सुन तस्करी प्रकरणमा नयाँ रहस्य, १४ वर्षदेखि विमानस्थल भन्सारबाटै सेटिङ
काठमाडौं । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट भन्सारमा बस्नुको रहस्य खुलेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका यादव तस्करहरूको मुख्य विश्वासपात्र व्यक्ति भएको सिआइबीको अनुसन्धानमा खुलेको हो । निजामती ट्रेड युनियनका नेतासमेत रहेका यादव नेताहरूको सोर्सफोर्सका आधारमा सधैँ एयरपोर्ट भन्सार बस्दै आएका थिए । सिआइबीका अनुसार उनीसहितको सेटिङमा एक वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको थियो । पक्राउपछि सिआइबीले लिएको बयानका क्रममा यादवले मिलेमतोमै तस्करी हुने गरेको स्विकारेका छन् । प्रहरीलाई समेत पैसा बुझाई सेटिङ मिलाएर तस्करी हुने गरेको बयान उनले दिएका छन् । उनको लिखित बयानका आधारमा सिआइबीले एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ । एसएसपीको रेट एक लाख साढे ३३ किलो सुन तस्करी हुँदा विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीले हरेकपटक एक लाखका दरले पैसा बुझ्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार भन्सारका कर्मचारी श्रीनारायण यादवसँग मिलेर उनले पैसा लिने गरेका थिए । सिआइबीले २३ माघमा खत्रीलाई हिरासतमा राखी संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । लगेज चेकिङमा प्रहरीको कुनै भूमिका नहुने भए पनि तस्करीमा अप्रत्यक्ष रूपमा सहयोग गर्न खत्रीलाई सेटिङ मिलाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । भन्सारका कर्मचारी यादवकै बयानका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो । तर, खत्रीले भने तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् । सुन लिन भारत जाने भरियाहरूले डलर तथा दिरामसमेत तस्करी गर्दै आएका थिए । त्यसमा प्रहरीले सहयोग गरेको हुनसक्ने सिआइबीका अधिकारीको आशंका छ । तर, डलर तस्करीको तथ्य प्रहरीले फेला पार्न सकेको छैन । तस्करीको सुन पक्राउ परे पनि भरिया मात्र पक्राउ पर्ने र आफूहरूको संलग्नता नखुल्ने विश्वासमा एसएसपी र भन्सारका कर्मचारीले तस्करीमा सहयोग गर्दै आएका थिए । प्रहरीले विगतमा सुन बरामद गरेलगत्तै भन्सार र राजस्वमा बुझाउने गरेको थियो । तर, यसपटक प्रहरीले संगठित अपराध मुद्दामा उनीहरूमाथि अनुसन्धान गर्दा भन्सारका ६ कर्मचारी र एसएसपीको संलग्नता खुलेको हो । विभागको छानबिन रिपोर्ट गोप्य सुन तस्करी घटनाको अनुसन्धान गर्न भन्सार विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजत्वमा छानिबन समिति बनाएको थियो । समितिले २१ माघमा नै रिपोर्ट बुझाइसकेको छ । तर, रिपोर्ट गोप्य राखिएको छ । विभागमा महानिर्देशक नहुँदा रिपोर्ट सार्वजनिक नभएको दाहालले बताए । महानिर्देशक शिशिर ढुंगाना सचिवमा बढुवा भएपछि विभाग नेतृत्वविहीन छ । अर्थ मन्त्रालयले सहसचिव रामशरण चिमोरियालाई महानिर्देशकका रूपमा सरुवा गरे पनि उनी उपस्थित भइसकेका छैनन् । २१ पुसमा सिआइबीले विमानस्थलबाट मिलेमतोमा भित्रिएको साढे ३३ किलो सुनसहित दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो । एयरपोर्ट भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए । तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्कीसमेत पक्राउ परेका छन् । एसएसपी खत्री भने गत २३ माघमा पक्राउ परेका हुन् । सुन तस्करीमा संलग्न व्यापारीहरूको समेत पहिचान भए पनि उनीहरू भने दुबईमा रहेको स्रोतले बताएको छ । मुख्य एजेन्ट कार्कीले काठमाडौंको उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुन पसलहरूलाई तस्करीको सुन बिक्री गर्दै आएको सिआइबीको दाबी छ । तस्करी गरेर भित्रााउँदा एक किलो सुनमा आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । तस्करीमा संलग्न भएको आरोपमा विभागका ६ कर्मचारी निलम्बनमा परेका छन् भने अरू ३० जनालाई जिम्मेवारीबाट हटाई विभागमा हाजिर गराइएको छ । नयाँ पत्रिका दैनिकबाट ।
फेसबुकमा १६ जिबी अश्लील डाटा, प्रहरीले पक्रियो लेखापाल
काठमाडौं । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ। सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए । ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने पेजमा महिला, पुरूष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ। उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन्। महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लोखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताए। नागरिक दैनिकबाट ।
उपत्यकामा पेट्रोल अभाव, निजी पम्पमा इन्धन छैन
काठमाडौं । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुख पाएका छन् । शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् । निजीमात्र नभएर सरकारी पम्पले समेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ । नागरिक दैनिकबाट ।
केवलकारको अनुमति लिन तीन चारणमा शुल्क, नवीकरण र यात्रु सेवाका आधारमा रोयल्टी अनिवार्य
काठमाडौंः डेढ दशकदेखि सञ्चालन भइरहेका केबलकारदेखि नयाँ दर्ता भएर सुरु हुनेसम्मका केवलकारले अब सरकारलाई वार्षिक शुल्क र रोयल्टी तिर्नुपर्ने व्यवस्था हुने भएको छ । सरकारले केवलकार सञ्चालन तथा व्यवस्थापन कार्यविधिमा अनुमति लिनकै लागि तीन चरणमा शुल्क लाग्ने व्यवस्था गरेको छ । सम्भाव्यता अध्ययन गर्न, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न र सञ्चालन अनुमति गरी तीन चरणमा शुल्क लिने गरी नयाँ कार्यविधि तयार पारेको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले तयार पारेको यो कार्यविधिमा केवलकारको वार्षिक नवीकरण गर्नुपर्ने भएको छ भने यात्रु सेवाका आधारमा वार्षिक न्युनतम २ प्रतिशतको रोयल्टी पनि तिर्नुपर्ने व्यवस्था गरेको भौतिक मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार १५ वर्षसम्म न्युनतम २ प्रतिशतसम्मको रोयल्टी तोकिएको छ भने त्यसपछि रोल्यल्टी शुल्क पनि बढाउने गरी कार्यविधि तयार पारेर अर्थ र कानुन मन्त्रालयमा सहमतिको निम्ति पठाइएको छ । मन्त्रालय स्रोतका अनुसार अर्थले कार्यविधिमा तोकिएको शुल्क कायमै गरको अवस्थामा केवलकार संचालमा अहिले भएको व्यवस्थामा निकै कडाई हुने भएको छ । अर्थ र कानु मन्त्रालयको स्वीकृतिपछि यो कार्यविधि मन्त्रिपरिषद्टै स्वीकृत गराएर कार्यान्वयन गर्ने तयारीमा मन्त्रालय रहेको छ । मन्त्रालयका अनुसार मनकामना केवलकार डेड दशकदेखि संचालनमा आएको भएपनि कुनै अर्को प्रतिस्पर्धी कम्पनी आउन नसक्दा यसलैले लाभ लिइरहेको थियो । अब व्यवसायीक रुपमा केवलकार कम्पनी आउन थालेपछि सरकारले कडाई गर्ने र कर तथा आवश्यक सेवा शुल्क लिने तयारी गरेको हो । मन्त्रालयका अनुसार चन्द्रागिरि केवलकार संचालन आएपछि पोखरामा, कालिन्चोकमा, पाथिभरालगायतका स्थानमा केवलकार संचालन गर्ने कम्पनी एकपछि अर्को आउँन थाले । धेरैवटा कम्पनीले यो क्षेत्रमा व्यवसायीक भविष्य देखेपछि व्यवस्थित गर्नुपर्ने सरकारको कर्तव्य पनि भएको उल्लेख छ । पाथीभरामा भएको विवादले केवलकारमा कडाई मन्त्रालय स्रोतका अनुसार ताप्लेजुङको पाथिभरा मन्दिरमा पाँचवटा कम्पनीले केबलकार संचालन गर्नु रुची देखाएका छन् । त्रिवेणी केवलकारले संचालन गर्न संम्भाव्यता अध्ययन गर्न अनुमति मागेपछि भएको स्थानियसँगको विवादले केही समय प्रक्रिया नै रोकियो । त्रिवेणीले संम्भाव्यता अध्ययन गर्न अनुमति पाएपछि अन्य कम्पनीले पनि एकपछि अर्को गर्दे केवलकार संचालन गर्न अनुमनि माग्न थाले । हाल इलामबाट पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन, पाथिभरा देवी दर्शन र त्रिवेणी केबलकारले अनुमति मागेका छन् एउटै केवलकारले धेरैवटा ठाउँमा अनुमति माग्ने गरेकोले पनि सरकारले कार्यविधिमार्फत कम्तिमा ३ महिनासम्म बैंक ग्यारेन्टी केवलकार निर्माण लगातको २० प्रतिशत रकम हुनैपर्ने गरी प्रस्ताव गरको छ । यो कार्यविधि स्वीकृत भएमा झोलामा अनुमति लिएर हिड्ने कम्पनीको आँट पुग्दैन । कामै गर्ने कम्पनीको मात्रै पहुँच पुग्ने र व्यवस्थित पनि हुने दाबी मन्त्रालय स्रोतको छ । सञ्चालनमा कडाइ गरिँदै सरकारले केबलकार सञ्चालन तथा व्यवस्थापन कार्यविधिमार्फत सञ्चालनमा कडाइ गर्ने भएको तयारी गरेको हो । यस अघि पर्यटन मन्त्रालयले अनुमति दिने भएपनि एक वर्षदेखि भने सरकारले भौतिक योजना मन्त्रालयमार्फत केवलकारको अनुमति लिनुपर्ने व्यवस्था गरिदिएको छ । मन्त्रालयका अनुसार यात्रु वोक्ने र सामान मात्र ढुवानी गर्ने रोपवे दुवैलाई नियमन गर्ने गरी कार्यििवधि ल्याउन लागिएको उल्लेख छ ।
७ सय र २६ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी खोल्ने तयारीमा सरकार, अन्तिम तयारी हुँदै
काठमाडौं। सरकारले दूरसञ्चार सेवा चलाउन बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ। यसअघि नै सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति–२०७३ कार्यान्वयन गर्दै सरकारले थप नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्न लागेको थियो तर हालसम्म पूरा कार्यान्वयन हुन नसक्दा करोडौं रुपैयाँ राजश्व उठ्ने फ्रिक्वेन्सी त्यत्तिकै खेर गइरहेको थियो। स्याटेलाइट फोन, टेलिफोन तथा इन्टरनेटलगायतका दूरसञ्चार सेवा चलाउन रेडियो फ्रिक्वेन्सी आवश्यक हुन्छ । सरकारले पहिलो चरणमा ७ सय र २६ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी खुला गर्न लागेको हो । बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी थालिसकेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झाले बताए। उनले चाँडै नै यस विषयमा निर्णय हुने जानकारी दिए। प्राधिकरणले नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न प्राविधिक र मूल्य निर्धारण समिति बनाएर अध्ययन गराइरहेको छ। गत असार अन्तिम साता संशोधन भएको नीतिमा तीन महिनाभित्र नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न बोलकबोलका लागि आधार मूल्य (बेस प्राइस) तोक्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुरूप बोलकबोलका लागि आधार मूल्य तोक्ने प्रक्रिया अघि बढाइएको हो। दसैं लगत्तै प्राधिकरणले यी दुवै ब्यान्डको आधार मूल्य तय गर्ने भनिएपनि अहिलेसम्म केहि भएको छैन। ‘आधार मूल्य तय भएपछि हामी बोलकबोलमार्फत फ्रिक्वेन्सी बिक्री गर्छौं,’ झाले भने, ‘जसले बढी कबोल गर्छ उसैले फ्रिक्वेन्सी पाउँछ ।’ सरकारले हालसम्म ८ सय, ९ सय, १८ सय, २१ सय र २३ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी मात्र खुला गरेको छ। अहिले खुला गर्न लागिएको ७ सय मेगाहर्ज ब्यान्डलाई ‘गोल्डेन ब्यान्ड’ मानिन्छ । यो ब्यान्डको फ्रिक्वेन्सीमा सेवा विस्तार गर्ने कम्पनीले पूर्वाधारमा कम लगानी गर्दा पनि हुन्छ । फ्रिक्वेन्सी ब्यान्ड जति कमको भयो त्यत्ति नै कम लगानीमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ। दुवै ब्यान्डको बढाबढ सकिएपछि पहिलो कम्पनीले तोकेको मूल्य तिर्ने गरी नेपाल टेलिकमलाई भने बढाबढ बिनै फ्रिक्वेन्सी दिइने नीतिमा व्यवस्था गरिएको छ । उनका अनुसार ७ सय र २६ सय दुवै ब्यान्डमा फोरजीसम्मको सेवा सञ्चालन गर्न सकिन्छ। यी ब्यान्डको फ्रिक्वेन्सी बोलकबोल गर्दा अहिले सेवा नचलाएका कम्पनीलाई समेत आह्वान गर्ने तयारी प्राधिकरणले गरेको छ । दुई ब्यान्डका गरी ९ वटा प्याकेज रहेकाले तिनलाई ९ वटा कम्पनीसम्मलाई दिन सकिनेछ ।
नेप्सेमा ९१ अंकको वृद्धि, साढे दुई अर्ब बढीको कारोबार, बीमा समूह ७७५ अंकले उक्लियो
काठमाडौं । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१.३५ अंकले उकालो लागेर अन्तिम दिन १३४३ दशमब ८५ आइपुगेकोे छ । सातामा आइतबार र मंगलबार बाहेक अन्य दिन नेप्से परिसूचक उकालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५५ कम्पनीको ७९ लाख ७ हजार ७ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ४८ दशमलब ३८ प्रतिशतले बढी हो । रकमका आधारमा गत साताको भन्दा ८४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । गत साता एक अर्ब ७३ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७५ दशमलब १३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, वाणिज्य बैंक, जलविद्युत र विकास बैंकको परिसूचक क्रमशः ९२.८, ९२.०६, ८६.६३ र ७३.५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.७५ अंकले बढेर २९२.५२ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी प्रभु बैंकको १२ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ र कारोबार संख्याको आधारमा पनि प्रभु बैंक नै अग्रस्थानमा रहेको छ ।
हिम इलेक्ट्रोनिक्स्ले बजारमा ल्यायो ग्यालेन्ज एसि, चार मोडलहरुमा उपलब्ध
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले एयर कन्डिस्नरको नयाँ किफायती मोडल “ग्यालेन्ज” बजारमा ल्याएको छ । ग्यालेन्ज एसि अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन्। यी एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध छन् । ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । ग्यालेन्ज सधैँ विकास रणनीतिका लागि परिश्रम र परिवर्तनमा जोर दिँदै अर्थनीतिमा ध्यान पुर्याई घरायसी विद्युतीय सामाग्री उत्पादनमा केन्द्रित छ । हिम इलेक्ट्रोनिक्स गोल्छा सङ्गठनको एक महत्वपूर्ण अंग हो । उपभोक्तामाझ एक विश्वासिलो नामको रुपमा रहन सफल हिम इलेक्ट्रोनिक्स सामसङ, हिमस्टार, बजाज इलेक्ट्रोनिक्स, टाइमेक्स, अहुजा, ओस्राम र हालै ग्यालेन्जजस्ता उत्पादनको आधिकारिक वितरक पनि हो ।
विज्ञ भन्छन्- राष्ट्र बैंक असफल भयो, अब बैंकले लगानी गर्न सक्दैनन्
काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् । कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा। गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले वित्तिय क्षेत्रको व्यवस्थापनमा राष्ट्र बैंक असफल भएको बताएका हुन् । प्रा.डा प्याकुरेलले बाणिज्य बैंकहरुले तीन महिना अघि नै अधिक कर्जा लगानीबारे केन्द्रिय बैंकलाई जानकारी दिँदा पनि अनुगमन नगरेकोले अहिलेको अवस्था आएको बताए । उनले भने–‘यतिबेला राष्ट्र बैंकको क्षमतामा प्रश्न उठेको छ, तरलताको व्यवस्थापन गर्न नसक्न अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’ उनले विगत २ बर्षमा ७० अर्ब ४२ करोड नेपाली रुपैयाँको विदेशी मुद्रा खरिद गरिएकाले पनि लगानी योग्य पूँजीको अभाव बढेको बताए । त्यस्तै पछिल्लो ४ महिनामा मात्रै १३ अर्ब ७५ करोड रुपैंयाँ विदेशी मुद्रामा लगानी भएको उनले दावी गरेका थिए । अर्का प्राध्यापक डाक्टर गोविन्द नेपालले पनि राष्ट्र बैंकको नियमन क्षमतामा प्रश्न उठेको बताए । उनले लगानी योग्य पूँजीको अभाव हुनुमा न्युन पूँजीगत खर्च पनि कारक रहेको बताए । प्रधानमन्त्री कार्यालयमा ६७ अर्ब पूँजीगत खर्चका लागि बजेट विनियोजन भएको तर त्यसको एक प्रतिशत पनि खर्च हुन नसकेको पनि उनको भनाई थियो । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डेले बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए ।‘अहिले सीडी रेसियो ८८ र सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिरहेका छन, केन्द्रिय बैंक अझै कर्जा लगानीले सिमा नाघेको छैन भनेर बसिरहेको छ’, पाण्डेले भने । आइएसएसआरले लिक्वीडीटी क्रन्च नभएर क्रेडिट क्रन्च मात्रै भएको निष्कर्ष पनि निकालेको छ ।