३ वर्षमा आन्तरिक उडानबाट झन्डै १० लाख विदेशीले गरे यात्रा
काठमाडौं । नेपालमा तीन वर्षमा ९ लाख ९७ हजार ५३८ विदेशी नागरिकले आन्तरिक हवाई उडानमार्फत यात्रा गरेका छन् । दुईवटा वायुसेवा कम्पनीमार्फत करिब १० लाख यात्रुले मुलुकभरका विभिन्न स्थानको आन्तरिक विमानस्थलमा विदेशी नागरिकले यात्रा गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले विदेशी नागरिकलाई उडान भराएका हुन् । त्यसैगरी, ९२ लाख २७ हजार २ सय २५ नेपाली यात्रुले मुलुकभरका विभिन्न विमानस्थलबाट यात्रा गरेका हुन् । बुद्ध एयरलाइन्सबाट सन् २०२४ मा २५ लाख ६३ हजार ८८५ मा स्वदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, १ लाख ५० हजार ४५४ विदेशी नागरिकले यात्रा गरे । सन् २०२५ मा बुद्ध एयरलाइन्सबाट २५ लाख ५० हजार ६०१ यात्रुले यात्रा गरेका थिए । १ लाख ७३ हजार ६३२ विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२६ मा बुद्ध एयरलाइन्समार्फत २२ लाख ८३ हजार ९८७ यात्रुले यात्रा गरेका छन् । १ लाख ६९ हजार ६४८ विदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, यति एयरलाइन्समार्फत सन् २०२४ मा ७ लाख २८ हजार ९४८ नेपाली यात्रुले यात्रा गरेका थिए । २ लाख ५ हजार १९६ जना विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२५ मा यति एयरलाइन्समार्फत ८ लाख ३ हजार ८०५ नेपाली यात्रुले यात्रा गरेका थिए । १ लाख ९१ हजार ५७७ विदेशी यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२६ को केही महिनाको तथ्यांकअनुसार यति एयरलाइन्समार्फत २ लाख ९५ हजार ९९९ यात्रुले यात्रा गरेका छन् । त्यसैगरी १ लाख ७ हजार ३१ विदेशी नागरिकले यात्रा गरेका छन् । हाल नेपालमा तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्सको एटीआर ७२– १६ विमान र एटीआर ४२– २ विमानले उडान भरिरहेका छन् । यति एयरलाइन्स एटीआर ७२- ७, सौर्य एयरलाइन्स सीआरजे २००– २ र क्यु ४००– ७ वटा विमान रहेका छन् ।
भारतीयका लागि नेपाल अपराधको उर्वरभूमि
काठमाडौं । असारको पहिलो साता चितवनबाट एक बालक अपहरणमा परे । पछि प्रहरीले काठमाडौंको गोंगबुबाट बालकको सकुशल उद्वार गर्यो । ५-६ जना भारतीयको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखी अपहरण गरेका थिए । गोंगबुस्थित एक होटेलमा बन्धक बनाएर उनीहरुले बालकका परिवारसँग पैसा मागेका थिए । पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार रहेका छन् । अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीयलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो । केही दिनअघि पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दर्शनार्थीका गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परे । भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमारलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको थियो । उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार बरादम गरेको थियो । नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा भारतको बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार पनि पक्राउ परे । उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो । उनले पीडित नेपालीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्याएर राखेको जाहेरी परेको प्रहरीले जनाएको छ । विभिन्न समयमा भारतबाट नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको छ । खुला सीमाबाट सहजै आवतजावतको कारण भारतीयहरूको पछिल्लो समय नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको पाइएको छ । खुला रुपमा आवतजावत भएकै कारण भारतीयहरुको नेपाल आपराधिक क्रियाकलाप गर्ने क्रिडास्थल बन्दै गएको छ । अपराध गर्ने भारतीयको संख्या बढे पनि उनीहरू तुरुन्तै प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । नेपाल आउन भारतीयलाई कुनै रोकटोक छैन र नेपालीलाई पनि भारत जान कुनै अवरोध छैन । कतिपय अवस्थामा खुला सीमाकै कारण दुवैतर्फ आवतजावत हुँदा अपराधमा संलग्न हुने गरेको पाइएको छ । ६ आर्थिक वर्षमा नेपालमा आएर विभिन्न प्रकारका आपरधिक क्रियाकलापमा संलग्न भएका आरोपमा ४ सय ४९ भारतीय पक्राउ परेका छन् । ३७ जना महिला र ४ सय १२ जना पुरुषहरू आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाका चोरी, साधारण चोरी, जुवा खेल्न नहुने वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुन, ठगी आपराधिक विश्वास तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसुर, लागू औषध, सरकारी छाप दस्तखत किर्ते, राहदानी किर्ते, अपहरण तथा शरीर बन्धक बनाउने कसुरमा उनीहरू पक्राउ परेका हुन् । यस्तै, हातहतार खरखजाना, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसुरविरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर, नागरिकता सम्बन्धी, मानवबेचबिखन तथा ओसारपोसार, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालयौन दुरुपयोग, सवारी ज्यान, सवारी अंगभंग, विद्युतीय कसुर तथा साईवर अपराध, दुरसंचार कसुर टेलिफोन तार चोरी, बैंकिङ कसुर, चिठ्ठा, अभद्र व्यवहार, निषेधित क्षेत्रमा प्रवेश, भन्सार छली र विविधजन्य अपराधमा भारतीय संलग्न हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/ ०७७ मा ५ जना पुरुष, आव २०७७/ ०७८ मा २ जना पुरुष, २०७८/ ०७९ मा २८ पुरुष र ३ महिला, २०७९/ ०८० मा ४८ पुरुष र ३ महिला,२०८०/ ०८१ मा १३७ पुरुष र महिला १९, २०८१/ ०८२ मा १९२ पुरुष र १२ महिला मुलुकभरका विभिन्न स्थानमा फरक-फरक कसुरमा भारतीयहरू पक्राउ परेका थिए । भारतीयहरू साधारण चोरी, जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुनको कारोबार र लागूपदार्थ जन्य कारोबार जस्ता अपराधमा सबैभन्दा बढी भारतीयहरू संलग्न भएको पाइएको छ । विभिन्न कसुरमा काठमाडौं उपत्यकाका सुनधारास्थित कारागारमा १ सय ३ पुरुष र ९ जना छन् । डिल्लीबजार कारागारमा २२ जना र नख्खु कारागारमा २२ जना भारतीय कैदीबन्दी रहेका छन् । चोरी, बालात्कार तथा ठगी अन्य विविध कसुरमा भारतीयहरू काठमाडौं उपत्यकाका कारागार छन् । कारागार विभागका अनुसार करिब ११ सय भारतीय कैदीबन्दीहरू छन् । महिला र पुरुष दुवै भारतीयहरु मुलुकभरका विभिन्न कारागारमा रहेका छन् । नयाँ अवसर देखाएर अपराध नेपाल भारत खुला सीमा भएका हुँदा अपराध हुने मुख्य कारण बनेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले बताउँछन् । नेपालमा अपराध गरेर सहजै लुकेर भारततर्फ जान सकिने मानसिकता बनाएर पनि अपराध गर्न आउनेहरू पनि भेटिएको उनको भनाइ छ । ‘नेपालीलाई छिटो प्रलोभनमा पारेर ठगी जस्ता कार्यमा संलग्न हुने गरेका छन्,’ उनले भने, 'नयाँ-नयाँ अवसरका अफरहरू लिएर आउने भएकै कारण नेपालीहरू फस्ने भएकाले नेपालीहरू भारतीयको बन्धनमा पर्छन् । अन्त्यमा भारतीयहरू अपराध गर्न लालायित भएका छन् ।' प्रहरीका अनुसार भारतीयहरू मुख्यतया लागुऔषध, चोरी, जुवा र अवैध मुद्रा एवं सुन कारोबार तथा अभद्र व्यवहारको मुद्दा कसुरमा भारतीयहरू संलग्न भएका छन् । भन्सार छली गरेको आरोपमा केही भारतीयहरू पक्राउ परेका छन् । भारतीयहरू नेपालमा अपराध गर्ने नियतै बनाएर नेपाल प्रवेश गर्ने गरेको प्रवक्ता काफ्लेको भनाइ छ । नेपालमा आएर गलत सोच र आपराधिक क्रियाकलापमा संलग्न भएकासँग उनीहरूले उठबस बढाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । पछिल्लो समय प्रहरीले खुला सीमाकै कारण अपराध बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । प्रहरीले सीमा क्षेत्रका ग्रामीण भेगमा प्रहरीले सूक्ष्म ढंगले निगरानी गरिरहेको काफ्लेले बताए । सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्नका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाइएको उनले उल्लेख गरे । सीमा क्षेत्रमा हुने अपराधलाई मुख्य चुनौती ठानेर प्रहरीले आवश्यक काम गरिरहेको उनले प्रस्ट पारे । ‘नेपालभित्र काम गर्ने स्थानमा भारतीयहरूको आपराधिक क्रियाकलाप रेकर्ड छ या छैन भनेर मात्र काममा राख्नुपर्ने हुन्छ,’ काफ्लेले अगाडि भने,’ कसैको पनि शङ्कास्पद गतिविधि देखेमा वा लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने हुन्छ ।' भारतीयका लागि नेपाल अपराधको उर्वरभूमि नेपालमा विशेषतः माग्ने र व्यापारिक प्रयोजनका निम्ति भारतीयहरू प्रवेश गर्ने गरेको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा समाजशास्त्री दिपेश घिमिरे बताउँछन् । नेपालमा औपचारिक भन्दा बढी अनौपचारिक ढंगले नेपाल प्रवेश गर्ने भारतीयको संख्या बढी रहेको उनको भनाइ छ । कतिपय अवस्थामा नेपालमा आएर व्यापार गर्नेहरू पनि अपराध लाग्ने गरेको उनले बताए । लेनदेनको सवालमा सामान्य वादविवादले अपराधको विन्दुमा पुर्याउने गरेको उनको भनाइ छ । ‘नेपालमा आएर कुनै न कुनै किसिमले अपराध गर्नेहरू भनेका आफूलाई लाग्ने तल्लोस्तरका काम गरेको ठान्नेहरू अपराधमा संलग्न भएको पाइन्छ,’ उनले भने,’ माग्न आएकाहरू तथा निर्माण संरचनाको क्षेत्रमा काम गर्नेहरू विभिन्न अपराधको कसुरमा भेटिएका छन् ।' खुला सीमाबाट सहजै आवतजावत गर्न सकिने र अपराध गरेर लुक्न सकिने भन्ने मनोविज्ञानले काम गर्दा पनि भारतीयलाई आपराधिक क्रियाकलापमा लागेको पाइने घिमिरेले बताए । मधेस क्षेत्रमा लागु पदार्थको कारोबारी बढ्नुमा खुला सीमालाई एक मुख्य कारण मान्न सकिने उनको भनाइ छ । अधिकांश लागु पदार्थ भारतबाट आयात हुने उनले बताए । घिमिरेले सीमालाई व्यवस्थापन गर्न नसक्दा र आवतजावत गर्नेको तथ्यांक नराख्दा अपराध न्यूनीकरणमा ठोस कदम चाल्न नसकेको उल्लेख गरे । शिक्षाबाट वञ्चित भएकाहरू नेपालमा आएर अपराध गर्नेहरू भेटिएको उनले प्रस्ट पारे । भारतमा शिक्षाको मुलभुत ज्ञान नपाएकाहरूले नेपाललाई अपराधको उर्वरभूमि मान्ने गरेको उनले बताए । राज्य प्रणालीले यस्ता सीमापारका व्यक्तिबाट हुने अपराध नियन्त्रण गर्न आवतजावत गर्नेको तथ्यांक राख्नलाई उनले सुझाए । नेपालमा आएर काम गर्नेहरूको आपराधिक चारित्रिक प्रमाणपत्र माग गरेर राख्नुपर्ने घिमिरेको भनाइ छ । नेपालभित्र विदेशी नागरिकले गर्ने कार्यहरूको निगरानी नागरिकको तहबाट हुनुपर्ने उनले बताए । भारतीय व्यापारीहरूले नेपालमा गर्ने गतिविधिको निगरानी गर्नुपर्ने र रेकर्ड राख्नुपर्ने उनको भनाइ छ । अपरिचित व्यक्तिसँग अनावश्यक लेनदेन तथा काम गर्नुपर्दा नागरिक आफैँ सचेत हुनुपर्ने घिमिरेले बताए । खुला सीमाकै कारण दुवै देशका नागरिकले लाभ र हानि व्यहोरिरहेको हुन सक्ने उनले बताए ।
पर्यटक बनेर नेपाल प्रवेश, अपराध गरेर डिपोर्ट
घटना- १ ः एक साताअघि चीन जान लागेको अवस्थामा चिनियाँ नागरिक ७ हजार ५ सय अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे । चाइना स्ट्रन एयरलाइन्सबाट चीनको कुमिनाङ जान लाग्दा मो युलुङ विमानस्थलभित्र चेकजाँचको क्रममा पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिनसाथ राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको थियो । घटना- २ ः त्रिभुवन विमानस्थलबाट जेठ २८ गते दुई जना बंगलादेशी नागरिक पक्राउ परे । मलेसिया उड्न लागेको अवस्थामा उनीहरूको साथबाट १ हजार अमेरिकी डलर र २० हजार मलेसियन रिंगेटसहित उनीहरूलाई विमानस्थलका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए । मोहम्मद इन्ताज अली र एमडी जाकिर होसिन पक्राउ परेका थिए । पक्राउ लगत्तै प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । घटना- ३ ः चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो केही समयघि फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेको अवस्थामा पक्राउ परे । वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलरसहित उनी पक्राउ परे । लगतै प्रहरीले पनि नियन्त्रण लिनसाथ राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको थियो । प्रत्येक वर्ष विदेशीहरू पर्यटकको रुपमा नेपालमा भित्रिने गरेका छन् । उत्तिकै संख्यामा पर्यटकको रुपमा भित्रिए पनि अपराधमा उत्तिकै संलग्न भएको पाइएको छ । पर्यटकका रुपमा आउँदा विभिन्न उद्देश्यसहित विदेशीहरू आउँछन् । केही समयसम्म पर्यटक भिसामा रहे पनि उनीहरू गैह्रकानुनी काममा लाग्ने गरेको पाइएको छ । केही समय हिमाली तथा ग्रामिण भेगमा घुमे पनि बिस्तारै उनीहरूले आफ्नो उद्देश्य परिवर्तन गर्ने गरेको पाइएको छ । पर्यटक भिसाको दुरुपयोग गरेकै कारण उनीहरू प्रहरी हिरासतमा पुग्न थालेका छन् । प्रत्येक वर्ष पर्यटक भिसाको दुरुपयोग गर्ने पर्यटकको संख्या उत्तिकै बढ्दै गइरहेको छ । विदेशीहरू नेपालमा आएर पर्यटक भन्दा पनि अभियुक्त बन्ने गरेको खुलेको छ । विदेशी पर्यटक आफ्नो मुलुकमा पुगेर नेपालको प्राकृतिक दृश्य तथा कला संस्कृतिको प्रचार गर्छन् । तर, केही पर्ययटक भने गैह्रकानुनी काम गरी पर्यटक भन्दा पनि अभियुक्त बनेर प्रहरी हिरासत अथवा कारागारामा बस्न थालेका छन् । पछिल्लो समय विदेशीहरू नेपालमा आएर विदेशी मुद्रा सञ्चिति तथा बैंकिङ् कसुरमा पक्राउ पर्न थालेका छन् । विदेशी मुद्राहरू अपचलन तथा ओसारपसार संलग्न रहेको आरोपमा विदेशी पर्यटक सामेल हुने गरेको अध्यागमन विभागले जनाएको छ । बैंकिङ कसुरमा तथा विदेशी मुद्रा सञ्चिति मुद्दामा चिनियाँ ८, बंगलादेशी २ र नाइजेरियनलाई प्रहरीले पक्राउ गरेको थियो । विदेशी मुद्रा अपचलन गरेका आरोपमा मुद्दा खेप्ने र मुद्दाको किनारा लागेपछि अध्यागमन विभागले त्यस्ता विदेशी नागरिकलाई डिपोर्ट गरिदिने गरेको छ । एशियन मुलुकका पर्यटकहरू सामान बिक्री गर्न आउने भएकाले उनीहरूका साथबाट विदेशी मुद्रा फेला पर्ने गरेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताए । विमानस्थलमा चेकजाँचको क्रममा विदेशी रकम फेला पर्ने गरेको उनको भनाइ छ । 'बंगलादेशीहरू भने कपडा व्यापारी रहने गरेको खुलेको छ, 'उनले भने, 'कपडा बिक्री गरेर स्वदेश फर्कदा विदेशी रकम साथमा बोकेर लैजाँदा फेला पर्ने गरेको छ ।' कतिपय विदेशीले सुन र कपडा खरिद गर्न विदेशी मुद्रा साथमा लैजाने गरेको उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरूले विदामा फर्कने नेपालीलाई नेपाली पैसा माग गर्ने गरेको सिलवालले खुलाए । विदेशमा रहेका नेपालीले विदामा आएर फर्केका नेपालीसँग पैसा मगाउँने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए । चिनियाँ नागरिकले नेपालमा रहँदा खर्च गर्न नसकेका विदेशी मुद्रा साथमा लैजाने गरेको उनले प्रस्ट पारे । नियम विपरीत पैसा बोकेको पाइएमा प्रहरीले त्यस्ता विदेशी नागरिकलाई नियन्त्रणमा लिने गरेको छ । विदेशी नागरिकले नेपालमा रहँदा अमेरिकन ५ हजार साथमा राख्न पाउँछन् । भारतीय नागरिकले पाँच हजार अमेरिकन डलर बराबरको पैसा साथमा राख्न पाउने व्यवस्था रहेको छ । व्यवसायी र राज्य जिम्मेवारी बनून् विदेशी पर्यटकले नेपालमा अवाञ्छित गतिविधि नगरुन भनेर राज्य जिम्मेवारी बन्नुपर्ने ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी भवी शर्मा बताउँछन् । उनका अनुसार राज्य भित्र रहेका तीन निकायहरुको समन्वयकारी भूमिका हुनुपर्छ । अध्यागमन विभाग जिम्मेवार पर्यटकका लागि ट्रयाक सिस्टम लागु गर्ने पर्ने उनले बताए । ‘पर्यटक कता गएर बसेका छन् । कस्ता गतिविधि गर्या छन्रु त्यसको निरन्तर अपडेट तथा भिसाको अवधि कतिसम्म छ भनेर समय-समयमा जानकारी दिनुपर्छ,’ उनले भने । शर्माले पर्यटकले गरेका गतिविधिका जानकारी राज्यले निरन्तर राख्नुपर्ने बताए । दैनिक गरेका गतिविधिहरू अपडेट गर्न लगाएमा पर्यटकको सुरक्षा तथा राज्य जिम्मेवारी भएको देखिन सक्ने उनले बताए । पर्यटकलाई लक्षित एप बनाउनु उनले सुझाए । व्यवसायीले पनि नाफामुखी भएर पर्यटकले गरेका व्यवहार तथा गतिविधिलाई बेवास्ता गर्न नहुने उनको तर्क छ । पर्यटकले गलत गरेको जस्तो लागेमा व्यवसायीले राज्यलाई सूचना दिएर जिम्मेवारी बन्नुपर्ने उनको भनाइ छ । ‘विदेशीलाई नेपाल खुला मुलुक हो । यहाँ आएर जे पनि गर्न पाइन्छ भन्ने भाव छ । त्यस्तो खालको सन्देश जान दिन भएन,’ उनले अगाडि थपे,’ कानुन छ भनेर आभास दिलाउनुपर्छ । जोसुकैलाई भिसा दिनु भएन । विगतमा नेपाल आएर गएको कस्तो रेकर्ड छ त्यसको सम्पूर्ण विवरण हेरेर मात्र भिसा दिनुपर्छ ।‘ राज्य र व्यवसायी सबैभन्दा बढी सजग हुनुपर्ने शर्माले उल्लेख गरे । पर्यटक पनि आफैँ सजग भएमा पर्यटक भिसाको दुरुपयोग रोकिने उनको भनाइ छ । पर्यटकलाई अध्यागमन कानुनको नियमित जानकारी दिनुपर्ने उनले प्रस्ट पारे । पर्यटक भिसाको दुरुपयोग बढ्दै पर्यटक भिसामा नेपाल प्रवेश गरी अध्यागमन कानुन विपरीत कार्य गरेकालाई आवश्यक कानुनी कारबाही गरी निष्कास गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् । केही समयका लागि नेपाल प्रवेशको रोक लगाइ उनीहरूलाई आफ्नो मुलुक पठाउने गरिएको उनको भनाइ छ । उनका अनुसार पर्यटकहरू बैंकिङ कसुर, विदेशी मुद्रा अपचलन, ओभर स्टे, लागु औषध कारोबारी, जाली राहदानी-जाली भिसा, मानवबेचबिखन ओसारपसार, बिना राहदानी नेपाल प्रवेश गर्ने गरेका र ठगी जस्ता मुद्दामा पर्यटकहरूं पर्छन् । उनीहरूलाई नेपालको कानुन बमोजिम कारबाही गरी डिपोर्ट गरिएको छ । डिपोर्टमा पर्ने विदेशीहरूमा चीन, बंगलादेश, अमेरिका, बेलायत र पाकिस्तानका नागरिकहरू रहने गरेको ढकालले विकासन्युजलाई जानकारी दिए । अन्य मुलुकका पनि नागरिकहरू निष्काशनमा पर्ने गरेको उनको भनाइ छ । अध्यागमन कानुनको उल्लंघन गर्ने सबै पर्यटकलाई कानुन बमोजिम कारबाही गरिएको ढकालको भनाइ छ । केही वर्ष नेपाल आउन प्रतिबन्ध लगाइने उनले बताए । अध्यागमन विभागका अनुसार पाँच वर्षमा विभिन्न मुलुकका गरेर २ हजार २४५ पर्यटक नेपालबाट डिपोर्ट भएका छन् । उनीहरू विभिन्न किसिमका अपराधमा संलग्न भएका थिए । प्रत्येक वर्ष अध्यागमनका नियम उल्लंघन गर्ने पर्यटकको संख्या बढ्दै गएका छन् । सन् २०२५ मा ओभरस्टेमा ४५९, विभिन्न मुद्दा परेर ६४ जना गरेर ५ सय २३ जना डिपोर्ट भएका थिए । सन् २०२४ मा ओभरस्टे ४५१, विभिन्न मुद्दामा ५० जना कुल ५ सय १ जना, सन् २०२३ मा ४१२ ओभरस्टे, ४६ मुद्दा र कुल ४५८ जना डिपोर्ट भएका थिए । त्यसैगरी, सन् २०२२ मा ओभरस्टे ५३४, मुद्दामा परेका ३६ जना र कुल ५७० जना डिपोर्ट भएका र सन् २०२१ मा १९३ जना ओभरस्टे, २५ मुद्दा र १९३ जना डिपोर्ट भएका थिए । विदेशी भिसादारी पर्यटकहरू नेपालमा एक वर्षमा १ सय ५० दिन बस्न पाउने छन् । पर्यटकले पटक-पटक भिसा थप गर्न पाउँछन् । पहिलोपटक १५ दिन, दोस्रो पटक ३० र अन्तिम पटक ९० दिनको भिसा थप गर्न पाउने व्यवस्था रहेको छ ।
डिजिटल कारोबारसँगै मौलायो वित्तीय अपराध
काठमाडौं । घटना– १ एक साताअघि फेसबुक चलाइरहेका बेला सुवर्ण यादवको मेसेन्जरमा सुमित मण्डलको नामबाट मेसेज आयो, ‘विमानस्थलको अध्यागमन विभागमा मलाई रोकिएको छ । मलाई अप्ठयारो पर्यो । ५० हजार रुपैयाँ तुरुन्तै चाहियो,’ उनको मेसेजमा लेखिएको थियो । सुवर्णले आफूसँग पैसा नभएको बताए । केही समयलगत्तै पुनः सुमितले ‘२० हजार पठाइदिएको छु तर मलाई ५० हजार पठाएमात्र निकाल्न मिल्छ’ भन्दै मेसेज गरे । तिनले सुवर्णलाई ह्वाट्सएपमा क्युआरकोडसमेत पठाए । उनको मेसेजले सुवर्ण लोभिए । उनलाई कृषि विकास बैंकको क्युआर ह्वाट्सएपमा आयो । सुवर्ण हौसिए र आफू काम गर्ने अफिसको प्रमुखसँग मागेर ५० हजार पठाए । पटक–पटक गरेर उनले १ लाख ५० हजारजति पठाए । केही क्षणमै अध्यागमन विभागमा भएको दावी गर्ने ती व्यक्तिले उनलाई मेसेन्जरमा ब्लक गरिदिन्छन् । त्यसपछि बल्ल सुवर्णले आफू ठगिएको थाहा पाए । घटना– २ कपिलवस्तुबाट प्लस टु अध्ययन गर्न सीता मगर काठमाडौं आइन् । केही दिन आफन्तकोमा बसिसकेपछि उनले बिस्तारै कोठा खोजेर बस्ने योजना बनाइन् । उनी पनि सामाजिक सञ्जालमा चलाइरहन्थिन् । फेसबुकमा कोठा खोजिदिने विज्ञापन उनले देखिन् । कोठा आवश्यक परे म्यासेज र कल गर्नु भनेर आकर्षक विज्ञापन देखिन् । सीतालाई एउटा कोठा चाहिएको थियो । उनले आफ्नो आवश्यकताअनुसार कोठा विज्ञापनमा देखिन् अनि उनले तुरुन्तै विज्ञापनमा देखिएको नम्बरमा फोन गरिन् । कुराकानीकै सिलसिलामा उनले कोठा खोज्नुभन्दा अगाडि एडभान्स पैसा हाल्नुपर्ने शर्त थाहा पाइन् । कोठा खोजिदिने अफिसले पनि उनलाई अगाडि सेवा शुल्कस्वरूप ५ हजार हाल्दिनुपर्ने बताइन् । सीताले पैसा दिएको एक सातामा कोठामा पाउने शर्तमा पैसा दिइन् । पैसा दिएको केही दिनसम्म ती व्यक्ति निरन्तर उनको सम्पर्कमा थिए । कोठा खोजिदिने र खोजिरहेको मात्र जवाफ पाउने गर्थिन् उनी । दुई सातासम्म कोठा खोजिरहेको मात्र जवाफ पाएपछि सीताको मनमा चिसो पस्यो । केही दिनपछि उनले पुनः सम्पर्क गर्न खोज्दा फोन अफ थियो । कोठा खोजिदिने मानिसले उनलाई ह्वाट्सएप र फेसबुकमा ब्लक गरिसकेका थिए । सीताले सबैतिरबाट ब्लक भएको पाएपछि आफू ठगिएको थाहा पाइन् । न उनले कोठा पाइन् न त पैसा । त्यसपछि उनी उजुरीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगिन् । घटना– ३ केही महिनाअघि बिदा मनाउन चन्द्र श्रेष्ठ नेपाल आए । बिदा सकिएपछि उनलाई फेरि कतार जानु थियो । उनी पहिलो बिदामा नेपाल आउँदा कम्पनीले नै टिकट उपलब्ध गराएको थियो । पुनः कतार जानुपर्ने हुनाले उनले काठमाडौंकै ट्राभल्समा अनलाइनबाट सम्पर्क गरे। 'ब्लु स्काइ' ट्राभलको नामले प्रहरीकोमा उजुरी परेको छ । चन्द्रले सामाजिक सञ्जालबाट ट्राभल्ससँग सम्पर्क गरेका हुन् । उनले सबैथोक अनलाइनबाट हुने भएकाले पनि ट्राभल्सको अफिस धाइरहनु पर्ने झन्झट बेहोर्न चाहेनन् । ट्राभल्सको फेसबुक पेजमा सम्पर्क गर्दै उनले मेसेज गरे, ‘कतार जानका लागि टिकट काट्न पाइन्छ ?’ । ट्राभल्सको पेजबाट पनि अगाडि टिकट बुक गर्न पैसा लाग्ने जवाफ पाए । उनले पनि पैसा पठाइदिने बताए । मेसेन्जरमा उनले कुमारी बैंकको क्युआर पाएलगत्तै उनले पैसा पठाए । श्रेष्ठले पैसा पठाए पनि टिकटको कन्फर्मेसन भने पाएनन् । टिकट बुक गर्न पैसा हालेको त्यसको न रिसिभ पाए न बुक भएको मेसेज नै पाए । उनलाई ट्राभल कम्पनीको पेजबाट केही मिनेटमै फेसबुकबाट ब्लक गरियो । त्यसपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । लगत्तै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । प्रविधिले वित्तीय क्षेत्रमा सहजता बढाएको छ । सहजता र सुविधासँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढाएको छ । प्रयोगकर्ताहरू दिनहुँ डिजिटल ठगीको सिकार भइरहेका छन् । मानिसहरूलाई भुक्तानी गर्न टाढा–टाढा जानुपर्ने झन्झटबाट मुक्त भएका छन् । यसले गर्दा मानिसको समय बचत र प्रविधिको प्रयोगले सहजतासमेत थपेको छ । नेपालमा विद्युतीय भुक्तानी सेवा स्थापित भइसकेको छ । डिजिटल कारोबार लोकप्रिय बन्दै गएको देखिन्छ । जति–जति प्रविधिको विकास उत्ति नै वित्तीय अपराधको जोखिम पनि बढेर गएको छ । पछिल्लो समय मानिसहरूले उपहार परेको, कोठा खोजिदिने, बैंकबाट बोलेको तथा अनलाइनस सपिङ् गर्नका भनेर ठगीको धन्दा बढिरहेका छन् । प्रविधिको विकास भए पनि वित्तीय साक्षरता नबढ्दा मानिसहरू आर्थिक कारोबारमा फस्न थालेका हुन् । सोसल मिडिया ह्याक तथा फेक आइडी, बैंक तथा वालेट अफिसबाट बोलेको, बैंक तथा वालेट ह्याक गरेर ओटीपी, लट्री तथा पार्सल पठाएको, वैदेशिक रोजगारको प्रलोभन, भिडियो सेयरिङ ब्लाक मेलिङ, अनलाइन जब, अनलाइन टिकेटिङ, मास्टर कार्ड गेमिङ, अनलाइन मार्केटिङ तथा अनलाइन सपिङ र अनलाइन ट्युसन जस्ता कार्यमा ठगी गर्ने बढेका छन् । यी सबै ठगीमा पैसाको कारोबार हुने गरेको छ । कुनै न कुनै हिसाबले मानिसहरू ठगिने गरेका छन् । ठूला–ठूला रकम बैंक खातामा र सानामा क्युआर साइबर ब्यूरोका अनुसार विभिन्न शीर्षकमा ठगी भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ६४२ वटा वित्तीय ठगीको उजुरी परेको थियो । ३ हजार बढी क्युआरबाट ठगीमा परेका उजुरीकर्ताहरू छन् । ब्यूरोले थोरै–थोरै रकम क्युआरबाट कारोबार हुने गरेको खुलेको बताउँछ । अधिकांश वित्तीय ठगीको उजुरीमा बैंक खातादेखि क्युआर पठाएर ठगी हुने गरेको ब्यूरोका प्रवक्ता दिलिप गिरी बताउँछन् । उनका अनुसार ठूला–ठूला रकम ठगिनेमा खातामा उजुरीकर्ताले बैंक खाता पठाउने गरेको खुलेको छ । साना कारोबारमा भने विभिन्न बैंक तथा अन्य क्युआर कम्पनीका क्युआर स्क्यान पठाएर ठगी गर्नेहरूको संख्या बढेको छ । प्रवक्ता गिरीका अनुसार वित्तीय साक्षरता हुँदाहुँदै पनि शिक्षित पुरुष तथा गृहिणीहरू डिजिटल कारोबारीको ठगीमा पर्ने गरेका छन् । नेपालीहरूमा अझै पनि वित्तीय साक्षरता भइनसकेको उनले जानकराी दिए । ‘सित्तैमा कसैले पैसा र उपहार दिँदैनन् । तर मानिसहरू अनाहकमा सामाजिक सञ्जालको आकर्षक विज्ञापन देखेर ठगीमा पर्ने गरेको छन्,’ प्रवक्ता गिरीले भने । ठगीमा पर्ने महिला धेरै फेसबुकमा अपरिचित कम्पनी र व्यक्तिले गरेका विज्ञापनबाट ठगिनेको संख्या बढिरहको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले जानकारी दिए । विज्ञापनको रोजगार, पार्सल आएको र सामान खरिद गरेर ठगीमा परेको भन्दै उजुरी दिनेको संख्या बढिरहेको उनको भनाइ छ । ‘दैनिक ५० जनाको हाराहारीमा निवेदन लिएर आउने गरेका छन्,’ ती अनुसन्धान अधिकृतले विकासन्युजसँग भने, ‘अनलाइन स्क्याममा परेका भन्दै पीडितहरू आउँछन् । तर उनीहरूले क्युआरबाट पैसा पठाउने गरेका छन् ।’ उनका अनुसार ५ हजारदेखि २ लाखसम्म ठगीमा परेको भन्दै उजुरी लिएर आउने गरेका छन् । उनले अधिकांश पीडितहरू २० देखि ३५ वर्ष उमेर समूहका मानिसहरू रहेको जानकारी दिए । पुरूषभन्दा बढी महिलाहरू अनलाइनका विभिन्न प्लेटफर्मको स्क्याममा पीडित बनेका छन् । २ हजार उजुरीमध्ये १८ सय क्युआरबाट पैसा पठाएर ठगीमा पर्ने गरेको ती अधिकृतले बताए । ग्राहकले कारोबारको निरीक्षण गर्नुपर्ने ग्राहकले बेला–बेलामा कस्तो कारोबार भइरहेको भनेर हेर्नुपर्ने फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा बताउँछन् । गलत बाटोबाट वा सही तरिकाले पैसा आएको हो होइन, त्यसलाई पहिचान गरेमा पनि कानुनको फन्दामा नपरिने उनको बुझाइ छ । ‘ह्याक गरेर पैसा लानेले पनि अन्तिममा एउटै खातामा लैजाने गरेका छन्,’ सापकोटाले भने, ‘बैंक तथा ग्राहकले सुरुमा थाहा पाउन सकेमा त्यस्तो ठगीबाट बच्न सकिन्छ ।’ सीईओ सापकोटाका अनुसार ह्वाटस्एप नम्बर अरूले थाहा पाएर ह्याक हुने सम्भावना बढी हुन्छ । ग्राहकले कसरी पैसा आएको र किन आएको छ भनेर पत्ता लगाउन सकेमा यस्तो अवस्था सिर्जना नहुने बताउँछन् । असामाजिक प्रवृत्ति भएकाले गर्छन् सोसल मिडियामा अपराध डिजिटाइलेजसनको माध्यमबाट हुने अपराध फरक विशेषता भएका मानिसले मात्र गर्न सक्ने मानसिक अस्पताल पाटनका डा. अनन्त अधिकारीले जानकारी दिए । असामाजिक प्रवृत्ति भएका मानिसहरू अपराधिक गतिविधिमा सहभागी हुने गरेको उनको ठम्याइ छ । ‘मानव मनोविज्ञानको एउटा मुख्य शत्रु भनेको अपराध गर्न तयार रहनु हो । प्रविधिको विकाससँगै मानिसहरूले यसलाई अपराधीकरणको साधन बनाएका छन्,’ डा. अधिकारी भन्छन्, ‘पुरानो समयमा भौतिक रुपमा लुट्ने, चोर्ने र हत्या गर्थे । अहिले भने समयको विकाससँगै प्रविधिको विकासले अपराध गर्ने माध्यम फेरियो । मानिसहरूले डिजिटिल माध्यमलाई अपराध गर्ने स्थान बनाएका छन् ।’ डा. अधिकारीले भौतिक संसारमा जस्तो घटना हुन्थ्यो भर्चुअल माध्यममा त्यस्तै घटना दोहोरिन थालेको बताए । खराब मनोवृत्ति भएकाले गलत कर्ममा लाग्ने गरेको उनको भनाइ छ । आपराधिक मनोवृत्ति भएका मानिसहरूले सोसल मिडियामा पूर्णरुपमा अध्ययन गरेर मात्र विज्ञापन गर्ने डा. अधिकारीको बुझाइ छ । उनीहरूले सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको माध्यम ठानेर अपराध कर्म गर्ने गरेको उनले बताए ।
महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली
काठमाडौं । पाँच वर्षअघि फ्रान्सेली कम्पनीलाई दिइएको ई-पासपोर्ट छपाइको ठेक्का सकिन केही दिन मात्रै बाँकी छ । तर, नयाँ कम्पनीले ठेक्का पाइसकेपछि पनि पुरानै कम्पनीलाई निरन्तरता दिने प्रयास भएको आशंकाबीच राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगे । यसले राहदानी छपाइ ठेक्काको बहुचर्चित प्रकरण फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ । विशेष अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । अख्तियारले ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितता, मिलेमतो र निर्णय प्रक्रियामा भएको चलखेलबारे अनुसन्धान अघि बढाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको प्रक्रिया तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सुरु भएको थियो । २०७५ असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले राहदानी विभागलाई ई–पासपोर्ट छपाइका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि २०७६ भदौ १५ गते अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको थियो । उक्त प्रतिस्पर्धामा फ्रान्सको आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले करिब २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गर्दै ठेक्का हात पारेको थियो । त्यसयता नेपाली नागरिकका लागि ई–पासपोर्ट उत्पादन र आपूर्तिको जिम्मेवारी यही कम्पनीले सम्हाल्दै आएको छ । तर, अब उक्त कम्पनीको सम्झौता अवधि साउनको दोस्रो साता समाप्त हुँदैछ । ठेक्का पाइसके जर्मन कम्पनीले आईडीईएमआईएको अवधि सकिनुअघि नै सरकारले नयाँ कम्पनी छनोट गरिसकेको छ । जर्मनीका भेरिडोस जीएमबीएच र म्युहलबाउर आइडी सर्भिस जीएमबीएचले राहदानी छपाइको नयाँ ठेक्का पाएका छन् । ठेक्का सम्झौताअनुसार म्युहलबाउरले पहिलो प्याकेजअन्तर्गत करिब १ अर्ब ५५ करोड रुपैयाँको काम गर्नेछ भने भेरिडोसले दोस्रो प्याकेजअन्तर्गत ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँको जिम्मेवारी पाएको छ । यदि सरकारबाट कुनै नयाँ निर्णय भएन वा अन्तिम समयमा कुनै नाटकीय मोड आएन भने साउनको दोस्रो सातादेखि यी दुई जर्मन कम्पनीले नेपाली राहदानी छाप्ने काम सुरु गर्नेछन् । राहदानी विभागका प्रवक्ता सोमेश थापाले पनि पुरानो कम्पनीको अवधि समाप्त हुन लागेको र अब नयाँ कम्पनीमार्फत राहदानी उत्पादन प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । प्रधानमन्त्री कार्यालयको चासो महानिर्देशक अर्याल पक्राउ पर्नुअघि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार त्यहाँ नयाँ र पुराना राहदानी छपाइ कम्पनीहरूको सम्झौता अवधि, ठेक्का कार्यान्वयनको अवस्था तथा आगामी व्यवस्थापनबारे छलफल भएको थियो । प्रधानमन्त्री कार्यालयले विशेष गरी पुरानो कम्पनीको अवधि कहिले सकिन्छ, नयाँ कम्पनीले कहिलेदेखि काम सुरु गर्छ र ठेक्का कार्यान्वयनमा कुनै समस्या छ कि छैन भन्ने विषयमा जानकारी लिएको बताइएको छ । स्रोतका अनुसार यही क्रममा पुरानो कम्पनीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्ने सूचना प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो । राहदानी विभागका एक कर्मचारीका अनुसार जर्मन कम्पनीहरूले कानुनी रूपमा ठेक्का पाइसकेपछि पनि पुरानै कम्पनीलाई काम दिने वातावरण बनाउन खोजिएको आशंका सरकारी निकायहरूमा उत्पन्न भएको थियो । ‘नयाँ कम्पनीले विधिवत् ठेक्का पाइसकेको अवस्थामा पुरानो कम्पनीलाई निरन्तरता दिने प्रयास किन भइरहेको छ भन्ने प्रश्न उठेको थियो,’ ती कर्मचारीले भने, ‘यही विषयले प्रधानमन्त्री कार्यालय र अख्तियार दुवैको ध्यान तानेको देखिन्छ ।’ उनका अनुसार यदि पुरानै कम्पनीलाई फेरि काम दिने प्रयास भएको प्रमाणित भयो भने त्यसमा विभाग मात्र नभई मन्त्रालय तहसम्मका अधिकारीहरूको भूमिकाबारे पनि प्रश्न उठ्न सक्छ । राहदानीको नयाँ ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौं रुपैयाँको अनियमितता गरिएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो । प्रधानमन्त्री कार्यालयका एक सदस्यका अनुसार अख्तियारले राहदानी छपाइसम्बन्धी निर्णय प्रक्रिया, ठेक्का कार्यान्वयन, कम्पनी छनोट तथा पुरानो कम्पनीलाई निरन्तरता दिन खोजिएको भनिएको प्रयासमाथि विशेष चासो राखेको छ । ‘उजुरी परेकाले अनुसन्धान सुरु भएको हो । अनुसन्धानको केन्द्रमा ठेक्का प्रक्रिया र त्यससँग सम्बन्धित निर्णयहरू छन्,’ ती सदस्यले बताए । नेपालमा राहदानी छपाइजस्ता संवेदनशील ठेक्कामा सहभागी हुने अधिकांश विदेशी कम्पनीले स्थानीय एजेन्ट कम्पनीमार्फत काम गर्दै आएका छन् । त्यसैले ठेक्का प्रक्रियामा विदेशी कम्पनीसँगै नेपालका एजेन्ट कम्पनीहरूको भूमिकामाथि पनि अनुसन्धान केन्द्रित हुन सक्ने अनुमान गरिएको छ ।
चम्किला कार र ट्याक्सीभित्रको एउटा कुरूप कथा
काठमाडौं । दिनभर यात्रु बोकेर काठमाडौंका सडकमा गुड्ने एउटा ट्याक्सी रात पर्नासाथ अर्कै यात्रामा निस्कन्थ्यो । गन्तव्य हुन्थे राजधानीका विभिन्न होटल र यात्रु हुन्थे युवतीहरू । बाहिरबाट हेर्दा सामान्य ट्याक्सी सेवा जस्तो देखिने यो गतिविधिको भित्री कथा भने यौन व्यवसायको संगठित सञ्जालसँग जोडिएको प्रहरीले दाबी गरेको छ । केही दिनअघि गौशाला क्षेत्रमा प्रहरीले गरेको अपरेसनले यस्तै एउटा सञ्जालको पर्दाफास गरेको छ । रातको समयमा कार र ट्याक्सीमा युवतीहरू राखेर ग्राहक खोजिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा चार पुरुष र १२ युवती छन् । प्रहरीका अनुसार सञ्जाल सञ्चालनमा संलग्न व्यक्तिहरूमध्ये सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं-९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका-२ का ३३ वर्षीय विकास भुलन रहेका छन् । प्रहरीले युवती ओसारपसारमा प्रयोग गरिएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानले देखाए अनुसार विवेक स्याङ्तान लामो समयदेखि काठमाडौंमा ट्याक्सी चालकका रूपमा काम गर्दै आएका थिए । यात्रु बोक्दै राजधानीको जीवनशैली, मानिसहरूको व्यवहार र रात्रीकालीन गतिविधिबारे उनी परिचित भइसकेका थिए । यही क्रममा उनले केही युवतीहरूसँग सम्पर्क विस्तार गरे र त्यसलाई आम्दानीको अर्को स्रोत बनाउने योजना बुने । प्रहरीको दाबी अनुसार स्याङ्तानको समूहले होटलहरूमा युवती उपलब्ध गराउने काम गर्दै आएको थियो । ग्राहक खोज्ने, युवतीको तस्बीर र भिडियो पठाउने, मूल्य तय गर्ने र होटलसम्म पुर्याउने काम उनीहरूको नियमित गतिविधि बन्दै गयो । अनुसन्धानबाट खुलेअनुसार ग्राहकहरूमध्ये विदेश जाने–आउने नेपाली र भारतीय पर्यटकको संख्या उल्लेख्य थियो । ग्राहकको रोजाइअनुसार युवती पठाइने, मन नपरेमा फिर्ता बोलाएर अर्की युवती पठाइने व्यवस्था समेत मिलाइएको प्रहरीको भनाइ छ । सामाजिक सञ्जाल र विशेषगरी ह्वाट्सएप उनीहरूको कुराकानी र सेटिङको प्रमुख माध्यम बनेको थियो । त्यहीँ तस्बिर आदानप्रदान हुन्थ्यो, त्यहीँ मूल्यमा मोलमोलाइ चल्थ्यो । प्रहरीका अनुसार एउटा ‘डिल’ को न्यूनतम रकम १५ हजार रुपैयाँबाट सुरु हुन्थ्यो । तर, ग्राहकबाट लिइएको सम्पूर्ण रकम युवतीसम्म पुग्दैनथ्यो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार समूहले ग्राहकसँग जति रकम लिए पनि अधिकांश युवतीलाई पाँच हजार रुपैयाँ मात्रै दिने गरेको देखिएको छ । प्रहरीले बरामद गरेका मोबाइल फोनहरूमा यौन कारोबार सम्बन्धी संवाद, रकमको मोलमोलाई र ग्राहक व्यवस्थापनका विवरण भेटिएको जनाएको छ । केही युवतीहरू काठमाडौंमा अध्ययनका लागि बसेका र केहीलाई बाहिरी जिल्लाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ट्याक्सी चालक, युवती र केही होटलबीच पहिलेदेखिको सम्पर्क रहेको देखिएको छ । ‘प्रारम्भिक अनुसन्धानमा ट्याक्सी चालक, युवती र होटलबीच समन्वय रहेको देखिएको छ । ग्राहक भेटाउने, मोलमोलाई गर्ने र होटलसम्म पु¥याउने प्रक्रिया संगठित ढंगले सञ्चालन भएको संकेत भेटिएका छन्,’ भट्टराईले भने । प्रहरीका अनुसार ग्राहक र युवतीबीच प्रत्यक्ष भेटपछि अन्तिम मूल्य निर्धारण हुने गरेको थियो । अनुसन्धानबाट एक युवतीका लागि तीन हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लिने गरिएको तथ्य समेत खुलेको छ । हाल पक्राउ परेका सबैमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा अन्य कसुर आकर्षित हुने सम्भावना रहेको प्रहरीको भनाइ छ । राजधानीका चम्किला होटल, रातको सहर र सामान्य देखिने ट्याक्सीको यात्राभित्र लुकेको यो सञ्जालले काठमाडौंमा अझै पनि विभिन्न स्वरूपमा यौन व्यवसाय सञ्चालन भइरहेको संकेत दिएको छ । अब अनुसन्धानले यो नेटवर्क कति ठूलो थियो र यसमा अरू को-को जोडिएका थिए भन्ने प्रश्नको उत्तर खोजिरहेको छ । नेपाल प्रहरीको अनुसन्धान पनि त्यहीँतर्फ मोडिएको छ ।
आन्दोलनमा जलेका गाडीको चेसिस नम्बर चोरीका गाडीमा राखेर बिक्री
काठमाडौं । तपाईंले काठमाडौंका सडकमा गुडेका कारहरू देख्नु भएकै होला । नयाँ ब्लुबुकसहितका लोभलाग्दो कारहरू गुडिरहेका हुन्छन् । नयाँ गाडी देखेर तपाईं खरिद गर्न लालायित हुनु त भएको छैन ? यदि त्यसो हो भने होसियार हुनु पर्ने बेला भएको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका छन् । केही समयदेखि काठमाडौं उपत्यकामा भन्सारमा छलेर कारहरू भित्र्याउने पेशेवर समूहका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ५३ वर्षीय नविन जिसी गत शुक्रबार ललितपुरबाट पक्राउ परे । भारतबाट भन्सार छलेर ल्याएका सवारी साधनसहित उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निशान कम्पनीको एक्स ट्रायल, सेफिरो गाडी १ र हुन्डाइको १ थान कारसहित नियन्त्रणमा लिएको हो । चार पाँग्रे सवारी साधन बिक्री वितरण गर्न राखिएको भन्ने विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतबाट चोरी भएका गाडी ल्याएर काठमाडौं लगायतका विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए । जसका नाइके वा प्रमुख विश्वचन्द्र वादे श्रेष्ठ थिए । श्रेष्ठले भारतबाट भारतीय प्लेटसहितको कार नेपाल भित्र्याउने गर्थे । उनी आफ भारतीय गाडी चलाएर भन्सारबाट नेपाल आउने गरेका थिए । भारतका विभिन्न व्यक्तिसँग तथा गिरोहसँग सम्पर्क गरी चोरी भएका सवारीसाधन नेपालका विभिन्न नाका प्रयोग गर्ने गरेका थिए । उनले नेपालका भन्सार नाकामा यात्रा गर्न अनुमतिको राजश्व तिरेर भारतीय प्लेटका गाडी भित्र्याउँथे । वैधानिक बाटो खोज्ने गरेका थिए । जसमा श्रेष्ठले यात्रा अनुमतिको राजस्वको सहारा लिने गरेका थिए । उनले नाकासम्म भारतीय चालकलाई प्रयोग गर्ने गरेका थिए । भन्सार नाकामा यात्रा अनुमति राजस्व तिरेर उनीहरूले कार भित्र्याउने गरेका थिए । केही समयसम्म उनीहरूले काठमाडौं, ललितपुर, चितवन र हेटौंडा जस्ता ठाउँमा कुँदाउँथे । किनभने उनीहरूको साथमा राजस्व तिरेको पत्र साथमा थियो । कुदाइ रहुन्जेल काठमाडौं लगायत विभिन्न स्थानमा ग्राहकको खोजी गर्ने गर्थे । गाडी किन्ने ग्राहक भेटेपछि उनीहरूले बिक्रीका लागि राख्ने गरेका थिए । चितवन, हेटौंडा, नेपालगञ्ज, बुटवल र वीरगञ्जका ग्राहकलाई गाडी बिक्री गर्ने गरेका थिए । हेटौंडाबाट भने फेक नम्बर हालेर मोटरसाइकल मात्र काठमाडौं भित्र्याउने गरेका थिए । विश्वचन्द्रले राजश्व तिरेको निश्चित समयसम्म भारतीय प्लेटमा निर्वाध रुपमा गाडी कुदाउने गरेका थिए । यातायात कार्यालयमा पुगेर दुर्घटना र जेनजी आन्दोलनमा जलेका गाडीका चेसीस नम्बर लिने गरेका कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार यातायात कार्यालयमा बिचौलिया प्रयोग गरेर सडकमा नकुदेका गाडी खोजी गर्ने गर्थे । भन्सार छली ल्याएका कम्पनीका गाडी भेटेमा चेसीस नम्बर र नम्बर प्लेट हाल्ने गर्थे । विश्वचन्द्रले भारतबाट चोरी भएका गाडी नेपाल ल्याउने पेशा नै बनाएका थिए । मुलुकका विभिन्न ठाउँमा पुगेर मोडिफाई गर्ने भनेर १० देखि २० लाखसम्ममा गाडी बिक्री गर्ने गर्थे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले यातायात कार्यालयमा जाने पुराना तथा दुर्घटना वा जलेका गाडी नम्बर पत्ता लगाउने गरेका थिए । जलेका गाडी र दुर्घटना भएका गाडीको चेसीस नम्बर कपी र नम्बर प्लेट हाल्ने गरेका थिए । उनका अनुसार विश्वचन्द्रको मोबाइलमा ह्वाटसएपमा कारको मात्र फोटो रहेको थियो । उनले भारतबाट कार बिक्री गर्नका लागि ल्याउने गरेको देखिने ती प्रहरी अधिकृतले बताए । अहिलेसम्मको अनुसन्धानबाट उनले कार बिक्री गर्ने गरेको उनले बताए । गाडी मात्र नक्कली नभई ब्लुबुकसमेत फेक बनाउने गरेको खुलेको उनले जानकारी दिए । गाडकी मोडल अनुसार चेसिस खोजी गर्ने गरेको उनको भनाइ छ । उनीहरूले धेरै ग्राहकलाई पुरानो गाडीमा नयाँ सामान हाल्दिने भनेर सम्पर्क गर्ने गर्थे । पुराना गाडीमा भारतबाट ल्याएका गाडीबाट इन्जिन झिकेर पुराना गाडीलाई नयाँ जस्तै बनाइदिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिए। उनीहरूले बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका थिए । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा गाडीको विज्ञापन गर्ने गरेका थिए । उनीहरूले फेसबुकको मार्केट प्लेसमा चोरी र भन्सार छलेका गाडीहरू बिक्रीमा राख्थे । गाडी देखाएर एडभान्स रकम सुरुमा लिने गर्थे र पैसा लिएपछि ग्राहकसँग सम्पर्कविहीन हुने गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा भन्सार छली गरेका सात वटा सवारीसाधन नियन्त्रणमा परेका थिए । मोटरसाइकल २ वटा र विभिन्न कम्पनीका पाँचवटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका कार तथा मोटरसाइकलहरू अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरण पठाउने गरेको कार्यालयले जनाएको छ ।
१६ हजारको जागिरबाट यसरी करोडौंको मालिक बनिन् तुलसी
काठमाडौं । तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई बिहीबार ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई केही दिनअघि थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा कुमार चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा भएको थियो । तुलसाले चिमोरियासँग पहिले सम्बन्धमा रहँदाका अन्तरंग फोटो र भिडियो गोप्यरूपमा रेकर्ड गर्ने गर्थिन् । पछि त्यही फोटो र भिडियो देखाएर पटक–पटक सार्वजनिक गरिदिने धम्की दिँदै रकम लिने गरेकी थिइन् । रकम नदिए पुरुष अर्थात् पीडितको श्रीमती, परिवार तथा आफन्तसमेतलाई भनिदिने धम्की दिने र कतिपय अवस्थामा फोटो र भिडियोसमेत देखाएर धम्काउने गरेको खुलाइएको छ । चिमोरिया कामको शिलशिलामा बुटवल गइरहन्थे । सामान्य चिनजान थियो सुरुमा उनीहरूको । तुलसीले आफ्नो बारेमा बताएपछि चिमोरियाले उनलाई नजिक बनाए । नजिक मात्र बनाएनन्, काम खोजेर जीवनयापन सहज हुने वातावरणसमेत बनाइदिए । बुटवलदेखि ललितपुर ग्वार्कोको मेगा मोटर्समा काममा लगाइदिए उनले । उनले १६ हजार ५ सय रुपैयाँ तलबको काम पाइन् । त्यसपछि काठमाडौं आएकी तुलसीले ग्वार्कोको मेघा मोटर्समा ३ महिना काम गरिन् । तुलसीले २०७७ मंसिरमा २३ हजार ७६० रुपैयाँ, पुसमा २९ हजार ७०० रुपैयाँ र माघमा १६ हजार ७१० रुपैयाँ कमाएकी थिइन् । अधिकारीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण गरी ललितपुरको भैंसेपाटीमा ४ करोड रुपैयाँभन्दा बढी रकमको घर खरिद गरिसकेकी छन् । उनले २०८२ असार १० गते ललितपुरको सैंबु–४, भैंसेपाटीमा ४ आना क्षेत्रफलमा बनेको घर कम्तीमा ४ करोड रुपैयाँमा खरिद गरेकी हुन् । ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिनाअघि मात्रै तुलसी अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । तुलसाले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा ५ लाख रुपैयाँको लिखत गरेर किनेको थिइन् । चीनमा पनि कम्पनी स्थापना यता नेपालमा कम्पनी लगातार घाटामा गइरहँदा तुलसीले चीनमा समेत कम्पनी खोलेर व्यवसाय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले हुन्डीमार्फत रकम लगेर कम्पनी खोलेको खुलेको छ । भैंसेपाटीमा उनले ४ करोड रुपैयाँ पर्ने घर खरिद गरिसकेकी छन् । ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिना अगाडि मात्रै अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । उनले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा किनेकी हुन् । यस्तै, उनले छोरीलाई चीनको एक विद्यालयमा वार्षिक १५ लाख रुपैयाँ शुल्क तिर्ने गरी अध्ययन गराइरहेकी छिन् ।