विकासन्युज

सेयर बजार ओरालो लाग्ने क्रम जारी, धितोपत्र बोर्ड भन्छ- हस्तछेप गर्ने बेला भएको छैन

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६ अंकमा रहेको नेप्से परिसूचक घटेर १२२७ अंकमा झरेको छ । सेयर बजारमा दुई दिनमै करिब ७० अंकको गिरावट देखेपछि लगानीकर्ताहरु आत्तिएका छन् । गत सोमबारको तुलनामा यस सोमबारको करिब तीन घण्टाको सेयर कारोबारमा करिब १२१ अंकको गिरावट देखिएको छ । गत साताको सोमबार नेप्स परिसूचक १३४८ अंकमा रहेको थियो । बजारमा कारोबार भएको सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । १२६ कम्पनीको सेयर कारोबार मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोही अवधिसम्म करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता डा. नवराज अधिकारीले सेयर बजारको सुक्ष्म अध्ययन गरिहेको तर हस्तक्षेपबारे ठोस निर्णय भने नभएको बताए । ‘हामी बजारको सुक्ष्म अध्ययन गरिरहेका छौं, लगानी कर्ताको मनोबल कसरी उकास्ने भन्नेबारे सोचिरहेका छौं तर निष्कर्षमा पुगेका छैनौं र तत्कालै हस्तक्षेप गर्ने योजना बनाएका पनि छैनौं’, धितोपत्र बोर्डका सह प्रवक्ता डा. अधिकारीले भने । सेयर बजारको ठुलो लगानी मार्जिन लेण्डिङमा आधारित रहेकाले पनि बजारमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।

माछापुच्छ्रे बैंकको पाटन शाखा स्तान्तरण, कुमारीपाटीमा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाटनमा रहेको बैंक शाखालाई स्थानान्तरण गरि कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले गरेका हुन् । संचालनमा आएको उक्त नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । ४ अर्व ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैकले पौष मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप र ५१ अर्व ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकका अनुसार सो अवधिमा बैंकले ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा र ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको बैंकले जनाएको छ ।

नेप्सेमा दिव्यश्वरी हाइड्रोको कारोबार खुला, मूल्य ११६ देखि ३४८ रुपैयाँसम्म

काठमाडौं । सोमबारदेखि  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।

तरलताले घर जग्गा व्यवसाय संकटमा, व्यवसायी भन्छन-‘भूकम्पबाट तंग्रिनै लाग्दा अर्काे धक्का’

काठमाडौं । बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो । ‘घरजग्गाको कारोबार ठप्प छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर गर्यो । पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने । नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कर्टाती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए । ‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो । बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए । नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हेर्न दृष्टिकोणमै व्यापक सुधार आवश्यक रहेको दावी पनि गरे । ‘युरोप र अमेरिकामा घरको मूल्य एक लाख डलर पर्दा बैंकले एक लाख १० हजार डलर ऋण दिन्छन् किन की उसले इन्टेरियर र फर्निचर लगायतका समानमा अतिरिक्त लगानी गरेको हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रतिशत मात्रै ऋण पाइन्छ’, राजभण्डारीले दुखेसो पोखे । युरोप अमेरिकामा मोर्गेज शिर्षकमा दिइन घर जग्गा कर्जाको ऋण भुक्तानी अवधी पनि ३५ बर्ष हुने रसुरुमा ब्याज मात्रै तिरेर अन्तिममा एकै पटक सावाँ भुक्तानी गर्ने सुबिधा पनि रहेको उनले जानकारी दिए । नेपालमा भने ७० प्रतिशत मात्रै कर्जा दिएर पनि सावाको किस्ता र व्याजसहित १५ बर्षभित्रै भुक्तानी गरिसक्नु पर्ने व्यवस्था राखिएको पनि उनले असन्तुष्ठि पोखे । ‘युरोप अमेरिकामा होम लोन दिन सरकारले पनि बैंकहरुलाई प्रोत्साहन गरेको हुन्छ । तर नेपालमा निरुत्साहित गरिरहेको छ, यो विडम्बना हो’, राजभण्डारीले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले घर जग्गामा लगानी गर्नुलाई अनुत्पादक भन्ने परिभाष नै गलत रहेको बताए । ‘हामीले घर जग्गामा लगानी गर्नुलाई नै अनुत्पादक भनिरहेका छौं, घर घडेरीमा लगानी नगर्नु भनेर नागरिकलाई सधैँ डेरामा बस्नु भन्न खोजिएको हो ?’ शाहले प्रतिप्रश्न गरे । अनुत्पादक कर्जा भनेको के हो भन्ने कुरा नेपालका नियामक निकायले बुझ्नै नसेको पनि दावी गरे ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सिइओ ‘म्यानेजर टु वाच २०१६’बाट सम्मानित

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झलक प्रसाद खनाल ‘म्यानेजर टु वाच २०१६’ अर्वाडबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकका सिइओलाईलाई उक्त अवार्ड प्रदान गरेका हुन् । नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले व्यवस्थापन प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याएकाले नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले बैंकको उक्त योगदानलाई कदर गर्दै खनाललाई सम्मानित गरेको हो । यसको साथै, हालै मात्र भिबोर सोसाईटी डेभेलपमेन्ट बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृत खनाललाई यूरोप बिजनेस एसेम्ब्ली, अक्सफर्ड लण्डनबाट अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको थियो ।

व्याजदर १२ प्रतिशत, मुद्रास्फीति ३.४ प्रतिशत; व्यवसायी भन्छन् -उद्योग बन्द गरेर बैंकमा पैसा राख्न मन लाग्यो

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । यो सरकारको लक्ष्य भन्दा आधा कम हो । चालु आर्थिक वर्ष २०७३/७४मा मुद्रास्फीति ७ दशमलव ५ प्रतिशत राख्ने नेपाल राष्ट्र बैंकको लक्ष्य छ । ग्लोवल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्ति पछिको एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भने–‘मंसिरमा मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत थियो, पुस मसान्तमा ३.४ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती खाताको १२ देखि १४ प्रतिशतका दरले व्याज दिईरहेको समयमा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । मुद्रा स्फीतिदर भन्दा बैंकले निक्षेपकर्तालाई दिने व्याजदर ८ प्रतिशतभन्दा माथि गएको छ । वर्तमान पुस्तामा निक्षेपकर्ताको लागि यो समय संभवत सबैभन्दा लाभदायक हुनसक्छ ।   प्रेमपत्र आएजस्तो हरेक साता व्याजदर बढाएको पत्र बैंकबाट आउन थालेको छ। मुद्दती व्याजको दरले हामी उद्योगी व्यवसायीलाई पनि लोभ्याएको छ । उद्योग व्यापार सबै बन्द गरेर बैंकमा पैसा राखौं जस्तो लाग्छ । बैंकले दिएको उच्च व्याजदरले निक्षेपकर्तालाई मात्र होइन, व्यवसायीलाई पनि आकर्षित गरेको छ । ‘हरेक दिन पत्रिकामा बैंकहरुले विज्ञापन छाप्छन् । वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याज दिएका छन् । विकास बैंक र फाइनान्स कम्पनीले १३/१४ व्याज दिने भनेको छन् । मुद्दती व्याजको दरले हामी उद्योगी व्यवसायीलाई पनि लोभ्याएको छ । उद्योग व्यापार सबै बन्द गरेर बैंकमा पैसा राखौं जस्तो लाग्छ’ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने–‘बैंकमा पैसा राख्यो, आनन्द । महिना/महिनामा व्याज आउने । उद्योग व्यापार गर्दा भोग्नु परेको समस्याबाट पनि छुटकरा पाइने ।’ बैंकले निक्षेपमा १२ प्रतिशत व्याज दिएपछि ५ प्रतिशत स्प्रेडदर राखेर १७ प्रतिशतमा कर्जा दिने र त्यति धेरै व्याजमा कर्जा लिएर व्यवसाय गर्न नसकिने उनले बताए । ‘प्रेमपत्र आएजस्तो हरेक साता व्याजदर बढाएको पत्र बैंकबाट आउन थालेको छ’ उनले भने–‘पहिला कर्जा लिएर व्यवसाय गर्नेहरुलाई पनि गम्भिर समस्या भयो ।’ गएको दुई दशकमा अधिकांश समय निक्षेपकर्ताले मुद्रा स्फीतिदर भन्दा ज्यादै कम व्याज पाएका थिए । निक्षेपकर्ताको लागि कम व्याज दिएको भन्दै नियामक निकाय तथा सरकारी अधिकारीहरुले बैंकहरुको आलोचना गर्ने गरेको थिए । तर अहिले व्यवसायीहरुबाट बैंकर्सको आलोचना हुन थालेको छ । उद्योग वाणिज्य महासंघको उपाध्यक्ष शेखर गोल्छाले बैंकको व्याजदर वृद्धिले उत्पादन लागत वृद्धि भएको जनाउँदै असार मसान्तसम्ममा मुद्रास्फीति १२/१३ प्रतिशत हुने बताए ।

बैंक रित्तिँदा विकास रोकियो, ठूला विकास निर्माणलाई पनि र्बैकको ऋण छैन

काठमाडौं ।अर्घाखाँची सिमेन्ट उद्योगले अहिलेको दैनिक एक हजार दुई सय टनबाट दुई हजार टन उत्पादन गर्नसक्ने गरी क्षमता विस्तार गर्दैछ तर बैंकमा नगद अभाव भएपछि दसैंसम्म क्षमता विस्तार गर्ने उद्योगको योजना अन्योलमा परेको छ । क्षमता विस्तार गर्न करिब चार अर्ब रुपैयाँ लागत पर्छ । अहिलेसम्म सम्झौताअनुसारको रकम दिए पनि अबचाहिँ केही समय पर्खन भन्न थालेको उद्योगका सञ्चालक पशुपति मुरारका बताउँछन् । ‘निर्माणाधीन परियोजनामा साढे १ प्रतिशतले ब्याजदर बढिसकेको छु, मुरारका भन्छन्, ‘तैपनि समयमा ऋण पाइने निश्चित छैन । बैंकमा नगद अभावका साथै ब्याजदर बढाउँदा थुप्रै परियोजनाको निर्माणमा ढिला हुने खतरा बढेको छ । बैंकले लगानीयोग्य पुँजी अभाव ९क्रेडिट क्रन्च० का कारण प्रतिबद्धता गरेअनुसारको रकम दिन नसक्दा परियोजना ढिला हुने भएको हो । बैंकले ऋण नदिँदा खर्बका ठूला परियोजनादेखि खानेपानीजस्ता सानातिना परियोजनासमेत प्रभावित भएको उद्योग वाणिज्य महासंघकाका अध्यक्षसमेत रहेका मुरारका बताउँछन् । हेभी इक्विप्मेन्टदेखि उद्योगका कच्चा पदार्थ आयात गर्नसमेत बैंकसँग रकम नभएको गुनासो व्यवसायीले गरेका छन् । निर्धारित समयमा सम्पन्न नहुँदा परियोजना लागत बढ्ने र त्यसको असर उत्पादनसम्म पर्ने हुन्छ । यसले वस्तुको मूल्य बढ्छ । बैंकहरूले नयाँ परियोजनामा लगानी गर्ने त परको कुरा निर्माणाधीन परियोजनाका लागिसमेत प्रतिबद्धताअनुरूप रकम दिन सकेका छैनन् । नयाँ परियोजनाका लागि जाँदा नसक्ने जबाफ दिने बैंकले प्रतिबद्धता गरिसकेकालाई चाहिँ केही दिन पर्खनू भन्दै थुमथुम्याउने गरेका छन् । सम्झौताअनुुसार रकम नपाए पनि परियोजनाले बढ्दो ब्याजले भने तिर्नुपरेको छ । बैंकहरूले एकडेढ महिनायता दुईदेखि ५ प्रतिशतसम्म ब्याज बढाइसकेका छन् । अन्नपूर्ण पोस्टबाट ।

अमेरिकामा गैरकानूनी रुपमा बस्ने पक्राउन पर्न थाले, ३० लाख आप्रवासी, नेपालीको सख्ंया पनि ठूलो पनि

काठमाडौं । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई अमेरिकी अदालतले प्रतिबन्ध लगाएको सन्दर्भमा सरकारले गैरकानुनी आप्रवासीमाथि छापा तीव्र पारेको हो । ट्रम्पले तीन साताअघि गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ३० लाख गैरकानुनी आप्रवासी अमेरिकामा ३० लाख आप्रवासी गैरकानुनी रूपमा बसोवास गरेको भन्दै ट्रम्प प्रशासनले उनीहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप प्रहरीले गैरकानुनी रूपमा बसोवास गरेका आप्रवासीमाथिको अनुसन्धानलाई तीव्र पारेको हो । एटलान्टा, सिकागो, न्युयोर्क, लस एन्जल्स, नर्थ क्यारोलाइन, साउद क्यारोलाइनालगायतका राज्यमा बसोवास गर्ने आप्रवासीमाथि प्रहरीले छापा मारेको वासिंग्टन पोस्टले जनाएको छ । प्रहरी छापाका कारण आप्रवासी समुदायमा त्रास उत्पन्न गरेको आप्रवासीको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाले जनाएका छन् । देशनिकाला गरिने ट्रम्प प्रशासनले अपराधको अभियोग लागेका वा अदालतले दोषी ठहर गरेका आप्रवासीलाई तत्कालै देशनिकाला गर्ने जनाएको छ । आप्रवासीमाथिको छापा नियमित कार्य भएको अधिकारीहरूले जनाएका छन् । ‘आप्रवासीमाथिको अनुसन्धान नियमित कार्य हो,’ गृह मन्त्रालयका प्रेस सेक्रेटेरी गिलियन क्रिस्टिेनसेनले बताए । देशको आप्रावाससम्बन्धी कानुन उल्लंघन गर्ने जो–कोहीमाथि अनुसन्धान हुने उनले बताए । छुट दिएनन् ट्रम्पले ट्रम्प प्रशासनले पक्राउ गरेका आप्रवासीलाई यसअघि ओबामा प्रशासनले अमेरिका बस्न छुट दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । फिनिक्समा २१ वर्षदेखि बसोवास गर्दै आएकी एक महिलालाई गत साता प्रहरीले देशनिकाला गरेको थियो । सोको विरोधमा सो राज्यमा दिनहुँजसो विरोध प्रदर्शन भएको छ । रोजागारी प्राप्तिका लागि उनले सन् २००८ मा एउटा फर्जी सुरक्षा नम्बर प्रयोग गरेको प्रहरीले आरोप लगाएको छ । पूर्वराष्ट्रपति ओबामाको शासनकालमा पनि गैरकानूनी रूपमा बसोवास गरेका आप्रवासीमाथि अनुसन्धान भएको थियो । ओबामा प्रशासनले देशका लागि खतरनाक र सुरक्षित गरी आप्रवासीलाई दुई तहमा वर्गीकरण गरेको थियो । ओबामाको कार्यकालमा २० लाख गैरकानुनी आप्रवासीलाई देशनिकाला गरिएको थियो । सोपछि आलोचकहरूले ओबामालाई ‘डिपोर्टर इन चिफ’को संज्ञा दिएका थिए । अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निश्चित देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश ल्याउने तयारी गरेका छन् । मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रतिबन्ध लगाउने आदेशलाई अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति ट्रम्पले नयाँ कार्यकारी आदेशबारे योजना बनाएका हुन् । आप्रवासीलाई प्रतिबन्ध लगाउने अर्को नयाँ आदेश सोमबार वा मंगलबारसम्ममा आउने उनले बताए । आप्रवासीलाई नियन्त्रण गर्ने नयाँ योजना कस्तो हुन्छ भन्नेबारे ट्रम्पले विस्तृत रूपमा केही उल्लेख गरेका छैनन् ।