माथिल्लो तामाकोसीको सुरुङमार्ग एक साताभित्र खुल्ने, लामाबगरसम्मको सडकसमेत सुचारु
काठमाडौं १०, मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गका लागि निर्माणाधीन सुरुङमार्गको काम एक साताभित्रै सकिने भएको छ । यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुल्नेछ भने ०७२ वैशाख १२ को भूकम्पपछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त हुनेछ । सुरुङमार्ग खुलेपछि लामाबगरसम्मको सडक पनि सुचारु हुनेछ । भूकम्पले प्रवेशमार्गको काब्रेभिर क्षेत्रमा सडक भत्किएको थियो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान अप्ठ्यारो भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो । काब्रेभिरमा सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सकेको छैन । दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्गमध्ये भोर्ले र काब्रे भिरमा सबैभन्दा बढी सडक क्षति भएको थियो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार अन्तिम भागमा कमजोर चट्टान आएकाले केही दिनयता कामको गति घटेको छ । विगतमा दैनिक ५ मिटरसम्म सुरुङको काम हुँदै आएकोमा केही दिनयता दैनिक मुस्किलले २ मिटर प्रगति भएको उनले बताए । कारोबार दैनिकबाट ।
दाहाल-ओली चर्काचर्की, प्रशंग संविधान संशोधनको तयारीको
काठमाडौं १०, मंसिर । संविधान संशोधनको तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच बिहिबार साँझ चर्काचर्की भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्टाएर मधेसी मोर्चाको माग सम्बोधन गर्न चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पुरा भइसकेकोले धेरै विरोध नगर्न आग्रह गरेका थिए। जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसदसँग त्यो संवैधानिक हैसियतनै नभएको जिकिर गरेका थिए। सरकारले सीमांकन चलाउन खोजे त्यसविरूद्ध अदालत जाने चेतावनी समेत ओलीले दिएका थिए। बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच सवाल–जवाफ यस्तो सके समर्थन गर्नुस्, नसके चर्को विरोध नगरिदिनुस् स्प्रधानमन्त्री, सशक्त विरोध गर्छौं – ओली प्रधानमन्त्री: तपाईंहरूले विरोध गरे पनि अब संविधान संशोधन प्रस्ताव दर्ता गरेर अगाडि जाने भइयो, सके सहमतिमा आएर समर्थन गर्नुहोस्, त्यसो गर्नुहुन्न भने पनि चर्को विरोधमा नआइदिनुहोस्। ओली: तपाईं नयाँ द्वन्द्वको बीजारोपण गर्दै हुनुहुन्छ। तपाईं त्यसरी अगाडि नबढ्नोस्, यदि अगाडि बढ्नुभयो भने त्यसले नयाँ खालको द्वन्द्वको बीजारोपण गर्छ। हामी त्यस्तो प्रस्तावलाई समर्थन गर्न सक्दैनौँ। त्यसलाई कसरी असफल पार्ने भन्ने सबैखाले प्रयास गर्छौँ। त्यस्तो प्रस्तावविरुद्ध आन्दोलन सशक्त बनाएर अघि बढ्छौँ। प्रधानमन्त्री: मैले मोर्चालाई पनि सोधेँ, तपाईंहरू के गर्नुहुन्छ भनेर। ‘तपाईंहरूको समर्थन हुन्छ भने दर्ता गर्छु, नभए गर्दिनँ। मैले दर्ता गर्ने, तपाईंहरूले समर्थन नगर्ने, प्रस्ताव पनि पारित नहुने स्थितिमा मैले नैतिकताका आधारमा पद छाड्नुपर्ने हुन्छ भन्दा उहाँहरूले समर्थन गर्छौँ’ भन्नुभयो। ओलीः देशलाई बर्बाद गर्ने र तपाईंलाई पनि समाप्त पार्ने प्रस्तावमा त उहाँहरूले पनि समर्थन गरिहाल्नुहुन्छ नि ? नयाँ पत्रिकाबाट
अढाइ महिनापछि फारम भर्न खुला, लाइसेन्सको फारम लिन मध्यरातदेखि लाइनमा
काठमाडौं १०, मंसिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरू मध्यरातदेखि नै लाइनमा बस्न थालेका छन्। लाइनमा बस्दासमेत फारम भर्न नपाएको उनीहरूको गुनासो छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेका अनुसार दुई महिनाभन्दा बढी समयसम्म लाइसेन्स दिने प्रक्रिया ठप्प हुँदा करिब १६ हजार जना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएनन् । ‘फारम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको हो,’ उनले भने । त्यस्तै, काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको अनुमतिपत्र दिने एक मात्र यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले दैनिक ६ सय फारम मात्र वितरण गरिरहेको छ। ट्रायल सेन्टर अभावका कारण दैनिक ६ सयभन्दा बढी फारम वितरण गरे पनि त्यसपछिको प्रक्रिया अघि बढाउन नसकिने भएकाले ६ सयमा सीमित गरिएको यातायात व्यवस्था विभागको भनाइ छ । एक दिनमा ६ सय फारम मात्र किन रु विभागसँग साइसेन्स लिनका लागि दिनुपर्ने लिखित परीक्षा हुने हल दुईवटा रहेका छन् । ती हलमा दिनभरमा विभिन्न सिफ्टमा गरेर ६ सयजनाको मात्र परीक्षा लिन सकिन्छ। अर्कोतिर लिखित परीक्षा पास गर्नेलाई लिइने प्रयोगात्मक परीक्षा ९ट्रायल० केन्द्र पनि दुईपांग्रेको मीनभवन र चारपांग्रेको रामशाहपथमा एक–एकवटा मात्र छन् । रातको समयमा ट्रायल लिन सक्ने सम्भावना छैन, एउटा परीक्षार्थीले ट्रायल दिन पनि पाँचदेखि १० मिनेट समय लाग्ने भएकाले त्यहाँ पनि भीड हुने गरेको छ । विभागका अनुसार गुर्जुधारामा नयाँ ट्रायल सेन्टर निर्माण थालिएको छ । नयाँ पत्रिका दैनिकबाट ।
लालबाबु पण्डितको निर्णय उल्टियो, निजामती कर्मचारीलाई व्यापार–व्यावसाय गर्न छुट
काठमाडौं १०, मंसिर । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै सरकारी कामका अतिरिक्त व्यापार व्यावसाय गर्न छुट दिनेगरी नयाँ मापदण्ड बनाएको हो । फाइल तस्विर पूर्वमन्त्री पण्डितले गरेको निर्णय उल्ट्याइँदै तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न स्वीकृति दिन नहुने भन्दै रोकेका थिए । कर्मचारीलाई कुनै बैंक तथा बित्तीय, शैक्षिक, सहकारी संस्थालगायतका कुनै पनि कम्पनी स्थापना गर्न, रजिस्ट्रेसन वा संचालनको काममा भाग लिन भने बन्देज लगाइएको थियो । पण्डितकै प्रयासमा निजामती सेवा ऐनमा संशोधन गरेर कर्मचारीलाई डिभी र पिआर लिन समेत रोक लगाउने कानून बनेको थियो । मन्त्री पण्डितले निजामती सेवा ऐन २०४९ को दफा ४८ को उपदफा ‘ग’ मा रहेको कर्मचारीले सरकारबाट स्वीकृति लिएर अन्यत्र नोकरी गर्न पाइने प्रावधानसमेत खारेज गर्न लगाएका थिए । तर निजामती सेवा ऐनको दफा ४८ कै उपदफा क र ख मा रहेको सरकारको पूर्व स्वीकृति लिएर कर्मचारीले कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा संचालकको काममा भाग लिन सक्ने र प्रचलित कानुन बमोजिम व्यावार वा व्यावसाय गर्न पाउने सम्बन्धी प्रावधान भने खारेज नगरी यथावत राखिएको छ । यही प्रावधानलाई टेकेर सामान्यले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न छुट दिने मनसायले नयाँ मापदण्ड बनाएको हो । नयाँ पत्रिका दैनिकबाट ।
घरभाडा निर्धारण सम्बन्धि नीति बनाउँदै सरकार, ७० लाख नेपाली डेरामा बसेको अनुमान
काठमाडौँ, ९ मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले वैज्ञानिक रुपमा घर भाडा निर्धारण गरिने बताएका छन् । घर बहाल सरोकार महासङ्घ नेपालले विहीबार मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस समस्यालाई वैज्ञानिक ढङ्गबाट समाधान गर्न मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको र छिट्टै स्पष्ट नीति निर्माण गरिने बताए । महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा घर बहाल ऐन तथा लगानीकर्ता सुरक्षा ऐन जारी गरिनुपर्ने, बहालमा लगाउने घरधनीले राज्यलाई घर बहालकर अनिवार्य रुपमा तिर्ने गरी नीति निर्माण गरिनुपर्ने, न्यूनतम सुविधा घरधनी स्वयम्ले नै उपलब्ध गराउनुपर्ने, प्रत्येक पाँच वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गरिनुपर्नेलगायत उल्लेख छ । त्यस्तै ध्यानाकर्षण पत्रमा सरोकार भएका पक्षसँग समन्वय गरी नीति, नियम र निर्देशिका तयार गरी जारी गर्नसमेत अनुरोध गरिएको छ । काठमाडौँ उपत्यकामा करिब १४ लाख र मुलुकभर करिब ७० लाख व्यक्ति घर भाडामा बस्दै आएका महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रसाद पोखरेलले बताए। घर भाडा र सुविधाबारे स्पष्ट नीति नभएकोले भाडामा बस्नेहरु समस्यामा परेको उनले बताए ।
चीनका लागि फेसबुकले तयार पार्यो नयाँ सफ्टवेयर, इन्क्रेप्टेड भर्सनमा उपलब्ध हुने
काठमाडौं,९ मंसिर। चीनका लागि फेसबुकले विशेष सफ्टवेयर तयार पारेको छ। फेसवुकका संस्थापक मार्क जुकर्वर्गको चाहनावमोजिम कम्पनीले गोप्य रुपमा यो सफ्टवेयर तयार पारेको खुलासा भएको छ। विशेष देश र ती देशका महत्वपूर्ण क्षेत्रका मानिसहरुका लागि न्युज फिडमा आउने पोस्टमा सेन्सर गर्न सकिने सफ्टवेयर फेसबुकले तयार पारेको हो। चीनमा यस्ता समस्या देखा परेको र त्यहाँ सेन्सरसिपको कुरा पटक पटक उठेपछि फेसबुकले नयाँ सफ्टवेयर बनाएको हो। फेसबुकले आफैं भने पोस्टहरु रोक्ने छैन । चिनियाँ साझेदार कम्पनीले उक्त सफ्टवेयरमार्फत् मानिसहरूले पोस्ट तथा सेयर गरेका चीजहरु देखाउने वा नदेखाउने भन्ने अधिकार राख्नेछ । यो सफ्टवेर बनाउनुको मुख्य कारण चीनमा पनि फेसबुकको प्रभाव विस्तार गर्नु हो । सन् २००९ मा चीनमा फेसबुक खोल्नका लागि निजी नेटवर्कमार्फत जानु पर्दथ्यो। जसले असली लोकेसन लुकाइदिन्थ्यो भने इन्टरनेटमा ब्लक गरिएकाद सामग्री हेर्न सकिन्थ्यो।
ब्ल्याक ब्युटिसँग फेसबुक सम्वाद, टाउको दुःखेको औषधि केरा ?
सुस्मिता न्यौपाने हिजो दिउँसो तिरको कुरा हो, म परिक्षा सकाएर हिड्दै डेरातिर जाँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दैथिएँ, पछाडिबाट अकस्मात एउटा मोटरसाइकलले हर्न बजायो । गल्ती गरेँ क्यारे जस्तो लागेर अलि छेउतिर लागेँ । मोटरसाइकल मेरो नजिकैबाट मतिर हेर्दैहेर्दै बिस्तारै अघि बढ्यो । मैँले पनि हेरेँ, मास्क लगाएको हेलमेट लगाएको मान्छेको आँखा मात्रै देखिन्थे त्यो पनि गिद्दे दृष्टिले म तिरै हेर्दै गरेका । उ अगाडि बढ्यो र केही सेकेन्ड हिडेर रोकिराखेको गाडिहरुको आडमा पुगेर बाइक रोक्यो । म हिड्दै त्यहीँ पुगेँ । शुरुमा सोचेँ, कोही चिनेको मान्छे पो हो कि ? बोलुला झै गरेर मैतिर उही दृष्टिमा हेर्दै थियो तर उ मलाई अपरिचित लाग्यो, अघि बढेँ । फेरि केही अगाडि उसैगरी बाइक रोक्यो, अब भने मलाई उ माथि शंका लाग्यो त्यो भएपटि नहेरे जसरी बाटो लागेँ तर खै कुन्नि के भनेर उस्ले मलाई बोलायो र नजिकै बाइक ल्याइपुर्यायो । मैलेपनि खाँउला झै गरि हेरिदिएँ । बल्ल उ अघि बढ्दैथियो । संयोगबस मेरो दाजु बाइक लिएर आइपुग्नुभयो र म पछाडि बसेर बाटो लागेँ त्यसपछि त्यो मान्छेलाई मैले देखिन । म क्याम्पस गएर नियमित पढ्न थालेको धेरै भएको छैन । एम.एड. दोस्रो वर्षकी विद्यार्थी । सामान्यतया यति पढाइ हुनेलाई उच्च शिक्षा पाएका शिक्षित ब्यक्ति भनिन्छ । हरेक दिन क्याम्पस जाँदा लामो कुर्ता सुरुवाल लगाएर पछाडि ब्याग भिरेर सामान्य रुपमा जाने गर्छु । एकदिन दुईदिन गर्दै सँगै अध्ययन गर्ने साथिसङ्गीहरु परिचित हुन थाले । सामाजिक सञ्जाल फेसबुकको व्यापक प्रयोगबाट म पनि अछुतो छैन । केही पुरुष मित्रहरूले सबैभन्दा पहिले साथी बन्ने अनुरोध गर्नुभयो, स्विकारेँ । नियमित सामान्य गफगाफ हुन थाले । सबै मित्रहरूसँग पढाइका, क्याम्पसका, परिक्षाका विषयमा विषेश कुरा हुन्थे । ती मध्ये एकजना साथी अलिक बढि नै नियमितता देखाउनुहुन्थ्यो ।उहाँ फेसबुकमा पनि ब्युटि भनेर सम्बोधन गर्ने गर्नुहुन्थ्यो । ननिको लागेर नभन्नुस भन्दा पनि उहाँ भनिरहनुहुन्थ्यो । केहिदिन अघिको कुरा हो, म टाउको दुखेर थलिएको थिए । केहिबेर सुतेर फेसबुक चलाउने सोचेँ । उनैको सन्देश थियो, के छ खबर ? परिक्षा कस्तो चल्दैछ आदि । प्रतिउत्तर दिए । अनलाइन नै रहेछन् । गफ सुरु गरिहाले । केहिबेरको कुराकानी पछि टाउको दुखेको जनाउँदै मैले बिदा भएर फेसबुक बन्द गरेँ । भोलिपल्ट फेसबुक खोल्दा उनको सन्देश थियोे, ‘लामो हाँसो । केरा लिएर आउँ त भेट्न ? ’ यो कस्तो प्रकारको समवेदना हो ? टाउको दुखाइ बताएपछि हाँस्नु, त्यसपछि केरा लिएर भेट्न आउँछु भन्नुलाई मैँले कसरी बुझ्ने ? टाउको दुखाइको औषधि के हो मलाई थाहा छ, न कि केरा । तुरुन्तै जवाफ दिएँ, भो खाँचो छैन तिमी जस्ता साथी । दुईअर्थ कुरा गरेर मजा लिन खोज्छौ? अर्काेको दुख हाँसेर उडाउछौ? फेसबुक मै भएको अर्को घटनाको कुरा गर्दा एक नाम चलेको गैरसरकारी संस्थाका माथिल्ला तहका पुरुष कर्मचारी साथीको रुपमा थिए । उक्त संस्था सँग राम्रो चिनजान रहेपनि उनीसँग प्रत्यक्ष भेटघाट भएको थिएन । मैँले काम गर्ने संस्थामा मैले गरेको कामको उनले काम गर्ने संस्थामा निकै प्रशंसा हुन्थ्यो र यो जानकारी उनलाई थियो । त्यसैले पनि होला नियमित कुराकानी गर्नेमा उनी पनि पर्थे तर उनका सम्बोधन पनि उस्तै हुन्थ्यो । ब्ल्याक ब्युटि, काली राम्री आदि आदि । म भने उनलाई सम्मानजनक शब्दहरुको प्रयोग गर्थें । कहिलेकाही त्यस्तो नभन्नुस भन्दै गर्दा केही दिन नभन्ने र फेरि दोहोर्याउने गर्थे उनी । वास्तवमा उनी थिए एक आठ दश वर्षकी छोरीका बाबु । एकदिन उनले सिमा पार गरे । खास जसरी बुझ्यो कुराहरु त्यस्तै हुन्छन् भन्ने गरिन्छ । तर मैले जे बुझेँ त्यसले मैले आफुलाई हिंसा गरेको बुझेँ, असह्य भयो । “I love you Kali Beauty” उनको सन्देश । उनी ठूला मान्छे, के भनेर गालि गर्ने त ? ‘कुनै दिन तपाईंको यो सन्देश काम लागोस’, मैले उत्तर दिएँ । उनी बल्ल हिचकिचाए, डराए । नरिसाउनुहोला, माफी पाउँ भनेर केहि समय हराए । आजभोलि उनले सन्देश शुरु गर्दा नमस्तेबाट शुरु गर्छन । महिला सशक्तीकरणका विषयलाई चर्काे रुपमा उठाउने संस्थाका पहरेदार उनी आँफै यस्ता थिए भने अरुबाट के आशा गर्ने ? ६/७ कक्षातिर पढ्दा गुरुहरु हुनुहुन्थ्यो । हामी बिद्यार्थी उहाँहरू सँग ज्ञानगुनका कुरा सिक्थ्यौ । तर एक्लै फेला पर्दा उहाँहरू पनि मौकाको फाइदा लिइहाल्नुहुन्थ्यो । ‘कस्ले कपाल कोरिदियो? कसले गाजल लगाइदिएको ? जुम्रा हेरिदिन्छु ।’ भन्दै असहज लाग्ने तरिकाले शरीर छुन खोज्नुहुन्थ्यो उहाहरुमध्ये कोहिकोहि । यस्तो सधै त हुदैनथ्यो तर जे होस, त्यसपछि ती गुरुहरुका छेउ पर्न, प्रश्नहरू सोध्न अनि गृहकार्य गरेर बुझाउन मन कहिलै लाग्दैन थियो । उहाहरुले बिर्सिपनि सक्नुभयो होला मैले यस्तो गरेथेँ भनेर अनि सायद उहाहरुलाई गलत गरेँ भनेर महसुस नै भएन होला । नत्र आजभोलि पनि नजिकका कतिपय साना नानीहरू हिचकिचाउँदै सकि नसकि गर्छन् उही व्यवहारिक कुरा । सबै गुरुहरुले यसै गर्नुभएन तर हिंसाको अनुभव दिलाउन केही गुरुहरुका ती अनुहार नै काफि छन्, दिल खोलेर प्रतिभा प्रस्फुटनमा रोक्नका लागि, सिर्जनशीलतालाई खारिनुका सट्टा बन्द गराउनका लागि । यस लेखलाई पढ्दै गर्दा कति पुरुषलाई लाग्ला यसले हाम्रो पर्दाफास गरि, अनि कतिले त्यो हिंसक गलत रहेछ भन्लान् र कोहिकोहिले आफैंले गरेका कृत्यहरु स्मरण नै नगर्लान् । भने जो महिलाहरूले अध्ययन गर्लान् ती मध्ये कतिका समान भोगाइ हो यो कथा भने कतिले असल काम गर्न, शक्तिशाली हुन महिले भएकोले नरोकिने अन्दाज लगाउलान् । तिनै उच्च क्षमतावान केही महिलाहरुलाई पर सारेर बाँकी मध्यम र निम्न स्तरीय महिलाहरूको कुरा गर्ने हो भने यो भोगाइ यो पीडासँग मेल खानेछ र कतिपयका पीडा अझै दर्दनाक हुने कुरामा दुईमत छैन जो शिक्षित पनि हुनुहुन्छ, अझ अशिक्षित र ग्रामीण भेगका महिलाहरूको भोगाइका पीडा त स्मरण गरिसाध्य छैन । जो महिलालाई हिंसा पिडित भएको थाहा छ उनी दुखले छट्पटिनेछिन भने पिडित भएको थाहै नपाउने चाहिँ चुपचाप रहनेछिन् अन्जान अबोध बालबालिका जसरी । उल्लेखित साझा समस्याहरू महिलाले महिला भएकै कारणबाट भोग्ने समस्याहरु हुन् । न त कुनै कानुनी रुपमा प्रमाण नै पुग्ने, न त समाज साक्षी राखेर दोषीलाई यसको दोष यो हो भनेर औला उठाउन मिल्ने यस्ता हिंसात्मक अनगिन्ती पिडाबाट गुज्रिएर पनि यहि समाजमा आफ्नो स्थान, मान र नाम राख्न सक्नु वास्तवमा एक पुरुषले विना हिचकिचाहट शिखर चढेभन्दा कम छैन एक महिलाका लागि । हिंसा सहनु पनि गलत हो भन्ने गरिन्छ, कानुन प्रयोग नगर्नु पनि दोषी हुनु हो भन्ने गरिन्छ । तर कानुनले ठोस प्रमाण खोज्ने गरेको छ, महिलाका बेदना र भावनाको भाषा बुझ्दैन कानुन । यस्ता प्रकारका हिंसात्मक कृयाकलापको प्रमाणका रुपमा के प्रस्तुत गर्ने? गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउने? बाटोमा केटिमान्छे हिड्दा छतबाट र झ्यालबाट तालि पिट्ने, सिठि बजाउने, जिब्रो पड्काउने केटाहरूलाई सजाय दिने कस्तो कानुन बनेको छ? हर्न बजाउँदै केटीको अघिपछि गर्ने केटालाई कुन कठघरामा कसरी उभ्याउने ? नवबिबाहित पल्लाघरे दाजुले भाउजूको भन्दा तिम्रो प्रगति चाहन्छु तिमीलाई धेरै माया गर्छु भनिरहँदा गलत आफूलाई लाग्दालाग्दै पनि उ गलत हो भनेर महसुस कसरी गराउने ? यस्ता मानशिक हिंसापिडितहरुलाई सम्बोधन हुने कानुन कहाँ बनेको छ? कस्को लागि लागू हुन्छ? बास्तवमा हिंसा शारीरिक मात्र नभएर अन्य किसिमबाट पनि हुन्छ र सबै हिंसा दण्डनीय नभएको कुरा कानुन निर्माताहरुले बुझ्नु जरुरी छ । अन्तमा हिंसकहरुको विकृत मनस्थितिको उपचार गराउनु नै हिंसा निर्मूल पार्ने अचुक उपचार हो कि ?
एक करोड बीसलाख सिमकार्ड निष्क्रिय बनाउने घोषणा, सहि सूचना दिएर १५ भित्र सिमकार्ड दर्ता गर्न सकिने
हानोई, ९ मंसिर । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु भियतनाम सरकारले निष्क्रिय पार्ने भएको छ । भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ । केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ । यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो । सिमकार्ड व्यबसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोही लाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ । यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एककरोड बीसलाख सिमकार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो । सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा