युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौं, २० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सोमबार घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ । कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् । नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो । क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए । रासस
रिलायबल बैंकले १० प्रतिशत बोनस र १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने
काठमाडौं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले पूँजी वृद्धिका लागि बोनस सेयर पश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय शुक्रबार बसेको बैंकको दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । यसका साथै बैंकले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको छ । कार्यक्रममा बोल्दै बैंकका सिइओ नारायण बाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आगामी आ.व.मा शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताएका छन् । बैंकको शुक्रबारसम्मको निक्षेप ८१२ करोड रुपैयाँ र कर्जा लगानी ६५८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनकोलागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूँजी रहेको यस बैंकले अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पु¥याउने भएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
नेपाल एसबीआई बैंकको अध्यक्षमा आचार्य नियुक्त
काठमाडौं, २० असार । नेपाल एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको हो । आचार्य कर्मचारी संचय कोषको प्रशाशक (कार्यकारी प्रमुख) हुन् । यसअघि नविल बैंक, हिमालयन बैंकमा सञ्चालक भएर काम गरेका आचार्यले यूनाईटेड इन्स्योरेन्स, एनआईडीसी डेभलपमेन्ट बैंकमा कार्यकारी प्रमुख भएर काम गरेका थिए ।
लुम्बिनी बैंकबाट शोभनदेब बाहिरिए
काठमाडौं, २० असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेब पन्तले बैंक छोडेका छन् । बैंक अफ काठमाडौं (विओके) र लुम्बिनी बैंक मर्जरको प्रक्रिया अगाडि बढेपछि पन्तले बैंक छोडेका हुन् । पन्त विगत १० बर्षदेखि सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । लुम्बिनी बैंक समस्यामा परेपछि नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफैले लिएर सुधारको प्रक्रिया अगाडि बढाएको थियो । सुरुको समयमा राष्ट्र बैंकको तर्फवाट नारायणदास मानन्धरले ब्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका थिए । मानन्धरको एक कार्यकाल पूरा भएपपछि राष्ट्र बैंकले पन्तलाई बैंक ब्यवस्थापनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी अनुसार पन्तले बैंकको वित्तीय स्वास्थ्य राम्रो बनाएका थिए । पन्तले आइतवार (हिजो) देखि बैंकबाट विदा लिएका हुन् ।
मार्च १७ मा भारतसँग इन्धन किन्ने सम्झौताको म्याद सकिँदै
काठमाडौं, २० असार । नेपालको पेट्रोलियम बजारमा एकाधिकार जमाएको इन्डियन आयल कर्पाेरेशनसँगको इन्धन खरिद सम्झौताको म्याद आगामी मार्च १७ तारिखका दिन समाप्त हुँदैछ । नेपाल आयल निगमले प्रत्येक पाँच पाँच बर्षमा आइओसीसँग इन्धन खरिद सम्झौता गर्दै आएको थियो । आगामी मार्चमा १७ देखि इन्धन खरिद सम्झौताको म्याद सकिने भएपछि नयाँ सम्झौताका लागि आइओसीको टोली काठमाडौं आईपुगेको छ । ‘इन्धन खरिद सम्झौता नविकरणका लागि आइओसीको टोली एक हप्तादेखि काठमाडौंमा छ’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले भने । मधेश आन्दोलनको बहानामा आइओसीले इन्धन कटौती गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको थियो । यसपाली हुने नयाँ सम्झौतामा त्यस्ता कमजोरीलाई समेत सच्याउने प्रयास गरिने उनले बताए । ‘पुरानो सम्झौतामा कहाँ कहाँ समस्या छ, यसपाली संसोधन हुन्छ, जस्तो सुकै अवस्थामा पनि इन्धन आयातमा प्रभाव नपर्नेगरि आइओसीसँग सम्झौता गर्छाै’, निगम प्रमुख खड्काले व्यवस्थापिका संसदका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भने । हाल निगमको टोलीले आइओसीको टोलीसँग इन्धन खरिद सम्झौताको नयाँ मस्यौदाबारे छलफल गरिरहेको छ ।‘मार्चमा सम्झौताको म्याद सकिने भएकाले नयाँ सम्झौताको मस्यौदा निर्माणको प्रारम्भिक छलफल चलिरहेको छ’, निगमका प्रवक्ता मुकुन्द न्यौपानेले विकासन्युजसँग भने । पारादिप डिपोबाट इन्धन यसैबिच नेपाल आयल निगमले निकट भविष्यमै भारतको पारादिप डिपोबाट इन्धन आयात गर्ने भएको छ । नेपाललाई नियमित इन्धन उपलब्ध गराउँदै आएका डिपोहरुको सो भन्दा बढि इन्धन दिने क्षमता नभएकाले थप इन्धन पारादिप डिपोबाट आयात गर्न लागिएको हो । आपुर्ति मन्त्री गणेशमान पुनले पनि पारादिप डिपोबाट इन्धन ल्याएर पनि नेपालको आपुर्ति व्यवस्थालाई सहज बनाउन लागिएको बताए । हाल नेपाललाई इन्धन दिईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने बताएपछि पारादिप डिपोबाट ल्याउन लागिएको हो । सो डिपोबाट इन्धन ल्याउन थालेपछि थप भण्डारण गृह निर्माण गरेर ९० दिनलाई पुग्ने इन्धन सञ्चित गरिने उनले बताए । निगमका प्रमुख खड्काले पारादिपबाट इन्धन ल्याउँदा उपभोक्तालाई थप मुल्यभार नपार्ने जानकारी गराएका थिए ।
हङकङमा नेपालको पर्यटन प्रवद्रधन गरिने
काठमाडौं, २० असार । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ । ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने आयोजक मितेरी समाज हङ्कङले जनाएको छ । ‘नेपालकालागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको कार्यक्रम आगामी साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौँ’ अभियान अन्तर्गत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनेछन् । उनले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाएका छन् । तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ । शेर्पाले हङ्कङेलीसँगै विदेशीसँग हिमाल आरोहणका सफलता, समस्या र चुनौतीबारे अन्तर्किया समेत गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय हङकङको केन्द्रविन्दु सेन्ट्रलबाट सुरु हुने यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बेमा पुगेर टुङ्गिनेछ । हङ्कङका अग्ला भू–भागमा हुने हाइकिङमा नेपालीसँगै विदेशी पनि सहभागी हुने समाजका अध्यक्ष तुलसी गुरुङले बताए । भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाइ थियो । रासस
विद्युत् महसुल बढाउने निर्णय फिर्ता लिन माग
काठमाडौं, २० असार । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । “ नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ” महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ “यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ ।” प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११।२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत्को खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत् अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ । रासस
अनुदान सम्झौता भएका १० प्रतिशत पीडितले मात्रै पाए पहिलो किस्ता अनुदान, किन भइरहेछ यस्तो ढिलाई ?
काठमाडौं, २० असार । गत १२ बैशाख २०७२ को भूकम्पको कारण घर भत्किाएका परिवारलाई घर बनाउन सरकारले दिने भनेको अनुदार रकम दिन अत्यन्तै ढिलाइ भएको छ । अनुदान लिएर घर बनाउने सम्झौता गरेकामध्ये अहिलेसम्म सरकारले जम्मा १० प्रतिशत पीडितलाई मात्रै रकम उपलब्ध गराएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिएको जानकारी अनुसार १ लाख ९९ हजार ६ सय ४ जना पीडितसँग अनुदान सम्झौता भएको छ । तर यसमध्ये २० हजार ८ सय २८ परिवारले मात्रै अनुदानको पहिलो किस्ता रकम पाएका छन् । यो संख्या अनुदान सम्झौता भएको संख्याको १० प्रतिशत मात्रै हो । सरकारले पहिलो किस्ताको रुपमा ५० हजार रुपैयाँ दिइरहेको छ । लामो प्रक्रिया र अनुदान वितरण गर्ने बैंकसँग समयमै कुरा नमिल्दा यस्तो अवस्था आएको पुननिर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाको भनाइ छ । ‘अनुदान सम्झौताको प्रक्रिया निकै अगाडिदेखि बढेको हो, सरकारी खाता कसरी सन्चालन हुन्छ भन्ने ज्ञान बैंकहरुलाई रहेनछ, यो कुरा बुझाउदा र अन्य प्रक्रियागत विषय मिलाउदैमा ढिलाइ भयो,’ थपलियाले भने । सरकारले अहिले ११ जिल्लामा मात्रै अनुदान सम्झौता गरेर रकम दिन सुरु गरेपनि काभ्रे, सिन्धुली, नुवाकोट र मकवानपूर जिल्लामा अनुदान दिन सुरु नै गरेको छैन । रामेछाप जिल्लामा ४० हजार ४ सय ५१ परिवारसँग अनुदान सम्झौता भएपनि जम्मा १ हजार १ सय ४ परिवारले मात्रै पहिलो किस्ता रकम पाएका छन् । गोरखा जिल्लामा ४३ हजार ५ सय ४७ घरधुरीसँग अनुदान सम्झौता भएको छ । तर १९ असारसम्ममा जम्मा ९ हजार ५ सय ४० परिवारले मात्रै पहिलो किस्ता पाएका छन् । दोलखा जिल्लामा २० हजार ६ सय ५७ परिवारसँग अनुदान सम्झौता भएको छ । तर यसमध्ये ७ हजार ९६ परिवारले मात्रै पहिलो किस्ता रकम पाएका छन् । ओखलढुंगा जिल्लामा १७ हजार १ सय ३६ परिवारसँग अनुदान सम्झौता भएपनि रकम भने ४ सय ४१ परिवारले मात्रै पाएका छन् । सिन्धुपाल्चोक जिल्लामा ३४ हजार ३ सय ६२ परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये ८ सय ४५ परिवारले पहिलो किस्ता रकम अनुदान पाएका छन् । धादिङ जिल्लामा १७ हजार १ सय ४० परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये १ हजार ९७ परिवारले मात्रै अनुदानको पहिलो किस्ता रकम पाएका छन् । यस्तै रसुवा जिल्लामा २ हजार ७७ परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये ७ सय ५ परिवारले पहिलो किस्ता अनुदान पाएका छन् । यसरी दिइदै छ रकम सरकारले पीडितलाई रकम पाउने प्रक्रिया अन्त्यन्तै झन्झटिलो बनाएको छ । पहिलो चरणमा गाविस वा नगरपालिकाले पीडितसँग अनुदान सम्झौता गर्ने कार्य हुन्छ । त्यसपछि गाविस वा नगरपालिकाका प्रतिनिधिले सम्भब भए डिजिटल र नभए म्यानुअल रुपमा सोको जानकारी जिल्ला विकास समितिलाई दिन्छन् । सम्झौता भएको जानकारी जिविसले पाएपछि र रकम निकासाको लागि जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)लाई चेक काटिदिन्छ । जिविसको चेक पाएपछि पनि कोलेनिकायले सहजै रकम निकासा दिदैन । उसले अर्थमन्त्रालयले संचालन गरेको ‘लाइन मिनिष्ट्री बजेट इन्फरमेसन सिष्टम (एलएमविआइएस¬) मा पीडितको नाम भए नभएको रुजु गर्छ । यस्तो रुजु विश्व बैंकले पनि गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ । योसम्मको कार्य सम्पन्न भएपछि मात्रै जिविसको यस्तो चेकलाई कोलेनिकाले सम्बन्धित क्षेत्रमा रकम बाढ्ने साझेदारको रुपमा सम्झौता भएको बैंकको नाममा सो रकम जम्मा पारिदिन्छ । यसपछि सम्बन्धित बैंकले पीडितलाई अनुदान रकम दिने प्रक्रिया अगाडि बढाउछ । सम्बन्धित बैंकको जिल्ला शाखाको समन्यमा मात्रै ग्रामीण क्षेत्रमा रहेको बैंकले रकम वितरण गर्ने भएकोले केही ढिलाई भएको प्राधिकरणका प्रवक्ता थपलियाले बताए ।