विकासन्युज

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुने, देउवा सहज रुपमा प्रधानमन्त्री बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहरूले बताएका छन् । गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो । चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने र वैशाख पहिलो साता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने समझदारी त्यतिवेला दुई दलबीच भएको थियो । तर, निर्वाचन ढिलो भएपछि प्रचण्ड नेतृत्वको सरकार एक महिना लम्बिएको छ । सरकारले ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेको छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा लागि निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचनसम्म यही सरकार टिकाउने वा देउवालाई हस्तान्तरण गरेर चुनाव गराउने भन्ने दुवै पार्टीबीच ठोस समझदारी भने बनिसकेको छैन । प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन पनि गराउन कांग्रेस सहमत नभए जेठ पहिलो हप्ता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि प्रधानमन्त्री विगतको राजनीतिक सहमतिका आधारमै सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । ‘विगतमा भद्र सहमति तुहाउने र फोहोरी राजनीति हाबी गराउने काम हुँदै आएको थियो, माओवादी त्यस्तो पक्षमा छैन, भद्र सहमतिअनुसार नै सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार छ,’ खनालले नयाँ पत्रिकासँग भने । कांग्रेससँगको सहमतिअनुसार जेठ पहिलो साता सरकारको नेतृत्व कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने उनले बताए । माओवादी निष्कर्ष : प्रधानमन्त्री बन्दाका दुई उद्देश्य पूरा १९ साउनमा सरकारको नेतृत्व लिँदा माओवादी अध्यक्ष प्रचण्डले संविधानमा असहमति जनाउँदै आएका दललाई पनि सहमतिमा ल्याउने र स्थानीय तहको निर्वाचन गराउने दुई लक्ष्य रहेको बताएका थिए । यी दुवै उद्देश्य पूरा गराउन सरकार सफल भएको निष्कर्ष माओवादी केन्द्रको छ । संविधानप्रति असन्तुष्ट दलहरू पनि आफ्ना विमति राख्दै निर्वाचनमा जाने वातावरण बनेको, नयाँ संरचनाअनुसार स्थानीय तहको संख्या निर्धारण गरी चुनावमा जाने अवस्था आउनुसम्मले प्रधानमन्त्री प्रचण्ड आफ्ना उद्देश्यमा सफल बनेको माओवादी नेताहरुले बताएका छन् । त्यस्तै, लोडसेडिङ अन्त्य गर्ने, आर्थिक वृद्धिदर बढाउने र विकास निर्माणका कामलाई अगाडि बढाउनेलगायत विषयमा प्रधानमन्त्री सफल देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘आफ्नो योजनाअनुसार उहाँ सफल देखिनुभएको छ, अब विगतको सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्न उहाँ आतुर हुनुहुन्छ,’ आचार्यले भने । सहमतिअनुसार सत्ता हस्तान्तरण हुन्छ: पुन प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन गराउन समझदारी नबने जेठ पहिलो हप्ता कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘चैत मसान्तमा स्थानीय निर्वाचन गरेर वैशाख पहिलो साता सत्ता हस्तान्तरण गर्ने कांग्रेस–माओवादीबीचको सहमतिअनुसार अहिलेको सत्तागठबन्धन निर्माण भएको हो । प्राविधिक कारणले सहमतिको प्रयत्न गर्दागर्दै निर्वाचनको मिति लम्बिन पुग्यो,’ पुनले भने, ‘पछिल्लोपटक जेठ पहिलो हप्ता सत्ता हस्तान्तरण गर्ने कुरा भएको छ, दोस्रो चरणको निर्वाचन पनि अहिलेकै सरकारले गर्ने विषयमा कांग्रेससँग समझदारी बन्यो भने अलग कुरा हो, नत्र जेठ पहिलो साता नै समझदारीअनुसार सत्ता हस्तान्तरण हुन्छ ।’ जेठ पहिलो हप्ता देउवा प्रधानमन्त्री बन्नुहुन्छ : कार्की यसअघि प्रचण्ड नेतृत्वमा सरकार बन्दा भएको भद्र सहमतिअनुसार नै अब ढिलोमा जेठको पहिलो सातासम्ममा माओवादीले सत्ता हस्तान्तरण गर्ने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘यसअघि चैतमा स्थानीय तहको निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । निर्वाचन समयमा नहुँदा यसमा ढिलाइ भएको हो,’ उनले भने, ‘अब प्रतिबद्धताअनुसार ३१ जेठको पहिलो चरणको नर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुहुन्छ र देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’ (नयाँपत्रिकाबाट)

सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाट

काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारीसाधन दर्ता प्रदेश सरकारले गर्ने भएका छन् । हाल सवारीसाधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । तर, अञ्चल कार्यालयबाट वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भने स्थानीय सरकार (स्थानीय तह)बाट दिने सम्बन्धमा छलफल भइरहेको छ । प्रदेश गठन भएपछि सवारीसाधन दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अञ्चल तथा केन्द्रबाट दिइँदै आएको केन्द्रीकृत सेवा स्थानीय तहमै पु-याउने संघीय प्रणालीको अवधारणाअनुसार यातायात क्षेत्रमासमेत नयाँ प्रावधान लागू हुन लागेको हो । यद्यपि, सवारीसाधनमा लाग्ने भन्सार केन्द्र सरकारले नै लिनेछ भने अन्य वार्षिक कर, आयकर, नवीकरण, सडक सम्भार तथा मर्मत दस्तुर भने प्रदेश सरकारले लिने विषयमा छलफल भइरहेको विभागले जानकारी दिएको छ । देश संघीय संरचनामा गएसँगै यातायात क्षेत्रमा पनि पुनःसंरचना गर्नुपर्ने भएकाले यस विषयमा छलफल चलिरहेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले बताए । “संघीय संरचनामा गएपछि सवारीसाधन कहाँ दर्ता हुने, कुन कर कसले लिने, सवारी चालक अनुमतिपत्र कसले दिने लगायत प्रश्न स्वभाविक रूपमा उठ्नेछ र त्यसको जवाफ पनि समयमै आउनु आवश्यक छ,” पाण्डेले भने, “यस विषयमा छलफल जारी छ, आशा गरौं छिट्टै नै यो विषय टुंगिएला ।” सवारीसाधनको दर्ता प्रदेश सरकारले गर्ने भन्नेमा सहमति भइसकेको र अन्य विषय छलफलकै क्रममा रहेको उनको भनाइ छ । सवारीसाधनको दर्ता स्थानीय तहमा गर्दा धेरै जटिलताहरू आउने भएकाले उक्त अधिकार प्रदेशलाई दिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भने स्थानीय तहबाट वितरण गर्ने व्यवस्थाबारे विभाग करिब निष्कर्षमा पुगेको विभाग स्रोतले जनाएको छ । केन्द्र सरकारले तोकेको मापदण्डअनुसार वितरण गर्न सकिने भएकाले उक्त अधिकार स्थानीय तहलाई दिने तयारी भएको हो । ७ सय ४४ वटा स्थानीय तह भएको र उक्त संख्या बढ्ने सम्भावनासमेत भएकाले सवारीको दर्ता नम्बर प्लेट धेरै नाममा हुने भएकाले नियमनमा जटिलता आउने विभागका अधिकारीहरू बताउँछन् । त्यसैले सवारी दर्ताको अधिकार प्रदेशलाई दिन लागिएको हो । हाल प्रदेश संख्या सात मात्रै रहेका छन् । प्रदेशको संख्या बढ्ने अवस्था आउँदा पनि त्यो त्यति धेरै नबढ्ने देखिन्छ । लाइसेन्स सबै प्रदेश/स्थानीय तहमा एकै प्रकारको हुने र नियमनमा सहजता हुने विभागको भनाइ छ । लाइसेन्स जारी गरेबापतको राजश्व भने स्थानीय तहले नै लिनसक्ने व्यवस्था मिलाउनेबारे भने टुंगो लागिसकेको छैन । संघीयता कार्यान्वयनपश्चात हाल अञ्चल यातायात व्यवस्था कार्यालयमार्फत भइरहेका सवारी दर्ताको काम प्रदेश सरकारमा र लाइसेन्स वितरणको काम स्थानीय तहबाट हुनेछ ।  यो व्यवस्था प्रदेश तहको निर्वाचन भइ प्रदेश सरकार गठन भएपश्चात मात्र लागू हुने जनाइएको छ । (काराेबार दैनिकबाट)

ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, मूल्य ३५ हजार, के छ नयाँ आकर्षण ?

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री र एफथ्री प्लसल सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५ हजार ४८० रुपैयाँ निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा दुबै फोन अभिनेता राजेश हमालले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ देखि फोन उपलब्ध छ । ‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई  हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै  एकताको सुत्रमा बाँध्न चाहान्छौँ’ ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने । प्रमुख कार्यकारी अधिकृत जोनी जीका अनुसार ‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका व्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् । एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्यूशन, १÷३ इञ्च सेन्सर र ठूलो एफ÷२.० एपर्चरको फ्रण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमी (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ । ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् । ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १/३ ईञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ । तस्विरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्यूटिफाइ ४.० दुबै सेल्फि क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार ईफेक्टको प्रयोग गर्दै तस्विर लिन सक्छन् । सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रुपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटर लगायत फिचर पनि फोनमा उपलब्ध गराएको छ । यस्तो छ प्राविधिक पक्ष ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.०द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षण (रियल लाइफ साइम्यूलेशन टेष्ट)मा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइकएको छ । तसर्थ, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सक्किने डरका कारण पावर बैंक लगायत बोकेर हिड्नुपर्ने झञ्झटबाट छुटकारा प्राप्त हुन्छ । कम्पनीले ब्यक्तिगत गोपनियता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्र्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ । आकर्षक र उपयुक्त डिजाइन मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहजता होस् भन्ने कुरालाई विशेष ध्यानमा राखि निर्माण गरिएको फोन हो । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ । निकै आकर्षक बनोट सहितको फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ । यसले फोनको स्क्रिनमा देखिन दृष्य थप जिवन्त तथा उज्यालो बनाउन सघाव पुर्याउँछ । सुर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रिनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ । ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ । नयाँ मोवाइल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि ओप्पोको आधिकारिक कम्पनी टेलिसेल प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले नेपाली बजारमा छिट्टै ओप्पो दोस्रो ठूलो ब्राण्ड बन्ने बताए ।

पाँच वर्षमा काठमाडौं दक्षिण एसियाकै नमुना शहर बन्नेछः विद्यासुन्दर शाक्य

तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ? नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जनताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको पार्टी पनि एमाले नै हो । सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो । अहिले एमाले महानगवासीका लागि एमाले स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । त्यसैले उहाँहरु सबै काठमाडौँको मेयर विद्यासुन्दरलाई बनाउन चाहनुहुन्छ । त्यसैले विद्यासुन्दरले जित्ने सबै भन्दा बलियो आधार यही हो । विद्यासुन्दर शाक्य ,एमालेका तर्फबाट काठमाडौँ महानगपालिकाका मेयरका उम्मेदवार मैले अघि पनि भने एमालेले लिएको राष्ट्रियताको स्पष्ट अडान, सामाजिक न्यायका क्षेत्रमा एमालेको गरेको काम, एमालेले लिएका नीति, विचार, सिद्धान्त र एमालेले महानगर विकासका लागि अघि सारेको कार्यक्रम अन्य सबै राजनीतिक दलहरुको भन्दा उत्कृष्ट छ । एमाले कसैका छोरी–बुहारी वा ज्वाईँलाई मेयर बनाउने योजना बोकेर चुनावी मैदानमा आएको छैन । काँग्रेस–माओवादीका साथीहरुले गरेको चुनावी तालमेल केका लागि हो भन्ने कुरा तपाईँहरुले स्पष्ट रुपमा बुझ्नु भएको छ । हामी छोरी–बुहारी वा ज्वाईँ होइन संवृद्ध नेपाल बनाउने, सबैले आहा भन्ने महानगर बनाउने योजनासहित चुनावी मैदानमा आएका छौँ । अहिले नेपालमा जहानीय राणाशासन छैन तर काँग्रेस–माओवादीले जहानीय शासन अझै बाँकी छ भन्ने झल्को दिने गरी चुनावी तालमेल गरेर आफ्ना छोरी–ज्वाईँलाई मेयर–उपमेयर बनाउनका लागि पार्टीमा योगदान गरेका, लामो अनुभव बटुलेका नेता–कार्यकर्तालाई पाखा लगाएका छन् । यो कुरा पनि आम जनताले राम्ररी बुझेका छन् भन्ने मैले ठानेको छु । देशभक्त र राष्ट्रियता कमजोर बनाउने गठबन्धनका पक्षमा नेपाली जनताले मतदान गर्नुहोला भन्ने मैले ठानेको छैन । यो हामीले चुनाव जित्ने अर्को वलियो आधार हो । मैले काठमाडौँमा मेयर जित्ने तेस्रो आधार भनेको म दुई–दुई पटक यही महानगरपालिकाका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ । काठमाडौँको वडा २१ बाट म दुई पटक जनप्रतिनिधि भएँ । पहिलो पटक म वडा अध्यक्ष भएर गरेको कामको मूल्याङ्कन गरेर फेरि ०५४ सालमा भएको स्थानीय निर्वाचनमा जनताले मलाई भारी मतसहित विजयी गराउनु भयो । मैले त्यतिबेला पनि उहाँहरुले गरेको विश्वासलाई मर्न दिइन् । मेरो कामको मूल्याङ्कन गर्दै पार्टीले पनि मलाई विभिन्न जिम्मेवारी सुम्पिदैँ आएको छ । म दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । अहिले पनि म एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छु । महानगरमा मैले नेकपा (एमाले)का तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ । त्यो सबै मैले बुझेको छु । यो मेरो जित्ने अर्को आधार हो । चौथो आधार भनेको काँग्रेस–माओवादी गठबन्धन सरकारले नौ महिने सत्ता चलाउँदा गरेका एकपछि अर्को कमजोरीले जनता दिक्क भएका छन् । सरकार कहिले प्रहरी प्रमुखको विषयलाई लिएर त कहिले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर एकपछि अर्को वदनामी कमाउँदै आएको छ । सरकार सञ्चालन गरेको नौ महिना पूरा भएको छ । तर, अहिलेसम्म यो सरकारले जनतालाई उत्साहित हुने काम केही गर्न सकेको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई व्यूँझाउने काम गर्नुभएको थियो । नेपाली जनता संवृद्धिको सपना देख्न थालेका थिए । नेपाली जनताले देखेका सपना पूरा गर्न महानगरपालिकामा एमाले बाहेको नेतृत्व अहिले नेपाली जनताले कल्पना पनि गर्न सकेका छैनन् । यी सबै आधारले पनि काठमाडौँमा मात्रै होइन देशैभरी एमालेको विजयी सुनिश्ति छ भन्न ढुक्कले सकिन्छ । अहिलेसम्म चुनाव प्रचार–प्रसारका क्रममा तपाईँले के–कस्ता प्रतिवद्धता लिएर जनताका बीचमा जानु भएको छ ? मैले जनतालाई म काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाँच वर्षमा यो सहर दक्षिण एसियाकै सबैभन्दा बसोबास गर्न लायकको सहर हुनेछ । पाँच वर्षभित्र यस सहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरु प्राप्त हुने र गर्व गर्न लायक सहरका रुपमा विकास गर्ने छु । महानगरका वासिन्दा म मेयर भएको पाँच वर्षमा एक आपसमा हातेमालो गर्दै समुदायलाई सशक्तिकरण गरेर व्यवसाय गर्ने र आनन्दको जीवन बिताउन सक्ने हुनेछन् । म मेयर निर्वाचति भएपछि काठमाडौँलाई एक दिगो सहरका रुपमा विकास गर्नेछु । जहाँ हरित पूर्वाधार, सहरी कृषि, बैकल्पिक यातायात लगायत रहनेछन् । नवीन सोचका साथ यी योजनाहरुलाई अघि बढाउने छु । भूकम्पपछि ध्वस्त भएको पूनःनिर्माणमा तपाईँको योजना के–छ ? ‘व्युल्ड व्याक वेटर’को अवधारणाबाट भूकम्प पुनःनिर्माण को योजना अनुरुप भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिने छ । त्यसका ‘वल्ड हेरिटेज सिटी’ लागि भित्रि काठमाडौँलाई ‘रिभाई र रिग्रेट’ गरिने छ । यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु । यस्ता थुप्रै योजना छन् । जसले भूकम्पपछि थिलथिलो भएको महानगरपालिका जुरुक्क उठ्ने छ । आर्थिक विकासका पनि त केही योजना होलान नि ? अवश्य, म मेयर भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना शहर बनाउने छु । काठमाडौँ र सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री वाताबरण बनाउने छ । अहिले दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । म त्यसलाई कम गराउने समय सापेक्ष रोजगारमूलक वातावरण निर्माण गर्नेछु । युवाहरुका लागि रोजगारमूलक तालिम दिने र ठाउँ–ठाउँमा अनलाइन रोजगार सूचना केन्द्रको व्यवस्था गर्नेछु । त्यसैगरी मझौला व्ववसाय तथा साना व्यवसाय सुरु गर्नेहरुलाई (स्टार्ट अफ) लगानीमैत्री विनियमहरु बनाइने छ । सहरका मुख्य–मुख्य केन्द्रमा (इन्टरपेनर हव) को स्थापना गर्नेछु । काठमाडौँवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छु । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि काम गर्नुपर्छ । काम गर्न कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ । अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्दछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, मोनोरेल, तथाअत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ । त्यसैगरी काठमाडौंलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गरिनेछ । स्मार्ट सिटीको पूर्वाधार तयार गर्नकालागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गर्नेछु । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गर्नेछु । महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सर्पोटेशन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने छु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गर्नेछु । काठमाडौँ महानगरभित्र ‘स्मार्ट पार्किड सिष्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकलकार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टम’को व्यवस्था गर्नेछु । स्थानीय तथा आगन्तुकहरुको लागि ठुला होटेल रेस्टुराँ, सपिङ मलहरु, डे र नाइट मार्केटहरु ठाउँ–ठाँउंमा स्थापना गर्नेछु् ।

युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब १ करोडको ठेक्का दिने निर्णय विरुद्ध संसदिय समितिमा उजुरी

काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल भएको छ, चुनावपछि छलफल हुन्छ’, विकास समितिका एक कर्मचारीले विकासन्युजसँग भने । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार एनसेल भन्दा ७० करोड र वल्ड लिंक भन्दा ५० करोड कममा आवेदन दिएकाले युटिएललाई ठेक्का परेको हो । १५ बर्ष अघि सञ्चालनमा आएको युटिएल पछिल्लो १३ बर्षदेखि बार्षिक करोडौँ रुपैंयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षमा मात्रै कम्पनीले ७३ करोड ३५ लाख नोक्सानी व्यहोरेको वित्तिय प्रतिवेदनले देखाउँछ । आव २०६५/६६ मा त झन यो कम्पनी करिब एक अर्ब नोक्सानीमा गएको थियो । बर्षेनी घाटामा गएको र पुर्व सम्झौता अनुसार सेवा समेत सञ्चालन गर्न नसकेको युटिएललाई गत भदौ २० गते दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि भारतीय लगानीको युटिएललाई युनिफाइड लाइसेन्स दिइनु आफैंमा संकास्पद रहेको आरोप लागिरहेको छ । पुरानो सेवा प्रभावकारी रुपमा सुचारु नगरेको र युनिफाइड लाइसेन्स अनुसार सेवा विस्तारको काम अघि नबढाएको भन्दै प्राधिकरणले प्रगति प्रतिवेदन मागेको छ । एक बर्षभित्र ४४ जिल्लामा सेवा विस्तार गर्ने भन्दै युनिफाइड लाइसेन्स लिएको कम्पनीले हालसम्म काम अघि बढाएको छैन । कम्पनीमा जम्मा २३ जना कर्मचारी मात्रै कार्यरत छन् । तीमध्ये प्राबिधिक २० र अप्राबिधिक ३ जना मात्रै छन् । कम्पनीको चुक्ता पुँजी भने दुई अर्ब १५ करोड रुपैया रहेको छ । गत आवमा कम्पनीले जम्मा नौ करोड ५९ लाख मात्रै कारोबार गरेको देखिन्छ । कम्पनीको ग्राहक संख्या पनि पाँच लाख ९८ हजार ८ सय ३६ मात्रै रहेको छ । युटिएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया तथा टाटा कम्युनिकेसनको समान २६ दशमलब ६६ प्रतिशत र नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर छ । ‘निरन्तर घाटामा रहेको र पुर्व सम्झौता अनुसार सेवा प्रवाह नगरेको तथा प्राबिधिक क्षमता समेत न्युन रहेको कम्पनीलाई राज्य कोषको त्यति मोटो रकम दिने कुराबारे छानविन हुन्छ’, समितिका ती कर्मचारीले भने ।

सेयर बजारमा तीन अर्ब माथिको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफको

काठमाडौं । यस साता सेयर बजारमा तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा ४०.२६ प्रतिशत कम हो । गत साता बजारमा पाँच अर्ब ६९ करोड रुपैयाँ बराबरका सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १५४ कम्पनीका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबिआइ बैंकको १२ करोड ४७ लाख, प्रभु बैंकको १० करोड ८९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावर र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा बैंकको दुई लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । यस साता कारोबार रकममा गिरावट आएता पनि नेप्से परिसूचकमा भने केही सुधार भएको छ । सो अवधिमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १६५३.१८ अंकमा पुगेको छ । त्यस्तै, साताभर कारोबार भएका समूहका परिसूचकमा सामान्य उतारचढाव आएको छ । सबैभन्दा बढी बैंक समूहको परिसूचक ५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक, वित्त र जलविद्यिुत समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७७ अंकले बढेर ३५३.५५ अंकमा आईपुगेको छ ।

सुशिला कार्की विरुद्धको महाअभियोग अघि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश(आदेशको पूर्णपाठसहित)

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानन्यायधिस सुशिला कार्की विरुद्धको महाअभियोगलाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सुनिलरञ्जन सिंहले कार्की विरुद्धको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा  दायर गरेका थिए । न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाअभियोग लगाउनुपर्ने कारण पेश गर्न भन्दै तत्कालका लागि प्रक्रिया अघि नबढाउन नेपाल सरकार, व्यवस्थापिका संसदका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्चको आदेशमा प्रधानन्यायधिश कार्कीलाई आजकै मितिबाट आफ्नो पुर्ववत जिम्मेवारी निर्वाह गर्न पनि आदेशमा भनिएको छ ।

चिनिया ठेकेदारको लापरवाहीले गौतम बुद्ध विमानस्थल समयमै नबन्ने

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सन् २०१७ को अन्त्यसम्म सम्पन्न गर्ने भनिएपनि दोस्रो चौमाससम्म लक्ष्यको २७ प्रतिशत भौतिक र २१.७ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । आयोजना शुरु भएको यो अवधिसम्म लक्षित काम हुन नसकेपछि आयोजना निर्माण कार्य ६ महिना पछि धकेलिएको हो । २०१७ साउनका सक्ने लक्ष्य राखिएको उक्त आयोजना ठेकेदार कम्पनीको लापरवाहीका कारण २०१८ को जुनसम्म पुग्ने भएको हो । मुलुकमा दीगो पर्यटन विकास गर्ने लक्ष्य सहित २०१५ को जनवरी १ मा अघि बढाइएको उक्त राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यमा ठेकेदारको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण अन्योलमा परेकोे छ । अंग्रेजी पात्रो अनुसार यहि वर्षको अन्त्यसम्म रुपन्देहीको अवस्थित यस विमानस्थलको स्तरोन्नतीका लागि ३००० मी × ४५ मिटरको नयाँ धावनमार्ग, अन्तर्राष्ट्रिय भव, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन अघि बढाइएको छ । कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनद्धार भवनलगायत सञ्चार तथा पथ प्रर्दशक सामग्रीहरू जडान भवनको समेत स्तरोन्नती गर्ने योजना सहित उक्त आयोजन अघि सारिएको हो । यस आवको दोस्रो चौमाससम्म कुल ४२८ विगाह जग्गा अधिग्रहणको प्रक्रिया मूल्यांकनको क्रममा रहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । आयोजना निर्माणका लागि चालु आवमा सात खर्ब २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । तर अहिले आयोजनास्थलमा कामदारको उपस्थिति अत्यन्त न्यून रहेको देखिएको छ । योजना अनुसार काम हुन नसक्दा परियोजनाले जुन गति लिनुपर्ने थियो त्यो लिन नसकेको छैन । हालसम्म उक्त आयोजनको कम्तिमा पनि ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा २७ प्रतिशत मात्र सकिएको छ । दैनिक तीन/चार सय मजदुरले काम गर्नुपर्ने यो आयोजनामा हाल मात्र १५/२० जनाले काम गरिरहेको अवस्था छ । यस्तै पारा होे भने थपेको समयमा पनि निर्माण सम्पन्न हुने देखिदैन ।