पुरानो बोइङ बिक्री गर्दै निगम
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन-दु हन्ड्रेड नाइन एन-एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो । पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले झन्डै ३० वर्षअघि पहिलो पल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन-एसिबी भने अहिले नियमित सञ्चालनमा छ । निगम सञ्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्य समेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो । उक्त जहाजको मूल्य न्यूनतम १७ लाख मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७-२०० र दुई एयरबस ३२०-२०० सिरिजका न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ । निगमले केही दिनअघि दुई वाइडबडी ए३३०-२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो । आन्तरिक उडानमा दुई ट्विनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् । रासस
एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड र सीटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं । एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आपसी रूपमा रकम आदान-प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यही अप्रिल महिनादेखि यो सम्झौताबाट एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेडको नेपालमा सञ्जाल बिस्तार भएको छ । यससँगै सिटी एक्सप्रेसको सेवामा नयाँ आयाम थपिएको छ भने अब नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि भुक्तानी काउन्टरबाट विदेशबाट विप्रेषण गरेको रकम सहजै प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ‘यूरोप तथा अमेरिकामा रहेका लाखौँ नेपालीले विप्रेषण गरेका रकम बिना झन्झट आफूलाई पायक पर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरको नेपालभर रहेका ५००० भन्दा बढी भुक्तानी केन्द्रबाट सजिलै प्राप्त गर्न सकुन् भन्ने सोचका साथ एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) प्रयासरत रहेको छ’ , एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निकोलस डे ले भने ‘यो सहकार्यसँगै हाम्रो उद्देश्य पुरा हुने कुरामा हामी विश्वस्त छौँ ।’ सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यूरोप तथा अमेरिकामा सबैभन्दा बढि संजाल भएको रेमिट्यान्स सेवा प्रदायक एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) सँग सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए । ‘हामीले यूरोप तथा अमेरिका लगाएत एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) बाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ’, उनले भने ।
आगामी आवमा मुलुकको सबै तहमा बैंकको शाखा खोल्न अर्थ मन्त्रीको निर्देशन
काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ मा देशको सात सय ४४ स्थानीय तहमा बैंकको शाखा खुल्ने भएको छ । मंगलवार उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिनु भएको हो । मन्त्रीको निर्देशन अनुसार सबै स्थानीय तहमा बैंक शाखा खोल्नका लागि अर्थ मन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन महाशाखाले त्यसको प्रक्रिया शुरु गरेको छ ।
नेप्सेले पार गर्यो १७०० अंक, एक अर्ब ९० करोडको सेयर कारोबार
काठमाडौं । मंगलबारको नेप्से परिसूचकले १७०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक ३३ दशमलब ६० अंकले उकालो लागेर १७०९ दशमलब ८२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार सेयर बजारमा करिब २ अर्बको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको ३१ लाख ४ हजार कित्ता सेयर एक अर्ब ९० करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । सो रकम सोमबारको तुलनामा २८ करोड ५० लाख रुपैयाँ बढी हो । सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र अन्य समूहको परिसूचक क्रमशः ९ र ३ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।
नेपालको बैंकिङ क्षेत्र सुधारका लागि विश्व बैंकको १० अर्ब ७० करोड सहयोग
काठमाडौं । नेपालको वित्तिय क्षेत्र स्थायित्व विकास नीतिका लागि विश्व बैंकले १० अर्ब ७० करोड रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । विश्व बैंकले मध्यकालिन वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब ७० करोड नेपाली रुपैंयाँ बराबरको सहयोग दिएको हो । सो सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव शन्तराज सुवेदी र विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले हस्ताक्षर गरेका हुन् । विश्व बैंकले उपलब्ध गराउने सो रकम आगामी आर्थिक बर्षको बजेट प्रणालीमै प्राप्त हुनेछ । त्यस्तो रकम नेपाल सरकारले आफुले पहिचान गरेको क्षेत्रमा खर्च गर्न सक्नेछ । मुलतः वित्तिय क्षेत्रको विकास, वित्तिय प्रणालीको सुधार तथा पुनसंरचना, कानुनी तथा नियमनकारी क्षमताको अभिवृद्धि र बैंकिङ क्षेत्रको पारदर्शीता तथा सुशासनमा सो रकम खर्च गरिने अर्थ सचिव शन्तराज सुवेदीले बताए । सो रकमको सदुपयोगद्धारा नेपालको बैंकिङ क्षेत्रमा कानुनी दायरा फराकिलो हुने, वित्तिय अपराध नियन्त्रण हुने, बैंकिङ क्षेत्रको जोखिम न्युनिकरण हुने विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले बताए । नेपालले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकले तेश्रो पटक सहयोग गरेको हो । यस अघि सन २०१३ र २०१५ मा विश्व बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको थियो । विश्व बैंक समुहको इन्टरनेशनल डेभलपमेन्ट एसोसियसन(आइडिए)ले सो सहयोग उपलब्ध गराएको हो ।
जनता बैंकको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र काठमाडौं क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । जनता बैकले त्रिवेणी बिकास बैंक लिमिटेडसँग मर्जर सम्पन्न गरेको र अर्को राष्टियस्तरको “ख”वर्गको ईजाजत प्राप्त सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्विजिशन (प्राप्ति) गर्ने सम्झौता गरेको छ । जनता बैंकले यस अगाडी आफ्नो सेयर रजिष्ट्रार सम्बन्धी कार्य आफैले गर्दै आई रहेकोमा त्रिवेणी बिकास बैंकसँगको मर्जर संगै सेयर रजिष्टारमा काठमाडौं क्यापिटललाई नियुक्त गरेको हो । बैकको हाल करिब ५५ हजार शेयरधनी रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले १० दिनमै दियो १ करोड ८६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गरेका हुन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए । साथै, उनले छिटो छरितो मृत्युदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताएका छन् । चुक्ता पूँजी ३ अर्ब ०९ करोड रुपैयाँ रहेको कम्पनीले फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड रुपैयाँ मृत्यूदावी भूक्तानी गरिसकेको छ । साथै, कम्पनीको जीवन बीमा कोष करिब ३७ अर्ब र कुल लगानी करिब ४४ अर्ब रुपैयाँ रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
पञ्चेश्वर परियोजना सहितका सम्झौताको कार्यान्वयनले गति लिने विश्वास
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरेका छन् । सोमबार नेपाल निवासमा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच नेपाल-भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्थासहित विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री नेपालका प्रेस सहयोगी मोहन गौतमले जानकारी दिए । सो अवसरमा राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उनीसँग भएको भेटको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन उनले खेलेका भूमिकाको प्रशंसा गरे । राजदूत पुरीले सबैका भावना समेटेर स्थानीय तहको निर्वाचनसहित संविधान कार्यान्वयन गर्न नेकपा (एमाले) र नेपालका राजनीतिक दल सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले नेपाल र भारतका बीच भएका सम्झौता एवम् सहमतिको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । रासस