मगर राजाको राजधानी ‘बलिहाङगढी’ पुग्न मगर समुदायका मानिस लालायित
पाल्पा, २० माघ । मगर राजाको राजधानीका रुपमा परिचित पाल्पाको बल्ढेङगढी गाविसस्थित ऐतिहासिक ‘बलिहाङगढी दरबार क्षेत्र’ ओझेलमा परेको छ । तानसेनदेखि ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । विसं १४५० देखि १८०९ सम्म मगरातको राजधानीका रुपमा रहेको इतिहासमा उल्लेख छ । हालको बल्ढेङगढी क्षेत्रमा बलिहाङ राजाको राजदरबारको अवशेष देखिन पाइने भएसँगै मगर समुदायका मानिस दरबार क्षेत्रमा पुग्न लालायित छन् । बल्ढेङगढी गाविसस्थित घना जङ्गलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको चर्पी र मन्दिर रहेका छन् । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले देवताको मन्दिर बनाई पूजाआजा गर्दै आइरहेका छन् । अग्लो डाँडाको चुचुरोमा सुन्दर, रमणीय दरबार क्षेत्रमा पुग्दा शीतलताको महसुस हुन्छ । बृहत् लुम्बिनीका परियोजनाकार प्रोफेसर क्वाकले समेत हिमाल र लुम्बिनी देखिने एकमात्र स्थान बलिहाङगढी दरबार क्षेत्र रहेकाले यसको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आवश्यक रहेको औल्याएका थिए । रुपन्देहीको सालझन्डीदेखि १५ किलोमिटर उत्तरमा दरबार क्षेत्र रहे पनि यातायातको सहज व्यवस्था भने छैन । जातीय, क्षेत्रीय आन्दोलन चलिरहेको बेलामा मगरातको राजधानी बलिहाङगढीको महत्व अझ बढेकाले विश्वभरिका मगरले यसको संरक्षणमा जुट्न थालेका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ, हङकङका अध्यक्ष एमबी थापाले बलिहाङगढी दरबार मगर राजाको दरबार रहेको भन्ने तथ्य आफूले थाहा पाउँदा गर्वको अनुभूति भएकाले यसको संरक्षणमा लाग्न विश्वभरिका मगर समुदायसमक्ष अपिल गरे । दरबार क्षेत्रको अवलोकन गर्न मानिस आएपनि यस क्षेत्रमा भौतिक विकास गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बलिहाङगढी क्षेत्र विकास समितिकी कोषाध्यक्ष तुला रास्कोटीले बताए । दरबारको प्रचारप्रसार र विकासमा लाग्नुपर्ने जनजाति नेता टोप अस्लामी मगरले बताए । स्थानीय बासिन्दा कमल रायमाझी दरबार क्षेत्रको राष्ट्रियस्तरबाट नै अध्ययन–अनुसन्धान हुनुपर्ने बताए । रासस
गैरसरकारी संघसंस्थाहरु पूर्ननिर्माण कार्य मनोमानी र अपारदर्शी, सरकारको कार्यादेश पालाना गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारदर्शिता र जवाफदेहितासहित पुनर्निर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुलाई निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा साझेदार संस्थाहरुकातर्फबाट भइरहेका पुनर्निर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनर्निर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा बोलाएर निर्देशन दिएको हो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणको कामलाई गति दिन र सरकारी निकायसँग समन्वय गरेर मात्र काम गर्न साझेदार संस्थाका प्रतिनिधिहरुलाई निर्देशन दिए । उनले भूकम्प प्रभावित क्षेत्रमा साझेदार संस्थाहरुले आफूखुसी रकम खर्च गरेको गुनासो आएको बताउँदै सरकारको कार्यादेश अनुसार काम गर्न निर्देशन दिए । प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले नीतिगत समस्या भए तत्काल प्राधिकरणलाई जानकारी गराउन आग्रह गर्दै आफ्नो जिम्मेवारी अनुसार निजी आवास पुनर्निर्माणको कामलाई गति दिन आग्रह गरे । कार्यक्रममा साझेदार संस्थाहरुबाट हालसम्म गरिएका कार्य प्रगतिको समीक्षा गर्नुका साथै प्रगति नभएका र कम प्राथमिकताका क्षेत्रमा छुट्टाइएको रकम समेत निर्माणकर्मी उत्पादन गर्ने तालिममा केन्द्रित गर्न र नयाँ स्रोत व्यवस्थापन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको थियो ।
सबैभन्दा धेरै खर्च गर्नुपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नै खर्च गर्न सक्दैन, एक महिनाभित्र विकास खर्च ४० प्रतिशत पुर्याइने
काठमाडौं। तुलनात्माक रुपमा सबैभन्दा धेरै खर्च हुनुपर्ने सरकारी मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवको ६ महिना बितिसक्दा पनि पूँजिगत खर्च २५ प्रतिशतबाट माथि लैजान सकेको छैन। हालसम्म मन्त्रालयले विकास खर्चवापतको कुल रकममा ५० प्रतिशत खर्च गरिसक्नुपर्ने हो । तर त्यसो हुन नसकेपछि मन्त्री रमेश लेखकले संसदको विकास समितिमा गएर स्पष्टिकरण दिनु परेको छ। मन्त्री लेखकले हालसम्म विकास खर्च २४ प्रतिशतमा रहेको र अबको एक महिनाभित्र त्यसलाई बढाएर ४० प्रतिशत पुर्याउन व्यापक गृहकार्य भइरहेको बताए । राष्ट्रिय गौरवका आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको भन्दै उनले मध्यपहाडी लोकमार्ग, तराइको हुलाकी मार्ग र उत्तर दक्षिण जोड्ने विभिन्न जिल्लाका रोडलाई मूख्य प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको बताए। उनले नेपालको अहिलेको सबैभन्दा चर्को समस्या भनेको गुणस्तरीय निर्माण र समयमै निर्माण सम्पन्न गर्न नसक्नु नै रहेको बताए। त्यसको न्युनिकरणका लागि मन्त्रालयले भरपुर काम गरिरहेको उनले बताए। अन्य मन्त्रालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फरक रहेको भन्दै लेखकले रणनैतिक महत्व राखेका पुलहरु, फास्ट ट्रयाक तथा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा काम चाँडै अगाडि बढाइने बताए। टेण्डर पश्चात प्राइस भेरिएसन गर्नेलाई कार्वाहि माग, ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने व्यवस्थापिका संसदको विकास समितिका अधिकांस सदस्यले विकास निर्माणका काममा सरकारी कर्मचारी र ठेकेदारको मिलेमतो रहेको भन्दै सरकारी कर्मचारीलाई विभागिय कार्वाहि र गलत काम गर्ने ठेकेदारलाई कालो सूचिमा राख्न माग गरे । ठेकेदार कम्पनीहरुले सरकारी कर्मचारीसँगको मिलेमतोमा टण्डरको प्राइसमा भेरिएसन गराएर आफ्नो स्वार्थ पूर्तिका लागि काम नगरेको भन्दै त्यस्ता ठेकेदारलाई कुनैपनि हालतमा कालो सुचीमा समावेस गरेर कार्वाहिको दायरामा ल्याउनु पर्नेमा सांसदहरुले जोड दिएका थिए ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । पट्रोल र डिजेलको मूल्य भने परिवर्तन नभएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।
माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण सुरु, २०७६ मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
तेह्रथुम । साढे सात मेगावाट क्षमताको खोरुङ्गाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको आज सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन् । आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मङ्सिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत रु एक अर्ब ३७ करोड छ । कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीका अनुसार आयोजनामा माच्छापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले रु एक अर्ब लगानी गरेका छन् भने रु ३७ करोड प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय र प्रवद्र्धक कम्पनीले लगानी गर्नेछन् । आयोजना निर्माणपछि जिल्लाका सबै गाविसमा बिजुली पुग्ने कम्पनी अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच गत मङ्सिर १ गते विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । उक्त आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने सम्झौता भएकोे छ । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनको तेह्रथुम वितरण केन्द्रस्थित ट्रान्समिटरमा जडान गरिनेछ । जिल्लाका सम्दु, खाम्लालुङ, सङ्क्रान्ति बजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गा, इवा र ह्वाकु गाविसमा अझै पनि केन्द्रीय प्रसारणको विद्युत् सुविधा पुगेको छैन । सो अवसरमा सांसद खापुङले आयोजना निर्माणले जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउनाका साथै आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
महिन्द्रा टू व्हीलरको दशैं स्किमको बम्पर विजेता छनौट, ताप्लेजुङ्गका हरि खतिवडाले पाए पाँच लाख नगद उपहार
काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं दुई ताली” नामक स्किमको विजेता बुधबार घोषणा गरिएको छ । यस योजना अनुसार विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले पाँच लाख नगद उपहार समेत पाएका छन् । स्किम अनुसार स्क्रयाच् कार्ड मार्फत उनले सो धनराशि जितेका हुन् । यसरी समय समयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्फत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।
एनएमबि माइक्रोफाइनान्सको तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी शुरु
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी २०७३ तथा धितो कर्जा सम्वन्धी तालिमको आयोजना गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा व्यवस्थापन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको हो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधबार एक कार्यक्रमकाबिच पोखरामा उक्त गोष्ठीको उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कोनाजोले शाखाहरुले हालसम्म गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने, कार्यक्रम संचालनका क्रममा आइपरेका समस्याहरु र समस्या समाधानका लागि कर्मचारीले गरेका प्रयासहरुका वारेमा विचार विमर्श गरिने बताएका छन् । त्यसैगरी बैंकिङ्ग पहुँच नपुगेका ग्रामीण भेगका वासिन्दाहरुमा बैंकिङ्ग सेवा पुर्याउन सो भेगका उद्यमीहरुलाई काम गर्नका लागि सहज बनाउन धितो कर्जाको माध्यमबाट सेवा प्रदान गर्ने उद्धेश्यले धितो कर्जा प्रदान गर्दै आएको बताएका छन् । साथै, त्यसलाई अझ प्रभावकारी बनाउन धितो कर्जा सम्वन्धी तालिम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । ३ दिन सम्म संचालन हुने सो कार्यक्रममा कम्पनीले चालु वर्षको छ महिनामा हासिल गरेका उपलब्धीहरु र आगामी दिनमा लक्ष्य पुरा गर्न आवश्यक रणनीति तर्जुमा गर्ने सम्बन्धि छलफल हुने छ । त्यसै गरी धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी गराइने बताइएको छ ।
यूएईबाट आईएमई गर्दा घडी उपहार
काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्न सक्नेछन् । फेरि त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रतिकारोबार एक हजार दिराम भन्दा माथिको रकममा मात्र यो योजना लागु हुने कम्पनीले जनाएको छ ।