विकासन्युज

दुई सातामा तरलता २३ अर्ब घट्यो, मंगलबार राष्ट्र बैंकले बजारबाट ५० करोड उठाउदै

काठमाडौं । दुई साताको अवधिमा बैंकिङ प्रणालीबाट लगानीयोग्य पुँजी (तरलता) २३ अर्ब रुपैयाँ घटेको छ । कात्तिक १५ गते बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ तरलता भएकोमा घटेर २० अर्ब रुपैयाँ सीमित भएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । पछिल्लो समयमा तरलता घटेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेलाई बताइन् । उनकाअनुसार बैंकिङ प्रणालीमा अझै २० अर्ब रुपैयाँ तरलता भएपछि राष्ट्र बैंकले मंगलबार ५० करोड रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैकले एक साताका लागि बोलकबोलबाट तरलता प्रशोचन गर्ने भएको हो । रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले बजारबाट ७ साताका लागि उठाउन लागेका हो । मंसिर ५ गते उठाएको रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७७ प्रतिशत माथि नै रहेको देखिएको छ । थप निक्षेप नआएमा बैंकिङ प्रणालीमा तरलता अभाव हुने देखिएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह वृद्धि रोकिएकाले बैंकलाई तरलता व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकमा तरलता कसिलो हुदै गएको छ । राष्ट्रिय वाणिज्यको सीसीडी रेसियो ६५ प्रतिशत हारहारीमा छ । साउनयता बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुदै गएकोमा पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता कम हुदै गएको देखिएको छ । भदौ २९ गते ७० अर्ब रुपैयाँ तरलता रहेकोमा लगातार घटदै गएको छ । बैंकको कर्जा लगानी पनि बढ्दै गएको देखिएको छ । तरलताको अवस्था तलमाथि भइरहने गरेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।  

गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् । ‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् । त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ । को हुन् होमनाथ, दीपक र संजीव रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् । हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।

एनबीआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई विभिन्न तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट(एनबीआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैंकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु, कर्भ टिभीहरु मूख्य आकर्षणमा

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिभी ब्राण्ड टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु भएको छ । उक्त प्रदर्शनी भक्तपूरबाट शुरुवात हुँदैछ । उक्त प्रदर्शनमा टीसीएलका कर्भ टिभीहरुलाई मूख्य आकर्षण बनाइएको छ । उक्त कर्भ टिभीहरुको नेपाली बजारमा माग बढ्दै गएको कम्पनीले जनाएको छ । जुनसुकै एङगलबाट पनि हेर्न सकिने उक्त कर्भ टिभी बजारमा शुलभ मूल्यमा खरिद गर्न सकिन्छ । एलइडि टिभीहरुको लागि विश्वकै तेस्रो ब्राण्ड टीसीएलले नयाँ आयाम र उत्पादनहरुको डिजाई थप्दै सधैं अग्रसर रहने गरेको छ । नेपालका लागि चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स टीसीएल ब्राण्डको आधिकारी बिक्रेता रहेको छ ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षको तलब पाँच लाख बढी, विद्यार्थी संगठनलाई बाढिन्छ वार्षिक डेढ करोड

काठमाडौं । नेपाल इन्जिनियरिङ क्याम्पसका अध्यक्ष लम्बोदर न्यौपानेले गरेको मनपरीतन्त्रको नयाँं प्रमाण फेला परेको छ । अध्यक्षसहित सञ्चालक रामरत्न उपाध्याय, लवराज भट्टराई र उपेन्द्र गौतम गरी चार जनाले विद्यार्थी तथा कलेजलाई गरेको विश्वासघात र गद्दारीको नयाँं प्रमाण फेला परेको हो । नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिको आकस्मिक विशेष बैठक भनेर सात वटा गुप्त निर्णय भएको थाहा भएको हो । यी निर्णयहरु अन्य सञ्चालकहरुबाट आजका दिनसम्म पनि लुकाइएका छन् । कलेज सञ्चालक समितिका सदस्य सलिल भट्टराईका अनुसार निर्णयहरुमा कलेजमा रहेका विद्यार्थी संगठनहरुलाई अनैतिक रुपमा बाँड्न कलेजबाट वार्षिक १ करोड ५० लाख रुपैयाँ झिकी सो खर्चको फाँटबारी तथा भरपाई अध्यक्षले पेश गर्नु नपर्ने निर्णय रहेको छ । सो खर्चका लागि कलेजले दिएको विभिन्न छात्र वृद्धीको कटौती गर्ने निर्णयमा उल्लेख छ । अध्यक्षको कर कट्टा गरेपछिको मासिक तलब ५ लाख रुपैयाँ र सञ्चालकहरुको मासिक तलब १ लाख २५ हजार रुपैयाँ भनी आफुखुशी निर्णय गरिएको पाइएको छ । माथी उल्लेखित सञ्चालकहरुले थप रकम पनि लिने निर्णय गरिएको छ । सो हिसाबले अध्यक्षको कुल तलब ६ लाख ७५ हजार ६ सय ७५ रुपैयाँ र सञ्चालकहरुको तलब १ लाख ६८ हजार ९ सय १८ रुपैयाँ हुन्छ । ३ जना सञ्चालकहरुको सो भन्दा अझै बढी तलब छ । कलेजका प्राचार्य तथा उपप्राचार्यलाई तलब बढाउनुको सट्टा विविध खर्च भनेर मासिक १० हजार अध्यक्षले आफु खुसी दिने निर्णयामा उल्लेख छ । कलेजले अध्यक्षलाई अष्ट्रेलिया जानआउन वार्षिक ३ पटक (६ वटा) प्लेन टिकेट र अध्यक्षकी पत्निलाई अष्ट्रेलियाबाट आउनजान वार्षिक २ पटक (४ वटा) प्लेन टिकेट दिने निर्णयमा उल्लेख छ । अध्यक्ष लगायत सञ्चालकहरुको तलब भत्तालाई चाहिने रकम लेखाबाट लुकाउन कलेजको चलन चल्तिमा रहेको खाताको प्रयोग नगरी यिनै ४ अध्यक्ष तथा सञ्चालकहरुको सहीले चल्ने नयाँ खाता खोली पैसा बाँड्ने निर्णयमा उल्लेख छ । कुनै बेला कलेजमा विद्यार्थीसँग उठाउन बाँकी रकम १५ करोड रुपैयाँ रहेको व्यहोरा उल्लेख गरिएको छ । सो रकम उठाउन विद्यार्थी संगठनहरुसँग समन्वय गरी सो रकम को १५५ वा २ करोड २५ लाख रुपैयाँ खर्च गर्ने र सो खर्चको फाँटबारी पेश गर्नु नपर्ने समेत निर्णय गरेको उल्लेख छ । पटके रुपको २ करोड २५ लाख रुपैयाँ बाहेक वार्षिक १ करोड ५० लाख रुपैयाँको मात्रैको आधारमा सो रकम गत ४ वर्षमा कुल ६ करोड रुपैयाँ पुगेको हुनुपर्छ । ६ करोड र अध्यक्षले लिएको २ करोड २५ लाख रुपैयाँ गरि कुल ८ करोड २५ लाखले ७० जना विद्यार्थीले छात्र वृद्धीमा पढ्न पाउँथे । निशुल्क अध्ययन कोटा तथा नगद सहयोगको कटौती गर्नुनपर्ने भट्टराईले बताए  । आर्थीक बचत सबै अध्यक्षको बैंक एकाउन्टमा पुगेको रहेछ । गत १ आर्थिक वर्ष देखी मात्रै अध्यक्षको नाममा कलेजबाट  ७ करोड ६१ लाख रुपैयाँभन्दा धेरै रकम झिकिएको उनले जानकारी दिए । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुर मुनाफारहित रुपमा सञ्चालनमा ल्याउने गरी सामाजिक संस्था दर्ता अनुसार सञ्चालित कलेज हो । तर पछिल्ला वर्ष अध्यक्षलगायतले बदमासी गरी निजीकरण गर्न खोजिंदै आएको भट्टराईले जानकारी दिए ।

तराई डुबानमा बग्यो ६१ अर्ब, पुनर्स्थापनाका लागि ७३ अर्ब खर्चने योजना

काठमाडौं । सरकारले गत साउनमा आएको बाढीबाट करिब ६१ अर्ब रुपैयाँ बराबरको क्षति भएको आंकलन गरेको छ । राष्ट्रिय योजना आयोगले सोमबार पत्रकार सम्मेलन गरी ६० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको अनुमानित विवरण सार्वजनिक गरेको हो । यो क्षति नेपालको कूल गार्हस्थ उत्पादनको करिब ३ प्रतिशत हो । सबैभन्दा बढी क्षति आवास, सिंचाइ, पशुपंक्षी तथा अन्नबालीमा भएको आयोगले जानकारी दिएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा सामान्य प्रभाव पार्ने भएपनि स्थानीय अर्थतन्त्रमा भने ठुलो प्रभाव पारेको आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । आयोगले गत साउन २७ देखि ३० सम्म बाढीका कारण देशभरका विपत्ति प्रभावित १८ वटा जिल्ला तथा ९ वटा क्षेत्रहरुमा फिल्ड अफिसले संकलन गरेको तथ्यांकमा आधारित उक्त क्षेत्रको पुन: स्थापनाका आवश्यकताको मूल्यांकन गरेको थियो । ९ वटा क्षेत्रमा समाजिक क्षेत्र अन्तर्गत  आवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रहरु अन्तर्गत कृषि, पशुपालन र सिचाँइ र, पूर्वाधारका क्षेत्र अन्तर्गत यातायात, खानेपानी सरसफाइ र उर्जा पर्दछन् । पुनस्थापनाका लागि ७३.२२ अर्ब खर्च लाग्ने राष्ट्रिय योजना आयोगले आगामी २-३ वर्षको अवधिमा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने अनुमान गरेको छ । पुनस्थापनाको रकम उच्च देखिएपनि पुनस्थापना कार्यक्रमको व्यवस्थित योजनाले वित्तीय रुपमा पनि व्यवहारिक र खर्च धान्न सकिने रहेको आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष वाग्लेले सबै सरोकारवाला निकायको साझा प्रयासमा कार्यक्रमले पूर्णता पाउन सम्भव रहेको बताएका छन् । उनले विगतमा भूकम्पपीडितका लागि जस्तो दाता सम्मेलन गर्ने तयारी नरहेको जानकारी दिए । उनले भने, ‘विश्वव्यापीरुपमा पुन स्थापना कार्यक्रमको महत्वपूर्ण पक्ष के हो भने यो कार्यक्रम सरकारले मात्र गरेर हुँदैन । विकास साझेदार, गैर सरकारी संस्थाहरु र निजी क्षेत्रले पनि यो अभियानमा आफ्नो स्रोत ल्याउँछन् ।’ मन्त्रिपरिषदको निर्णयानुसार सुमनलाल कर्णको नेतृत्वमा राष्ट्रिय पुन निर्माण प्राधिकरणमा बाढी पीडितका लागि पुनस्थापना विशेष इकाइ समेत गठन गरिएको छ ।

एनआईसी एसियाले ल्यायो अनलाइन बचत खाता, शुन्य मौज्दात मै खोल्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले “एनआईसी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । यस अनलाइन बचत खाता देश तथाविदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो । शुन्य मौज्दात मै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ । अनलाइन बचत खाताको सुरुवात सँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकले १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको म्याद थप

माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको म्याद थप काठमाडौ । सरकारले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको समय थप गरको छ । माथिल्लो कर्णालीका लागि १ वर्ष र अरुण तेस्रोका लागि ६ महिना म्याद थप गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको २८ औं बोर्ड बैठकले दुबै आयोजनाको म्याद थपका निर्णय गरेको हो । आयोजना विकास सम्झौता (पीडीए) अनुसार सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन ढिलाइ गरेको र जग्गा अधिग्रहमा भएको बिलम्बका कारण आयोजनका काममा ढिलाइ भएको भन्दै ९ सय मेगावाट क्षमताको कर्णालीको प्रवद्र्धक जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेड र ९ सय मेगावाटको अरुण तेस्रोको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले म्याद थपका लागि लगानी बोर्डमा प्रस्ताव गरेका थिए । जीएमआरले आगामी असोजको पहिलो सातासम्म लगानी जुटाइ आयोजना निर्माणको चरणमा पुर्याउनु पर्ने छ । यस्तै एसजेवीएनको समय आउदो चैतको दोस्रो सातासम्म थप भएको छ । अरुण तेस्रोको प्रवद्र्धक एसजेवीएनले आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाइ सकेको छ भने माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले लगानी जुटाउन बाँकी छ । सरकारले वनको जग्गा दिन ढिलाइ गर्दा आयोजनाको काम प्रभावित भएको हो । एसजेवीएनले लगानी जुटाइसक्दा पनि वनको जग्गा नपाउदा काम सुरु गर्न सकेको थिएन् । यस्तै माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले जग्गा अधिग्रहको काम सुरु गरी रकम भुत्तानीको काम पनि थालेको छ ।