विकासन्युज

धौवादीको फलाम खानी कब्जा गर्ने भारतीय रणनीति

काठमाडौं । नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा भारतले आँखा लगाएको छ । नेपालले धौवादी फलाम खानीबाट निकालेको नुमना परिक्षणका लागि आग्रह गर्दा भारतले उत्खनन र व्यवसायीक सम्झौता पनि एकै पटक गर्नुपर्ने सर्त अघि सारेको हो । खानी तथा भुगर्भ बिभागले एक बर्ष अघि नै भारतको नेशनल मेटालर्जिकल लेबोरेटोरिजलाई धौवादीबाट निकालिएको फलामको मेटालर्जिकल टेष्ट गरिदिन पत्र पठाएको थियो । तर भारत सरकारको स्वामित्वको सो कम्पनीले नेपालसँग मेटालर्जिकल टेष्टको सर्तका रुपमा सो फलाम खानीको उत्खनन गर्न पाउनुपर्ने सर्त अघि सारेको हो । ‘हामीले मेटालर्जिकल टेष्टका लागि पत्र पठाउँदा उसले उत्खननकै जिम्मा दिनुपर्ने सर्त अघि सार्यो, हाम्रा खानीहरु भारतले कब्जा गर्न सक्ने सम्भावना देखेपछि हामी पछि हट्यौं र अहिले पैसा तिरेरै टेष्ट गर्ने योजना अघि बढेको छ’, खानी विभागका एक अधिकारीले भने । बिभागले टेष्टका लागि आग्रह गर्दा भारतले खानीमै आँखा लगाएपछि बिभागले पैसा तिरेरै टेष्ट गर्न लागेको हो । ‘हामीले टेष्टमा सघाउनुस भन्दा उनीहरुले खानी नै दिन भने र अन्य खानीहरुको पनि व्यवसायीक सम्झौताका लागि आग्रह गरे’, विभागका ती अधिकारीले भने । विभागले यतिबेला धौवादी फलाम खानीलाई भारतीय कब्जाबाट जोगाउन ७५ लाख खर्चेर मेटालर्जिकल टेष्ट गराउन अघि सरेको हो । १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाईमा फैलिएको धौवादी फलाम खानीमा बिभागले १०६ मिटरसम्म ड्रिल गरेर फलामको नमुना संकलन गरिसकेको छ । बिभागले गरेको केमिकल टेष्टमा ३० देखि ५० प्रतिशत फलाम हुनसक्ने देखिएको छ । ‘हामीले गरेको केमिकल टेष्टमा ५० प्रतिशतसम्म फलाम हुन सक्ने तथ्य बाहिर आएको छ, कुन गुणस्तरको फलाम हो भन्ने तथ्य भने मेटालर्जिकल टेष्टबाट मात्रै थाहा हुन्छ’, विभागका महानिर्देशक राजेन्द्र खनालले भने । पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भने धौवादीको फलामको मेटालर्जिकल टेष्टका लागि भारतको मात्रै भर पर्नु उचित नहुने बताए । उनले भारत, चीन र तेश्रो मुलुकमा समेत टेष्टका लागि नमुना पठाउनुपर्ने बताए । ‘हामीसँग आफ्नै मेटार्लजिकल टेष्ट ल्याब छैन, भारतको मात्रै भर पर्नु हुन्न, केहि नमुना भारतमा, केहि चीनमा र केहि तेश्रो मुलुकमा पठाउर टेष्ट गर्नुपर्छ’, पाण्डेले भने । तर खानी विभागका उप महानिर्देशक राम प्रसाद घिमिरेले भने शुल्क तिरेर भारतमै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्ट गरिने बताए । तर खानीमा भारतीय एकाधिकार भने कायम हुन नदिने पनि उनले स्पष्ट पारे । ‘भारतीय ल्याब मै टेष्ट गर्छाै, टेष्टको शुल्क आफैं तिर्छाै आवश्यक प्रक्रिया पुर्याएर उत्खनन गर्छाै’, उप महानिर्देशक घिमिरेले भने ।

२५ प्रतिशत बोनस सेयर घोषणापछि प्राइम लाइफको सेयर मूल्य घट्यो, हकप्रद सेयर लगत्तै आउने

काठमाडौं । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा करिब ६ प्रतिशतले गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता २८९५ मा कारोबार भएको यस कम्पनीको सेयर प्रतिकित्ता २७२४ रुपैयाँमा किनबेच भयो । साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो, जुन निर्णय आईतबार सार्वजनिक भएको हो । हाल कम्पनीले चुक्ता पूँजी ४८ करोड ८१ लाख छ । बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ हुनेछ । कम्पनीले ४ वर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । सेयरधनीले अपेक्षा गरेको भन्दा कम बोनस सेयर घोषणा भएकाले मूल्य घटेको हुन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको भनाई छ । बोनस सेयरसँगै हकप्रद सेयरको घोषणा नभएकोले पनि मूल्यमा गिरावट आएको हुन सक्ने उनले बताए । ‘हकप्रद सेयर घोषणा भएको छैन, तर आगामी साधारणसभामा हकप्रद सेयरको प्रस्ताव लैजान्छौ । हकप्रद र बोनस सेयरबाट नै २ अर्ब चुक्ता पुँजी पुर्याउने हो’ उनले भने । २०७५ असारभित्रै २ अर्ब पुँजी पुर्याउने उनले बताए ।

व्यापारीलाई थुन्ने होइन, सुन्ने हो – चेम्वर

काठमाडौं । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् । नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए । भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं, अध्यक्ष श्रेष्ठले भने, तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँंदैन । पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । अध्यक्ष श्रेष्ठले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्यायमा पारेको बताए । उनले भने, चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ , यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि बढाइयो । भेटघाटमा मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए । उनले चेम्वर प्रतिनिधिमण्डलले राखेको विषयमा आफू सकारात्मक रहेको बताए । भेटघाटमा चेम्वरका उपाध्यक्ष लोकमान्य गोल्छ, द्धितिय उपाध्पयक्ष राजेन्द्र मल्ल, सचिवद्धय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायत कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनएमबि माइक्रोफाइनान्सद्धारा कृषि मुल्य श्रृंखलामा आधारित वित्तीय सेवा सम्बन्धी तालिम प्रदान

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पूर्ब क्षेत्रका शाखाहरुमा काम गर्ने कर्मचारीहरुलाई मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा सम्बन्धी तालिम प्रदान गरेको छ । फाइनान्सले उन्नति परियोजना अन्तर्गत वित्तीय पहुँच बृद्धि गर्ने तथा कृषि उत्पादन बृद्धि गर्नका लागि ज्ञान दिलाउने उद्धेश्यले उक्त सेवा सम्बन्धी तालिम प्रदान गरेको हाे । उक्त तालिमको उद्घाटन सुनसरी जिल्लाको इटहरी स्थित होटल पेरिसमा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले शनिवार गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय संस्थाको पहुँच देशभर पुर्याउने लक्ष्यका साथ वित्तीय संस्थाले काम गर्दै आएको कुरा व्यक्त गरेका छन् । एनएमबि माइक्रोफाइनान्सले हाल देशभर ६७ वटा शाखा तथा उपशाखाहरु खोली ६०,००० भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्ध गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । देशका अधिकांश भूभागहरु ग्रामीण क्षेत्रले ओगटेको र सो क्षेत्रका विशेष गरी महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेकोले उनीहरुको जीवनस्तर माथि उकास्नका लागि कर्मचारीहरुलाई प्रदान गरिएको यस तालिमले सदस्यहरुलाई कृषि उद्यमी तथा सरोकारवालाहरुको पहिचान गरी कृषि उत्पादनको विकासमा सहयोगी सिद्ध हुने कुरा बताएका छन् । सो तालिम २ दिनकोे २ चरणमा संचालन हुने वित्तीय संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु गरी ६० जना कर्मचारीहरुको सहभागिता रहने छ । उक्त तालिममा श्रोत ब्यक्तिको रुपमा श-शक्तिकरण तथा विकास केन्द्र नेपालका डा. नरहरी ढकाल र लक्ष्मण न्यौपाने रहेका छन् ।

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा जोड

  काठमाडौं । मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले उनलाई सम्मान गरेका हुन् । संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जीतेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकाल भलिबल खेलका लागि स्वर्णिम भएको बताउँदै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गरे । सो अवसरमा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताए । उनले भने, “नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको विकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौंँ ।” भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । भेटमा संघका पदाधिकारील अध्यक्ष दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा पूर्वखेलकुदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गरे थिए । रासस

पीएलओ लुब्रिकेन्टसकाे डिलर मीट बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल पीएलओ लुब्रिकेन्टस् ले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली गत शनिबार बैंकक प्रस्थान गरेको हो । साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए । पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ । उच्च बजार हिस्सा ओगट्ने गरी प्रवद्र्धनमा जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी गरेको छ । मोरङको बिराटचोकमा उत्पादन प्लान्ट राखेको पिएलओले आफ्ना उत्पादन नेपालभर बिक्री वितरण गर्दै आएको छ ।यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ ।

एकै गाउँमा दुई करोड ५० लाखको गोलभेँडा उत्पादन

चथर । जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा दुई करोड ५० लाखको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा २ करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो । यहाँ उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य १३ रुपयाँ कामय गर्दा झण्डै रु तीन करोड बराबरको गोलभेँडा अमरपुरमा मात्रै उत्पादन भएको हो । अमरपुरमा ५८० किसानले व्यावसायिकरुपमा गोलभेँडा खेती गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए । त्यहाँका ५८० किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेँडा लगाएका थिए । उक्त गोलभेँडाका बिरुवाबाट प्रतिबोट कम्तिमा दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ । प्रतिबोट दुई किलो गोलभेँडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेँडा उत्पादन भएको देखिन्छ । तर एउटै बोटमा छ किलोसम्म गोलभेँडा फलेको त्यहाँका किसान बताउँछन् । “एउटै बोटमा छ केजीसम्म गोलभेँडा उत्पादन भएको छ”– गोलभेँडा किसान तुलसी ढकालले भने, “सबै बोटमा एकैनासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै तर दुई किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन ।” न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा करोडौँको गोलभेँडा उत्पादन भएको देखिन्छ । पकेट कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेँडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो । साना सिँचाइका लागि पाइप, प्लाष्टिक क्रेट, स्पेयर, मल, बीउ, विषादी, सुष्म खाद्यतत्वसमेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो । मेहनत गर्दा आफूले सोचेभन्दा राम्रै गोलभेँडा उत्पादन भएको किसान बताउँछन् । त्यहाँ उत्पादित गोलभेँडा झापाको बिर्तामोडसम्म निर्यात हुने गरेको छ । बाली बीमाको भुक्तानी नपाउँदा बाली बीमाबापतको रकम भुक्तानी प्राप्त गर्न नसक्दा जिल्लाका कृषक मर्कामा परेका छन् । असिना र हावाहुरीले तरकारी बाली नष्ट गर्दा पीडित भएका जिल्लाका तरकारी उत्पादक कृषक बीमा कम्पनीले बीमाबापतको रकम भुक्तानी नदिँदा थप पीडित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेको इन्स्योरेन्स नामक निर्जिवन बीमा कम्पनी मार्फत लाखौँ मूल्य बराबरको बाली बीमा गराए पनि बीमा दाबी भुक्तानी नपाएको कृषकको गुनासो छ । सो कार्यालयको तथ्यांकअनुसार गत वर्ष यहाँका २८ किसानले ४३ लाख ७९ हजार रुपैयाँ बराबरको बाली बीमा गराएका थिए । जसमध्ये अधिकांश किसानले लगाएको बालीमा असिना र हावाहुरीले क्षति पु¥याएपछि बीमाबापतको रकम माग गरेको एक वर्ष बितिसक्दासम्म भुक्तानी नपाएको उनीहरुको गुनासो छ । स्थानीय याङवरक– ६ का प्रेम सिग्देल, रुद्र न्यौपाने, फिदिम– १० की शान्ती जबेगु, फिदिम– ३ का डम्बरकुमार लिम्बू, फिदिम– २ का पूर्ण बहादुर मगर र फिदिम– ९ का लीलाराम आङ्देम्बले बाली बीमा गराएका थिए । बीमा गराएको बाली नष्ट भएपछि प्राविधिकले स्थलगत अध्ययन गरेर क्षतिको विवरणसहित आवश्यक कागजात पूरा गरी नेको इन्स्योरेन्समा भुक्तानी दाबी गरेको पीडितमध्येका कृषक प्रेम सिग्देलको गुनासो छ । गत वर्ष वैशाखमै आवश्यक कागजात पूरा गरी भुक्तानी माग गर्दा कम्पनीका कर्मचारी सम्पर्कमा आउनै नचाहेको उनको दाबी छ । लामो समयसम्म बीमा दाबी भुक्तानी नपाएपछि जिल्ला कृषि विकास कार्यालय मार्फत बीमा कम्पनीमा तागेता गर्दा पनि कम्पनीले सुनुवाइ नगरेको उनीहरुको आरोप छ । कृषकको बीमा दाबी भुक्तानी नभएपछि आफूले इलाम स्थित नेको इन्स्योरेन्स कम्पनीको कार्यालयमा गएर तागेता गर्दा त्यहाँ पुगेका फाइल भुक्तानी प्रक्रिया अगाडि नबढाइ थन्क्याएर राखेको भेटिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउँछन् । बीमा दाबी भुक्तानी माग गरेको १५ महिना बित्न लाग्दासम्म कम्पनीले प्रक्रिया अगाडि नबढाएपछि कृषकको बीमा प्रतिको आकर्षण नै घट्न थालेको उनको भनाइ छ । यता नेको इन्स्युरेन्सको इलाम स्थित शाखा प्रमुख प्रतिमा घिमिरे किसानबाट प्राप्त बीमा दाबी भुक्तानीका फाइल केन्द्रीय कार्यालयमा पठाउन ढिलाइ भएको स्वीकार्दै अब बढीमा एक हप्ता भित्रमा कृषकले रकम प्राप्त गर्ने जानकारी दिए । रासस

आइतबारदेखि मुग्लिङ-कुरिनटार क्षेत्रमा विद्युत् आपुर्ती नहुने

चितवन। चितवनको मुग्लिङ र कुरिनटार क्षेत्रमा तीन दिन विद्युत् आपुर्ती नहुने भएको छ । मध्यमस्याङदी-डुम्रे-दमौली १३२ केभी प्रशारण लाईन आयोजनाले एक विज्ञप्ती जारी गर्दै चितवनको मुग्लिङ, कुरिनटार क्षेत्र, तनहुँको आबुखैरहनी गाउँपालिकाको सम्पूर्ण स्थान, गोरखा जिल्लाको सदरमुकामलगायत आबुखैरहनी सवस्टेशनको गोरखा फिडरबाट प्रशारण हुने सम्पूर्ण क्षेत्रमा तीन दिन दिउँसोको समयमा विद्युत् आपुर्ती बन्द हुने जनाएको हो । आयोजनाका सहायक प्रशासकिय अधिकृत विष्णुराज लोहनीले मध्यमस्याङदीदेखि तल्लो मस्याङदीसम्म १३२ के.भी.प्रशारण लाईन दोस्रो सर्किट निर्माण कार्य अन्तिम अवस्थामा पुगेकोले दमौलीबाट प्रशारण भएको ३३ के.भी.प्रशारण लाईन डुम्रे सवस्टेशनबाट बन्द गरि मार्किचोक एरियामा कार्य गर्नुपर्ने भएकाले मुग्लिनलगायतका विभिन्न क्षेत्रमा भोलि साउन १५ गतेदेखि १८ गते सम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रमा विद्युत् आपुर्ती बन्द हुने जानकारी दिएका हुन् ।