विकासन्युज

काठमाडौं उपत्यका लोडसेडिङ मुक्त, लुकाइएको बिजुली बाड्दा तत्काललाई लोडसेडिङ हट्यो

काठमाडौं २२, कात्तिक । विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले लुकाएर वितरण गरेकोु बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ । काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई व्यवस्थित गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति गरेका मात्र हौं, घिसिङले भने, भाँडोमा भएको वस्तुलाई बराबरी बाँड्दा लोडसेडिङ हालका लागि हट्यो । प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन व्यवस्थापन मात्र गरिएको बताए । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए । अन्नपूर्ण पोस्टबाट ।

कोलकाता बन्दरगाहमा सयौं कन्टेनर रोकिए, कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर १२ घण्टा रोके

काठमाडौं २२, कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेको हुन । पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्तामार्फत अहिले फेरि मारमा परेका छन्। विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकतामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष ठूलो क्षति बेहोर्नेु पर्ने देखिएको छ। गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समसया देखिएको थियो । वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्‍याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन्। नेपाली उद्योगी व्यवसायीले अहिले कोलकोत्ता बन्दरगाहासम्म पुर्‍याएका खाली कन्टेनरको पनि जरिवाना तिर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीय केडियाले बताए। कारोबार दैनिकबाट ।

बैंकमा ऋण दिने पैसा छैन, वैकिङ प्रणालीको अवस्था खुम्चदा बैंकहरु थप ऋण दिन नसक्ने अवस्थामा

काठमाडौं २२, कात्तिक । वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन । बैंकहहरुसँग अहिले सर्वसाधरणलाई दिनको लागि थप रकमसमेत नरहेको उनीहरुको भनाइ रहेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिकको पहिलो सातासम्ममा १८ खर्ब २८ अर्ब विदेशी मुद्रासहित निक्षेप पुगेको छ भने सो अवधिमा कर्जा प्रवाह १४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । जसमा विदेशी मुद्रामा रहेको निक्षेप एक खर्ब १३ अर्ब रुपैयाँ थियो भने सो अवधिमा बैंकहरुको पूँजी एक खर्ब २३ अर्ब छ । कारोबार दैनिकबाट ।

सेयर बजारमा सीघ्र सुधारात्मक कार्य गर्न सम्बन्धित कम्पनीहरूलार्इ धितोपत्र बोर्डको निर्देशन

काठमाडौं, २१ कात्तिक । नेपाल धितोपत्र बोर्डले सेयर बजारको समस्या पहिचाहनसहित सीघ्र सुधारात्मक कदम चालेको छ । बोर्ड धितोपत्र बजारमा काम गर्ने नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्यिलरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर्सलगायत सबै संस्थालाई छुट्टाछुट्टै पत्र काट्दै सुधारका विभिन्न काम गर्न निर्देशन दिएको छ । बजारमा सुधार ल्याउनको लागि कम्पनीहरुले गर्नु पर्ने कामको सूचि नै तयार गरेर उल्लेखित काम तत्काल गर्न र प्रगति विवरण बोर्ड समक्ष पेश गर्न निर्देशन दिएको छ । दसैंपछि र तिहार अघि बोर्डले सबै कम्पनीहरुलाई सुधार गर्नु पर्ने कार्यहरुको सूचिसहित निर्देशनात्मक पत्र काटेको छ । बोर्डले असाेज ३० गते नेपाल स्टक एक्स्चेन्जलाई पत्र काट्दै क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, कारोबार सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, सेयर ब्रोकर कम्पनीहरुको पूर्वाधार सुधार र शाखा विस्तारको कार्य गराउन, ब्रोकर कम्पनीहरुको सुपरिवेक्षण तथा अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै कम्पनीको लेखापरिक्षण गरी वार्षिक प्रतिवेदन ठिक समयमा पेस गर्न निर्देशन दिएको छ । धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङ कम्पनीलाई पनि पत्र काटेर क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, निक्षेप सदस्यको सुपरिवेक्षण तथा अनुगमन गर्न, पे इन र पे आउट सिस्टम व्यवस्था मिलाउन, लगानीकर्ताको लागि इन्भेष्टर आईडी बनाउन, राफसाफ तथा फस्र्योट सम्बन्धि सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, बोल्ड खोल्दा बैंक खाता समेत अद्यावधिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, बोर्डले यसअघि दिएको निर्देशन तथा नीतिको पालना नगरको विषयमा सीडीएक एण्ड क्लियरिङ कम्पनीलाई स्पष्टीकरण मागेको छ । ‘बोर्डले दिएका निर्देशन शीघ्र कार्यान्वयन गर्न र कार्यन्वयनमा भएका प्रगति बारे जानकारी गराउनु’ बोर्ड काटेको पत्रमा उल्लेख गरिएको छ । बोर्डले धितोपत्र ब्रोकर कम्पनीहरुलाई शंकास्पद सेयर कारोबारमा निगरानी बढाउन, त्यस्ता कारोबारको विवरणको जानकारी नियामक निकायलाई दिन, धितोपत्र दलाल व्यवसायलाई छिटो, छरितो र चुस्त बनाउन, लगानीकर्ताको गुनासो समाधान गर्न निर्देशन दिएको छ । यसैबीचमा नेपाल धितोपत्र बोर्डले तिहारअघि ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार एक हप्तासम्म बन्द गरिदिएको थियो भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई एक साता नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गरिएको धितोपत्र बोर्डले जनाएको छ । सच्याइएकाे ः यस समाचारकाे तेस्राे प्याराग्राफमा भुलबस कात्तिक ३० हुन गएकाेले सच्याइएकाे छ । सम्पादक

पूर्व प्रधानमन्त्री देउवालार्इ जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि पाएका छन् । विश्वविद्यालयका उपकूलपति प्रा. जगदेश कुमारले एक कार्यक्रमका बीच मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका हुन् । यो उपाधिबाट पाउने सभापति देउवा पहिलो नेपाली हुन् । यो भन्दा अगाडिका वर्षहरुमा यो उपाधिबाट नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ्साङ सुकी र भारतका पूर्व राष्ट्रपति डा. ऐ.पि.जे. अब्दुल कलामले पाएका थिए । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले प्रदान गरेको यो उच्च सम्मानप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गरेको छ । गत साता मात्र नेपाल भ्रमणमा आएका भारतीय राष्टपति प्रणम मुखर्जीलाई काठमाडौ विश्वविद्यालयले मानार्थ विद्यावारिधी दिएको थियो । यस्तो सम्मानले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग गर्ने जानकारहरु बताउँछन् ।

क्लिन्टनकाे अर्थनीति ‘सुधारात्मक’,  ट्रम्पको अर्थनीति ‘अराजक’ :अर्थविद्

वासिङ्गटन, २१ कात्तिक । अमेरिकी कर प्रणाली, सार्वजनिक खर्चब्यबस्था र आरक्षण सम्बन्धि ब्यबस्थापनका विषयमा राष्ट्रपतीय उम्मेदबारद्वय मध्ये क्लिन्टनको अर्थनीति सुधारात्मक हुने र ट्रम्पकाे अर्थनीति अराजक हुने अमेरिकाका एक वरिष्ठ अर्थविद्ले बताएका छन् । एउटा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अर्थनीति समूहः कमिटि फर इकोनोमिक डेभेलप्मेन्टका अर्थविद् स्टिभ अड्ल्याण्डले भनेका छन्, क्लिन्टनकाे अर्थनीति  “निरन्तरता” र ट्रम्पको अर्थनीति “अज्ञानता” हो  । हिलारी क्लिन्टनका अभिव्यक्तिले वर्तमान अमेरिकी अर्थतन्त्रलाई निरन्तरता दिने तर, ट्रम्पले बेलाबखतमा अभिव्यक्त गरेका आर्थिक प्रस्तावले भने वर्तमान अमेरिकी अर्थतन्त्रलाई झस्काउने वा आर्थिक उग्रवादतर्फ धकेल्ने सम्भावना देखाएको छ । ट्रम्पका बिभिन्न आर्थिक अभिब्यक्तिलाई धेरै अर्थशास्त्री तथा अर्थविदहरु अमेरिकाको वर्तमान आर्थिक समृद्धिलाई खतरा पु¥याउने खालको भनी झस्किने गर्छन् तापनि यी रिपब्लिकन उम्मेदवारले प्रस्तुत गरेका आर्थिक सुधारका योजनाबाट अमेरिकी अर्थतन्त्रले थप लाभ उठाउन सक्नेमा अमेरिकाका साना ब्यबसायी तथा स–साना लगानीकर्ताहरु भने आशावादी रहेका भेटिएका छन् । दुई उम्मेदबारकाबीच अति कडा प्रतिस्पर्धा भैरहेको यस स्थितिमा निर्वाचन सम्पन्न हुन दुई दिन मात्र बाँकी छँदा गरिएको अर्थतन्त्रीय पूर्वसर्भेक्षणात्मक मतसङ्कलनको नतिजालाई हेर्ने हो भने विश्व अर्थतन्त्र आंकलन र अनुगमन गर्ने दुई विशाल संस्थाहरुमध्ये “वाल स्ट्रिट” क्लिन्टनको पक्षधर र “मेन स्ट्रिट” चाहीँ ट्रम्पको पक्षधर रहेको पाइएको बताउँछन् उनै अर्थविद् स्टिभ अड्ल्याण्ड । त्यस्तै, अर्को आर्थिक संस्था सिएनबिसी नेटवर्कद्वारा आयोजित, अर्थविज्ञ तथा वाल स्ट्रिट सदस्यहरु समेत ५० जनासँग गरिएको पूर्वसर्भेक्षणमा ८२ प्रतिशतले क्लिन्टन विजयी हुने मत प्रकट गरे । अर्थतन्त्रका लागि ट्रम्पको आर्थिक प्रस्तावले लाभ दिने पक्षमा ४६ प्रतिशत खडा भए भने क्लिन्टनको पक्षमा ३९ प्रतिशत मात्र । रासस/एएफपी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी

चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

पोखराको प्राकृतिक सुन्दरतामा भारतीय राष्ट्रपति मुखर्जी माेहित, ‘भगवानले फुर्सदमा बनाएकाे सुन्दर ठाउँ’

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये यही शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट राजकीय भ्रमणको सिलसिलामा गरिएकोे भ्रमण सबैभन्दा पछिल्लो हो । जनकपुरबाट पोखरा विमानस्थलमा झर्नासाथ पोखरेली जनताको न्यानो स्वागत पाएका मुखर्जी पोखराको प्राकृतिक सुन्दरतामा मोहित भए । छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको सुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताए । विश्वका विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिले प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रको अवलोकनका गन्तव्यस्थल बनाउनु आफैमा महत्वपूर्ण उपलब्धि भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन् । यस्ता विशिष्ट व्यक्तिको भ्रमणका कारण यहाँको प्राकृतिक सुन्दरता विश्वका लागि थप चर्चाको विषय भएको छ भन्दै उनले यस्ता भ्रमणले यहाँको गरिमा र महत्व बढ्ने विश्वास व्यक्त गरे । गतवर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवम् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो । उक्त बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतका पाहुनाले पोखरालाई भगवानले फुर्सदमा बनाएको यो ठाउँ, प्रकृतिको अनुपम बरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्यजस्ता उपमा दिएकाले पनि यहाँकोे सुन्दरता विश्व माझ सबैको चासो र चर्चाको विषय बनेको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा विश्वका पर्यटकलाई लोभ्याइरहेको पोखरामा अति विशिष्ट व्यक्तिको भ्रमण एवम् उच्चस्तरीय बैठकका लागि पनि छनोटमा पर्नु समग्र पोखराका लागि गौरवको विषय भएको बताउछन् । “पछिल्ला समयमा पोखरामा सम्पन्न सार्क शिखर सम्मेलन, बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै सम्पन्न भारतीय राष्ट्रपतिको भ्रमणले पोखराको पर्यटकीय विकासका लागि थप ऊर्जा प्रदान गरेको छ”– उनले भने । इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए । रासस