विकासन्युज

सिद्धार्थ बैंकको नाफा १०९ प्रतिशतले बढ्यो, तीन महिनामा नाफा ३५ करोड

काठमाडौं २२, कात्तिक । सिद्धार्थ बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १०९ प्रतिशतले बढेको छ । यो बैंकले तीन महिनामै ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा गत वर्ष सोही अवधिको तुलनामा १७ करोड २० लाख रुपैयाँ थियो । बैंकको गत असोजसम्मको निक्षेप संकलन ७० अर्ब रुपैयाँ रहेको छ भने यसले बैंकको ऋण लगानी ५८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३ अर्ब ३७ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो बैंकको सीडी रेसियो ७८ दशमलव ३० प्रतिशत रहेको छ । खराव कर्जा १ दशमलव ५९ प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा रहेको छ । यो बैंकको प्रतिसेयर ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबी बैंकको नाफा १४७ प्रतिशतले बढ्यो, तीन महिनामै ३५ करोड नाफा

काठमाडौं २२, कात्तिक । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले तीन महिनामै ३५ करोड ३६ लाख खुद नाफा गरेको छ । बैंकसँग सर्वसाधारणको कुल निक्षेप रकम ६५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो बैंकको गत वर्षको असोजसम्मा ५६ अर्ब ५५ करोड रुपैयाँ यस्तो निक्षेप थियो । यो बैंकले गत असोजसम्ममा ५६ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रहेको छ । यो बैंकको जगेडा कोषमा ४ अर्ब १९ करोड रुपैया रहेको छ । सीडी रेसियो ७५ दशमलव ४५ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १ दशमलव ८३ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी साढे ३१ रुपैयाँ भने बजारमा यसको प्रति कित्ता शेयर ८ सय १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आईएमई बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, तीन महिनामा साढे ४१ करोड नाफा

काठमाडौं, २२ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा ५४ करोड ५३ लाख रुपैयाँ छ । यस बैंकले गत एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी ७९ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा १५ अर्बले वृद्धि गरी ६७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी करिव ५ अर्ब वृद्धि गरी १७ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ । यस बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा १ अर्ब ९९ करोड रुपैयाँ छ । बैंकको पुँजी प्रयाप्तता ११.९५ प्रतिशत छ । बैंकको खराज कर्जा १दशमलव ७१ प्रतिशत छ । सिडी रेसियो करिव ७९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा भएको यस बैंकको सेयर प्रति कित्ता ५ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ७७ करोड

काठमाडौं, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८२ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । यस बैंकको विजनेश पनि ह्वात्तै बढेको छ । एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा २० अर्बले वृद्धि गरी ९४ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी ८ अर्बले वृद्धि गरी २७ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको खराज कर्जा शुन्य दशमलव ७१ प्रतिशतमा झरेको छ । सिडी रेसियो ७८ प्रतिशत छ । बैंकको क्यापिटल एडेक्वेसी १३.९३ प्रतिशत छ । बैंकको चुक्ता पँुजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा ८ अबै ४० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ भएको यस बैंकको सेयर मूल्य प्रतिसेयर ८ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।  

महाअभियोग र मुद्दा अलमल्याउने रणनीतिमा कार्की, महाभियोग प्रस्ताव प्रक्रियासम्मत नभएको भन्ने

काठमाडौं २२, कात्तिक । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् । कार्कीका नातेदार र शुभचिन्तकको पहलमा बानेश्वरमा भएको भेलाले त्यही योजनाअनुरुप सोमवार सर्वोच्च अदालतमा २ वटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । अख्तियार र व्यवसायी स्रोतका अनुसार अदालतमा विचाराधीन मुद्दा र संसदमा दर्ता भएको महाभियोग प्रस्ता तुहाउने विषयमा कार्कीको उपस्थितिमा शुक्रबारदेखि छलफल भएको थियो । कार्कीमाथिको महाभियोग प्रस्ताव दर्तालगत्तै अख्तियारबाट अवकाश पाएका वरिष्ठ अधिवक्ता कोमल घिमिरेको संयोजनमा भएको भेलामा करिब एक दर्जन कानून व्यवसायी उपस्थित थिए । ‘संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रियासम्मत छैन भनेर अघि बढ्ने योजना बनेको छ,’ भेलामा सहभागी एक कानून व्यवसायीले कान्तिपुरसित भने, ‘कार्की विरुद्धको मुद्दाको म्याद तामेली प्रक्रियामा समेत प्रश्न उठाई सर्वोच्च अदालतमा जाने निर्णय भएको छ ।’ भेलामा कानून व्यवसायीहरु महादेव यादव, कृष्णप्रसाद सापकोटा, युवराज संग्रौला, भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, बाबुराम कुँवर, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए । छलफलपछि माधव बस्नेतले मुद्दाको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको स्रोतले बतायो । कार्कीका तीन रणनीति –  महाभियोग प्रस्तावविरुद्ध रिट हाल्ने –  म्याद तामेली प्रक्रियाविरुद्ध सर्वोच्चमा जाने –  सकेसम्म धेरै वकालतनामा गराएर मुद्दा लम्ब्याउने संसदमा दर्ता भएको महाभियोग र सर्वोच्च अदालतमा विचाराधीन योग्यताको प्रश्नसम्बन्धी मुद्दाको एकसाथ प्रतिरक्षाको रणनीति बनाउन कार्कीले यसबीचमा अन्य शुभचिन्तकसँग पनि छलफल र भेटघाट गरेको स्रोत बताउँछ । कानून व्यवसायीसँगको छलफलले महाभियोगको प्रस्ताव र म्याद तामेलीको प्रक्रियामा प्रश्न उठाउने रणनीति तय गरेको थियो । ‘महाभियोग सिफारिस समितिबाट संसदमा प्रवेश गर्नुपर्ने विषय सोझै संसदमा प्रवेश गरेको, बहालवाला मन्त्री नै प्रस्तावक भएको र उनीहरुले महाभियोगको पक्षमा दिएको प्रस्ताव प्रक्रियासम्मत नभएको भनी सर्वोच्च अदालतमा प्रश्न उठाउने तयारी छ,’ ती कानुन व्यवसायीले भने, ‘महाभियोगको प्रक्रिया अघि बढाउन रोक लगाउन आदेशको माग हुनेछ ।’ सम्भवतस् सोमबार नै दुई निवेदन दर्ता गर्ने तयारीमा उनको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको समूह छ । कान्तिपुर दैनिकबाट ।

नोट र सोर्सले न्यायाधीश बन्न नदिने, उच्च अदालतका न्यायाधीश नियुक्ति षडयन्त्र भइरहेको खुलासा

काठमाडौं २२, कात्तिक । प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षडयन्त्र भइरहेको खुलासा गरेकी छन्। सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका केही पदाधिकारीसँग शुक्रबारको छलफलमा प्रधानन्यायाधीश कार्कीले आफ्नो योजनविरुद्ध षडयन्त्र भइरहेको खुलासा गरेकी हुन् । ‘न्यायपरिषद बैठक बस्न नदिने र जसरी पनि नियुक्ति रोक्ने षडयन्त्र भइरहेको मैले थाहा पाएँ,’ कार्कीलाई उद्धृत गर्दै सर्वोच्च बारका एक सदस्यले भने । नाम उल्लेख नगरी कार्कीले आफ्नै सहकर्मीबाट समेत षडयन्त्र भइरहेको बताएकी थिइन् । पुनरावेदन अदालतलाई संविधान बमोजिम हालै उच्च अदालतमा परिणत गरिएपछि ८० हाराहारी संख्यामा न्यायाधीश नियुक्ति गर्नुपर्नेछ । ‘प्रधानन्यायाधीश भएपछि मैले थाहा पाएँ, कस्ता–कस्ता षडयन्त्र हुँदा रहेछन्,’ कार्कीले ती पदाधिकारीसँग भनेकी थिइन्, ‘तर पैसाका बिटा र नेताको चाकरी तथा सोर्स, भनसुनका भरमा म नियुक्त हुन दिन्नँ, तत्कालै उच्च अदालतका न्यायाधीशहरु नियुक्त गरेरमात्र बिदा हुन्छु ।’नागरिक दैनिकबाट ।

हवाई सुरक्षामा नेपालको अवस्था सुधारोन्मुख, विश्वको औषत अवस्थासँग नजिक हुँदै

काठमाडौं २२, कात्तिक । सरकारले पछिल्लो चार वर्षमा मुलुकको हवाई सुरक्षामा अधिकांश सूचाकांकमा सुधार भएको दाबी गरेको छ ।नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले विश्वभरका मापन गर्ने रहेको ५४ प्रतिशत रहेकोमा नेपालको अवस्थामा ४५ प्रतिशतमात्र रहेको छ । जुन न्यूनतम ४५ प्रतिशत हुनुपर्ने आइकाओको मापदण्ड छ । सन् २०१५ मा दुर्घटना नभएको वर्ष थियो । तर, सन् २०१६ को सुरुवाती महिनादेखि नै भएका ठूला दुर्घटनाका कारण नेपालको अवस्था कमजोर रहेको छ । सन् २०१६ मा तारा एयर, एयर काण्ठमण्डप तथा फिस्टेल एयरको आएको छ । पछिल्लो सयम नेपालको हवाई सुरक्षा अवस्था सुधार भएककोले चाँडै नै यूरोपेली युनिय (इयू)को कालोसूचीबाट नेपाल मुक्त हुने भनाइ नेपाल नागपरक उड्डयन प्राधिकरणको छ ।कारोबार दैनिकबाट ।

मुआब्जाले बनायो करोडपति, अरुण तेस्रो आयोजनाले जग्गा लिएपछि एकाएक करोडपति

संखुवासभा २२, कात्तिक । पाथीभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्ष मात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारीमै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् । गाउँमा पाखोबारी त थियो, तर तीन महिना पनि खान नपुग्ने । तर, आज उनी एकाएक करोडपतिमा दरिएका छन्। बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले डुबान तथा अन्य कारण अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा गएको बुधबारबाट वितरण गर्न थालेको छ । पाथीभरामा उनको तीन दाजुभाइको सगोलको २६ रोपनी जग्गा छ । जुन जग्गा डुबानमा पर्ने भयो र जेठा असारमान, माइला शेरबहादुर र उनले मुआब्जा पाउने भएका छन् । आयोजनाले पाखोबारीको प्रतिरोपनी आठ लाख २५ हजारका दरले मुआब्जा दिने भएको छ । त्यस्तै त्योभित्रका रूख, बिरुवा, अलैँची, घर, कटेरोको बेग्लै मूल्यांकन हुने भएको छ । ती सबैको हिसाब गर्दा तीन दाजुभाइले कम्तीमा पनि पाँच करोड पाउने निश्चित भएको छ । मुआब्जाबाट राम्रो पैसा आउने भएपछि लीलाबहादुरले खाँदबारी–१० नयाँ बजारस्थित जय चापागाईंको घर एक करोड १५ लाखमा किन्न बैना गरिसकेका छन् । त्यस्तै धरान र काठमाडौंमा पनि घर–घडेरी हेरिरहेको उनले बताए । याफुका टेकबहादुर राईले पनि मुआब्जा वितरण गरेको दोस्रो दिन तीन करोड ७१ लाख रुपैया“ बुझे । उनी पनि घर–घडेरी र जग्गा जोड्ने ध्याउन्नमा छन् । उनले केही रकम बैंक ब्यालेन्ससमेत गर्ने बताए । अरुण तेस्रोको मुआब्जामा भारी रकम पाउन थालेपछि खाँदबारीमा जग्गाको मूल्य आकासिएको छ भने बैंकले पैसा अभाव भएको भन्दै भुक्तानी मागेको जति रकम दिन सकिरहेको छैन । नयाँ पत्रिका दैनिकबाट ।