काठमाडौं । तीन वटा हाइड्रो पावर निर्माण गर्न भन्दै २०६८ जेठ ४ गते दर्ता भएको साहास हाइड्रोपावर कम्पनी लिमिटेड खारेजीको प्रक्रियामा अघि बढेको छ । सुरुमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको कम्पनी २०६८ चैत २० गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

५ मेगावाटको अपर हुग्दी खोला हाइड्रो प्रोजेक्ट, ४३ मेगावाटको नेशम खोला हाइड्रो प्रोजेक्ट र १६ मेगावाटको सींगटी खोला हाइड्रो प्रोजेक्ट निर्माण गर्न भन्दै साहस हाइड्रो पावर कम्पनी लिमिटेडले संस्थापक सेयर धनीका लागि लगानी आव्हान गरेको थियो ।
तर २०७३ साल पुस १६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले कम्पनीलाई नै खारेजीमा लैजाने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय अनुसार हाल साहस हाइड्रो पावर कम्पनी खारेजीको प्रक्रियामा अघि बढेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कम्पनीको सञ्चालक समिति अध्यक्षमा हिमप्रसाद पाठक रहेका छन् ।
त्यस्तै, सञ्चालकहरुमा भने मिनराज कँडेल, आशिष सुवेदी, तारानाथ सापकोटा, विजय सागर प्रधान, प्रभा कोइराला, गमप्रसाद रेग्मी र परितोष पौडेल रहेका छन् । कम्पनीको चुक्ता पुँजी ५ करोड ६१ लाख ९९ हजार ९ सय रुपैंयाँ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रेम कुमार श्रेष्ठले हालसम्म साहस हाइड्रो पावर खारेजी प्रक्रिया प्रति असहमति जनाउँदै कुनै उजुरी नआएको बताए ।
कम्पनी खारेजी प्रक्रिया प्रति लगानी कर्ताको कुनै गुनासो भए उजुरी गर्न आग्रह गर्दै उनले भने–उजुरी आयो भने हामी छानविन गर्छाै ।