नेपालकाे सीमा क्षेत्रमा बस सेवा विस्तार गर्ने भारतीय प्रस्ताव, सीमा क्षेत्रका सडक निर्माण तत्काल थालिने
काठमाडौं । नेपाल र चीनबीच सडक र रेलमार्ग निर्माणबारे अध्ययन, सर्भे र छलफल बढ्दै गर्दा छिमेकी भारतले पनि नेपाल जाेड्ने मार्ग र सवारी सुविधामा सुधार चाहेकाे देखिएकाे छ । भारतको सडक यातायत मन्त्रालयले नेपालसँग सीमा जोडिएका भारतका तीन राज्यहरु विहार, उत्तरखण्ड र उत्तर प्रदेशबाट नेपालसम्म सीधा बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । तीन राज्यका नागरिकलाई नेपाल आवत जावत गर्न सजिलो हुने र यातायत खर्च पनि कम हुने गरी सस्तो खालको बस सेवा सञ्चालन गर्न नेपालसँग सहमतिको लागि प्रस्ताव गर्न लागेको हो । उक्त प्रस्तावमा नेपाल सरकारको सहमति लिन भारतको सडक यातायात मन्त्रालयले विदेश मन्त्रालयलाई आग्रह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतको विदेश मन्त्रालयले उक्त प्रस्ताव दुई देशबीचको संयुक्त कार्यदलको बैठकमा छलफलमा ल्याउने भएको छ । हाल काठमाडौं–नयाँ दिल्ली चल्ले ‘नेपाल–भारत मैत्री बस सेवा’ सञ्चालनमा छ । उक्त बस सेवा उच्च सुविधा सम्पन्न (लक्जरीयस्) र महँगो भएको, उक्त बस सेवा पर्यटकहरुको लागि मात्र लक्षित भएको भन्दै सर्वसाधारणलाई सुविधा हुने बस सेवा सञ्चालन गर्न भारतले चाहेको जनाइएको छ । ‘ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल वा सीमा क्षेत्रमा जाँदा र फर्कदा रेल वा बस प्रयोग गर्छन् । उनीहरु महँगो र सुविधाजनक नभएको सेवा प्रयोग गर्न बाध्य छन् । उक्त क्षेत्रमा ठूला संख्यामा दुई देशका मानिसहरुले सामान्य बस सेवा चाहेका छन् । यस्तो सेवा सञ्चालनमा ल्याउने हो भने दुबै देशका मानिसहरुलाई आवतजावत सजिलो हुन्छ र दुई देशबीच नागरिक स्तरमा सम्बन्ध बलियो हुन्छ’ भारतका उच्च अधिकारीको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ । त्यसैगरी, नयाँ दिल्लीले भारत र नेपालबीच सडक सञ्जालको स्तरवृद्धि र नयाँ परियोजना निर्माणबारे नियमित छलफल चलाईरहेको छ । ‘नेपाल भारत सडक जोड्ने मेची नदी पुल परियोजना कार्यान्वयन भईरहेको छ । यो योजनामा छिट्टै ठेक्का लगाईदैछ र सन् २०१८ को फेब्रुअरी देखि निर्माणको काम थालिने छ’ भारत सरकारको भनाई छ । त्यस्सैगरी, भारतको नेशलन हाईवे अथुरीटीले पिपराकोठी देखि रक्सौल सडक स्तारोन्नतीको जिम्मा पाएको छ । उक्त योजनामा यहि डिसेम्बर भित्र नै ठेक्का लाग्ने बताईएको छ ।
लर्ड बुद्ध एजुकेसनद्धारा एमएसआईटीएम र एमबीए विषयमा अध्यापन शुरु
काठमाडाैं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन(एलबीईएफ) क्याम्पसले नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोक्तर स्तरकोमास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट(एमएसआईटीएम) र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए) विषयमा अध्यापन पनि शुरु गरेको छ । एलबीईएफले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी(एपीयू), मलेसियासँग शैक्षिक सहकार्य मार्फत उक्त सेवा शुरु गरेको हो । उक्त दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जानकारी गराएको छ । एलबीईएफले २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको (बीएससीआईटी) र (बीबीएम) विषयमा अध्यापन गराउँदैं आएको छ । कलेजले जनाए अनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट (एमएसआईटीएम) कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो । हाल नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि संबंधी मात्रै ज्ञान दिने हो भने (एमएसआईटीएम) ले सूचना प्रविधिक्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने विषयलाई पनि समेटेको छ । यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्ने छ । यस कार्यक्रमले बीआईएम, बीसीआईएस, बीसीए, बीएसआईटी आदी अध्ययन गरेका विद्यार्थीहरुकोलागी सूचना प्रविधि संकायमा स्नातकोक्तर स्तरको अध्ययन गर्ने बाटो खोली दिएको छ । त्यस्तै, मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए)मा ४५प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउनेछन् । एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको प्रतिष्ठित विश्वविद्यालयहरुमध्ये एक हो जसलाई २०११ देखि हालसम्मै मलेशियन योग्यता मापन एजेन्सी अन्तर्गतको एसइटीएआरए र्याङकिङ र त्यहाँको शिक्षा मन्त्रालयले उत्कृष्ट दर्जामा समावेश गरेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति समेत प्रदान गरिसकेको छ । साथै एसिया प्यासिफिक यूनीभर्सिटी (एपीयू) त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त विश्वविद्यालय हो । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि एपीयूसँगकोसहकार्य अवश्य पनि फलदायी हुने कुरामा संस्था आशावादी रहेको छ । एपीयूको संबंधनमा सञ्चालन हुने कार्यक्रमहरु पूर्णकालिन कार्यक्रमहरु रहेका छन् । एपीयू मलेशियाको सूचना प्रविधी र व्यवस्थापन विषयमा कार्यक्रम सञ्चालन गर्ने सर्वोत्कृष्ट विश्वविद्यालय मध्ये पर्छ । सो विश्वविद्यालयमा हाल १० हजार विद्यार्थीहरु पूर्णकालिन रुपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये आधी विद्यार्थी मलेशियाका र आधी जति विद्यार्थी करिब ११६ देशबाट अध्ययन गर्न आएका हुन् । सोे जानकारी विश्वविद्यालयका उपाध्यक्ष श्री गुरप्रदिप सिंहले कार्यक्रममा दिएका हुन् । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्तरगतका सबै शिक्षण संस्थाहरुमा सञ्चालन हुने कक्षाहरुमा सैधान्तिक ज्ञानको साथसाथै अरु जिवनउपयोगी तालीमहरु पनि प्रदान गरिन्छ । कलेजमा विद्यार्थीहरुलाई बजारमा स्थापित गर्नकालागी छुटै प्लेसमेन्ट सेलको व्यवस्था रहेको कलेजले जनाएको छ । त्यस्तै, ललितपुर कुपण्डोलमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत वाट सम्वन्धन प्राप्तस्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसनको अध्यापन गराई रहेको छ ।
गण्डकी विकास बैंकको नयाँ शाखा सामाखुशीमा
काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा सामाखुशीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका छन् । साथै, पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेश बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए । बंैकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस, आश्वा, मोबाइल बैकिङ्ग, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बैकले केन्द्रीय कार्यालय सहित ५२ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता, भारतबाट पैसा पठाउन सहज
काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताएका छन्’ । प्रवन्ध निर्देशक हेमराज ढकालले यस सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने बताएका छन् । त्यस्तै, मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले यस सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
केपी ओलीले गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, नयाँ सरकार पर्खदै आयोजना
काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको शिलान्यास केपी ओलीले गर्ने भएका छन् । यस अघि मंसिर अन्तिम साता आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको थियो । तर बामपन्थी सरकार निर्माण हुने अवस्था बनेकाले नयाँ सरकारका प्रधानमन्त्रीको हातबाटै आयोजनाको शिलान्यास गराउने प्रक्रिया अघि बढेको हो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् । ‘यो दुरगामी महत्वको आयोजना हो, नयाँ सरकारका प्रधानमन्त्रीको हातबाट शिलान्यास गराउने योजना सहित जग्गा अधिग्रहणको फाइल मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमै रोकिएको छ’, श्रोतले भन्यो । श्रोतका अनुसार मन्त्रिपरिषदको कार्यालयका उच्च कर्मचारीले नै नयाँ सरकार आएपछि मात्रै आयोजना शिलान्यास गराउने योजना बनाएका हुन् । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन अन्तिम तयारी भैरहेको छ । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । यसको अनुमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।
लक्ष्मी बैंकले ल्यायोे “लक्षित मुद्दती” योजना, वार्षिक ९ प्रतिशत सम्म ब्याज पाइने
काठमाडौं । लक्ष्मी बैंकले नयाँ “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) बचत खाता योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकका सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले वार्षिक ९ प्रतिशत सम्म ब्याज प्राप्त गर्न सक्नेछन् । लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० रुपैयाँ वा सो भन्दा बढि जम्मा गर्न सक्नेछन् । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै, लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकको साथ, प्रतियोगिता मंसिर २८ गतेदेखि शुरु
काठमाडौं । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ । मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेलक्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे । त्यस्तै, आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौता अनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र ब्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।
ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्सोरेन्सबीच बैंकाइन्सोरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो । सो सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।