नेप्से सामान्य अंकले घट्दा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य १.९० अंकले ओरालो लागेर १५२.८७ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा ५७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १० लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५.२० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशत गुमाएका छन् । मंगलबार बीमा समूहको परिसूचक २७ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, उत्पादनमूलक र ट्रेडिङ समूहका परिसूचक क्रमशः ६.६१, ३.२२ र ०.०९ अंकले उकालो लागेका छन् । अन्य बाँकी समुहको परिसूचक भने राताम्मे भएका छन् ।
१ सातामा २७ प्रतिशतले सस्तियो प्याज, भारत : ‘प्याजको भाउ १५-२० दिनमा घट्छ’
काठमाडौं । ६ दिनमा प्याजको भाउ २७ प्रतिशतले सस्तिएको छ । भारतमा क्रमिक रुपमा प्याजको भाउमा सुधार आउदा नेपाली प्याज बजार पनि प्रभावित भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले थोक बजारमा प्याजको भाउ प्रति किलो ८९ रुपैयाँमा किनबेच भइरहेको छ । गत विहीबार प्याजको भाउ प्रति किलो ११६ रुपैयाँ पुगेको थियो । आन्तरिक बजारले नधान्ने नेपालमा प्याज भारतबाट आयातमा निर्भर रहेको छ । करिब ९९ प्रतिशत प्याज भारतबाट आयात हुनेगरेको छ । ‘१५–२० दिनमा घट्छ‘ प्याजको भाउ १५-२० दिनमा घट्ने भारतको कृषि मन्त्रालयले जानकारी दिएको छ । भारतीय कृषि सचिव एसके पट्टानायकले आगामी २० दिनमा प्याजको भाउ घट्ने सम्भावना रहेको जनाएका छन् । पिटिआईसँग कुरा गर्दै उनले भने, ‘भान्छामा अति उपयोगी प्याजको समस्या अस्थायी मात्र हो । यो केही समयपछि समाधान भइहाल्छ ।’ भारतको नयाँ दिल्लीमा खुद्रा बजारमा प्याजको भाउ ७० देखि ८० भारतीय रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ । त्यस्तै भारतका अन्य प्रमुख सहरमा पनि उतिकै मात्रामा प्याजको भाउ बढिरहेको छ । उनले भने, ‘प्याजको ठुलो उत्पादक क्षेत्र महाराष्ट्रमा उल्लेखनिय प्रगती भइरहेको छ । आउदो दिनमा प्याजको भाउमा सुधार आउनेमा हामी आशावादी छौं ।’ देशका केही भागमा बेमौशमी वर्षा तथा सुख्खा बदलीका कारण प्याजको उत्पादन प्रभावित भएको छ ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा अन्तिम हप्ताको बिजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी छेत्री छनोट भएका छन् । ओप्पो फोन विजेताका रुपमा पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गा माया राई छनोट भएका छन् । त्यसैगरी, एल जी रेफ्रीजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्र बहादुर थिङ छनोट भएका सिटी एक्स्प्रेस मनी ट्रान्सफरले बताएको छ ।
सिटिजन्स बैंकको नयाँ वेवसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै प्रयोग गर्न सकिने छ । यस वेवसाइटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । अनलाइन आस्बा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ । जसमार्फत सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । यस नयाँ वेबसाइटको सार्वजनिक गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको लघुुवित्त सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुवित्त विभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । साथै, प्रशिक्षक झलेन्द्र भट्टराई तथा यस विकास बैंकका कर्जा प्रमुुख निर्मलकुुमार श्रेष्ठले लघुुवित्त सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुवित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
महालक्ष्मी विकास बैंकद्धारा भक्तपुरको जेष्ठ नागरिक आश्रमलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको छ । सोमबार सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित एक कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आशकुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरेका हुन् । जाडो मौसममा वृद्धवृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
नेप्सेले माग्यो विभिन्न ८ विधाका एक्स्पर्ट, पुस ६ गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन गर्ने विविध गतिविधिका लागि आवश्यक पर्ने विभिन्न ८ वटा विधाका एक्स्पर्ट(विज्ञ)हरु मागेको छ । नेप्सेले एक सूचना मार्फत क्यापिटल मार्केट एक्स्पर्ट(सेकेन्डरी मार्केट), लिगल एक्स्पर्ट अन कर्मसियल/ कर्पोरेट ल, एक्स्पर्ट अन फाइनान्सियल एयालाइसिस्क/र्पोरेट फाइनान्स/फाइनान्सियल टेक्नोलोजि, हुम्यान रिर्सोस् म्यानेजमेन्ट एक्स्पर्ट लगाएतका विज्ञहरु मागेको छ । त्यस्तै, प्रडक्ट डेभलपमेन्ट एक्स्पर्ट, कनफिल्क्ट म्यानेजमेन्ट एक्स्पर्ट, कमोडिटी एण्ड डेरिभेटिभ मार्केट एक्स्पर्ट र प्रोक्यूरमेन्ट म्यानेजमेन्ट गरी विभिन्न ८ वटा विधाका विज्ञहरुको सूची तयार गरेको नेप्सेद्धारा जारी सूचनामा उल्लेख छ । उक्त विज्ञहरुको सूचीमा दर्ता हुन ईच्छुक व्यक्ति तथा फर्मले आवश्यक कागजात सहित निवेदन पेश गर्न नेप्सेले आग्रह गरेको छ । नेप्सेले प्रकाशित गरेको सूचनाका अनुसार इच्छुक व्यक्तिले आगामी पुस ६ गते (अर्थात मंसिर १५ गतेको मितिले २१ दिन) भित्र निवेदन पेश गरि सक्नुपर्ने छ ।
नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल नियुक्त
उपेन्द्र पाैडेल काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।