विद्युतमा कर नलगाउन पूर्वअर्थमन्त्री खनालको सुझाव

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (मुअ कर) नलगाउन सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो धारणा राखे ।

खनालले ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्न विद्युतमा करको भार कम गर्नुपर्ने बताए । उनले उच्चस्तरीय आर्थिक सुधार कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै संरचनात्मक आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै, पर्याप्त तयारी नभएका खुद्रा तथा टुक्रे आयोजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । सीमित स्रोत र साधनलाई उत्पादनमुखी तथा उच्च प्रतिफल दिने योजनामा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

खनालले आगामी बजेटलाई खर्चमुखीभन्दा परिणाममुखी बनाउनुपर्ने उल्लेख गर्दै आर्थिक अनुशासन, प्रभावकारी कार्यान्वयन र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिए ।

Share News