विकासन्युज

सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा पाल्पाको तानसेन बजारमा

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले बिहीबारदेखि पाल्पा जिल्लाको तानसेन बजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । बैंकको यस शाखाले स्थानिय स्तरमा बैकिङ् सेवा सुविधा प्रदान गर्नुका साथै स्थानिय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमद्वारा गरिएको बैंकले जनाएको छ ।

दुई बर्षभित्रै साढे ८ लाख सुकुम्बासीले जग्गा पाउने, बेच्न भने नपाइने

काठमाडौं । सरकारले आगामी २ बर्षभित्रै देशभरका सुकुम्बासीहरुलाई जग्गा दिने भएको छ । सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भूमि सुधार तथा व्यवस्था मन्त्रीको अध्यक्षतामा ९ सदस्यीय आयोग समेत गठन गरिसकेको छ । मन्त्रिपरिषदले सुकुम्बासीलाई जमिन उपलब्ध गराउन ‘व्यवस्थित बसोबास आयोग’ गठन गरेको हो । ‘भूमि सुधार मन्त्री वा राज्य मन्त्री अध्यक्ष रहने नौ सदस्यीय आयोग गठन भएको छ, यसले सुकुम्बासी समस्याको दिर्घकालिन समाधान दिन्छ’, भूमि सुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डेले बिहिबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । भूमि सुधार मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकाटाले आगामी २ बर्षे कार्यकल रहेको आयोगले सबै सुकुम्बासीलाई जग्गा दिने दावी गरे ।‘मन्त्री परिषदले गठन गरेको आयोगको म्याद २ बर्ष हो, हामी त्यतिबेलासम्ममा काम सक्ने योजनामा छौं’, आयोगका सदस्य समेत रहेको सचिव देवकोटाले भने । २०७१ सालमा गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सुकुम्बासी हुँ भन्दै आवेदन गर्नेहरुको संख्या ८ लाख ६१ हजार ३ सय १७ रहेको थियो । नव गठित आयोगले सुकुम्बासी बस्तीहरुमै पुगेर जमिनको निस्सा उपलब्ध गराउनेछ । तर सुकुम्बासीहरुले प्राप्त गरेको जमिन बेचबिखन गर्न भने पाउने छैनन् । ‘हामी सम्बन्धित स्थलमै पुगेर सुकुम्बासीलाई जमिनको निस्सा उपलब्ध गराउँछौं, त्यस्तो जमिनको स्वामित्व उनीहरुलाई नै प्रदान गरिन्छ तर बेचबिखन भने गर्न पाइँदैन’, सचिव देवकोटाले भने । को को छन आयोगमा ? भूमि सुधार व्यवस्था मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा गठन हुने आयोगमा मन्त्रालयका सचिव सदस्य र एक जना सह सचिवले सदस्य सचिवको जिम्मेवारी पाउनेछन् । त्यस बाहेक गृह, वन र शहरी विकास मन्त्रालयका सचिव सदस्य रहनेछन् । त्यस्तै, मन्त्री परिषदले तीन जना विज्ञ सदस्य नियुक्त गर्नेछ । जिल्लामा गठन हुने संयन्त्र भने ११ सदस्य हुनेछ । आयोगको केन्द्रिय संरचनामा राजनीतिक नियुक्त नगरिने तर जिल्लास्तरमा भने राजनीतिक प्रतिनिधित्वमा पनि कायम रहने उनले सचिव देवकोटाले जानकारी दिए । सुकुम्बासीलाई कति जमिन दिने भन्नेबारे पनि ठोस निर्णय नभएको उनले बताए । अब जमिन बाढ्ने नभएर भोगचलन गर्न दिने परिपाटीको विकास गर्न लागिएको सचिव देवकाटाले जानकारी दिए ।

सेयर बजारमा उच्च अंकको वृद्धि, १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार करिब ४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १२७४ अंकमा अडिएको थियो । त्यसपछिको दुई दिनमै नेप्से परिसूचक करिब ७० अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २७ दशमलब ०५ अंकले उकालो लागेर १३४३ दशमलब ८५ अंकमा पुगेको छ । दुई दिनयताको बजारले अबको सेयर बजारमा सुधार आउने संकेत देखाएको छ, जसले गर्दा लगानीकर्ताको मुहारमा खुसीयाली छाएको छ । त्यस्तै, बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन बजारमा ६५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब २५ करोड र बुधबारको तुलनामा करिब १३ करोड रुपैयाँ बढी हो । बिहीबार १४५ कम्पनीको २६ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । १४५ कम्पनीको सेयर कारोबार भएको बजारमा १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, नविल ब्यालेन्स फण्ड १, एभरेष्ट इन्स्योरेन्स कम्पनी र एनबी इन्स्योरेन्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिहीबार कारोबार भएका अन्य समूह र उत्पादमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९० अंकले बढेको छ । त्यस्तै, बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् । अन्य समूह र उत्पादमूलक समूहको क्रमशः ६.६५ र ६.३५ अंकले घटेका छन् ।

हिमालयन बैंकद्धारा चिल्ड्रेन होमका बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई स्कुल ब्याग, जुत्ता तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

हिरो मोटरसाइकलको नयाँ शाखा काठमाडौंको मित्रपार्कमा

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लीले आफ्नो १३ औ शाखा विस्तार गरेको छ । काठमाडौंको मित्रपार्कमा १३ औ शाखाको ज्योति समुहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्वोवल हेड रजत भारगभ, हिरोमोटो कर्पका रिजनल हेड एशिया प्रविर कुमार शाही, हरोमोटो कर्पका कन्ट्री मेनेजर कार्तिक वैङकटस्वामीले उक्त शाखाको उद्घाटन गरेका हुन् । हिरोमोटर साइकलको नेपालको लागि आधिकारिक विक्रोता नेपाल जेनरल मार्केटिङकाको डिलर ७५ वटा रहेका छन् ।

बैंक, बीमा, पुँजीबजारलाई सहयोग गर्न फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर खोल्ने तयारी

काठमाडौं । नेपालको बैकिङ, बीमा, सेयर बजार, सहकारी क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले वृहत सहभागितामा फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर खोल्ने तयारी गरिएको छ । तालिम, सेमिनार, वर्कशप गर्ने, अनुसन्धान तथा परामर्श सेवाको काम गर्ने, बैंक, बीमा, पुँजीबजारको एकिकृत डाटा राख्ने काम गर्ने, व्यवस्थापन विषयमा डिप्लोमा र डिग्रीका कोर्ष सञ्चालन गर्ने उद्देश्यले राखिएको हो । १५ करोड चुक्ता पुँजीमा शुरु गर्ने यो संस्थामा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बीमा समितिको १० प्रतिशत, नेपाल धितोपत्र बोर्डको १० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको १० प्रतिशत गरी सरकारी निकायको सेयर लगानी ५० प्रतिशत रहने प्रस्ताव गरिएको छ । त्यस्तै, नेपाल बैंकर्स संघ मार्फत वाणिज्य बैंकहरुको १० प्रतिशत र सर्बसाधारणको १० प्रतिशत, इमर्जिङ नेपालको १० प्रतिशत, सर्बसाधारणको १० प्रतिशत सेयर राख्ने प्रस्ताव गरिएको छ । त्यस कम्पनीमा नेपाल स्टक एक्स्चेञ्जको ३ प्रतिशत, पुर्नबीमा कम्पनीको ३ प्रतिशत, विकास बैंकहरुको तर्फबाट ३ प्रतिशत, वित्त कम्पनीहरुको तर्फबाट ३ प्रतिशत र लघुवित्त कम्पनीहरुको तर्फबाट ३ प्रतिशत सेयर लगानीको प्रस्ताव गरिएको छ । अन्य क्षेत्रबाट ५ प्रतिशत सेयर लगानी ल्याउने प्रस्ताव गरिएको छ । यस्तो संस्था निर्माण गर्न इमर्जिङ नेपालले प्रस्ताव गरेको हो । इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद अत्रेयका अनुसार  फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर कम्पनी ऐन अन्तर्गत नै दर्ता हुने र पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि बढाउने प्रस्ताव गरिएको छ । यस संस्थाले संस्थागत तथा व्यक्तिगत सदस्य शुल्क, संस्थाहरुसँग तालिम शुल्क, गरकारी गैरसरकारी संस्थासँग अनुदान लिएर आम्दानी गर्ने प्रस्ताव गरिएको छ । ‘संस्थाको आवश्यकता, उद्देश्य, यसका काम, आम्दानीका स्रोत तथा खर्च व्यवस्थापन लगायत धेरै विषय समेटर तयार गरेको प्रस्ताव पत्र सम्बन्धीत सबै निकायमा अध्ययनको लागि पठाइएको छ’ डा आत्रेयले भने-‘यस विषयमा वृहत छलफलको लागि आधा दिनको अन्तरक्रिया कार्यक्रम गर्ने तयारी भईरहेको छ ।’ काठमाडौंदेखि २५/३० किलोमिटर वरिपरिको क्षेत्रमा ५०/६० रोपनी जग्गा लिएर आवासीय तालिम तथा सेमिनार सेन्टर बनाउने सोच रहेको उनले बताए । ठूलो पूर्वाधार निर्माण गरिने र धेरै स्टेकहोल्डरको सहभागिता खोजिएकोले यो योजना अगाडि बढ्न लामो समय लाग्ने देखिएको छ ।

प्राइम कमर्सियल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम प्राइम कमर्सियल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट नायब महाप्रवन्धक मोतीकाजी तुलाधर र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१०० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।

नेपाल व्यवस्थापन संघको अध्यक्षमा सुशील भट्ट निर्वाचित, मोहन ओझा महासचिव

काठमाडौं । नेपाल व्यवस्थापन संघको नयाँ कार्यसमितिले पदाधिकारीहरु चयन गरेको छ । बुधबार भएको निर्वाचनबाट अध्यक्षमा सुशील भट्टले १२ मत पाएर विजय भएको थिए । प्रतिस्पर्धी सुशील कुमार अर्यालले ६ मत पाएका थिए । प्रथम उपाध्यक्षमा विजयी राष्ट्र बैंकका निर्देश राजेन्द्र पण्डितले १३ मत पाए भने उनीसँग प्रतिस्पर्धा गर्ने डा विष्णु खनालले ५ मत पाएका थिए ।  दृतिय उपाध्यक्षमा कर्मचारी सञ्चय कोषका धुर्ब भट्टराई ११ मत पाएर विजयी भए । उनीसँग प्रतिष्पर्धा गरेका जेनिशा भट्टराईले ७ मत पाईन् । महासचिवमा ग्रोथ सेलर कम्पनीका प्रबन्ध निर्देशक मोहन ओझाले १० मत पाएर विजयी भए । महासचिवका अर्का प्रतिस्पर्धी राजन थापाले ८ मत पाएका थिए । कोषाध्यक्षमा दिलिपराज पौडेल सर्वसहमतिमा निर्वाचित भएका छन् । उनी पनि कर्मचार संचयकोषमा आवद्ध छन् । गत शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको थियो । १७ जना कार्यसमिति सदस्य र निवर्तमान अध्यक्षकोसहित १८ मत खसेको थियो । सम्बन्धीत समाचार नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई