अफिसर्श च्वाइस ब्लू ह्विस्की नेपाली बजारमा
काठमाडौं । अफिसर्श च्वाईस ब्लू ह्विस्की नेपाली बजारमा प्रवेश गरेको छ । अलाइड ब्लेण्डर्स एण्ड डिस्ट्रिब्युटर्सले अफिसर्श च्वाईस ब्लू ह्विस्की नेपाली बजारमा भित्र्याएको हो । यो ह्विस्की सन २०११ मा मात्रै बजारमा आएको थियो । सन २०१६ मा मात्रै यो ह्विस्की ३ करोड ३२ लाख केस बिक्रि भएको थियो । हाल यो ह्विस्की बार्षिक ८० लाख केस उत्पादन भैरहेको छ । अफिसर्श च्वाइस हाल विश्वका २६ देशहरुमा बिक्रि वितरण भैरहेको छ । जौ र छानिएका अन्नहरुबाट बनेको अफिसर्श च्वाइस ब्ल्युले नेपाली उपभोक्ताको मन जित्ने अलाइड ब्लेण्डर्स एण्ड डिष्ट्रिब्युटर्सका उपाध्यक्ष दिपक रायले भने ।
वैशाख २५ देखि जेठ ३ गतेसम्म मुग्लिन सडक खुला गरिने
चितवन । मुग्लिन-नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । अहिले उक्त सडक बिहान १० बजे देखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत काम पूरा भएको छ । निर्णाण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा पुनः म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ । आगामी पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् । यहाँ दैनिक १० हजार गाडी आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउछन् । अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको छ । नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंको सहयोगमा सडक चौडा पार्ने काम सुरु भएको हो । रासस
सिटिजन्स बैंकले शुरु गर्यो बैंकाइन्स्योरेन्स सेवा, सूर्य लाइफ इन्स्योरेन्ससँग सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकाइन्स्योरेन्स सेवा शुरु गरेको छ । उक्त सेवा सम्बन्धी सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यस बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको हो । यस सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
महालक्ष्मी बैंकको ८ प्रतिशत बोनस पारित, यति डेभलपमेन्ट बैंकसँग मर्ज हुने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ७.९० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राका दरले बोनस सेयर वितरण गर्ने भएको छ । साथै, उक्त सभाले यति डेभलपमेन्ट बैंक सँग गाभ्ने/गाभिने प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरी, सभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेशकुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेमकुमार उलक निर्वाचित भएका छन् । साथै, सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्यामसुन्दर रुङ्गटा निर्वाचित भएका छन् । निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेशकुमार रौनियारलाई अध्यक्ष समेत चयन गरेको छ । गत चैत्र मसान्त सम्ममा बैंकको कूल निक्षेप ११ अर्ब ९१ करोड रुपैयाँ तथा कर्जा सापट ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै उक्त अवधीमा बैंकले ३४ करोड रुपैयाँ संचालन मुनाफा हासिल गरि सकेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैकिंग, एस.एम.एस, सेफ डिजोजिट भल्ट (लकर) तथा ए.टि.एम. सेवा उपलव्ध गरांउदै आएको छ ।
एनबी इन्स्यारेन्सले १०० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ ४ गते बुक क्लोज
काठमाडौं । एनबी इन्स्यारेन्स कम्पनीले सर्वसाधारणकोलागि शतप्रतिशत (१०० %) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ ४ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १८ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १८६१ रुपैयाँमा कारोबार भएको छ ।
बन्दैछ स्मार्ट काठमाडौंः नक्सापासको हस्ताक्षर पनि अनलाइनबाटै, प्रमाण पत्र घरमै पाइने
काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो । घरबाटै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन् । महानगरले यो व्यवस्था लागू गर्न नीतिगत निर्णय गरिसकेको छ । केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम शुरू हुन्छ । हस्ताक्षर समेत अनलाइनबाट हुने भएपछि अब महानगरवासीले यस किसिमको सेवा लिनको लागि पाउने झन्झटबाट मुक्त हुने भएका छन् । अनलाइनबाट नक्साको काम भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । ‘नक्सा पासका अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था थियो,’ कामपाका इञ्जिनीयर राम थापाले भने ‘अब हस्ताक्षर समेत अनलाइनबाटै हुने भएको छ । यसका साथै कामपाले भवन निर्माणका लागि महानगरबाट नक्सा पास गरे/नगरेको अध्ययन गर्न इञ्जिनीयरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन शुरू गरेको छ । अनुगमनका बेला नक्साविपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा त्यसलाई अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले जानकारी दिएको छ ।
एनसेललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स, देशैभर फोरजी सेवा विस्तार गर्ने
काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स पाएको छ । दुर सञ्चार सेवाको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालनका लागि टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिएको हो । ‘फोरजी सेवा सञ्चालनका लागि एनसेलललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स दिने निर्णय भएको छ, कम्पनीले अब देशका प्रमुख शहरहरुमा फोरजी सेवा विस्तार गर्नेछ’, दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विकासन्युजसँग भने । अर्यालका अनुसार एनसेलललाई ९०० मेगाहर्ज र १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिइएको हो । अहिले यी दुबै फ्रिक्वेन्सीमा २ जी र ३ जी सेवा सञ्चालन भैरहेको छ । एनसेलले ९०० मेगाहर्जमा ३ जी सेवालाई ग्रामिण क्षेत्रमा विस्तार गर्ने तयारी गरेको छ भने १८०० मेगाहर्जबाट फोरजी सेवा सञ्चालन गर्नेछ । एनसेलले यहि जुन १ तारिख देखि फोरजी सेवा आरम्भ गर्नेछ । हाल नेपाल टेलिकमले १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटी मार्फत काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरिरहेको छ । फोरजी सेवामा एनसेलको प्रवेशले गुणस्तर र शुल्कमा प्रतिष्पर्धा हुने र उपभोक्ताले लाभ पाउने प्राधिकरणका प्रवक्ता अर्यालले बताए । एनसेलले आगामी १२ महिनाभित्रै ३ जी सेवालाई ६० प्रतिशत जनताको पहुँचमा पुर्याउने रोडप्याप पेश गरेको छ । त्यस्तै, सन २०१८ भित्र ८५ प्रतिशत जनताको पहुँचमा ३ जी सेवा विस्तार गर्ने पनि कम्पनीको प्रस्तावमा उल्लेख गरिएको छ । एनसेलले सन २०१८ भित्र ठुला १५ वटा शहरमा फोरजी विस्तार गरिसक्ने बताएको छ ।
कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड
काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज खर्च गरेको छ । बैंकले नौ महिनामा ८९ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ । ३ दशमबल ३० खराब कर्जा भएको कृषि विकास बैंकले ३९ करोड राइटब्याक प्राप्त गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २१९ रुपैंयाँ ९२ पैसा रहेको छ ।