विकासन्युज

भार्गव विकास बैंकको ८५ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको संस्थापक र साधारण तर्फको गरी ८५ हजार २३१ कित्ता सेयरको लिलामी विक्री हुने भएको छ । बैंकले हकप्रद सेयरका लागि आवेदन खुला गर्दा विक्री नभएको यो सेयर शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेकाे हाे । बैंकले संस्थापक समूहतर्फको ३२ हजार ४६६ र सर्वसाधारण समूह तर्फको ५२ हजार ७६५ कित्ता सेयर विक्री गर्न सूचना जारी गरेको छ । यो बैंकको सेयर खरिद गर्न न्युनतम १ सय रुपैयाँमा यही जेठ २६ गतेबाट असार २ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि उल्लेख छ । याे सेयरको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

पोखरा विमानस्थलको शिलान्यास भएको एक वर्षपछि ऋण सम्झौता कार्यान्वयनमा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि शिलान्यास भएको एक वर्षपछि बल्ल ऋण सम्झौता कार्यान्वयनमा आएको छ । चिनियाँ पक्षसँग ‘स्क्रो अकाउन्ट’ खोल्ने विषयमा एक वर्षसम्म पनि सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन । दुई साताअघि यस्तो एकाउन्ट खोल्ने सहमति भएसँगै सम्झौता कार्यन्वयका लागि बाटो खुलेको हो । “सम्झौता कार्यान्वयन अब सुरु भयो, छिट्टै नै निर्माण कम्पनीले काम अघि बढाउन सक्नेछ,” अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा उपसचिव युवराज पाण्डेले भने, “चिनियाँ पक्षले नेपाललाई पत्र पठाएकोले अब बैंक खाता खोलेर आफूले लगानी गर्न चाहेको रकम ल्याइ लगानी गर्न नेपालले सक्नेछ ।” चीनको एक्जिम बैंकले खाता आफंै सञ्चालन गर्ने र आम्दानी तथा खर्च सोही खातामार्फत गर्नुपर्ने प्रस्ताव गरेपछि समस्या आएको थियो । नेपाल पक्षले यस्तो विषयमा सहमति दिननसक्ने भएकोले समाधान गर्न आग्रह गर्दै आएको थियो । “पोखरा विमानस्थल निर्माण कार्य अबको केही महिनापछि नै सुरु हुनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । विगतमा केही हतार गरेको देखिए पनि अब सबै विषय टुंगिएकोले केही महिनामै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको अधिकारीले बताए । चार दशक अघिदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हँुदैछ । चिनियाँ एक्जिम बैंकसँग सहुलियत दरमा ऋण लिएर सरकारले विमानस्थल निर्माण गर्न लागेको हो । सरकारले एक्जिम बैंकसँग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलरमध्ये एक तिहाई रकम बिनाब्याज र बाँकी रकम २ प्रतिशत ब्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता गरेको थियो । निर्माण सुरु भएको चार वर्षभित्र अर्थात सन् २०२० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरका उडान तथा अवतरण हुनेगरी निर्माण गर्न लागिएको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको छ । २ हजार ५ सय मिटर लम्बाइ तथा ४५ मिटर चौडाइ रहने उक्त विमानस्थलमा एकल धावनमार्ग रहनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लोपटक विमानस्थल निर्माण लागत २१ करोड ५० लाख अमेरिकी डलर तोकेको छ । यो रकममा ५ करोड अमेरिकी डलर भने स्केलेसन र विदेशी मुद्रा विनिमयसँगको लागत जोडेर २१ करोड ६० लाख डलर ९ करिब साढे २१ अर्ब रूपैयाँ पुगेको हो । एक्जिम बैंकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीलेमात्र टेन्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो । यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा हुँदैछ । यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ । यस्तो प्रक्रिया विमानस्थल निर्मााणमा पहिलो हुनेछ । कारोबार दैनिकबाट ।

जलविद्युतमा ४० खर्बको लगानी आवश्यक, उत्पादनमा र वितरणमा २०/२० खर्ब लाग्ने

काठमाडौं । नेपालको जलविद्युतमा ४० खर्बको लगानी आवश्यक रहेको पूर्व सचिव श्रीरन्जन लाकोलले बताएका छन् । उनका अनुसार नेपाललाई पुग्ने जलविद्युत उत्पादन गर्न १५ हजार मेगावाट आवश्यक छ । यसका लागि करिब २० खर्ब लगानी आवश्यक पर्छ । यो लगानीले उत्पादन मात्रै हुने हो । यसलार्य प्रसारण र वितरण गर्न करिब अर्को २० खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसैले नेपालको जलविद्युत्मा ४० खर्ब रुपैयाँको लगानी आवश्यक देखिएको छ । कारोबार दैनिकबाट ।

कतारको संकटले नेपालीलार्इ तत्काल असर नगर्ने, नयाँ रोजगारीमा समस्या

काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’ लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ । नयाँ रोजगारीमा समस्या कतार समस्या लामो समय लम्बिएमा नया रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’ ”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” (गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ । – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल । नयाँ पत्रिका दैनिकबाट ।

पैसा थोरै दिन खोजेपछि म्यादी प्रहरीबाटै नाराबाजी गरेर विरोध

स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए । कान्तिपुर दैनिकबाट

१२ वर्षपछि प्रधानमन्त्री भएका देउवाका चुनौती के के छन् त ? मोदीले दिए फोनमै बधाई

काठमाडौं । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवालाई बधाई दिदै विपक्षी दलका नेता केपी शर्मा ओली पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने । प्रधानमन्त्रीका प्रमुख कार्यभार -माघ ७ भित्र तीनै तहको चुनाव – संविधान संशोधन र कार्यन्वयन – भूकम्पपछिको पुननिर्माण – शान्तिप्रक्रियामा बाँकी काम – गठबन्धनलाई निरन्तरता -छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध नागरिक दैनिकबाट ।  देउवाका ५ चुनाैती १‍. लगातार तीन तहको चुनाव सम्पन्न गर्नु । २.  बलियो प्रतिपक्षको सामना गर्नु । ३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु । ४. संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु । ५. संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु । थोरै बोल्ने र धेरे काम गर्ने देउवाको भनाइ माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ । आरोपरप्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो । अन्नपूर्ण पोस्टबाट । मोदीले दिए फोनमै बधाई नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ टेलिफोन गरेर बधाइ दिएका छन् । प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।

नेपालका ४० प्रधानमन्त्रीहरूको इतिहास , भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

काठमाडौं । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । नेपालको इतिहासमा प्रथम (प्रधानमन्त्री) मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुनुहुन्थ्यो । विसं १८६३ देखि १८९४ सम्म (झन्डै एकतीस वर्ष) मुख्तियार भई शासनसत्ता सञ्चालन गरेका थापा राष्ट्रिय विभूतिसमेत हुन् । त्यसैगरी रणजङ्ग पाण्डे (१८९६–१८९०), पुष्कर शाह(१८९५–१८९६), पण्डित रङ्गनाथ पौड्याल (१८९४–१८९५) नेपालमा (प्रधानमन्त्री) मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हन् । तत्कालिन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात दरबारमा देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दे जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए । यसअघि माथवरसिहं (जङ्गबहादुर राणाको मामा) विसं १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री भए । झन्डै ३० वर्षसम्म (१९०३–१९३३) नेपालको प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए । फलस्वरुप नेपालमा विसं १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो । नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् । जङ्गबहादुरले भाइहरुलाई रोलक्रमअनुसार नेपालको प्रधानमन्त्री बनाए । बमबहादुर राणाले विसं १९१३ देखि १९१४, रणोद्वीप सिंह राणाले १९३३ देखि १९४२, वीरशम्सेरले १९४२ देखि १९५७, देवशम्सेरले १९५७ देखि १९५८, चन्द्रशम्मेरले १९५८ देखि १९८६, भीमशम्सेर १९८६ देखि १९८९, जुद्धशम्सेरले १९८९ देखि २००२, पद्यमशम्सेरले २००२ देखि २००५¬ र मोहनशम्सेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रुपमा नेपालमा शासन गरे । राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई विसं २००८ देखि २००९ र विसं २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गरियो । त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य (२०१२–२०१), डा केआई सिंह (२०१४–२०१५) सम्म नेपालको प्रधानमन्त्री भए । विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे । राजा महेन्द्रले सुवर्ण शम्सेरको अध्यक्षतामा विसं २०१५ देखि २०१६, डा तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गर्नुभएको थियो । त्यस्तै विसं २०६९ मा पनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो । विसं २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भए । राजा महेन्द्रले विसं २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा तुलसी गिरी भए । पञ्चायतकालमै सूर्यबहादुर थापाले विसं २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र विसं २०२३ देखि २०२५ तथा विसं २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रुपमा काम गरे । बहुदलीय व्यवस्थापछि विसं २०५४ र २०६० मा समेत उनी प्रधानमन्त्री भए । पञ्चायतकालमा क्रमशः कीर्तिनिधि विष्ट (२०२५–२०२), (२०२८–२०३०) र (२०३४–२०३६), नगेन्द्र प्रसाद रिजाल (२०३०–२०३२) र २०४२, लोकेन्द्रबहादुर चन्द (२०४०–२०४२) र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ (२०४३–२०४६) सम्म प्रधानमन्त्री भए । विसं २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री भए ।  त्यस्तै गिरिजाप्रसाद कोइरालाले (२०४८–२०५१) र (२०६३–२०६५) सम्म मुलुकको प्रधानमन्त्री भए । कम्युनिष्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी विसं २०५१ देखि २०५२ सम्म प्रधानमन्त्री बने । पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । यसैगरी विसं २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधानन्यायाधीश रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी शर्मा ओली र विसं २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री भए । रासस

मेगा बैंककाे ६५ प्रतिशत हकप्रद शेयर अाउँदै, नबिल इन्भेष्टमेण्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले जानकारी दिए । हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, आगामी आर्थिक बर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत पाइसकेका छन् ।