चैत २५ देखि घर जग्गा मेला, होम लोन कटौती नगर्न आग्रह
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ गतेदेखि २८ गतेसम्म छैठौं घर जग्गा मेला आयोजना गर्ने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर राजधानीको भृकुटीमण्डपमा आयोजना हुने घरजग्गा मेलामा १२० वटा स्टल रहने जानकारी दिएको हो । मेलामा रियल स्टेट क्षेत्रका पछिल्ला अपार्टमेन्ट, आवास तथा जग्गा विकास आयोजनाका बारेमा जानकारी उपलब्ध गराउने मेलाका संयोजक विपिन चित्रकारले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष इच्छाराज तामाङले होम लोनमा कटौती नगर्न राष्ट्र बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।‘हामीलाई प्रोजेक्ट फाइनान्सिङ नगर्नुस तर जनतालाई घर बनाउन होम लोन दिनुस, जनतालाई एउटा कार वा मोटरसाइकल किन्न ऋण दिनुस’, अध्यक्ष तामाङले भने । उनले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक देख्ने नेपाली दृष्टिमै दोष रहेको धारणा पनि राखे । उनले भारतमै पनि रियल स्टेट क्षेत्रको कर्जा लगानीलाई अनुत्पादक भन्ने व्यवस्था नरहेको जानकारी पनि दिएका थिए । अध्यक्ष तामाङले रियलस्टेट क्षेत्रका कारण वर्तमान तरलताको अवस्था नआएको दावी पनि गरे । अधिकतम २५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको र हालसम्म जम्मा १५ दशमबल ६७ प्रतिशत मात्रै ऋण प्रवाह भएको पनि उनले जानकारी दिए । बैंक तथा वित्तिय संस्थाहरुले एकै पटक ठुलो मात्रामा पूँजी वृद्धि गर्नु परेकाले पनि तरलताको अवस्था आएको उनको भनाई थियो ।
कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले १३ करोड ४९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले एक अर्ब ३४ करोड ४९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटल बैंकिङ्लाई बिक्री प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला
धुलिखेल। नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो । बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा ती विद्यार्थी सङ्गठनले ताला लगाएका हुन् । उक्त विद्यार्थी सङ्गठनले अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताए । अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो सङ्गठनको कुनै पनि कुराको सुनुवाइ नभएको र तीन विद्यार्थी सङ्गठनले सिन्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनुपरेको बताए । “हामीले पटक पटक भनेका थियौँ कि हाम्रो पार्टीको अधिवेशन चलिरहेका बेलामा निर्वाचन नगरौँ भनेर तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनुपरेको हो” – अध्यक्ष सारुले भने । उनले तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सिन्डिकेट नै लगाएको आरोप लगाए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको भन्ने जानकारी आए पनि क्याम्पस प्रमुखहरुले जानकारी नै नदिएको बताए । रासस
अल अन्सारी र सिटी एक्स्प्रेसबीच सेवा आदान-प्रदान गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं । यूनाइटेड अरब एमिरेट्स स्थित अल अन्सारी एक्चेञ्च (क्याश एक्स्प्रेश) तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१७ को फेब्रअरी महिनादेखि आपसी रूपमा नै रकम आदान-प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । उक्त सम्झौताबाट अल अन्सारीको नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सकिने छ । साथै सिटी एक्सप्रेसको सेवामा पनि नयाँ आयाम थपिएको छ । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “यूएईको सबैभन्दा बढि संजाल भएको रेमिटान्स सेवा प्रदायक अल अन्सारीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले यूएई लगायतबाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।” त्यस्तै, अल अन्सारीका महाप्रबन्धक रसिद अल अन्सारीका अनुसार अल अन्सारीले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ । जसबाट यूएईमा रहेका लाखौ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स प्राप्त गर्न सक्नेछन् । अल अन्सारी एक्स्चेञ्ज (क्साश एक्स्प्रेस): अल अन्सारी यूएई मनी ट्रान्सफरको व्यवसायको लागी पूर्ण अनुमतिपत्र प्राप्त गरी कारोबार सञ्चालन गरिरहेको छ । अल अन्सार विगत ६० वर्षदेखि सञ्चालनमा छ र सदैव नवीन र उच्चकोटिको सेवा प्रदान गर्न तत्पर छ । सिटी एक्स्प्रेश मनि ट्रान्सफर: नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालका हरेक कुनामा सेवा पुर्याई जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्राउने सेवा उपलब्ध गराउँछ ।
एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग, सहयोग गर्न फाउन्डेसनको आग्रह
महोत्तरी । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् । पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा दुई करोड रुपैयाँ विभिन्न माध्यमबाट सङ्कलन भईसकेको अध्यक्ष धुर्मुसले बताए । बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन्। जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । रासस
नेपाल- भारत सीमा नाका ७२ घन्टाका लागि बन्द
कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका सोमबार साँझदेखि बन्द हुने छन् । यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् । फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सिमाना बन्द गरिएको बताइएको छ । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएका छन् । रासस
सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो । बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।
जनता बैंक नेपालको १२ प्रतिशत लाभांश पास, त्रिवेणी बिकास बैकसँग मर्जमा जाने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त बैंकको प्रस्तावलाई आइतबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले पास गरेको हो । साथै,सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सानहिसाब र सोही अवधिको नाफा- नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर)प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जर पश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १०कित्ता शेयर बराबर ६कित्ता) हकप्रद शेयर जारी गरी गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३/७४को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागिबेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनःनियुक्त गरेको छ । बैंकले यही माघ मसान्त सम्ममा २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले १९करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।