विकासन्युज

स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि बुक क्लोज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि मंसिर १५ बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी मंसिर १५ गते आफ्नो १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले ३१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव लैजाँदै छ ।

अनलाइन सेयर कारोबार २०७५ साल जेठपछि मात्रै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन सेयर कारोबार २०७५ साल जेठबाट मात्रै आरम्भ हुने स्पष्ट पारेको छ । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँदले मंगलबार पत्रकार सम्मेलन मार्फत २०७५ जेठ अघि अनलाईन सेयर कारोबार सम्भव नभएको स्पष्ट पारेका हुन् । ‘यो अन्त्यन्तै प्राबिधिक र जटिल काम हो, केहि समय अदालतको मुद्धा मामिलाले पनि अड्कायो, अब २०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परिक्षण आरम्भ हुन्छ’, साउनले पत्रकार सम्मेलनमा भने । यस अघिका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले आज अर्थात कात्तिक २१ देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए । अदालतले मुद्धा टुंगो लगाएपछि नेप्से सञ्चालक समितिले २०७४ साल बैशाख ६ गतेदेखि लागु हुनेगरि १४ महिनाभित्र अनलाइन सेयर कारोबारको सिस्टम उपलब्ध गराउनुपर्ने समझौता वाइसिओ प्रालीसँग गरेको थियो । सो सम्झौता अनुसार भारतीय कम्पनीले आगामी जेठ महिनाभित्रै अनलाइन सेयर कारोबारको प्रणाली उपलब्ध गराउनेछ भने नेप्सेले परिक्षण कारोबार आरम्भ गर्नेछ । अनलाइन सेयर कारोबारका लागि नेप्सेले सफ्टवेयर निर्माण कर्ता कम्पनीलाई १६ वटा मोडलको सूचि उपलब्ध तयार पारेको छ । सोमध्ये हालसम्म् ६ वटा मोडलको सूचि दिईसकिएको नेप्सेले जानकारी दिएको छ । बाँकी १० वटा मोडल भने केहि समय भित्रै क्रमशः उपलब्ध गराउँदै जाने र सोही अनुसार सफ्टवेयर निर्मार्ता कम्पनीले तयार पर्ने बताईएको छ । नेप्सेले अनलाइन सेयर कारोबारका लागि आवश्यक पर्ने हार्डवेयर भने प्राप्त गरिसकेको छ । नेप्सेले गैर आवासिय नेपालीहरुलाई सेयरमा लगानी गर्ने वातावरण बनाउने, मार्जिन कारोबारका लागि सहजीकरण गर्ने, समयमै साधारण सभा नगर्ने सूचिकृत कम्पनीहरुलाई साधारण सभा गर्न लगाउने लगायतका योजना अघि सारेको छ । त्यस्तै, निर्जिवन बीमा र जीवन बीमा कम्पनीको परिसूचक छुट्याउने योजना बनिरहेको पनि प्रमुख कार्यकारी अधिकृत साउँदले जानकारी दिए । नेप्सेले केहि दिन अघि मात्रै विकास बैंक समुहबाट लघुवित्त कम्पनीहरुलाई अलग गरेर छुट्टै परिसूचक बनाएको थियो ।

सिटिजन्स बैंकको ६६औं शाखा महोत्तरीको औरहीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । मंगलबार यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोबारको सुरुवात गरेका हुन् । हाल यस बैंकको ६६ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका छन् ।

सिजी मोबाइलका दुई नयाँ मोडल सार्वजनिक, धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने

काठमाडौं । सिजी मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो फिचर फोन बिधामा दुई नया“ मोडलहरु थप गरेको छ । अस्ट्रो मेरोको सफलता पछि सिजी मोबाइलले “अस्ट्रो मेरो प्लस” र “अस्ट्रो पीएल” नामक दुई मोडलका मोबाइल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । अस्ट्रो मेरो प्लसमा डिजिटल क्यामेरा, एफएम, टर्च, जिपीआरएस, एमपी३/एमपी४ १००० एमएएच ब्याट्री रहेको छ । यस मोडलको बजार मूल्य जम्मा ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यसैगरी, नयाँ ल्याइएको अस्ट्रो ५एलमा पनि बिभिन्न आर्कषक फिचरहरु छन् । जस्तै, वाइरलेस एफएम, फ्ल्यास भएको डिजिटल क्यामेरा, एमपी३/एमपी४, टर्च, ब्यिुटुथ, १८०० एमएएच ब्याट्री रहेको छ । साथै, कम्पनीका अनुसार यसको बजार मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।

सेयर बजार निरन्तर ओरालो, ब्रोकर मार्जिन कर्जाले पनि छोएन

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो । साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले ओरालो लागेर १४८४ अंकमा अडेकाे छ । सो दिन १५९ कम्पनीको जम्मा ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कुल ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ट्रेनिङ समूहको परिसूचक सामान्य अंकले हरियो भएको छ भने कारोबार भएका अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४९.७३ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् । त्यस्तै, बैंकको ब्याजदर बढी भएपछि लगानी आउन नसकेकाले सेयर बजार घटेको भन्ने बुझिन्छ । साथै, अब आउने चुनाव पछि बामपन्थी गठबन्धन सरकार बन्ने सम्भावना भएपछि लगानीकर्ता डराएका छन् जसको प्रभाव बजारमा पुग्न गएको भन्ने अनुमान गर्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दै, चीनले करिब २१ अर्ब ऋण दिने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीर्व रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप-प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गरेका थिए । चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस

बिहीबार ५ अर्बको ऋणपत्र आउदै, ८ वर्षमा सावाँ फिर्ता हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ “ख” बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । साँवा फिर्ता ०८२ कात्तिक २४ गते फिर्ता हुने छ । ब्याज प्रत्येक ६ महिनामा दिने छ । सरकारलाई विकास कार्यक्रम सञ्चालनका लागि राष्ट्र बैंकमार्फत विकास ऋणपत्र निष्कासन हुन लागेको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरको छ । जसअनुसार विकास ऋणपत्र उपकरणबाट मात्र ७२ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ ।  

ललितपुरको लबिम मलमा ‘वाइवाइ सिटी’ को आउटलेट

ललितपुर । चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याएको छ । ग्रुप अन्तर्गतको सि.जी. रिटेल प्रा.लि. ले ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेष्टुरेन्ट (क्यूएसआर)का रुपमा ‘वाइवाइ सिटी’ को आउटलेट सञ्चालनमा ल्याएको हो । उक्त आउटलेटको उद्घाटन ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले गरेका हुन् । कार्यक्रममा प्रवन्ध निर्देशक चौधरीले नेपालमा मात्र नभएर विदेशमा समेत सर्वाधिक रुचाइएको वाइवाइ चाउचाउलाई विभिन्न स्वाद तथा आकर्षक ढंगले पस्किन ‘वाइवाइ सिटी’ सफल हुने विश्वास लिएका छन् । भारत र नेपालमा गरी ‘वाइवाइ सिटी’ का १४ ओटा आउटलेट रहेका छन् । भारतको दिल्ली, सिलिगुडी, चण्डीगढ, हैदराबाद, कोलकाता, चेन्नाई, पुणे लगायतका सहरमा सञ्चालित ‘वाइवाइ सिटी’ निकट भविष्यमा नेपालको इटहरी, धरान, भरतपुर, पोखरा, विराटनगर, विर्तामोड तथा भारतको आग्रा, लखनउ, मुम्बई, देहरादुन लगायतका सहरमा सञ्चालनमा ल्याउने योजना रहेको छ । यस बाहेक आगामी पाँच वर्षमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया तथा मध्यपूर्वी देशहरुमा एक हजार पाँच सय ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याउने योजना कम्पनीले लिएको छ । ‘वाइवाइ सिटी’ मा क्लासिक, चप्सी, रोस्टेड र प्यान फ्राइड गरी चार थरीका चाउचाउका साथ सोय गार्लिक, कुङपाउ, मसाला फ्युजन, हट गार्लिक, पेपर सोया, स्पाइसी तेरियाकी, सेज्वान चिली गरी सातवटा स्वादमा सस, अठार थरी ताजा सागसब्जी, दश थरी टपिङ तथा पाँच थरी एड अन बाट छनोट गरी आफूले रुचाएको स्वादमा बनाएका परिकारको स्वाद चाख्न पाइने विज्ञप्तिमा जारी छ ।