विकासन्युज

हल्ला र अनुमानको भरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलेको/चलाइएको हल्ला र आधारहीन अनुमानको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरि लगानी गर्न आग्रह गरेको हो । साथै, लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न बोर्डको अनुरोध छ । हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको धितोपत्र बजारको विभिन्न हल्लाका पछि लाग्दा कतिपय लगानीकर्ताहरु मारमा पर्ने भएकाले बार्डले यस विषयमा ध्यानाकर्षण गराएको हो । धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने बोर्डले जनाएको छ । साथै, बोर्डले विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहने कुराको पनि जानकारी गराएको छ ।

सेयर बजारमा २ अर्ब रुपैयाँको सेयर कारोबार, सबैभन्दा बढी सुर्या लाइफको

काठमाडौं । बुधबार सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा करिब १० करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकै दिन १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कम्पनीको सेयर मूल्य पतिकत्ता १२८४ रुपैयाँ रहेको छ । सो दिन कारोबार रकममा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बुधबार परिसूचक ६ दशमलब ७५ अंकले घटेर १७०३ दशमलब ०७ अंकमा झरेको छ । कारोबार भएका होटल, विकास बैंक, फाइनान्स, उत्पादन मूलक , फाइनान्स र अन्य समूहको परिसूचक उकालो लागेका छन् । त्यस्तै, बीमा, हाइड्रोपावर र बैंकिङ समस्हका परिसुचक राताम्मे भएका छन् ।

तिनाउ डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्दै, वैशाख ६ गते बुक क्लोज

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भइरहेको छ ।

चीनमा ७ दशमलव ६ प्रतिशत मूल्य वृद्धि

बेजिङ । मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको उत्पादक मूल्य सूची दरमा वृद्धि भइ सात दशमलव छ प्रतिशत पुगेको हो । चीनियाँ तथ्याङ्क विभागले शून्य दशमलव आठ प्रतिशतका दरले मूल्यसूची वृद्धि हुने पूर्वानुमान गरे पनि गत महिना मूल्य वृद्धि दर शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको जनाएको छ । चीनियाँ पक्षले यस किसिमको मूल्यवृद्धि चक्र कति लामोसम्म जारी रहने हो भन्ने चिन्ता व्यक्त गरेको छ । रासस

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु हुँदै

ललितपुर । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु भएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा जनसङ्ख्या तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त आयोजनामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी वातावरणविद्हरुले जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, नीतिनिर्माता र विज्ञहरुबीच ज्ञान, अनुभव आदानप्रदान तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययनका निष्कर्षबारे छलफल गर्नेछन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा हिन्दूकुश क्षेत्रमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानसहित १५ देशका नीतिनिर्माता, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र युवा गरी करिब दुई सय जनाको सहभागिता रहेको छ । सम्मेलन उद्घाटनका अवसरमा बोल्दै जनसङ्ख्या तथा वातावरण मन्त्रालयसम्म सचिव डा विश्वनाथ ओलीले जलवायु परिवर्तनबाट जनजीविका, गरिबीमा मात्र नभई भौतिक पूर्वाधारमा पनि असर गरेको उल्लेख गरेका छन् । यहाँले यस असरबाट बच्न सरकारले विभिन्न नीति, संस्थागत संरचना र सम्बन्धित सरोकारवालासँग समन्वय गरी लापा, नापालगायत विभिन्न कार्यक्रम कार्यान्वयन गरिरिहेको जानकारी दिए । इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले जलवायु परिवर्तनबाट खासगरी पर्वतीय मुलुकका बासिन्दा बढी प्रभावित भएकाले उनीहरुको पानी, ऊर्जाजस्ता आधारभूत सेवाका लागि हिन्दुकुश क्षेत्रमा राष्ट्रबीच सहयोग एवम् समन्वय अभिवृद्धिमा जोड दिइएको उल्लेख गरे । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहका अध्यक्ष डा होयसुङ ली, कार्यसमूह पहिलोका सहअध्यक्ष डा पान्माओ जाई, दोस्रो समूहका डा जोय जाक्विलाइन पेरिस र तेस्रो समूहका सहअध्यक्ष डा प्रियादर्शी आर.शुक्लाले समूहमार्फत जलवायु परिवर्तन क्षेत्रमा गरिएका विभिन्न अध्ययन प्रतिवेदनका बारेमा प्रकाश पारेका थिए । रासस

नयाँ वर्षको लागि सामसङले ल्यायो आकर्षक क्यास ब्याक अफर

काठमाडौं । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७४ को उमँगमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । कम्पनीले आफ्ना विश्वस्तरीय कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २० प्रतिशत सम्मको आकर्षक क्यास ब्याक अफर । “क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको हो । यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरु मार्फत एक नयाँ सुरुवात खोजिरहेकाहरुलाई उत्साहित गर्ने कम्पनीले जनाएको छ । उक्त अफरले नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । ग्राहकहरुलाई गुणस्तरी उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किमहरु लगायत हरेक सम्भव आयामहरु मार्फत विशिष्ट सेवा दिने उद्देश्य अनुरुप यो अफरलाई बजारमा ल्याइएको हो । “क्यासमय नव वर्ष” अफर जेठ १ गतेसम्म मान्य रहनेछ र देशभरका समस्त सामसङ आउटलेट मार्फत उपलब्ध हुनेछ ।

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । उक्त एम्बुलेन्स एक विशेष कार्यक्रम माफर्त कम्पनीका तर्फबाट संचालक रघु नन्दन मारुले हस्तान्तरण गरेका छन् । एम्बुलेन्स हस्तान्तरण सँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप ५१ हजार रुपैयाँको ‘सिड मनी’ पनि प्रदान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पुर्याउने छ। हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो । हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५००० भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय-समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गा.वि.स. मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं ।  बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन गरिमा विकास बैंकको र फष्ट माइक्रो फाइनान्सको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१८ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले फष्ट माइक्रो फाइनान्सको ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १००७ रुपैयाँ रहने भएको छ ।