काठमाडौंका दुई रुटमा मोनो रेल बनाउन सिफारिस, प्रति किलोमिटर साढे पाँच अर्ब लागत
काठमाडौं । राष्ट्रिय योजना आयोगले काठमाडौंका दुई वटा रुटमा मोनो रेल बनाउन सिफारिस गरेको छ । योजना आयोगको पूर्वाधार हेर्ने सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानको अध्ययन समितिले कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म र महाराजगञ्ज, रत्नपार्क, जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म सञ्चालन हुने गरि २ वटा रुटमा मोनो रोलको डिपिआर निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो । ‘१ नम्बर र २ नम्बर रुटमा मोनो रेल निर्माण गर्न सकिने सम्भावना देखियो, डिपिआर निर्माणका लागि नीतिगत निर्णय गर्न र मोनो रेल निर्माणका लागि वित्तिय श्रोत जुटाउनका लागि बृहत छलफल अघि बढाउन सुझाव दिएका छौं’, अध्ययन समितिका संयोजक तथा योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानले विकासन्युजँसग भने । यात्रु आवागमन, सडक पुर्वाधार र लगानी उठाउने सम्भावना लगायतका पक्षको आधारमा ती दुई रुटमा मोनो रेल निर्माण गर्न सकिने निष्कर्षमा पुगिएको प्रधानले बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका), कोरियाली कम्पनी र रेल विभागले यस अघि गरेका सम्भाव्यता अध्ययनहरुलाई समेटेर प्रधान नेतृत्वको समितिले रिपोर्ट तयार पारेको हो । समितिले रिङ रोडमा भने मोनो वा मेट्रो दुबै रेल निर्माण गर्ने सम्भावना नभएको निष्कर्ष पनि निकालेको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि मेट्रो रेल, मोनो रेल र फ्लाई ओभर निर्माणबारे अध्ययन थालेपछि आयोगले दुबै महानगरका प्रमुखलाई बोलाएर छलफल पनि गरिसकेको छ ।‘पुर्वाधार निर्माणका कार्यक्रममा डुब्लिकेशन नहोस भनेर दुबै महानगरका प्रमुखसँग छलफल गरेका छौं, अब कार्यक्रममा डुब्लिकेशन हुँदैन, मेट्रो वा मोनो रेल जे बनाउने हो त्यसको एकिकृत रोडम्याप अनुसार काम हुन्छ’, प्रधानले भने । सम्भाव्यता अध्ययनका क्रममा मोनो रेलको निर्माण लागत प्रति किलोमिटर साढे पाँच अर्ब(५१.५३ मिलियन डलर) लाग्ने प्रक्षेपण गरिएको छ । प्रति घण्टा ८० किलोमिटर दौडने सो मोनो रेलमा रबरबो टायर प्रयोग हुनेछ । मोनो रेलको एउटा प्याक्स(कार)ले प्रतिदिन ३० हजार यात्रु बोक्न सक्नेछ । १ नम्बर रुटको मोनो रेलले सन २०१९ मा दैनिक एक लाख ५८ हजार यात्रु पाउने प्रक्षेपण गरिएको छ भने सन २०४९ मा पुग्दा त्यो संख्या बढेर २ लाख ८१ हजार पुग्ने अनुमान छ । २ नम्बर रुटको मोनो रेलले भने सन २०१९ मा १ लाख १६ हजार यात्रु पाउनेछ भने त्यो संख्या सन २०४९ मा पुग्दा २ लाख ८३ हजार हुने अनुमान छ । १ नम्बर रुट १२ दशमलब १० किलोमिटरको हुनेछ भने २ नम्बर रुटको लम्बाई ११ दशमलब १५ किलोमिटर हुनेछ । आयोगले तयार पारेको रिपोर्टलाई लगानी बोर्डमा पठाइनेछ । लगानी बोर्डले त्यसलाई मन्त्रि परिषदमा लगेर डिपिआर निर्माणको प्रक्रिया अघि बढाउनेछ ।
टेलिकमको ३ जलविद्युत आयोजनामा लगानी
काठमाडौं । दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३ वटा जलविद्युत कम्पनीमा लगानी गरेको छ । सरकार स्वामित्वको टेलिकमले आफनो लगानीलाई विविधिकरण गरी निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा लगानी गरेको हो । यस्तै टेलिकमले नेपाल विद्युत विकास कम्पनीमा पनि लगानी गरेको छ । विद्युत् विकासमा १० प्रतिशत लगानी गरेको छ । माथिल्लो तामाकोसीमा ६ प्रतिशत अर्थात ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । निर्माणको तयारीमा रहेको त्रिशुली ३ बीमा ३० प्रतिशत लगानी गरेको छ । यस्तै जलविद्युत विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको उनले जानकारी दिइन् । माथिल्लो तामाकोसीको ९० प्रतिशत काम सकिएको छ । अब १० प्रतिशत मात्र काम बाँकी छ । आउदो ०७५ को असारसम्म पाँच मध्ये एउटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । बाँकी ४ वटा युनिट सोही वर्षको मंसिरसम्म सञ्चालनमा ल्याउने प्रवद्र्धक अपर हाइड्रोपावर लिमिटेडको तयारी छ । यस्तै त्रिशुली ३ बी आयोजनाको सिभिल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउदो कात्तिकदेखि आयोजनाको सिभिल निर्माण सुरु हुने त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा हुने विद्युतभार कटौतीका साथै भारतबाट बिजुली आयात बन्द हुने छ ।
डलर कमजोर, नेपाली रुपैयाँ मजवुत बन्दै
काठमाडौं । केही दिनयता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ डलर बराबर १०२ रुपैयाँ ९५ पैसा तोकेको छ । केही साताअघि १ डलर बराबर १०४ रुपैयाँ थियो । भारतीय रुपैयाँ मजवुत भएपछि यसको सकरात्मक प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि १ डलर बराबर ६९ भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि १११ रुपैयाँसम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । गत पुससम्म १ डलर बराबर औसत १०६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ १२ पैसा थियो । डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत जेठसम्म उपभोक्ता मूल्यवृद्धि ३ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । डलर मजवुत हुदा निकासीकर्ता र रेमिटेयान्स पठाउनेलाई फाइदा हुन्छ ।
नेप्से ९ अंकले उक्लियो, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबार नेप्से परिसूचक ९ दशमलब ४१ अंकले उकालो लागेर १६५२ दशमलब ६९ अंकमा पुगेको छ । बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार ५ कम्पनीका सेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन् । सो दिन नेशनल फाइनान्स वित्तिय संस्थाको र तारागाउँ रिजेन्सि होटल दुबै संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन डिस्टिलरी, श्री इन्भेष्टमेन्ट फाइनान्स र ओरियन्टल होटलको सेयर मूल्य ९.९५, ९.९१ र ९.८९ प्रतिशतले बढेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा बैंकको ४ करोेड ५१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९७ रुपैयाँ रहेको छ ।
घर बनाउँंदै हुनुहुन्छ ? क्यान्सर होला नि !
काठमाडौं । सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइकासाथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसका लागि विभागले सवै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो । भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानीनोक्सानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जनाए । विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको जनाए । एस्बेष्ट्स् भन्नाले निर्माण सामाग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो । दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ । तर छिमेकी मुलुक भारतमा भने पूर्ण बन्देज छैन । भारतबाटै यहाँं यस्ता निर्माण सामाग्री भित्रिने गर्दै आएको छ । अमेरिकामा तीसवर्ष अगाडि नै एस्बेष्ट्स्लाई प्रतिवन्ध लगाए पनि अहिले पनि क्यान्सर रोगको मुख्य कारण एस्बेष्ट्स् रहेको अमेरिकास्थित एस्वेट्स् रोग सचेतना संगठनले जनाएको छ । सन १९७९ मा एस्बेष्ट्स्लाई मार्गनिर्देशन जारी गरे पनि तत्पश्चात ४५ हजार अमेरिकनहरु एस्बेष्ट्स्सँंग सम्वन्धित रोगले मृत्यु भएको मेसोथेलोमिया बेवसाइटमा उल्लेख छ । नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट वोर्ड, रुफिग वोर्डलगायत अन्य निर्माण सामाग्रीमा हुने एस्बेष्ट्स्सँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ । यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा मिश्रले बताए । स्वदेशमै एस्बेष्ट्स् नभएको निर्माण सामाग्री पनि उत्पादन हुँंदै आएको छ ।
कर्णाली नदी नियन्त्रण आयोजनाको ४० प्रतिशत काम पूरा, २७ करोडको लगानी
बर्दिया। कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएको बताए । आयोजना प्रमुख खत्रीले रु २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेन्डर भएकामा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएका जानकारी दिए । कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भनिए पनि बर्षेनी ३० करोड रुपैयाँ जति मात्र रकम आउने गरेकाले लक्ष्यअनुरुप आयोजनाले गति लिन नसकेको बताइएको छ । आयोजना प्रमुख खत्रीका अनुसार वार्षिक रु ६० करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन वर्षमा ४० प्रतिशत काम पूरा गरेको बताउँदै आयोजना प्रमुख खत्रीले अब बाँकी २ वर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको उल्लेख गरे। कर्णाली नदी नियन्त्रण आयोजनाअन्तर्गत कर्णाली नदीको बाढी आउन सक्ने सम्भावित क्षेत्र गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरी १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ । पाँच वर्षीय गुरुयोजनाअनुसार रु ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दै आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर बरुणकुमार कर्णले बताए । रासस
कोकाकोला र आईसेकबीच सम्झौता, बुटवलमा युवा वक्ता फोरमलाई संदेश प्रदान
काठमाडौं । कोकाकोला र एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक) बीच सम्झौता भएको छ । कोकाकोला लुम्बिनीसँगको सहकार्यमा यो वर्षको यूवा स्पीक फोरम यहि साउन १४ गते आयोजना गरेको छ । युवा आवाज सुनिनुपर्ने लक्ष्यका साथ, कोकाकोलाका देशिय बजार प्रबन्धक गौरव रामदेवले मुख्य वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गरे । एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक)युवाद्धारा संचालित विश्वको सबैभन्दा ठूलो गैर नाफामुलक संस्था हो । जसले एक लाखभन्दा बढि युवाहरुलाई उनीहरुको नेतृत्वदायी संभावनाका लागि सक्रिय बनाउँदै आएको छ । देशभरका युवाहरुसँग सम्बन्ध बढाउने पाटोको रुपमा, कोकाकोलाले नेपाल र यो क्षेत्रमा आईसेकलाई सहयोग गरेको हो, आईसेकलाई समर्थन गर्दै क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरु आगामी दिनहरुमा युवा नेतृत्वहरुलाई सहभागीता गराउने र अन्तरक्रिया गराउने माध्यमको रुपमा रहेको छ । सन् २०१६ मा, कोकाकोला नेपालले एशिया प्यासिफिकका २० मुलुकबाट आएका युवाहरु सम्मिलित एशिया प्यासिफिक लिडर समिटलाई कोकाकोलाले नेपालमा सहयोग गरेको थियो, जसमा युवा, विकास व्यवसायीक व्यक्तित्व, व्यवसायीक नेतृत्वहरुलाई समाजिक परिवर्तनको अभियन्ताको रुपमा लैजानका लागि एक आपसमा छलफल चलाएको थियो । यो वर्ष आईसेक लुम्बिनीको च्याप्टरले करिब २०० सदस्यहरु र युवाहरुलाई सबै जिल्लाहरुबाट संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट गोलको बारेमा छलफल गराएको थियो । र सो लक्ष्य प्राप्त गर्न युवाहरुले के गर्न सक्दछन् भन्ने बारेमा कुराकानी भएको थियो । मुख्य वक्ताको रुपमा, रामदेवले कोकाकोलामा भएको आफ्नोे अनुभवलाई बाँड्नु भएको थियो । उनले लाखौं युवाहरुलाई उत्प्रेरित गर्ने अवस्थाको बारेमा बताए भने आशावादि हुन, हल्लाहरु भन्दा बाहिर उठ्न, समयक्रम सँगै परिवर्तन हुन, हरेक विषयमा लगाव कायम गर्न र आफ्नो मनपर्ने व्यक्तिहरुसँग आफ्ना भावनाहरु साट्नका लागि उत्साहित गरेका छन् । रामदेवले भने, ‘यो सहकार्यका साथमा, हामी नेतृत्वदायी सिपको बारेमा हामी आगामी दिनमा युवाहरुसँग विभिन्न श्रृंखलामा छलफल चलाउँदै ठोस सम्बद्ध हुन चाहन्छौं । वर्तमानको उच्च प्रतिस्पर्धी विश्वमा जिवन जिउन र समृद्धि हासिल गर्न युवावस्ताका मानिसहरुका लागि निकै कठिन समय हो ।’ अन्य वक्ता सोनम श्रेष्ठ, एफपानका केन्द्रिय युवा वक्ता लगायतले लैंगिक समानताको बारेमा संवेदनशिल विषयहरुको बारेमा उठान गरेका थिए । विशम ज्ञवाली, युवा कार्यक्रम अधिकृत र यूएनडिपीका एसडिजी एडभोकेट, विशाल श्रेष्ठ आइक्यान आईएलटीएसका एमडि, र अभिशेक मास्के, आरजे, किंग्स कलेमा ब्राण्ड एण्ड रिलेसनसिप म्यानेजरले नेपालमा गुणस्तरिय शिक्षालाई पुर्न परिभाषित गर्नुपर्ने आवश्यकताको बारेमा बोलेका थिए ।
सामसङ क्यूलेड टिभि नेपाली बजारमा, खरिदमा ग्यालेक्सी एस८ र एस८ प्लस मोबाइल
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमानआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएको छ । क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देखिने, क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ र यसमा प्राप्त भएको केवल एकरिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ । क्युलेड टिभि हाल दुई मोडलमा उपलब्ध छन् । क्यिूए५५क्यिू७ मोडलको सुरुवातीमूल्य ४ लाख ५० हजार र क्यिूए६५क्यिू८को सुरुवाती मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ । बुकिङ् अफरमा सुरुवाती मूल्यको साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि क्यिूए५५क्यिू७ मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस८ र क्यिूए६५क्यिू८को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने छ ।