विकासन्युज

सिप्रदीको २४औं वर्कशपको उद्घाटन सम्पन्न, वृक्षारोपण कार्यक्रमको आयोजना

काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । वर्कशप उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स् ग्राहक सेवा इन्टरनेशनल बिजनेस हेड गणेश सेट्टी तथा टाटा मोटर्स् ग्राहक सेवा, सार्कका क्षेत्रीय प्रबन्धक अन्सुमन सामन्तको लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले बागडोल वर्कशपको बारेमा जानकारी दिदैं कमर्सियल गाडीहरुको लागि आफ्नो कम्पनीले देशभर छरिएका विभिन्न वर्कशपहरुद्वारा छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाः ऋणको अवधि पाँच वर्ष थप्न चिनियाँ पक्षलाई आग्रह

काठमाडौं, १० मङ्सिर । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै शुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक/पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ । आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनियाँ पक्ष सहमत भएको बताइएको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच भएको छलफलमा सो आयोजना अगाडी बढाउन चिनियाँ पक्ष सहमत भएको हो । निर्माणको जिम्मा लिएको चाइना गेजुवा गु्रप अफ कम्पनी (सीजीजीसी)ले यही मङ्सिर अन्तिम साताबाट निर्माण कार्य अघि बढाउने भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले ६१ करोड रुपैयाँको बजेट उपलब्ध गराउने भएको छ । विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो । आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने भइरहेको छ । कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम अगाडि बढेको छ । केही स्थानमा मुआब्जामा चित्त नबुझाएर स्थानीयवासीले अवरोध गरे पनि प्रसारण लाइन निर्माणमा खासै समस्या नरहेको बताइन्छ । भूमीगत (सुरुङभित्रै) विद्युत् उत्पादन गर्ने संरचना निर्माण गरी नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाउने योजना अनुसार अघि बढेको काम भूकम्पले बाँध पुग्ने सडकमा क्षति पुर्याएपछि आयोजना रोकिएको थियो । उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्मको पाँच किलोमिटर सडक सुचारु नहुदाँ आठ अर्ब ९० करोड रुपैयाँको आयोजना अलपत्र परेको थियो । पहुँच मार्गसँगै मुख्य समस्या बाँधको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश विन्दुमा आएको पहिरोले आयोजना निर्माण रोकिएको हो । सडक खुलाउनका लागि नेपाली सेनालाई जिम्मा दिने तयारी गरिएको छ । सेनाले यसअघि पनि उक्त आयोजनाको पहुँचमार्ग सुधार गरेको थियो । तर वर्षातको समयमा पुनः पहिरो झरेपछि आयोजनाको पहुँचमार्ग अवरुद्ध हुँदै आएको छ । भूकम्पपछि ठेकेदार निर्माणमा नफर्कदा, सडक मार्ग सुचारु नहुँदा माथिल्लो त्रिशूली ‘थ्रि ए’ लामो समयदेखि अलपत्र बनेको थियो । ‘थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगवाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् । भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो । सन् २०११ को जुनबाट काम सुरु भएकोे आयोजना २०१४ को मे र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्ने गरी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले ठेक्कामा लिएको थियो । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका उच्च अधिकारीलगायतले केही समय पहिला स्थलगत अध्ययन गरी उक्त आयोजनाको निर्माण शीघ्र सुरु गर्न आवश्यक पहल गर्ने बताएका थिए । निर्माणस्थलमा ठेकेदारले बिमा कम्पनीका प्रतिनिधि लगेर थप अध्ययन गर्ने र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गर्नेछ । भूकम्पका कारण ठेकेदारले करिब रु एक अर्ब बराबरको क्षती पुगेको दावी गर्दै आएको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख जोशीको भनाइ छ । रासस

इमर्जिङ नेपालद्धारा स्टार्टअप फन्ड स्थापना, करोड भन्दा माथिका आयोजनालाई इक्वीटीमा लगानी गर्ने

काठमाडौं, १० मंसिर । इमर्जिङ नेपालले स्टार्ट अप फन्ड  प्रारम्भ गरेको छ । फन्डले उद्यमी व्यवासयीहरुलाई आफ्नो परियोजना सञ्चालन गर्न उनीहरुको आर्थिक संवृद्धि हासिल गर्न सहयोग पुर्याउने छ । इमर्जिङ नेपालले स्थापना गरेको स्टार्ट अफ फन्डले १ करोड रुपैयाँभन्दा माथिका परियोजनामा इक्युटीमा लगानी गर्नेछ । त्यसका लागि कम्पनीले पुस १४ गतेसम्म आवेदन गर्न आह्वान गरिसकेको छ ।   नेपालमा दर्ता भएका शिक्षा, स्वास्थ्य जस्ता क्रियटिभ इनोभेसनका परियोजनाहरुमा लगानी गर्ने संघ संस्थाहरुले यसमा निवेदन दिन सक्नेछन् । इक्वीटीमा लगानी गर्न लागेको नेपालमा यो पहिलो अभ्यास हो । विदेशमा भने यस्ता कार्यहरु प्रसस्त भएका छन् । यस कम्पनीले इक्वीटीको नाममा पुँजी प्रबाह गर्न पहिलो चरणमा उद्यमीसँग कन्सेप्ट पेपर माग गर्ने र दोस्रो चरणमा छनौटमा परेका परियोजनाको विस्तृत विजनेस प्रपोजल तयार गरी लगानी गर्ने छ । सवै परियोजनाको मुल्यांकन छनौट कम्पनीबाटै हुने पनि कमपनीका अध्यक्ष तथा पूर्व सचिव लालमणी जोशीले जानकारी दिए । कम्पनीका प्रमूख कार्यकारी अधिकृत डा.विनोद आत्रेयले यस कम्पनीले विकास पुर्वाधारमा लगानी गर्ने, सरकारलाई परामर्स सेवा उपलव्ध गराउने, राष्ट्रलाई वित्तिय, स्वास्थ्य, पर्यटन हबको रुपमा विकसित गर्न पहल गर्ने जस्ता कार्यहरु गर्ने डा. आत्रेयले जानकारी दिए । पुर्वाधारको विकासको रुपमा जलस्रोत पर्यटन तथा बैकिङ क्षेत्रमा लगानी बढाउने लगायत विभिन्न आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने जस्ता उदेश्यहरु लिएर इमजिङ नेपालको स्थापना भएको पनि डा. आत्रेयले जानकारी दिए । संस्थाले उदेश्यहरु पुर्ति गर्न हाल केयर रेटिङ नेपाल लिमिटेड स्थापना गर्नको लागि आवश्यक कार्य सुरु गरिसकेको पनि आत्रेयले बताए । उनका अनुसार संस्थाले सर्वाजनिक निजी साझेदारीमा स्थापना हुने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक सम्बन्धी कार्य पनि सुरु गरिसकेको छ । इमजिङ नेपाल इक्वीटीबेस संस्था हो । यसको चुक्ता पुँजी २५ करोड रहेको छ । शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीको पुँजी २५ करोड बनाएको हो । कम्पनीको अधिकृत पुँजी पाँच अर्व रुपैयाँ रहेको छ । यस कम्पनीमा सरकारको ०.५ प्रतिशतमात्र लगानी रहेको छ । आइएमई ग्रुप, विशाल ग्रुप, एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा १० प्रतिशत भन्दा माथि कसैको पनि लगानी रहेको छैन । २०७२ भदौमा स्थापना भएको यस कम्पनीले यसैपालिदेखि काम सुरु गरेको हो ।

नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डमा, नेपालको पर्यटन विकासमा थाइल्यान्डबाट सिक्नुपर्ने

थाइल्यान्ड, १० मंसिर । प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि राजनीतिक अस्थिरताका कारण नेपाल पछिपरेको कुरा चितवनको नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहिबार आयोजना गरेको १७औँ वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताले बताएका छन् । सँगैसँगै विकासक्रममा रहेका नेपाल र थाइल्यान्ड राजसंस्थाले लामो समय सत्ता सञ्चालन गर्दै गर्दा विकासक्रममा थाइल्यान्डले कायापलट गरेको छ भने नेपाल भने यथास्थितिमा रहेकामा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । थाइल्यान्डमा पर्यटक भित्रिनुको मुख्य कारण समुन्द्र हो भने नेपालमा रहेका हिमशृङ्खला र दुर्लभ वन्यजन्तु तथा प्राकृतिक छटा आकर्षणका केन्द्र हुन् । तर उचित प्रचार, अस्थिर राजनीति र व्यवस्थापनको अभावका कारण नेपाल पछि परेको वक्ताको दाबी थियो । कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०का थाइल्यान्ड उपाध्यक्ष महेन्द्र श्रेष्ठले नेपालको पर्यटन विकासका लागि थाइल्यान्डबाट धेरै सिक्नुपर्ने बताए । उनले राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मीसहित पत्रकारको टोलीको यो थाइल्यान्ड भ्रमणले नेपालमा पर्यटक कसरी भित्र्याउन सकिन्छ र बसाइ लम्ब्याउन सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले थाइल्यान्डको विकासलाई हेरेर नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारिता पेसामाथि औँला उठाउन नसक्ने गरी काम गर्नुपर्ने भन्दै समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने “राजनीतिका कारण देश बिग्रियो मात्रै भन्नुभन्दा सही ट्र्याकमा लान हामी पत्रकारले के गरौँ भन्ने बारेमा सोच्नुपर्छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले थाइल्यान्डले छोटो समयमा गरेको प्रगतिबाट ज्ञान लिएर नेपालको विकासमा परिचालन गर्नसके विकास सम्भव भएको जिकिर गरे । “देशको समृद्धिका लागि पत्रकारको कलम चल्नुपर्छ, त्यसका लागि थाइल्यान्ड भ्रमण सार्थक बनोस्,” आचार्यले भने । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाल र थाइल्यान्डको विकासक्रम उस्तै ढङ्गबाट अघि बढेको भएपनि हामी पछिपर्नाको कारण शासन व्यवस्था मात्रै नभएर हाम्रो इच्छाशक्तिको अभाव प्रमुख कारण रहेको उल्लेख गरेका छन् । गाली र आलोचनाले मुलुक नबन्ने भन्दै उनले भुटान, थाइल्यान्डबाट पाठ सिक्ने गरी लेख्न पत्रकारलाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष इन्द्रजित परियारले नेपालमा विकास भएको नकारात्मक राजनीतिलाई सकारात्मकतामा ढाल्नुपर्ने भन्दै पर्यटनको खानी भएर पनि हामी ओझेलमा पर्नुको कारण खोज्नुपर्ने बताए । राजनीतिक स्थिरता पछि अब देशलाई अन्य क्षेत्रको अनुभव हेरेर समृद्धितर्फ लैजानुपर्नेमा जोड दिएका छन् । नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक/सम्पादक वीरेन्द्रमणि पौडेलले पत्रिकाको वार्षिकोत्सवका लागि मात्रै नभएर थाइल्यान्डको विकासको सिको गरेर नेपालको विकास गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले दलका नेता, पत्रकार र पेसाकर्मीहरुलाई थाइल्यान्ड भित्र्याएको बताए । आगामी वर्षमा क्रमशः विकसित मुलुकमा नेपालीलाई लगेर यस्तै विशेष कार्यक्रम आयोजना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापा, डा कृष्ण काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले मन्तव्य राखेका थिए । सो कार्यक्रममा नेपालबाट आएका राजनीतिक दल, पत्रकार, पेसाकर्मीसहित थाइल्यान्डमा रहेर पेसा–व्यवसाय गर्ने नेपालीको उपस्थिति रहेको थियो । विश्वमा नै थाइल्यान्ड धेरै पर्यटक भित्र्याउने देशका रुपमा परिचित छ । पत्रकारसहित चार सम्मानित नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहीबार १७औँ वार्षिकोत्सवका क्रममा चितवनका तीन पत्रकार र एक भेट्रिनरी चिकित्सकलाई सम्मान गरेको छ । उनीहरुलाई कदरपत्रसहित एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठले कदरपत्रसहित सम्मान गरेका थिए । सो क्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरि पोखरेल, बिबिसी तथा नेपाल टेलिभिजनका चितवन संवाददाता ईश्वर जोशी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा कृष्ण काफ्लेलाई सम्मान गरिएको थियो । रासस

सानिमा बैंकको ४१औँ शाखा नुवाकोटको बिदुरमा सञ्चालन

काठमाडौं, १० मंसिर । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय नुवाकोटको बिदुरमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठद्धारा भएको छ । सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रहःविदेशमा प्राप्त गरेको ज्ञान नेपालको विकासमा लगाउनुस्

सिड्नी, १० मङ्सिर । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरेका हुन् । उनले भने, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ” विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले संबृद्ध र र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उनले भने । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ्यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दिए । गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आफूले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि दिए । मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे । सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । यसैगरी मन्त्री महतले शुक्रबार  बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका थिए । मन्त्री डा महतले भोलि शनिबार सिड्नीमा गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र यहाँस्थित नेपाली दुतावासद्धारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ ।  रासस

हुलाकी राजमार्ग निर्माण कार्य अघि बढाइने,कालोपत्रका लागि एक अर्ब ६० करोडको टेन्डर आह्वान

कञ्चनपुर, १० मङ्सिर । बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको हो । राजमार्ग कालोपत्र गर्नका लागि एक अर्ब ६० करोडको टेन्डर आह्वान गरिएको हुलाकी राजमार्ग कार्यालय धनगढीका सब– इन्जिनियर वीरबहादुर ओलीले बताए । “राजमार्गलाई ० देखि २० किमी, २० देखि ४० किमी र ४० देखि  ६२ किमीमा तीन खण्डमा विभाजन गरी कालोपत्रको कार्य हुनेछ”, उनले भने । परियोजनाअन्तर्गत सडकमा पर्ने कल्भर्ट मर्मतसम्भारको कार्यसमेत गरिनेछ । भारत सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी राजमार्ग बनाउने सम्झौताअनुरुप कैलालीसम्म हुलाकी राजमार्ग पाँच वर्षअघि देखि नै बनाउन सुरु गरेपनि राजमार्गको कञ्चनपुरको भागलाई छुन सकेको थिएन । भारत सरकारले डोकेबजारको मोहना नदीको पुलदेखि त्रिभुवनबस्ती, श्रीपुर, रामपुर, विलाशीपुर, बेलाडाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणसँगै कालोपत्र गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुरुप कार्य अगाडि नबढेपछि हुलाकी राजमार्ग नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको हो । सहमतिअनुरुप नेपालतर्फबाट तीनवर्षअघि नै सर्भेको कार्य गरिएको थियो । वर्षौंदेखि सडकको अभाव खेप्दै आएका जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दा सडक कालोपत्र हुने भएपछि खुसी भएका छन् । रासस

बूढीगण्डकी डुबान क्षेत्रको मुआब्जा निर्धारण,न्युनतम पाँचलाख देखि ८ लाख सम्म मुआव्जा दिने

गोरखा, १० मङ्सिर । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम आठ लाख रुपैयाँसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, बूढीगण्डकी विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेत, आयोजना विकास समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद देवकोटालगायतको बैठकले आयोजना क्षेत्रका जग्गाको मुआब्जाको टुङ्गो बिहीबार लगाएको हो । डुबान क्षेत्रमा पर्ने भनिएको आयोजना क्षेत्रको करिब ६० हजार रोपनी व्यक्तिगत घरजग्गा गत चैत महिनादेखि खरिद, बिक्री गर्न नपाउने गरी रोक्का गरिएको थियो । बूढीगण्डकी प्रभावित गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दाले छिटो मुआब्जा वितरण गर्नुपर्ने बताउँदै आएका थिए । आयोजना निर्माण हुँदा गोरखा र धादिङका करिब चार हजार घर अन्यत्र सार्नुपर्ने हुन्छ । यस्तै विभिन्न नाममा खुलेका सरोकार समितिले पनि मुआब्जाको टुङ्गो लगाउँदै प्रभावितलाई पुनर्वासको व्यवस्थाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरी आयोजना बन्ने विश्वास दिलाउन आग्रह गरेका थिए । मुआब्जा निर्धारण समितिले विभिन्न ११ प्रकृतिका जग्गालाई भिन्नाभिन्नै मूल्याङ्कन गरी मुआब्जा दिने बताएको छ । नियमित, ऐलानी, गुठी जग्गा भएका डुबान क्षेत्रका प्रभावितलाई छुट्टाछुट्टै तवरले मुआब्जा वितरण गर्ने बताइएको छ । नियमिततर्फ जग्गा वर्गीकरणका आधारमा बाक्लो बस्तीका क्षेत्रमा प्रतिरोपनी रु आठ लाख, सडक सुविधा पुगेका मूल बाटोको दायाँबायाँका बस्तीलाई प्रतिरोपनी सात लाख ७० हजार, घर र शाखा सडक भएका क्षेत्रमा सात लाख ४० हजार, बारी (चाहार) लाई पाँच लाख, सिमलाई पाँच लाख ३० हजार, बारी (दोयम) लाई पाँच लाख ६० हजार, बारी अब्बललाई पाँच लाख ९० हजार मुआब्जा निर्धारण गरिएको विकास समितिका अध्यक्ष देवकोटाले जानकारी दिए । मुआब्जा निर्धारणसम्बन्धी निर्णय शुद्धाशुद्धी हेरेर हस्ताक्षर गर्न बाँकी छ । गुठी जग्गाको पनि मोहीलाई चार भागमध्ये एक भाग मुआब्जा वितरण गर्ने तयारी गरिएको हो । आयोजना क्षेत्रका प्रभावितलाई आयोजनामा दक्षताका आधारमा रोजगारीको व्यवस्था, सेयर लगानीको अवसर, आयोजना क्षेत्रमा निर्माण हुने चक्रपथ क्षेत्रमा घर, घडेरीका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने समितिले बताएको छ । “सुकुम्बासीलाई एक रोपनी जग्गा र घर बनाउन  १० लाख  रुपैयाँ दिनुपर्छ भनेर सरकारसँग सिफारिस गर्छौं”, देवकोटाले भने– “बूढीगण्डकी प्रभावितलाई आयोजनामा  सेयर लगानी र रोजगारीको अवसर दिइनेछ ।” जनताको जीवनस्तर पहिलेको भन्दा राम्रो बनाउने गरी मुआब्जा निर्धारण गरिएको देवकोटाको दाबी छ । निर्णय हस्ताक्षर भएपछिको एक सातापछि मुआब्जा वितरणको काम सुरु हुने उनले बताए । “डुबान क्षेत्रका बासिन्दालाई चेक वा बैंक केमार्फत मुआब्जा बाँड्ने भन्ने टुङ्गो लागेको छैन” – देवकोटाले भने । रासस