विकासन्युज

कहिले आउँछ चीनबाट ३३ प्रतिशत इन्धन ?

काठमाडौं, २० असार । नेपालले आफ्नो कुल खपतको ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्ने भनेर सम्झौता गरेको ९ महिना नाघेको छ । मधेश आन्दोलनलाई कारण बताउँदै इण्डियन आयल कर्पाेरेशनले इन्धन कटौती गरेपछि इन्धन आयातमा भारतीय एकाधिकार तोड्ने प्रयास गर्दै नेपालले गत कात्तिक १० गते चीनसँग आफ्नो मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको थियो । चैत ७ गतेदेखि प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा भएको द्धिपक्षिय सम्झौतामा पनि इन्धन कारोबारलाई समावेश गरिएको थियो । आपुर्ति मन्त्रालयले चीनसँग इन्धन खरिद सम्झौताका लागि आफुले तयार पारेको फाइल परराष्ट्र मन्त्रालय पठाईसकेको जनाएको छ । ‘आपुर्ति मन्त्रालयले चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्बन्धी आफ्नो फाइल परराष्ट्र मन्त्रालयमा पठाईसकेको छ’, आपुर्ति मन्त्री गणेशमान पुनले भने । उनले चीनमा लाग्ने स्थानिय कर र नेपाली भूमिमा आवश्यक पुर्वाधारको कमिका कारण ढुवानीमा पर्ने समस्याबारे बृहत छलफल आवश्यक पर्ने पनि बताए । तर चीनसँग इन्धन खरिद सम्झौताको फाइल परराष्ट्र मन्त्रालय पुगेकै समयमा नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेसनसँग आगामी पाँच वर्षका लागि इन्धन खरिद सम्झौताको पुर्व तयारी गरिरहेको छ । आइओसीको टोली काठमाडौंमै आएर एनओसीसँग छलफल गरिरहेको छ ।‘मार्च १७ तारिखदेखि आइओसीसँगको इन्धन खरिद सम्झौताको म्याद सकिँदैछ, आगामी पाँच वर्षका लागि नयाँ सम्झौता गर्ने सुरुवाती चरणको मस्यौदा तयार पार्न आइओसीाके टोली काठमाडौं आएको छ, हामी गहिरो छलफल गरिरहेका छौं’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले भने । उनले जुनसुकै अवस्थामा पनि आइओसीले नेपाललाई इन्धन उपलब्ध गराउनैपर्ने बाध्यकारी व्यवस्थासहित नयाँ सम्झौता गर्ने जानकारी दिए ।‘मधेश आन्दोलनलाई देखाएर आपुर्ति कम गरियो, अब जुनसुकै अवस्थामा पनि इन्धन दिनै पर्ने व्यवस्था गर्छाै’, खड्काले भने ।त्यतिले मात्रै नपुगेर एनओसीले अहिले तेल ल्याईरहेका डिपोहरुका अतिरिक्त पारादिप डिपोबाट थप इन्धन ल्याउने तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । आइओसीसँग गरिने नयाँ सम्झौतामा नेपालले आफ्नो मागको कति प्रतिशत इन्धन भारतसँग ल्याउने भनेर लेख्छ त्यो प्रश्नकै रुपमा रहेको छ । अर्का तिर चीनसँग गर्ने भनिएको ३३ प्रतिशत इन्धन कारोबार सम्बन्धी व्यवसायीक सम्झौता कहिले हुन्छ ? र त्यसका लागि आवश्यक पुर्वाधार कहिले तयार हुन्छ ? भन्ने जस्ता गम्भिर प्रश्न खडा भएका छन् ।

अनुदान वितरण गर्दा घरधनीहरुको विवरण फरक परेमा प्राधिकरणले समाधान गर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि घरधनीहरुलाई अनुदान वितरण गर्दा घरधनीहरुको विवरण फरक परेमा त्यसलाई समाधान गरेर अघि बढ्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको असार १७ गतेको बैठकले अनुदान सम्झौता पत्रमा उल्लेखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीसँग भिडान गर्दा सामान्य त्रुटी भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरेको छ । घरधनीको सुरुको नाम, बीचको नाम, थर, ठेगाना, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, जारी भएको मितिमा त्रुटी देखिई अन्य विवरण भिडान भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय भएको हो । यस्तै जन्म मिति, बाबु वा बाजेको नाम, थर, ससुरा वा पतिको नाम तथा थर लगायतमा त्रुटी देखिई अन्य विवरण भिडान भएमा पनि अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई पनि आधिकारिक मान्ने निर्णय भएको छ । जिल्ला विकास समितले त्रुटी भएका घरधनीहरुको विवरण तयार गरी सच्याउन सिफारिस सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लेखी पठाउने निर्णय पनि भएको छ । एलएमबीआएस (लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टम) मा समेत विवरण सच्चाई एकल खाता कोष प्रणालीमा समेत सो विवरण अद्यावधिक गर्न अर्थ मन्त्रालयमा लेखी पठाउनुका साथै सम्बन्धित बैंकको केन्द्रीय कार्यालयलाई सोही विवरण बमोजिम खाता खोलिदिन लेखी पठाउनु पर्ने व्यवस्था गरिएको छ । लाभग्राही स्वंय उपस्थित नभई आफ्ना प्रतिनिधिलाई मञ्जुरीनामा (नोमिनी) दिई अनुदान सम्झौता भएको भए सो को विवरण सम्बन्धित गाविस वा नगरपालिकाले जिल्ला विकास समितिलाई पठाउने, जिविसले त्यस्ता व्यक्तिहरुको नाममा खाता खोलिदिन सम्बन्धित बैंकलाई पत्राचार गर्ने र सम्बन्धि बैंकहरुले पनि सोही अनुसार खाता खोली अनुदान भुक्तानी हुने आधार तयार गरिएको छ । जिविसले अनुदान भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेशसाथ अनुदान सम्झौता गरेका लाभग्राहीहरुको विवरणमा मूल लाभग्राहीको नाम समावेश गरी कैफियतमा अनुदान सम्झौता गर्ने प्रतिनिधिको नाम उल्लेख गरी प्रतिनिधिहरुको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने बैंकहरुले मिलाउने व्यवस्था गरिएको छ । त्यसो गर्दा कोष तथा लेखा नियन्त्रक कार्यालयले विवरण भिडान गर्दा मूल लाभग्राहीको विवरण भिडान भएमा खातामा रकम जम्मा हुने गरी सम्बन्धित बैंकको नाममा चेक जारी गरिदिनुका साथै भुक्तानी पाउने लाभग्राहीको अभिलेखमा मूल लाभग्राहीको नाम नै उल्लेख गर्ने निर्णय भएको छ । यसैबीच निजी आवास पुनर्निर्माण कार्य्विधिमा अन्य स्वदेशी वा विदेशी संघसंस्थाको सहयोगमा आवास भवन निर्माणका लागि अनुदान वा निजी आवास भवन नै प्राप्त गरेको लाभग्राही तथा भूकम्प पीडितलाई दुई लाख रुपैयाँ अनुदान, सहुलियत कर्जा एवं भूकम्प पीडित विशेष आवास कर्जा उपलब्ध गराउने छैन भन्ने व्यवस्था भएकोमा त्यसलाई संशोधन गर्ने निर्णय गरिएको छ । जस अनुसार कार्यविधिको दफा ५ को उपदफा (२) मा अन्य स्वदेशी वा विदेशी संघ संस्थाको सहयोगमा निजी आवास भवन नै प्राप्त गरेको लाभग्राही तथा भूकम्प पीडितलाई दुई लाख रुपैयाँ अनुदान, सहुलियत कर्जा एवं भूकम्प पीडित विशेष आवास कर्जा उपलब्ध गराउने छैन भनी संशोधन गर्ने निर्णय भएको छ । स्वदेशी वा विदेशी संघ संस्थाको सहयोगमा आवास भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीलाई बैंकबाट लिने सहुलियत ऋण लिनलाई समेत बन्देज लगाएको हुँदा नयाँ व्यवस्था गर्ने निर्णय भएको हो ।

हिमालयन बैंक र ट्रयाङ्गलोबीच रेमिट्यान्स सम्बन्धि सम्झौता

काठमाडौं, २० असार । हिमालयन बैंक लिमिटेड र ट्रयाङ्गलो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा. तथा ट्रयाङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले हस्ताक्षर गरेका छन् । मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्गलोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय रहेका छन् । ट्रयाङ्गलोले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेको छ । मलेसियन सरकारको स्वामित्व भएको ‘इकयूनाज’को लागानी रहेको ट्रयाङ्गलोेको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत संचालनमा छन् । हिमालयन बैंक तथा ट्रयाङ्गलोबीचको यस सम्झौताबाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । ट्रयाङ्गलोेको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमालरेमिट काउन्टरबाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदाहरु रहेका विज्ञेप्तिमा उल्लेख छन् ।

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० असार । वर्षाको कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोधपछि राजधानीमा तेलको अभाव देखिएको छ । भारतीय नाकाबन्दीमा इन्धन अभावले कायल भएका राजधानीबासी फेरी त्रसित भएका छन् । तर नेपाल आयल निगमले उपभोक्ताले इन्धन भण्डारण नगरेमा माग अनुसार वितरण गर्न सकिने दावी गरेको छ । यसैबीच आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो । व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा आपूर्ति मन्त्री गणेशमान पुनले आफूहरुले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिए । उनले सो प्रतिवेदनमा कर र यातायातबारे स्पष्ट हुन बाँकी रहेकाले कूटनीतिक संयन्त्रबाट छलफल हुने बताए । सरकारले इन्धनमा भारतसँगको एकाधिकार कायम नराखी चीनसँग कुल मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना बनाएको छ । मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद नागिलाले भने राजनीतिक नेतृत्व र कूटनीतिक नेतृत्वबाट सो सम्बन्धमा छलफल भएपछि खरिदका लागि सहजता हुने बताए । समितिले एलपी ग्यास आपूर्तिलाई व्यवस्थित गराउने सम्बन्धमा यसअघि दिइएको निर्देशनको कार्यान्वयन अवस्था, ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ताको हितका सम्बन्धमा मन्त्री, सचिव, सम्बन्धित निकायका प्रमुख, उद्योगी र उपभोक्ता अधिकारकर्मीलाई आमन्त्रण गरी छलफल गरेको हो । नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ४५० थान ग्यास ल्याउने बुलेट खरिदको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । उनले डिपोहरुको स्तरोन्नति र पुनःनिर्माणबारे काम भइरहेको बताए । समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिका निर्देशन पालना भए÷नभएको सम्बन्धमा सरकारले प्रतिवेदन नदिएको, उपभोक्ताका अधिकार कुण्ठित हुने स्थिति भएको र वर्षायामको नाममा पुनः इन्धन अभाव गराउने प्रयत्न भएकोतर्फ ध्यानाकर्षण गराए । बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध भएको नाममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी सुरु भएकाले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।

चीनमा बन्यो सबैभन्दा ठूलो टेलिस्कोप, लागत १८० करोड डलर

चीन, १९ असार । चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ । ‘रिफ्लेक्टर’ का लागि ३० वटा फुटबल मैदान बराबरको क्षेत्र छुट्टाइएको उक्त टेलिस्कोप आगामी सेप्टेम्बरमा ऐतिहासिक रुपमा परीक्षण गरिने तयारी भएको चिनियाँ अधिकारीले जनाएका छन् । चीनको दक्षिण पश्चिमी गइझोउ प्रान्तको पिङताङ्गमा उक्त टेलिस्कोपलाई राख्नका लागि विशेषज्ञ, निर्माणकर्ता, विज्ञानमा रुची राख्ने केही चिनियाँ नागरिक र समाचारदाता गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो । टेलिस्कोप निर्माणकर्ता सङ्गठन नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसनका उपप्रमुख झेङ सिआओनियनले भने वैज्ञानिकले अब ५०० मिटर अपर्चर स्फेरिकल टेलिस्कोप ‘फास्ट’ को काममा सुधार तथा परीक्षणको निरीक्षणको काम सुरु हुनेछ । नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसन चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गत काम गर्ने संस्था हो । करिब एक अर्ब ८० करोड अमेरिकी डलर खर्चेर बनाइएको उक्त टेलिस्कोप निर्माण सन् २०११ देखि सुरु गरिएको थियो । रासस

जमलको जुत्ताघरमा समर सेल मेला, भाग्यमानीले पाए मोटरसाइकल

काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७० प्रतिशतसम्म छुट सुबिधा प्राप्त हुनेछ । जुत्ता मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काई सुज, क्रस रोड, कोशेली, सफट् टच, लेदर विंग्स, टाकुरा, इजी र शुल् ल्याण्ड गरि १० वटा कम्पनीका सबै खाले जुत्ता चप्पलहरु सेल गरिनेछन् । समर सेलमा ५० हजार जोर जुत्ता चप्पल बिक्रि गर्ने लक्ष्य रहेको बिएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको उद्घाटन गर्दै नेपाल उद्योेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरे मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने बताए । स्वदेशी उद्योग धन्दाको प्रवद्र्धनका लागि सरकार गम्भिर नभएको आरोप समेत लगाए । त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले पनि स्वदेशी उद्योगको प्रवद्र्धनमा जोड दिए । को होला भाग्य मानी ? कार्यक्रममा नेपाली जुत्ता घर प्रालीले गत दशैं तिहारमा ल्याएको स्क्र्याचमा मनी, बम्परमा बाइक धनी उपहार योजनाको लक्की ड्र समेत गरेको छ । लक्की ड्रमा प्रथम हुनेले मोटरसाइकल, द्धितिय हुनेलाई ल्यापटप,तृतिय हुनेलाई २१ इञ्चको एलइडी टीभी र सान्त्वना हुने १० जनालाई एक एक वटा राइस कुकर प्रदान गरिनेछ । उनीहरुलाई १० दिन भित्रै सम्पर्क गर्न पनि नेपाली जुत्ता घर प्रालीले अनुरोध गरेको छ ।

विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने

काठमाडौं, २० असार । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ ।असार १३ गते सोमबारको अविरल वर्षाले चावहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो । पम्पमा जमेको ढल निकाल्न सोमबार खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिए। “पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ, यन्त्रमा समस्या छैन अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ” – उनले भने । विसं २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो । यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस

गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।