बनाउँला त बामपन्थी सरकारले ५ बर्षमा २३४५ किलोमिटर रेल ?
काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अघि बाम गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रमा आगामी पाँच बर्षभित्र २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने उल्लेख थियो । यतिबेला बामपन्थीहरु सुबिधा जनक बहुमत सहित सरकार गठन गर्ने अवस्थामा पुगिसकेका छन् । अब प्रश्न उठेको छ, के बामपन्थी सरकारले आगामी पाँच बर्षमा २३४५ किलोमिटर लामो विद्युतिय रेल मार्ग बनाउँछ ? के बामपन्थी सरकारले बनाउन चाहदैँमा पाँच बर्षकै अवधीमा २३४५ किलोमिटर रेलमार्ग निर्माण सम्भव होला त ? रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्याय भन्छन–‘राजनीतिज्ञले सपना देख्नु उचित भए पनि केहि हदसम्म महत्वकांक्षी देखियो तर लगानी ठुलो कुरा होइन, नीति र नेतृत्व राम्रो भयो भने पैसा सहजै जुट्छ ।’ उनले आगामी एक महिनाभित्रै आगामी पाँच बर्षभित्रै निर्माण हुने रेलमार्गको खाता तयार हुने पनि जानकारी दिए ।‘बामपन्थीहरुले रेलमार्गलाई उच्च प्राथमिकतामा राखेका छन्, नयाँ सरकारले आगामी पाँच बर्षमा रेलका क्षेत्रमा के के काम गर्न सक्छ भन्नेबारे खाका तयार भैरहेको छ’, उपाध्यायले भने । नेकपा(एमाले) र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणा पत्रमा पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने उल्लेख छ । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । बाम गठबन्धनले घोषणा गरेको रेलमार्गको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए । तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ । त्यसबाहेक बाम गठबन्धनले आगामी पाँच बर्षभित्रै राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिका रेल सञ्चालन गर्ने, काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा सम्भाव्यता अनुसार मेट्रो, मोनोरेल, ट्राम तथा अन्य अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरेका छन् । के के सम्भव छ पाँच बर्षमा ? रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्रमा यसको पनि डिपिआर तयार भएर निर्माण कायृ अघि बढिसकेको हुनेछ । पुर्व पश्चिम रेलमार्गका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि सञ्चालन भैसकेको हुनेछ । उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हालसम्म यस कम्पनीले आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।
नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन उपयुक्त, त्रिदेशीय राजमार्गबाट फाइदा लिन सकिने
काठमाडौं । ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । नेकपा(एमाले) र नेपाली काँग्रेसका उम्मदेवारले आफ्नो चुनावी प्रतिबद्धतामा नै नुवाकोटलाई बनाउने बताएका थिए भने एमाले प्रदेशसभा सदस्य २ (क) केशवराज पाण्डेले आफ्नो चुनावी घोषणापत्रमा त्यसलाई उल्लेख गरेका थिए । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजयपछि यसलाई मुकाम बनाएका थिए भने विसं १८५५ तिर गीर्वाणयुद्धविक्रम शाहका पालामा राजधानी बनाइएको थियो । हालसालै चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरका राजनीतिक नेताहरुले ती क्षेत्रलाई ३ नं प्रदेशको राजधानी बनाउने विचार व्यक्त गरेका थिए । नुवाकोट प्रतिनिधिसभा–२ बाट नवनिर्वाचित नारायणप्रसाद खतिवडाले चुनावी प्रतिबद्धतानुरुप नुवाकोटलाई प्रदेश राजधानी बनाउन सबै क्षेत्रबाट आवाज उठाइने बताए । प्रदेशसभा १ (ख) सदस्य बद्री मैनालीले आफ्नै पहलमा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गरिएको जिकिर गर्दै यसलाई सशक्त ढङ्गले उठाइने अठोट व्यक्त गरेका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा पनि नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातका दृष्टिले उपयुक्त हुने बताउँछन् । जिल्लामा प्रशस्त बेंसी र टारहरु भएको, त्रिशूली, तादी र लिखु जस्ता नदीहरु रहेको, हाल १५० मेगावाट विद्युत उत्पादन भइरहेको र १५० मेगावाट थप बिजुली उत्पादन गराउन ‘पाइपलाइन’मा रहेको, केरुङ मार्ग, पासाङल्हामु मार्ग, बालाजु–त्रिशूली, थानकोट–गल्छी र टोखा–विदुर मार्ग प्रयोगमा आइरहेको, नुवाकोट भएर मध्यपहाडी मार्ग बनिरहेको र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेकाले नुवाकोट सबैतिरबाट पायक पर्ने बताए । “केन्द्रीय राजधानीसँग जोडिएकाले पनि यसको सम्भावना उत्तिकै छ” सापकोटाले भने, “जिल्लाका सबै दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ र बुद्धिजीवी पनि यसकै पक्षमा छन् । ” प्रतिनिधिसभा सदस्य खतिवडाले जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरिने, कृषि र स्वरोजगार विकास गरिने, चीन र भारतको पर्यटकीयस्थल बनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वामपन्थी सरकार बनेपछि चीनको सहयोगमा नुवाकोट भएरै चीनबाट पोखरा, लुम्बिनी र काठमाडौं जान सकिने स्थिति आउने भएकाले त्यसबाट फाइदा लिनुपर्ने उनले बताए । “मेरो सोचाइ र योजना त नुवाकोटमा बौद्ध केन्द्र बनाई चीनका बौद्धधर्मालम्बीलाई एक दुई दिन बस्न मिल्ने वातावरण बनाउने रहेको छ”एमाले नुवाकोटका अध्यक्ष पनि रहेका खतिवडाले भने । प्रदेशसभा सदस्य मैनाली नुवाकोटका पीपलटार वा चौघडामा औद्योगिक क्षेत्र बनाउन र दरबार क्षेत्र, फिकुरी, दुप्चेश्वर, वेत्रावतीलाई पर्यटकीयस्थल बनाउन आफ्नो पहल रहने सुनाए । व्यवसायी तथा पत्रकार सापकोटा चीनबाट आउने रेललाई खाली नपठाउन जिल्लामा निर्यातयोग्य वस्तुको उत्पादनमा जोड दिएका छन् । उनले नुवाकोट हावापानी र सम्पदाका दृष्टिले उपयुक्त भएको र तामाङ, नेवार, गुरुङ, मगर, शेर्पा, मुसलमान आदि जातिको बस्ती भएकाले समृद्ध रहेको बताउँदै त्यहाँ जलयात्रा, पदयात्रा र प्याराग्लाइडिङको पनि उत्तिकै सम्भावना भएको जानकारी दिए । “नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाई त्रिदेशीय राजमार्गबाट फाइदा लिने परिस्थिति निर्माण गर्न एमालेसहितको वामपन्थी सरकारलाई हामी झक्झकाउनेछौँ,” नवनिर्वाचित सांसदहरुले भने । रासस
न्यायाधीशविरुद्ध ९२ वर्षीया वृद्धाको उजुरी, पैसामा बिकेको आरोप
काठमाडौं । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व कायम हुने ललितपुर इमाडोलको जग्गालाई हकदावी नै नपुगेका र कानुनी आधार नै नभएका व्यक्तिको नाममा ती न्यायाधीशले हक स्थापित गरिदिएपछि फैसलामा न्यायाधीशबाट गम्भीर त्रुटि भएको दाबीसहित आशामाया गोर्खाली श्रेष्ठले उजुरी दिएकी हुन् । ललितपुर जिल्ला इमाडोलको ८ क कि. नं ६९ को एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालविरुद्ध उजुरी परेको हो । काठमाडौं चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले २०७२ चैत ३० मा विपक्षीका सम्पूर्ण रूपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाएका छन् । जग्गा दर्ताका लागि २०६६ भदौ १९ गते दिएको निवेदनमाथि मालपोत कार्यालयबाट कुनै कार्वाही अघि नबढाइए पछि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिएकामा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ५७ वर्षीय नरोत्तम बाबुको नाममा २०६८ चैत्र ३ को निर्णयले दा। खा। नामसारी भइसकेको जानकारी पाएपछि स्तब्ध बनेकी आशामाया अदालत गुहार्न पुगेकी थिइन् । विपक्षीद्धारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल मिल्दैन र पेस गरिएको १९९२ सालको लगतसँग उनका पिता भनिएका व्यक्तिको नाम र वतनसँग मिल्दैन र भिड्दैन । लुभु नासल बस्ने रामबहादुर श्रेष्ठको उनाउ व्यक्तिको लगत जालसाजी गरेर नरोत्तम बाबुले किर्ते कागज बनाएको पीडित महिलाले आरोप लगाएकी छन् । उनको लगत बमोजिम पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक मालपोत कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ । आशामायाका अनुसार १९९५ सालदेखि हालसम्मका जग्गाधनीका तीन पुस्ताका र मोहीका तीन पुस्ताका लिखतहरु तथा तत्कालीन भूमि प्रशासन कार्यालयमा रहेका अकाट्य प्रमाणहरुलाई फैसला सुनाउँदा नजरअन्दाज गरिएको छ । रामबहादुर भन्ने ससुरा विष्णुलाललाई १९९९ वैशाख ३१ मा मोही वंसलालले गरिदिएको कूत कबुलियतनामा लिखत र पारसिं ज्यापूले गरिदिएको सोही चार किल्ला उल्लेख भएको फाछ्र्यापत्रको लिखतलाई आशामायाले आफ्ना प्रमाणका रुपमा अघि सारेकी छिन् । वंशलालसँग ज्यापूले गरिदिएको कूत कबुलियतनामाको लिखतमा उल्लेख गरिएका चारकिल्लामा रहेका किल्ला अहिले उक्त जग्गाको नापीको फिल्ड नक्शामा उल्लिखित चारकिल्ला रहेको कित्ताका साविक जग्गावाल र निजहरुका हकवालाहरुकै नाममा दाःखा. नामसारी भएको हो । ललितपुर केरुगाउँ बस्ने मोही वंशलाल ज्यापूसँग १९९९/१/३१ मा कूत कबुलियतनामा गर्दा उक्त जग्गाको फिल्डबुकमा मोहीका नाममा उल्लेख भएका टिकाचा ज्यापूले साक्षी बसी ल्याप्चे सहिछाप गरेको पीडितको भनाइ छ । उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरूले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ । आशामायाले उजुरीमा भनेकी छिन् – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी फैसला पीडित महिलाको विरुद्ध ‘विपक्षीको एक पक्षीय हितमा’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ गरिएको छ । न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि.नं ६९ को….’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ । ‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा उनाउ व्यक्तिहरु एक आपसमा सांगठनिक रुपमा मिली, षडयन्त्र र परिपञ्च रचेको, जे जसरी भए पनि जग्गा हडप्ने नियतमा जिल्ला न्यायाधीश पनि आर्थिक प्रलोभनमा परेको पुष्टि भएको पुनरावेदक वृद्धा आशामायाको दाबी छ र विपक्षीबाट रुपैयाँ लिई गलत, दूषित एवं अपमानजनक न्याय सम्पादन गर्ने न्यायाधीश अर्यालमाथि अविलम्ब कारबाही होस् भन्ने उनको माग छ । रासस
सिटिजन्स बैंकको ६७औं शाखा दाङको बंगलाचुलीमा, २ थान कम्प्युटर हस्तान्तरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७औ शाखा दाङको बंगलाचुलीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज) यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रम प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताएका छन् । यस बैंकले आ ब २०७४।७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ ।
सेन्ट्रल फाइनान्सको पुस ४ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दै छ । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ७८ करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने, राप्तीभेरीका सेयरधनीले ६ प्रतिशत पाउने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रा(अर्थात २२ करोड ८ लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले ज्योति बैंकले हालै एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीलाई पनि गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले राप्तीभेरीका सेयरधनीलाई एक करोड ६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । ज्योति बैंकले गत कात्तिक ८ गते राप्तीभेरी विकास बैंकलाई एक्वायर गरी एकिकृत कारोबार शुरु गरेको थियो । बैंकको सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।
दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने
काठमाडौं । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिए । “वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महत्वका विषयमा प्रकाश पार्ने तयारी छ, विश्वविद्यालय भरभावातित् ध्यानका माध्यमबाट चेतनामा आधारित शिक्षा दिने विषयमा पनि छलफल भएको छ, यस सम्बन्धमा केही दिनमा संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुँदैछ”–उनले भने । वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको सो अवसरमा जानकारी गराइयो । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदान समेत हुनेछ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्व डीन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने विचार राखेका छन् । रासस