विकासन्युज

राष्ट्र बैंकको कार्यकारी निर्देशकहरुमा हेरफेर, नियमन विभाग प्रमुखमा पौडेल, सात वटा विभाग प्रमुखमा कामु मात्र

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा केही फेरबदल भएको छ । नियमन विभागको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल सरुवा भएका छन् । यसअघि उनी वाणिज्य बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक थिए । वाणिज्य बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी महेश्वरलाल श्रेष्ठले पाएका छन् । सहायक प्रबक्ता राजेन्द्र पण्डितका अनुसार आन्तरिक लेखापरिक्षण विभाग प्रमुखको जिम्मेवारी बासुदेव अधिकारीले पाएका छन् । उनले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । राष्ट्र बैंकमा कामु कार्यकारी निर्देशक जिम्मेवारी पाउनुलाई कार्यकारी निर्देशक हुनु सहर नै मानिन्छ । कामु कार्यकारी निर्देशक भएको व्यक्तिलाई केही समयमछि कार्यकारी निर्देशकमा पदोन्नति गर्ने अभ्यास छ । हाल राष्ट्र बैंकमा ७ वटा विभागीय प्रमुखमा कामु कार्यकारी निर्देशक छन् । वित्त व्यवस्थापन विभागमा डा वामदेव सिग्देल, गभर्नर कार्यालयमा भुवनेश पन्त, वित्त कम्पनी सुपरिवेक्षण विभागमा एजेन्द्रप्रसाद लुईटेल, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागमा उपेन्द्रकुमार पौडेल, जनशक्ति व्यवस्थापन विभागमा डा गोपाल प्रसाद भट्ट र भुक्तानी प्रणाली विभागमा डा नेफिल मतन्गी मास्के कामु कार्यकारी निर्देशक रहेका छन् ।

साढे १३ करोडको लागतमा सडक निर्माण सुरु

इलाम, १९ मंसिर । इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको नयाँबजार जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । फिक्कलबाट नयाँबजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । उन्नति समावेशी परियोजनाअन्तर्गत रु १३ करोड ६६ लाखको लागतमा हिउँद बर्खा नै मोटर चल्न सक्ने गरी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो । फिक्कलको बरबोटेबाट १९ किलोमिटर पक्की सडक निर्माण भएपछि त्यस क्षेत्रका जोगमाई, गोर्खे, नयाँबजार, सोयाङ, प्याङ, नामसालिङ र जमुनासम्मका बासिन्दालाई स्थानीय कृषि उपज बिक्री गर्नसँगै उपभोग्य सामग्री खरिद र आउजाउमा सहज हुने भएको छ । सडक स्तरोन्नतिको उद्घाटन गर्दै इलामका सभासद् केशव थापाले सडकलाई दीर्घकालसम्म सञ्चालन गर्ने बनाउन नियमित अनुगमन गर्न स्थानीयवासीलाई सुझाव दिएका छन् । पन्ध्र महिनामा काम सम्पन्न हुने यस सडकको चौडाइ नालीसहित ६ दशमलव २५ मिटरको रहने उक्त सडक नागार्जुन कन्स्ट्र«क्सन कम्पनीले निर्माणको जिम्मा पाएको हो । नयाँबजारलाई नै सदरमुकामसँग जोड्न २१ किमी लामो अर्को सडक पनि निर्माणाधीन छ । माइखोलासम्म निर्माण सकिएको सडकको सोयाङखण्डमा काम भइरहेको छ । त्यस्तै माइखोलामा पुल निर्माण कार्य पनि थालिएको छ । तपस्वी बालागुरुले २०११ सालमा बस्ती बसाएको नयाँबजारमा उनकै नेतृत्वमा २०१२ साल चैतमा भारतको मानेभञ्ज्याङबाट मोटर ल्याइएको भए पनि त्यसयता यहाँका बासिन्दाले सडकको दूरावस्था सहँदै आएका थिए । अलैँची, अदुवा, आलु, सागसब्जीलगायत विभिन्न कृषि बालीको व्यावसायिक खेती हुने यस क्षेत्रमा सडक यातयातको भरपर्दो व्यवस्था नहुँदा बजारसम्म पुर्याउन कठिन थियो । गाविस अध्यक्ष गोकुल सञ्जोलले राजनीतिक पूर्वाग्रह नराखी विकासको काममा अघि बढ्नु पर्ने धारणा राखेका छन् । रासस

केएल टावर दशैं तिहार योजनामा सरिता गुरुङलाई मोटर साईकल र अनिता श्रेष्ठलाई स्कुटर उपहार

काठमाडौं, १९ मंसिर । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागि तीन जनालाईटिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर तथा थाइल्याण्डको बैंङ्कक भ्रमणको प्योकज बितरण गरेको हो । टावरले उपहार योजना अन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका १२ हजार बढी कुपनहरुबाट कुपन नम्बर ९६२३ का विजेता सरिता गुरुङ्गलाई टिभिएसको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी कुपन नम्बर १०६८८ का लोप्साङ्गले टिभिएस जेष्ट स्कुटर हात पारेका छन् भने कुपन नम्बर ८९०२ का अनिता श्रेष्ठले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । उपहार योजनाका विजेताहरुलाई टिभिएस नेपालका उपाध्यक्ष दिपक अग्रवाल, के एल टावरका प्रबन्धक रमेश कक्षपतिले संयुक्त रुपमा उपहार बितरण गरेका थिए । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसै गरि गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेफ्रिजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक एक जनाले हात पारेका छन् । दशैं तिहारमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । असोज १० गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २७ गतेसम्म चलेको थियो ।

जेबिल्स फाइनान्सले १२ प्रतिशत बोनस दिने, शतप्रतिशत हकप्रद पनि

काठमाडौं, १९ मंसिर । जेबिल्स फाइनान्सले सेयरधनीलाई १२ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले शून्य दशमलब ६५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको १२९औँ सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । साथै, कम्पनीको बैठकले सेयरधनीलाई शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो निर्णयलाई पनि कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

संसारभरमा नै बीमा कम्पनीले दिने लाभांशमा नगद भन्दा बोनस सेयर बढी हुन्छ-उपाध्याय

पछिल्लो समयमा बीमा बजार फस्टाएको छ । त्यसमा पनि प्रिमियर इन्स्योरेन्स कम्पनी प्रतिस्पर्धामा छिटो दौडेर अगाडि आईरहेको देखिन्छ । यो कम्पनीमा विगत करिव ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ सुद्युम्न उपाध्याय । उपाध्यायले नेतृत्व लिएपछि कम्पनीको व्यापार, नाफा, ब्राण्ड इमेज सबै राम्रो भएको छ । ६ वर्षअघि कम्पनीको वार्षिक प्रिमियम १७ करोड थियो । गत आर्थिक वर्षमा १०० करोड नाघेको छ । विगत तीन वर्षमा कम्पनीले सेयरधनीलाई लाभांश पनि राम्रो दिएको छ । प्रस्तुत छ यस कम्पनीको अवस्था र बीमा बजारको अवस्थाबारे उपाध्यायसँग गरिएको विकास बहस: सुद्युम्न प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, प्रिमियर इन्स्योरेन्स कम्पनी  (नेपाल) लिमिटेड प्रिमियर इन्स्योरेन्स कम्पनीको पछिल्लो अवस्था कस्तो छ ? कम्पनीको अवस्थामा पहिले भन्दा सुधार आएको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष ७७ प्रतिशतले विजनेश बढेको छ । गत वर्षको पहिलो तीन महिनामा १९ करोड रुपैयाँको व्यापार गरेकोमा यो वर्ष ३४ करोड रुपैयाँ भएको छ । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये प्रिमियम आयको हिसाबले पहिलो त्रैमासमा हामी पाँचौ स्थानमा रहेका छौं । बीमा लेखको हिसावले हेर्ने हो भने हामी तेस्रो स्थानमा छौं । ३६ हजार १ सय ३० जारी विमालेख संख्या छ । पहिलो त्रैमासमा नाफा पनि ३३ प्रतिशतले बढेको छ । गत वर्ष यसअवधिमा नाकाबन्दीको असर भोग्नु परेको थियो । यो वर्ष बीमा बजार राम्रो छ । यो वर्षको लक्ष्य चाहिँ कति छ ? यो वर्ष हामीले १ अर्ब प्रिमियम संकलन गरेका थियौं । यो वर्ष २५ प्रतिशतसम्म बढाउनुपर्छ भन्ने हो । प्रारम्भिक चरण राम्रो नै देखाएको छ । गत वर्षको पहिलो त्रैमासमा त्यति राम्रो नभएपनि दोस्रो र तेस्रो त्रैमासका कारण राम्रो भएको हो । अझै तीन वटा त्रैमास बाँकी नै भएकोले यति नै हुन्छ भनेर भन्न त सकिदैन । तर, पनि २५ देखि ३० प्रतिशतसम्मको विजनेश ग्रोथ हुने अपेक्षा गरिएको छ । गत वर्षको नाफबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको निर्णय आईसकेको छ । यो वर्षको नाफा र सेयरधनीलाई दिने प्रतिफल कस्तो होला ? विजनेश ग्रोथ कै हाराहारीमा नाफा वृद्धि गर्नु पर्छ भन्ने हाम्रो मान्यता हुन्छ । बीमाको नाफामा धेरै कुराले असर गरेको हुन्छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने, कर प्रयोजनको लागि अलग्गै नगद लाभांश दिने निर्णय भएको छ । अघिल्लो वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस दिएका थियौं । त्यस भन्दा अगाडि १४ प्रतिशत थियो । हाम्रो कम्पनी सेयर पूँजी बढाउँदै जाने नीतिमा छ । हामीले लाभांस जतिहुन्छ त्यति बोनस सेयरमा दिँदैछौं । सेयरधनीहरुले पनि बोनस सेयरलाई नै रुचाउनुहुन्छ । पुँजी वृद्धिले कम्पनीलाई बलियो बनाउँदै लगेको छ । यसको लाभ सेयरधनी, ग्राहक, कर्मचारी, अर्थतन्त्र सबैलाई हुन्छ । समग्रमा पुँजी वृद्धिले बीमा उद्योग फस्टाउन सहयोग गर्छ । नगद लाभाश वितरण नगर्दा लगानीकर्ताले असहजताको महसुश गर्दैन ? सेयर बजारमा बीमा कम्पनीहरुको सेयर आपूर्ति कम छ । बीमा कम्पनीहरुको सेयर मूल्य अन्य समूहको भन्दा माथि छ । त्यसैले सर्वसाधारण समूहको सेयरधनी बोनस सेयरमा खुशी देखिन्छन् । सेयर ट्रेडर्सहरुले पनि राम्रो उच्च लाभ लिन सकेको देखिन्छ । तर प्रमोटर सेयरधनीहरुको लागि कम्पनीले लामो समयसम्म नगद लाभांश नदिनु पीडादाहि नै हुन्छ । कम्पनीले प्रवद्र्धक लगातीकर्ताको चाहना कत्तिको पूरा गरेको हुन्छ ? विश्वका जुनसुकै देशमा हेर्नु भयो भने पनि बैंक, बीमा लगायत फाइनान्सियल सेक्टरमा क्यास पे आउट भन्दा स्टक डेभिडेन्ट नै बढी हुन्छ । कम्पनीको ग्रो गर्दै जाँदा क्यापिटल बढाउँदै लानुपर्छ जुनसुकै मार्केटमा पनि । फाइनान्सियल मार्केटमा सधै क्यापिटल गेन नै हो । डिभिडन्टको पे आउँछ भनेको जहाँ पनि कम नै हुन्छ । किनकी, निरन्तर क्यापिटल बढाउनुपर्छ । जति बिजनेश बढ्यो संस्थाको नाफा त्यति नै बढ्दै जाँन्छ । सँगसँगै जोखिम पनि बढ्दै जान्छ र त्यो अनुसारको क्यापिटल पनि बढाउँदै जानुपर्छ । कम्पनीको व्यवस्थापनको रुपमा हामीले गर्ने भनेको कम्पनीको नेटवर्थ बढाउने हो । हामीले कम्पनीको नेटवर्थ बढाउनु भनेको लगानीकर्ताको सम्पत्ति बढ्नु हो । नेटवर्थ बढी भएपछि पक्कै पनि त्यसको भ्यालू बढी नै हुन्छ । सरकारको, नियामक निकायको कानुन, नीति नियमलाई गाइडलाईनमा मानेर अगाडि बढ्ने हो । प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई अरुको भन्दा राम्रो, छिटो छरितो सेवा दिनु परिहाल्यो । यतिबेला बीमा कम्पनीहरुको सेयर किन्ने लगानीकर्ताले कत्तिको जोखिम मोलिरहेका छन् ? बीमाको बजार विस्तार हुँदैछ । लगानीको प्रतिफल देखेर नै होला लगानीकर्ता बीमा कम्पनीको सेयरप्रति आकर्षित देखिएका छन् । सेयरमा गरिने लगानी जोखिममा छ वा छैन भनेर हामीले भन्ने विषय होइन । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५०० रुपैयाभन्दा माथि पुगेको थियो । अहिले करिव १७०० रुपैयाँमा झरेको छ । यतिबेला यो कम्पनीको सेयर किन्नेहरुले कमाउँछन् कि गुमाउँछन् ? यो विषय हामीले बोल्ने भन्दा पनि लगानीकर्ताले विश्लेषण गर्ने र निर्णय लिने विषय हो । यो कम्पनीको आफ्नै सम्पत्ति राम्रो छ । नागरिक लगानी कोषको १ लाख कित्ता भन्दा बढी सेयरमा लगानी गरेको छ । ख वर्गको संस्थागत सेयर हो त्यो । प्रतिकित्ता ६० रुपैयाँमा किनेको हो । त्यसको रिर्टन राम्रो छ । कम्पनीको आफ्नै भवन छ । हरेक वर्ष कम्पनीको ग्रोथ राम्रो छ । विजनेश, प्रोफिट ग्रोथ राम्रो छ । बीमा कम्पनीहरुले सेयरबजारमा पनि लगानी गरिरहेको पाइन्छ, तपाईको कम्पनीले सेयरमा कति लगानी गरेको छ ? नागरिक लगानी कोषमा बाहेक अरुमा उल्लेख्य सेयर लगानी छैन । पहिला लगानी थियो । गत असारमा सबै सेयर बेचिसक्यौं । यतिबेला बैंकको व्याजदर बढेको छ, बीमा कम्पनीको नाफामा कत्तिको वृद्धि हुन्छ ? हामीले गएको वर्ष यतिबेला ५ देखि साढे पाँच प्रतिशत व्याजदर पाइरहेका थियौं । अहिले ६ देखि ७ प्रतिशत पाइरहेको अवस्था छ । यसको नाफा वृद्धिमा सहयोग नै गर्छ । अब बीमा सेवा र ग्राहकको विषयमा कुरा गरौं । बीमितलाई कस्तो सेवा दिदै आउनु भएको छ ? आजको दिनमा प्रिमियर इन्सोरेन्सको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै शाखा सञ्चालनमा छ । ३३ वटा शाखाहरु छन् । पहिला हामीले तराई केन्द्रीय सेवा दिएका थियौं भने अहिले पहाडी जिल्लामा सेवा विस्तार गर्दैछौं । चालू आर्थिक वर्षमा कुन कुन स्थानमा शाखा खोल्ने योजना छ ? चालू आवमा शाखा विस्तार गरी ४० वटा पुर्याउने लक्ष्य लिएका छौं । शाखा खोल्ने स्थानको बारेमा अध्ययन पनि गरेका छौ । नयाँ शाखा खोल्न जनशक्तिको अभाव छ । त्यसको लागि हामीले नयाँ जनशक्ति लिएर तालिम दिएर परिचालन गछौं । जनशक्ति कमी रहेको बजारमा कर्मचारीहरु एउटा अफिस छोडेर अर्कोमा जाने समस्या उच्च हुन्छ, यस कम्पनीको अवस्था कस्तो छ ? हामीकोमा स्टाफ टर्नओभर (कर्मचारी छोड्ने, नयाँ आउने प्रवृति) कम छ । त्यसभित्र खास कारण पनि छन् । हामी अरु कम्पनीबाट अनुभवी कर्मचारी तान्न जोड गर्दैनौ । नयाँ कर्मचारी नियुक्त गर्ने, तालिम दिने, क्षमता विकास गर्ने र जिम्मेवारी दिने यस कम्पनीको अभ्यास छ । यस कम्पनीले कर्मचारीको क्षमता विकासको लागि धेरै लगानी गरेको छ । साथै कम्पनीको ब्राण्ड इमेज राम्रो बनाउने, कम्पनीको ग्रोथसँगै स्टाफको पनि ग्रोथमा ध्यान दिएको छ । त्यसैले प्रिमियर कम्पनी छोडेर अरु बीमा कम्पनीमा जाने अवस्था नै हुँदैन । बीमा सेवालाई ग्रामिण क्षेत्रमा पुर्याउन प्रोत्साहित गर्ने सरकारको नीति छ । बीमा कम्पनीहरु विस्तारै जिल्ला सदरमुकामबाट वाहिरका सहर उन्मुख क्षेत्रमा शाखा खोल्दै छन् । ती शाखाहरुको प्रफर्मेन्स कस्तो छ ? गत वर्षसम्म त्यति राम्रो थिएन । अहिले निकै राम्रो भएको छ । ग्रामिण क्षेत्रमा बीमाको सेवा बढेको छ । पहिले बीमा भनेको धनीको लागि मात्रै भन्ने थियो । अहिले मोटरसाईकल र कृषिले गर्दा बढेको छ । अहिले गाउँमा मोटरसाइकल बढेको छ । बीमा गर्नुपर्छ भन्ने संस्कृति पनि बढेको छ । तपाईको कम्पनीका लागि कुनकुन जिल्लामा कृषि बीमा अनिवार्य गरिएको छ ? दोलखा, रामेछाप, सिन्धुली, सर्लाही र रौतहटमा । ती जिल्लामा अरु कम्पनीहरुको स्वेच्छिक सहभागीता कत्तिको छ ? तुलनात्मक रुपमा कम छ । ती क्षेत्रमा व्यवसायिक कृषि कम छ । माथिल्लो लेकतिर जाँदा चौरी र तल्लो भेगमा बाख्रा पालन छ । नभएको होइन तर, कम मात्रामा मात्रै छ । फलफूल पनि सिन्धुलीमा अलिअली हो । फलफूलमा त्यति धेरै छैन । पूर्वी क्षेत्रमा धनकुटा, सुनसरी, मोरङ, इलाममा कृषि बीमा राम्रो छ । पशु तथा बाली बीमा कत्तिको नाफादायी विजनेश हो ? अहिलेको लागि नाफादायी विजनेस होइन । तर, पछिको लागि नाफादायी विजनेस हुन्छ । अहिले भर्खरै सुरु भएको छ । अहिले पनि घाटाको व्यापार छैन । विस्तारै बढ्दै जादाँ नाफा पनि हुन्छ । पाँच वर्षअघि मोटर बीमा घाटाको व्यापार थियो, अहिले नाफाको व्यापार भएको छ । भविष्यमा कृषि बीमाबाट पनि नाफा आर्जन हुन्छ । तीन वर्ष अगाडिको बीमा गराउँदा र अहिलेको अवस्थामा कति फरक छ ? धेरै फरक छ । अहिले हामीले के पाउँछौ, सुविधा के छ भनेर हेर्ने गरिन्छ । पहिले सचेतना नै कम थियो । पहिले बीमा गरेपछि जीवन बीमामा जस्तै रकम फिर्ता पाउने सोच हुन्थ्यो, अहिले छैन । बीमाको नीति कार्यान्वयनमा ल्याएपछि व्यवसायिक खेती तथा पशुपालन बढेको छ ? व्यवसायिक पशुपालन र कृषि बढ्दै गएको छ । हामीले खुला आँखाले देख्न सकिन्छ । तर व्यवसायिक खेती तथा पशुपालनमा गर्दा अध्ययन अनुसन्धानको खाँचो छ । खेती तथा पशुपालन गर्दा माटो, हावापानी र भूवनोट सुहाउँदो हेर्नुपर्छ । प्रिमियर इन्स्योरेन्सको बीमा प्रडक्टमा कुन बढी चलेको छ ? हाम्रो सबैभन्दा राम्रो क्षेत्र भनेको परियोजनाको नै हो । इन्जिनियरिङ क्षेत्रमा हाम्रो उपस्थित राम्रो छ । बजारको लिडरमा नै पर्छौ यसमा । इन्जिनियरिङ क्षेत्रको बीमामा करिब २० प्रतिशतको बजार हाम्रो छ । प्रिमियर इन्स्योरेन्सको हेल्थ इन्स्योरेन्समा पोर्टपोलियो हामी माथि नै छौं । अहिले पनि हाम्रो पाँच देखि प्रतिशत पोर्टपोलियो हेल्थ इन्स्योरेन्सको छ । कर्पोरेट क्षेत्रमा पनि राम्रो छ । अब हामी रिटेलमा पनि जाँदै छौ । परिवारको सुरक्षाका लागि पनि रिटेलमा जानुपर्छ । प्रिमियरको इतिहास नै हेर्ने हो भने पनि १०/१२ वर्षदेखि हामी कर्पोरेट हेल्थमा टप पोर्टफोलियोमा नै छौं । मोटर बीमामा पनि राम्रो छ । एभिएसनमा भने कम छ । पेशागत दायित्वको बीमा, लायविलिटि इन्स्योरेन्सको बीमामा पनि हामी लागि परेका छौ । नेपालमा साइबर क्राइमको बीमा हुँदैन, हो ? साईबर क्राइम सम्बन्धि जोखिमको पनि बीमा गर्न सकिन्छ । तर अहिलेसम्म भएको छैन । इनोभेटिभ प्रडक्ट हो यो । यसको लागि बजारबाट स्पेसिफक माग आउनुपर्छ । बीमा बजार विकासको समस्याहरु चाहिँ के हो ? यसको सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति विकासको हो । बीमा राम्रो अध्ययन गर्नुपर्दा पनि हामीले जनशक्ति खोजिगरिरहेका हुन्छौ । बीमाको भविष्य राम्रो हुँदा हुँदै पनि हामीले आवश्यक जनशक्ति विकास गर्न सकेका छैनौ । पूँजी ठूलो होइन दक्ष जनशक्ति नै सबैभन्दा ठूलो हो । बीमाको लागि पूँजी प्राप्त गर्न तत्काल सकिएला दक्ष जनशक्ति भने तत्काल पाउँन सकिदैन । अन्य चुनौतिमा पूर्वाधारले साथ नदिनु, इन्टरनेटको पहुँच सहज नहुनु पनि हो । सडक विस्तार बरु त्यति ठूलो विषय भएन, तर भरपर्दो इन्टरनेट सेवाको खाँचो छ । लघुबीमाको बजार कसरी विकास भईरहेको छ ? माइक्रो इन्स्योरेन्सको लागि नेपाल इन्स्यारेन्स एसोसिएशन र नेपाल बैंकर्स एसोसिएशनबीच एउटा सम्झौता भएको छ । त्यसमा नेपाल लघुवित्तहरुले आफ्ना ऋणिको बीमा गर्ने व्यवस्था मिलाउँने भन्ने छ । चाडै नै दुई संस्थासँगको सहमति कार्यान्वयन हुन्छ । माइक्रो लोनको बीमा गर्ने भन्ने छ ।

अघि बढ्यो काठमाडौं–बिरगञ्ज विद्युतिय रेलको काम, यात्रु र कार्गाे दुबै बोक्ने रेल बनाइने

काठमाडौं, १९ मंसिर । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । यतिबेला त्यो योजना कार्यान्वयनको चरणमा अघि बढेको छ । ‘हामीले ३१ दिने सार्वजनिक सूचना प्रकाशित गरेर सम्भाव्यता अध्ययनका लागि आवेदन दिन आव्हान गरेका छौं, विदेशी कम्पनी र जोइन्ट भेञ्चरमा नेपाली कम्पनीले पनि आवेदन दिन सक्छन’, रेल विभागका बरिष्ठ इञ्जिनियर कमलदेव प्रसाद साहले विकासन्युजसँग भने । विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने साहले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । यसैबिच विभागले काठमाडौं–रसुवागढी रेलमार्गको समेत सम्भाव्यता अध्ययनको काम अघि बढाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि अनुमानित १० करोड बजेट समेत बिनियोजन भैसकेको साहले जानकारी दिए । बिभागले चिनियाँ कम्पनी मार्फत काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ । मेची–महाकाली रेल वेको काम धमाधम अघि बढिरहेको छ भने काठमाडौं मेट्रो रेलको पनि सम्भाव्यता रिपोर्ट ६ महिना अघि नै तयार भैसकेको छ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने सरकारी नीति कार्यान्वयन भएन

काठमाडौं, १९ मंसिर । सरकारले दुई वर्षअघि ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको छ । स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले छुट्टै निर्र्देिशका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान सकेको छैन । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गराउन २०७२ वैशाख १७ मा छुट्टै निर्र्देिशका पारित गरेको थियो । त्यसको ४ महिनापछि उद्योग मन्त्रालयले उक्त निर्र्देिशका आधिकारिक रूपमा नै कार्यान्वयनमा ल्याइएको घोषणा पनि गर्यो । अहिले घोषणाको डेढ वर्ष पुग्नलाग्दा समेत सार्वजनिक संस्थामा स्वदेशी वस्तुको अनिवार्य प्रयोगका कुनै काम हुन सकेको छैन अर्थात यस्ता निकायमा विदेशी वस्तु नै प्रयोग भइरहेका छन् । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने रणनीति लिएको हो । निर्र्देिशका कार्यान्वयनका लागि पछिल्लो समय केही जिल्लामा उत्पादित वस्तुहरुको सूचि तयार पार्ने काम शुरु गरिएपनि अन्य काम भने अघि बढ्न सकेको छैन । रूपन्देही, बैतडी, सुर्खेत, सुनसरीलगायत केही जिल्लामा महासंघ र घरेलु तथा साना उद्योग कार्यालयको प्रयासमा त्यस्ता वस्तुको सूची तयार पार्ने काम शुरू गरिएको उद्योग मन्त्रालयकी प्रवक्ता यम कुमारी खतिवडाले बताइन् । दुई वर्ष अघि निर्देशिका पारित भएपनि त्यसबाहेक सार्वजनिक निकायमा स्वदेशी वस्तु खरीद गर्ने कार्यको हालसम्म अन्य कुनै काम हुन नसकेको घरेलु तथा साना उद्योग महासंघले जानकारी दिएको छ । महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगका लागि पहल शुरु गरे पनि सरकारको ढिला सुस्ती र स्थिर सरकार नभएकोले निर्देशिका कार्यान्वयनमा जान सकेको छैन । निर्र्देिशका जारी गरिए पनि कार्यान्वयन पक्ष भने फितलो भएका कारण हालसम्म सार्वजनिक निकायमा स्वदेशी उत्पादनको उपयोगै भएको छैन भन्दा पनि अतियुक्ति हुँदैन । निर्र्देिशकाअनुसार सार्वजनिक निकायमा प्रयोग हुने मालसामान तथा वस्तुमा सम्भव भएसम्म स्वदेशी उत्पादन नै किन्नुपर्ने हुन्छ । त्यस्ता माल ÷वस्तु उपलब्ध हुन नसकेमा मात्र अन्य मुलुकबाट आयात भएका वस्तु किन्न पाउने व्यवस्था छ । त्यस्ता वस्तु नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका वा सरकारले निर्धारण गरेका निकायमा दर्ता भएका उद्योगबाट उत्पादित हुनुपर्छ । निर्देशिकामा छपाइसम्बन्धी कार्य, पोशाक, कोसेली तथा उपहारका सामानका लागि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने हुन्छ । ढाकाजन्य सामग्री, पश्मिनाका उत्पादन, ऊनी वस्तु, जुटबाट निर्मित सामग्री, सभा सम्मेलनमा प्रयोग हुने अन्य सामग्रीमा पनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाले परम्परागत हस्तकला, काष्ठकला, मूर्तिकला, चित्रकला सामग्री पनि प्राथमिकतामा छ । साजसज्जाका सामानदेखि फर्निचर, फर्र्नििसङ सामान समेत स्वदेशी गर्नुपर्ने निर्देशिकामा समेटिएको खतिवडाले बताइन् । सम्भवभएसम्म मेशिनरी औजार तथा बिजुलीका उपकरण, निर्माण सामग्री पनि स्वदेशी प्रयोग गर्नुपर्ने छ । कृषि तथा पशुजन्य उत्पादन र सबै किसिमका खाद्य वस्तुसमेत स्वदेशी हुनुपर्ने निर्र्देिशकामा उल्लेख छ । सार्वजनिक निकायमा उपयोग हुने सुरक्षण मुद्रण बाहेकका अन्य सामग्रीको खरीदमा निर्र्देिशका लागू हुने व्यवस्था गरिएको हो । सार्वजनिक कार्यालयको उपयोगका लागि प्राकृतिक जडीबुटीजन्य वस्तु र उत्पादित सबै किसिमका औषधिसमेत स्वदेशी हुनुपर्ने छ । यसरी सार्वजनिक निकायले खरीद गर्ने वस्तुहरूमा विदेशीको तुलनामा केही महँगो भए पनि स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने उल्लेख गरिएको छ । जिल्लास्थित घरेलु तथा साना उद्योग संघ अथवा उद्योग वाणिज्य संघले सार्वजनिक निकायले खरीद गर्ने मालसामान उत्पादनको प्रमाणपत्र प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ । । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग भए/नभएको अनुगमन गर्न उद्योग सचिवको अध्यक्षतामा केन्द्रीय अनुगमन समिति र सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ७५ ओटै जिल्लामा जिल्ला अनुगमन समिति रहने व्यवस्था गरिए पनि यस सम्बन्धि कार्य अघि नबढ्दा समिति पनि निष्कृय बनेको छ । उद्योग सचिवको संयोजनमा बनेको उक्त समितिले पनि खासै काम गर्न सकेको छैन । सरकारको नीति कार्यान्वयनमा आए परम्परागत शीप तथा प्रविधिको प्रयोगबाट स्थानीय स्तरमा उत्पादित सामग्रीले समेत प्राथमिकता पाउने विश्वास लिइएको छ ।

छिमेक लघुवित्त विकास बैंकले ५२ प्रतिशत लाभांश दिने

काठमाडौं, १९ मंसिर । छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णय अनुसार बैंकले १२ दशमलब ७० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिन लागेको हो । नगद लाभांश वापत सेयरधनीले ७ करोड ५६ लाख ५९ हजार ९ सय ४५ रुपैंयाँ प्राप्त गर्नेछन् । त्यस्तै, बैंकले २३ करोड ८२ लाख ९९ हजार ४० रुपैंयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सो मात्रामा नगद लाभांश र बोनस सेयर दिन लागेको हो । त्यसका लागि छिमेक लघुवित्त विकास बैंकले पुस १३ गते साधारणसभा डाकेको छ । ५९ करोड ५७ लाख चुक्ता पुँजी रहेको छिमेक लघुवित्त विकास बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख नाफा कमाएको थियो ।