विकासन्युज

सोमबार मात्रै ९५ लाख कित्ता बोनस र ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । सोमबार मात्रै ९५ लाख २९ हजार १७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ । त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

किन टेण्डर गरिएन २ अर्ब ८ करोडको एलइडी बल्ब खरिदमा ? कुलमान घिसिङको बयान

कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण नेपाल सरकार मन्त्रिपरिषद्को २०७४/०१/२१ गतेको् बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड(इइएसएल)कम्पनीसँग नौ वाटका दुई करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ घ २ तथा नियमावलीमा भएको व्यवस्था अनुसार उपयुक्त खरिद प्रक्रिया अवलम्वन गरि पारदर्शीरुपमा बल्बको खरिद अगाडि बढाउने छ । लोडसेडिङ व्यवस्थापनका लागि दुई मुलुकबीचका सरकारी निकायबीच पारदर्शीरुपमा लिड बल्ब खरिद गर्न लागिएकाले यसमा कुनै अनियमितको आशंका नगर्न आग्रह गर्दछौं । ऊज्यालो नेपाललाई साकार बनाउन र औद्योगिक लगायत अन्य क्षेत्रको लोडसेडिङ अन्त्यका लागि एलइडी बल्ब प्रयोगमा ल्याउन लागिएको हो । नेपाल भारत सरकारका सचिव स्तरीय बैठक जोइन्ट स्टिरिङ कमिटीको २७ र २८ जुन २०१६ मा नयाँ दिल्लीमा सम्पन्न तेस्रो बैठकले इइएसएल मार्फत नेपालमा एलइडी बल्बको प्रयोग गर्ने कार्यक्रम विस्तार गर्न सकिने निर्णय गरेको थियो । कम्पनीले बल्बको भारतमा उपलब्ध गराएको रेटमा नै नेपालमा उपलब्ध गराउने परराष्ट मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पठाएको थियो । नेपालका माननीय ऊर्जा मन्त्रीको भारत भ्रमणमा भारतीय समकक्षीसगको भेटमा समेत नेपालको लोडसेडिङ व्यवस्थापनका लागि लिड बल्ब उपलब्ध गराउने विषययमा सहमति भएको थियो । कम्पनीले भारतीय बजार मूल्यमै नेपाललाई बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । इइएसएलले परराष्ट्र मन्त्रालयमार्फत पठाएको प्रस्ताव उपर छलफल गरि दुई करोड बल्ब उपलब्ध गराउने सम्बन्धी समझदारी प्राधिकरण र कम्पनीबीच २०७३÷१२÷११ सम्पन्न भएको थियो । कम्पनीले बल्ब आपूर्ति गर्ने र उपभोक्तालाई आफैले बिक्री गर्ने प्रस्ताव गरेको थियो । तर, कम्पनीले नै बिक्री गर्दा महंगो परि उपभोक्तामाथि वित्तिय भार पर्ने देखिएपछि कम्पनीसँग बल्ब खरिद मात्रै गर्ने र यसको सम्पूर्ण बिक्री प्राधिकरणले गर्ने गरि समझदारी भएको थियो । बिक्री व्यवस्थापनका लागि कम्पनीले सफ्टवेर समेत उपलब्ध गराउने छ । साँझ र बिहानको बढ्दो विद्युतको माग व्यवस्थापनमा सुधार गरि जलविद्युत गृहको अधिकतम उपभोग गर्न माग पक्ष व्यवस्थापनको एउटा उपायका रुपमा एलइडी बल्ब खरिद गर्न लागिएको हो । वत्ति प्रयोगको कारणले साँझको पिक लोड बढ्ने हुँदा लिड बल्बको प्रयोग माग पक्ष व्यवस्थापनको उपयुक्त उपाय हो । अहिले प्राधिकरणका करिव ३५ लाख ग्राहकले वत्तिका लागि साधारण बल्ब र सिएफएल बल्ब प्रयोग गरिरहनु भएको छ । यसलाई एलइडी बल्बले प्रतिस्थापन गर्न सकिएमा पिक लोड व्यवस्थापन गर्न ज्यादै सहज हुने देखिएको छ । यदि औसतमा प्रति घरधुरी १८ वाटको सएफएल र ६० वाटको साधारण बल्ब प्रयोग गरेको कारणबाट ३८१ मेगावाट पिक लोड हुन आउछ । यसको सट्टा ९ वाटको लिड बल्ब प्रयोग गर्दा २०१ मेगावाट पिक लोडमा बचत हुन जाने देखिन्छ । जबकी २०१ मेगावाटको जलविद्युत आयोजना बनाउन करिव ४० अर्ब रुपैया र समय कम्तीमा पनि पाच वर्ष लाग्छ । विद्युत माग व्यवस्थापन गरि लोडसेडि अन्त्यका लागि तत्काल गर्न सकिने लिड बल्बको प्रयोग नै हो । त्यस्तो एलइडी बल्ब ४ घण्टा बल्दछ भन्ने मान्दा वार्षिकरुपमा २९३.४६ गिगावाट आवर ऊर्जा बचत हुने देखिन्छ । २ करोड बल्बको भारतीय सीमामा ६५ भारु (१०४नेरु) पर्छ । भन्सार, मुल्य अभिबृद्धि कर र भन्सार महसुल पूरै छुट तथा प्राधिकरणको सेवा शुल्कलाई १० प्रतिशतले हिसाव गर्दा लागत खर्च २ अर्ब ३२ करोड हुन आउछ । सरकारले भन्सार र मुल्य अभिबृद्धी कर छुट नदिने निर्णय गरेको छ । एलइडी बल्बको प्रयोगबाट प्राधिकणलाई पिकलोड तथा इनर्जी खपतमा कमी आई सो बराबरको उत्पादन गरेर ऊर्जा बचत हुने छ । साधारण चिमभन्दा लिड बल्ब प्रयोग गर्दा विद्युत महसुलमा कमी आई ग्राहकलाई समेत फाइदा हुने छ । लिड बल्बमा जस्तो मर्करीको प्रयोग नहुने भएकाले वातावरणीय दृष्टिले अनूकुल छ । हाल फिलिप्स लिड बल्बको बजार मुल्य ३५० रुपैयाभन्दा बढी पर्छ । यसको तुलनामा प्राधिकरणले सहुलितरुपमा र किस्ताबन्दीमा समेत बल्बको रकम भुक्तानी गर्न पाउने हुदा उपभोक्ताका लागि समेत आर्थिकरुपमा फाइदा जनक छ । यसले समग्र अर्थतन्त्रै सकारात्मक प्रभाव पार्ने छ । इइएसएलले प्रख्यात कम्पनीहरु फिलिप्स र ओस्रामका एलइडी बल्ब उपलब्ध गराउने छ । बल्वको पावर फ्याक्टर ०.९५ भन्दा बढी रहने र उर्जा दक्षता सत प्रतिशत हुने भएकाले बजारमा पाउनेभन्दा गुणस्तरीय छन् । इइएसएलले तीन वर्षको वारेन्टीसहित बल्ब उपलब्ध गराउने छ । अर्थात तीन वर्षमा बिग्रिएमा इइएसएलले बल्बको प्रतिस्थापन गरिदिने छ । लिड बल्ब ५० हजार घण्टासम्म चल्छ । ठोकिएमा अथवा झरेमा लिड बल्ब फुट्दैन । त्यसैले इइएसएलले उपलब्ध गराउने लिड बल्ब बजारमा पाउने भन्दा उच्च गुणस्तरका छन् । साँझ र विहान विद्युतको अत्याधिकम माग पूर्ति गर्न लिड बल्ब प्रयोगमा ल्याउन सकिएमा पिक लोड कम हुने, लोड फ्याक्टर बढ्ने र विद्युततको माग व्यवस्थापन एवं सन्तुलन गर्न सहज हुने छ । तुलनात्मक अध्ययन  ने.वि.प्रा. को कूल ग्राहक संख्या -३१,१५,००० ने.वि.प्रा. ले २ करोड ९ वाटको एलइडी वल्व वितरण गर्ने कार्यक्रम रहेको छ । १,९५,००,००० ग्राहकहरु १८ वाट सिएफएल र ५,००,००० ग्राहकहरु ६० वाटको इनक्याण्डिसेन्ट वल्व प्रयोग गर्छन् । २ करोड थान एलइडी वल्वहरु वितरण गरी इनक्याडिसेन्ट र सिएफएल बल्ब विस्थापन गर्दा पिकलोड समयमा उच्चतम माँगमा कमि आउने र २०१ मेगावाट बिजुली बचत हुन्छ । २०१ मेगावाटको पिकिङ प्रोजेक्ट बनाउन ४० अबरु लाग्छ जुन सिधै बचत हो । एलइडी बल्ब खरिदका लागि खर्च भएको रकम १० महिनामा उठिसक्ने हाम्रो प्रक्षेपण छ ।

प्रिमियर इन्स्योरेन्समा बीमा दावी प्रक्रिया अनलाईनबाट गर्न सकिने, २३औं वार्षिक उत्सवमा नयाँ लोगो अनावरण

काठमाडौं । निर्जीवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अनलाईन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीको तेईसौं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले सो जानकारी दिएका हुन् । बीमा दावीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको र त्यस अनुरुप कम्पनीले छिट्टै नै सीसीआईपी (कस्टुमर क्लेम इम्फरमेशन पोर्टल) मार्फत सेवा दिन लागिएको जानकारी दिए । त्यस्तै तेईसौं बार्षिकोत्सव अवसरमा कम्पनीले आफ्नो लोगोमा केही परिवर्तन गरेको छ । नयाँ लोगोको अनावरण कार्यक्रमका प्रमुख अथिति तथा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले गरेका छन् । निकट भविष्यमा निर्जीवन बीमा कम्पनीको संख्या २१ वटा पुग्न सक्ने संकेत गर्दै उनले प्रतिस्पर्धामा अगाडि बढ्न सेवा प्रभावकारी हुनु पर्ने उनले बताए । कम्पनीले व्यापार प्रवद्र्धन गर्नको लागि नयाँ टिभिसी बनाएको छ । http://www.bikashnews.com/wp-content/uploads/2017/05/premier-insurance-for-mail-2.mp4 सो अवसरमा कम्पनीले वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरु र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरु वारे जानकारी दिएको छ । चालु आ. व. २०७३/७४ को तेश्रो त्रैमासिकको अन्त सम्ममा कम्पनीले १ अर्व ७७ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ । आ. व. २०७२/७३ मा कम्पनीले कुल बीमा शुल्क १ अर्व ४२ लाख आर्जन गरी खुद नाफा  १८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । हाल कम्पनीको हाल चुक्ता पँुजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँमा बृद्वि गरी २ अर्ब र जारी पुँजीलाई १ अर्व ५० करोड रुपैयाँ बनाएको कम्पनीले जनाएको छ । पुँजी वृद्धि गर्नका लागि कम्पनीले ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्दैछ । त्यसको लागि एनएनबी क्यापिटल लि. सँग सम्झौता भई धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।

साहास हाइड्रोपावर खारेजी प्रक्रियामा, उजुरी परे छानविन गर्ने कम्पनी रजिष्ट्रारको घोषणा

काठमाडौं । तीन वटा हाइड्रो पावर निर्माण गर्न भन्दै २०६८ जेठ ४ गते दर्ता भएको साहास हाइड्रोपावर कम्पनी लिमिटेड खारेजीको प्रक्रियामा अघि बढेको छ । सुरुमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको कम्पनी २०६८ चैत २० गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । ५ मेगावाटको अपर हुग्दी खोला हाइड्रो प्रोजेक्ट, ४३ मेगावाटको नेशम खोला हाइड्रो प्रोजेक्ट र १६ मेगावाटको सींगटी खोला हाइड्रो प्रोजेक्ट निर्माण गर्न भन्दै साहस हाइड्रो पावर कम्पनी लिमिटेडले संस्थापक सेयर धनीका लागि लगानी आव्हान गरेको थियो । तर २०७३ साल पुस १६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले कम्पनीलाई नै खारेजीमा लैजाने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय अनुसार हाल साहस हाइड्रो पावर कम्पनी खारेजीको प्रक्रियामा अघि बढेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कम्पनीको सञ्चालक समिति अध्यक्षमा हिमप्रसाद पाठक रहेका छन् । त्यस्तै, सञ्चालकहरुमा भने मिनराज कँडेल, आशिष सुवेदी, तारानाथ सापकोटा, विजय सागर प्रधान, प्रभा कोइराला, गमप्रसाद रेग्मी र परितोष पौडेल रहेका छन् । कम्पनीको चुक्ता पुँजी ५ करोड ६१ लाख ९९ हजार ९ सय रुपैंयाँ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रेम कुमार श्रेष्ठले हालसम्म साहस हाइड्रो पावर खारेजी प्रक्रिया प्रति असहमति जनाउँदै कुनै उजुरी नआएको बताए । कम्पनी खारेजी प्रक्रिया प्रति लगानी कर्ताको कुनै गुनासो भए उजुरी गर्न आग्रह गर्दै उनले भने–उजुरी आयो भने हामी छानविन गर्छाै ।

कोकाकोला १३१ अाैं बार्षिक उत्साव मनाउँदै, यसरी भयो कोकोकोलाको उत्पत्ति र विकास

काठमाडौं । आज कोकाकोलाको १३१ औं वार्षिकोत्सव, जसको इतिहास ८ मई, १८८६ मा शुरु भएको थियो, जतिबेला एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको कम्पनीले जनाएको छ । फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए। व्यापार बढ्दै गएपछि त्यसको प्रतिस्पर्धा र अनुकरण गरियो, जबकी यो प्रतिरुप हुन सक्दछ । कोका–कोलाले उपभोक्ताहरुलाई वास्तविक विषय बाहेक अन्य कुराहरुलाई ध्यान नदिन प्रतिबद्ध हुँदै स्मरण गराउ शुरुवात गर्यो, र ‘डिमाण्ड एण्ड जिनियस’ तथा ‘एक्सेप्ट नो सब्टिच्यूटस्’ विज्ञापन गरायो । यो प्रतिस्थापनको विरुद्धमा कहिले पनि समाप्त नहुने प्रतिस्पर्धा भएको कम्पनीले जनाएको छ । कोका–कोला कम्पनीले सन् १९२०को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गर्यो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको उचाईमा पुग्यो । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिएको छ। सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी थियो । उदाहरणका लागि, यसले गर्दा कोका–कोला बोकेर उपभोक्ताले घर लैजान सजिलो बनायो । श्री उडरफले शुरु गरेका कोका–कोलाको अन्तराष्ट्रिय संभावनाको परिकल्पना अझै पनि कम्पनीद्धारा लागू गरिएको तथा यसलाई संसोधित गरिँदै आएको छ । यसको बोटलर्स तथा सब्सिडरीज्मा सामान्य खुशीको क्षण बनाउनका लागि अनुमप विश्वव्यापी प्रणालीमा कोका कोला व्यवसायलाई समाहित गरिएको छ । अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ । कोका–कोलाले नेपालमा सन् १९७९ देखि उत्पादन गर्दै आएको छ ।

मेगा बैंकको नाफा ५४ करोड, निक्षेप ६ करोडले घट्यो

काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २८ खाल रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षमा भन्दा बैंकको नाफा करिव ७० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको सेयर पुँजी करिव ६० प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । संचित तथा जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ छ । यस त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा छ । रिर्टन अन इक्वीटी १५ रुपैयाँ ५९ पैसा छ । चैत मसान्तसम्ममा बैंकले ३८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । पुस मसान्तको तुलनामा चैत मसान्तमा बैंकको निक्षेप ६ करोडले घटेको छ । त्यस्तै कर्जा सापटी ३४ अर्ब ९३ करोड प्रवाह गरेको छ । बैंकले विभिन्न सेयर तथा ऋणपत्रमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

यामाहाको रेसिङबाइक आर३को प्रायोजनमा ‘यामाहा रेसमान्डु’ सम्पन्न

काठमाडौं । नेपालकै रोमाञ्चकारी मोटरसाइकल रेसिङ ‘यामाहा रेसमान्डु’ सम्पन्न भएको छ । यामाहाको रेसिङबाइक आर३को प्रायोजनमा सम्पन्न प्रतियोगितामा कुल ९० जना खेलाडी सम्मिलित थिए । प्रतियोगिता तीन वटा क्याटागोरीमा सम्पन्न भएको थियो जसमध्ये नेसनल क्याटागोरीमा विवेश श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् भने प्रत्युस कुँइकेल दोस्रो र निखिल ठकुरी तेस्रो भएका छन् । त्यसैगरी, नोभिस क्याटागोरी ए समूहमा आशिक लामा पहिलो, जेबक तुलाधर दोस्रो र रोशन रानामगर तेस्रो भएका छन् । नोभिस क्याटागोरी बी समूहमा विनोद कठायत पहिलो, सुभाश श्रेष्ठ दोस्रो र निखिल ठकुरी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा, नासाका अध्यक्ष दशरथ रिसाल, पर्वतीय खेलकुद महासंघका कोषाध्यक्ष मेघराज पौडेल र एमएडब्ल्यु इन्टरप्राइजेज यामाहा डिभिजनका असिष्टेन्ट जनरल म्यानेजर दीपकराज गिरीले पुरस्कार वितरण गरेका थिए । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्पाउन्डमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) को आयोजनामा रेसमान्डु सम्पन्न भएको हो । रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन भएको थियो । नोभिस क्याटागोरी ए समूहमा १९८ सिसी सम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी थिए । नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाएका थिए । नासाले यो भन्दा पहिले पनि चार वटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । रेसमान्डुको यो पाँचौ संस्करण हो । पहिलेका विजेताहरु विदेशमा भएका विभिन्न रेसिङ इभेन्टमा सहभागी भइसकेका छन् । यस पटकका विजेतालाई पनि विदेशमा हुने विभिन्न इभेन्टमा भाग लिनका लागि मौका प्रदान गरिने छ । यामाहाको आर३ तीन सय २१ सीसीको इन्जिनयुक्त रेसिङ बाइक हो । त्यसैगरी, नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

लाइसेन्स माग्दै १६ बीमा कम्पनीले बुझाए योजना समेटिएको कागजपत्र

काठमाडौं । सञ्चालनको अनुमति माग्दै १६ वटा बीमा कम्पनीले बीमा समितिमा कागजात बुझाएका छन् । १२ वटा जिवन बीमा कम्पनी र ४ वटा निर्जिवन बीमा कम्पनीले कागजात बुझाएका हुन् । जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कागजात बुझाएका हुन् । त्यस्तै, निर्जीबन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र मनकामना इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । बीमा समितिको चैत ३० गते बसेको संचालक समितिको बैठकले नयाँ कम्पनी संचालन गर्न चाहने र सो मापदण्डभित्र पर्ने कम्पनीलाई २१ दिनभित्रमा कागजात पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो । म्याद बैशाख २४ गते सकिएकाे छ ।