क्षेत्र अस्तव्यस्त

काठमाडौं, १९ असार । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षण गर्न पैदलमार्गका लागि बिछ्याएको ढुङ्गामा सवारी साधन गुडाउँदा मार्ग अस्तव्यस्त बनेको छ । ढुङ्गामाथि दैनिक मोटरसाइकल, ट्याक्सी र कार गुडाउँदा आकर्षक ढुङ्गाको पैदल मार्ग भत्किन थालेको छ । बौद्धमा पर्यटकलाई पैदल हिँड्ने मार्गको निर्माण गरी गुम्बालगायत ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थलको अवलोकन गराएर विश्वमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६४ मा ढुङ्गा बिछ्याइएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तूपदेखि महाङ्काल, फूलबारी, धाराटोल, होल्गाटोल र तीनचुलेसम्मको क्षेत्रमा ढुङ्गा बिछ्याएको थियो । ढुङ्गा बिछ्याइएका क्षेत्रमा सुरुमा सवारी साधन गुडाउन निषेध गरिए पनि पछि स्थानीयवासीले घरमा जान पैदल जानुपर्ने भनी विरोध जनाएपछि नियम मिचिएको समितिकी कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले राससलाई जानकारी दिए । “पर्यटकलाई आकर्षण गर्न बनाइएको पैदल मार्गमा सवारी हिँडाउने, फुटपाथमा पसल चलाउने गर्नाले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, फुटपाथका पसल हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता नदेखाउँदा सम्पदा क्षेत्र अस्तव्यस्त हुने गरेको छ”– उनले भने । महानगरको नगर प्रहरीले कहिलेकाँही पसल हटाए पनि प्रायः वास्ता नगरेको स्थानीयवासी बताउँछन् । सम्पदा क्षेत्रमा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा सवारी अबरुद्ध हुने गरेको छ । वर्षामा तीनचुले र फूलबारीदेखिको भेल आउँदा स्तूप डुबानमा पर्ने गरेको स्थानीयवासी टासीकुमार लामाले बताए । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की नगर प्रहरी १०२ मात्र भएकाले महानगरमा फुटपाथ व्यवस्थित गर्न नसकिएको बताउछन् । “नगर प्रहरी थप गर्दैछौँ, थप भएपछि महानगरको फुटपाथ व्यवस्थित हुनेछ”– उनले भने । रासस

श्रम तथा रोजगारमन्त्री बोहराको मलेसिया भ्रमण विवादमा

काठमाडौं, १९ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो । बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरुको भ्रमणमा अपमान भएको बताए । उनीहरुले केबल घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको बताए । व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप लगाए । शनिबार फर्किएका मन्त्री बोहराले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गर्नुभयो । उनले भने, “ हामीले व्यवसायीलाई पनि छलफलमा सहभागी गराउन चाहेका हौँ तर मलेसियाली पक्ष नमानेपछि सकिएन ।” उहाँले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको टिप्पणी गर्दै मलेसियाका तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको स्पष्ट पारे। भ्रमणका क्रममा विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात रहनपुग्यो । व्यवसायीले पत्रकार सम्मेलनमा राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेपाल फिर्ता बोलाउन माग गरेका थिए । त्यसलगत्तै मलेसियास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै त्यसमा आपत्ति जनायो । मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन । मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गरे तर उल्लेख्य कुनै सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिनातयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् । भ्रमण उपलब्धिमूलक– मन्त्री बोहरा श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो मलेसिया भ्रमण उपलब्धिमूलक भएको बताए । भ्रमणमा मलेसियाका मानव संसाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उनले बताए । भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उनको दाबी छ । केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको उनले जानकारी दिए। मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी ४६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उनले बताए। छ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको उनको भनाइ छ । रासस

पुनर्बीमा कम्पनीको सञ्चालक समिति रित्तियो, निर्वाचन र नियुक्ती दुबै प्रक्रिया अवरुद्ध

काठमाडौं, १९ असार । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समिति रित्तो भएको छ । असार १४ गते भएको साधारणसभामा नयाँ सञ्चालकको लागि निर्वाचन नभएपछि र सरकारले नियुक्त गर्नु पर्ने सञ्चालकहरुको नियुक्ती पनि हुन नसक्दा कम्पनी सञ्चालक समिति विहीन बन्न पुगेको छ । महेश गुरागाई कम्पनीमा सरकारले नियुक्त गरेको तीन जना, निर्जीवन बीमा कम्पनीबाट २ जना, जीवन बीमा कम्पनीबाट एक जना र विज्ञ सदस्यसहित ७ जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । तर हाल सरकारबाट नियुक्ती पाएको महेश गुरागाई कम्पनीको अध्यक्ष छन् भने सञ्चालक पद सबै खाली भएको छ । १४ गते भएको कम्पनीको पहिलो साधारणसभामा दुई सञ्चालक निर्वाचित गर्ने अजेण्डा थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीका अनुसार ३ जनाले सञ्चालक पदका लागि मनोनयन गरेका थिए । निर्वाचन हुने अवस्थामा बीमा कम्पनीहरुबीच तिक्तता आउने सम्भावना देखेर सर्वसहमतिको प्रयास स्वरुप निर्वाचन प्रक्रिया रोकिएको उनले बताए । स्रोतका अनुसार कम्पनीको सञ्चालक नियुक्ती प्रक्रियामा नीतिगत समस्या देखिएको छ । पुर्नबीमा कम्पनीको नियमावलीमा लगानी गर्ने बीमा कम्पनीको तर्फबाट सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत पुर्नबीमा कम्पनीको सञ्चालक बन्ने पाउने व्यवस्था छ । तर बीमा समितिले जारी गरेको संस्थागत सुशासन अनुसार बीमा कम्पनीका सञ्चालक वा कार्यकारी प्रमुख वा व्यवस्थापनको उच्च पदमा रहेका व्यक्ति उस्तै प्रकृतिको संस्थामा सञ्चालक, कार्यकारी प्रमुख तथा सञ्लाहाकार समेत बस्न नपाउने व्यवस्था छ । यसरी निर्वाचत प्रक्रियाबाट सञ्चालक समितिको छनौट प्रक्रिया अवरुद्ध भएको छ भने सरकारी नियुक्त गर्नुपर्ने सञ्चालक र विज्ञ सञ्चालक पनि नियुक्त भएका छैनन् । पुराना सञ्चालकहरुलाई दिएको नियुक्ती पत्रमा ‘कम्पनीको पहिलो साधारणसभा नभएसम्मको अवधिका लागि’ भनेर खुलाईएको छ । सोही आधारमा कम्पनीको साधारणसभा भईसकेपछि पुराना सञ्चालकहरु दीपप्रकाश पाण्डे, चन्द्रसिंह साउद र विके श्रेष्ठको कार्यकाल सकिएको छ । यस कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ३८ प्रतिशत र जीवन बीमा कम्पनीसहित अन्य कम्पनीको गरी १८ प्रतिशत सेयर रहेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले पुँजी वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने निर्णय साधारणसभाले गरेको छ ।