जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।
सियोमा सफलता पाएका उद्यमी सञ्जयको कथा
काठमाडौं । १४ वर्षको कलिलो उमेरमा ननिदाएर मेसिन चलाउन नसिकेको भए, दिनरात नभनी काम नगरेको भए सञ्जय तामाङको जिन्दगी अहिले कसरी चलिरहन्थ्यो थाहा छैन । तर, उनको मिहिनेत र सीपले उनलाई उद्यमी बनाएको छ । जुन व्यवसायले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन आत्मसन्तुष्टि पनि दिएको छ । तीन वर्षदेखि काठमाडौंको बागबजारमा काजबटन व्यवसाय गरिरहेका सञ्जय कमिज, कोटमा काज बनाइदिने टाँसिदिने काम गर्छन् । तामाङले यो व्यवसाय सुरु गरेको करिब तीन वर्ष भयो । १० लाख लगानीमा एउटा कोठामा सुरु गरेको व्यवसायमा तीन वर्षमा फेरि ७ लाखको अर्को मेसिन थपेर अहिले तीनवटा मेसिनबाट काम गरिरहेका छन् । ‘कोठा त उही छ, ठूलो बनाउन सकिएको छैन तर, तीन वर्षमा लगानी उठेर पनि धेरै फाइदा भइसक्यो,’ उनी भन्छन्,‘ आजभोलि कोट पेन्ट लगाउनेको संख्या बढ्दो छ, सख्या बढेसँगै लुगा सिलाउनेको संख्या पनि बढ्दा काम राम्रै चलिरहेको छ ।’ नेपालमा कोट पेन्ट लगाउने चलन चलेको धेरै भएको छैन । राष्ट्रिय पोशाक नै दौरा-सुरुवाल भएर पनि होला अधिकांशले दौरा-सुरुवाल नै लगाउँथे । समय परिवर्तनसँगै नेपालमा पनि कोर्ट प्वाइन्ट लगाउने चलन बढ्दै गयो । संख्या बढेसँगै बजारमा माग पनि बढी भयो । पहिले जस्तो हातले मात्र काम गरेर हुने अवस्था रहेन । हातको सट्टा सबै काम मेसिनले गर्न थाल्यो । बजारको माग र आवश्यकताको बेला व्यवसाय सुरु गर्दा कमाइ पनि राम्रै भएको तामाङ बताउँछन् । एउटा काज बनाए र बटन टाँसिदिए बापत २० देखि २५ रुपैयाँ लाग्छ । उनी केही कमाइ भएन भन्ने दिन पनि दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने दाबी गर्छन् । भन्छन्, ‘सिजनमा त राम्रै कमाइ हुन्छ महिनामा डेढ लाख, दुईलाख सम्म पनि पुग्छ, सिजन नभएपनि मासिक ६०/७० हजार कहीँ कतै जाँदैन ।’ सञ्जयको घर रसुवाको सदरमुकाम धुन्चे हो । सदरमुकाम नजिकै घर भए पनि न आर्थिक अवस्था राम्रो थियो, न खान-लाउन पुग्थ्यो । उनी सानै हुँदा काठमाडौं आए । घरको आर्थिक अवस्था पनि कमजोर हुँदा उनको बालापन राम्ररी बित्न पाएन । पढ्न स्कुल समेत जान पाएनन् । कहिलेकाँही साथीहरूसँग गए पनि ड्रेस कापी किताब हुँदैनथियो । उनको यस्तो अवस्था देखेपछि उनको स्कुलको एकजना शिक्षकले उनलाई काठमाडौं ल्याए । ‘तिमी मसँग काठमाडौं जाने हो भने घुमाइदिन्छु भन्दै सरले ल्याएर यहाँ पुगेको हुँ,’ विगतका दिन सम्झँदै तामाङ भन्छन्, ‘यहाँ ल्याएर त मलाई बालमन्दिर राखेर पढ्नुपर्छ भन्नुभयो, सरले मेरो घरको अवस्था देखेरै ल्याउनुभयो होला,’ ‘पारिवारिक तथा आर्थिक अवस्था राम्रो नभएर मैले लगाएको झुत्रेझात्रे कपडा देखेर सायद सरलाई दया लाग्यो होला, सरले काठमाडौं पुर्याउँदा म सानै थिएँ,’ उनले आफ्नो विगत सुनाए । बालमन्दिर पुर्याउँदा विसं २०४६ सालमा सञ्जय तामाङ १२ वर्षका थिए । उनी शिक्षकसँगै काठमाडौं आए । काठमाडौं ल्याएर उनलाई बालमन्दिरमा बसेर पढ्न सल्लाह दिइयो । उनी पनि तयार भए । तर, गाउँको नजिकैको नाता पर्ने काकाले आफ्नो घरमा बस्न लगाए । उनको घर बालमन्दिर नजिकै थियो । उनी छिमेकी काकाको घरमा बसेर बालमन्दिर भर्ना भए । तर, उनले पढाइलाई निरन्तरता दिएनन् । गरिबहरूमाथि अवसर पाउँदा सम्पन्न व्यक्तिले मौका पाउँदा रहेछन् । शिक्षकले बालमन्दिरमा पढाइदिन राखेका तामाङलाई आफ्नै घरमा राखेका काकाले पनि त्यही फाइदा उठाए । उनलाई दिउँसो स्कुल पढाउने र साँझ बिहान घरको काम गर्न लगाए । जबकि अनाथ, गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा निःशुल्क पढ्न बस्न सुविधा थियो । सञ्जयलाई घरको काम गर्दै पढ्न मन लागेन । उनले पाँच कक्षा पास गरिसकेपछि पढाइ छोडे । पढाइ छाडेर काकाकै घरमा काम गर्दै बस्ने गर्न थाले । तामाङको दैनिकी यसैगरी चलिरहेको थियो । उनी १४ वर्ष पुगिसकेका थिए । उनलाई घरमा काम गरेको देख्दा काकाको घर नजिकैका छिमेकी राजु ठकुरीलाई थाहा थियो । उनी गार्मेन्टमा काम गर्थे । सञ्जयको उनीसँग बोलचाल भइरहन्थ्यो । एकदिन उनले भने, ‘तिमी काम गर्ने हो ? एक ठाउँ काम भेटिएको छ ?’ तामाङले सहर्ष स्वीकार गरे । त्यसपछि उनले गार्मेन्टमा काम गर्न थाले । आफै कमाउन थालेपछि काकाको घर पनि छोडे । गार्मेन्टमा हेल्परको काम २०४८ तिर काठमाडौंको न्युरोडमा पसलैपिच्छे गार्मेन्ट उद्योगहरू थिए । व्यवसायी नेपाली थिएनन् । तर, कामदार सबै नेपाली थिए । लुगा सिलाउनेदेखि काज बटन लगाउनेसम्मको काम गार्मेन्टले दिइरहन्थ्यो । यही मौकामा सञ्जयले पनि गार्मेन्टमा काम सुरु गरे । उनको काम हुन्थ्यो सर्टको कुन ठाउँमा टाँके घर राख्दा हुन्छ भन्दै मार्किङ गर्नुपर्ने । काम पाएपछि उनले रातदिन मिहिनेत गरे । त्यो बेला काम गरेवापत मासिक ९ सय रुपैयाँ पाइन्थ्यो । तर उनले यति मिहिनेत गरेकी महिनाको दुई हजार थाप्न थाले । एक/दुई वर्ष काम गरिसकेपछि उनलाई मार्कर लगाएर बस्न मात्र रुचि भएन । उनलाई मेसिन चलाउने रहर लाग्यो । दिनभरि मार्किङ लगाउने काम गरेर राति कोही नहुँदा मेसिन चलाउन सिके । ‘दिउँसो सिक्ने समय पनि नहुने, अप्रेटरहरूले पनि नसिकाउने, राति सिक्न पाइन्छ भन्दै सुत्न नगइ सिकेको हुँ,’ तामाङ भन्छन्,‘ त्यो बेला अहिलेको जस्तो सीसी क्यामेरा पनि थिएन, राति अप्रेटरहरू सुत्न गइहाल्थे त्यो मौका छाप्दै मेसिन चलाउन जानियो ।’ तामाङले मेसिन चलाउन थालिसकेपछि हेल्परबाट अप्रेटर बने । अप्रेटर बनेपछि उनको तलब पनि बढ्यो । २ हजारबाट ३५ हजार पुग्यो । कामको चापाचाप हुन थाल्यो । उनले ठेक्कामा काम गर्न थाले । विभिन्न कम्पनी अफिसको ठेक्का लिएर काम गर्थे । काम राम्रै चलिरहेको थियो । देशमा सशस्त्र युद्ध सुरु भयो । गार्मेन्ट साहुले कामदारको तलब बढाएनन् । त्यसपछि ट्रेड युनियनले आन्दोलन सुरु गरे । जनआन्दोलन र ट्रेड युनियनको आन्दोलनले न्युरोडका गार्मेन्ट धमाधम बन्द भए । त्यहीबेला उनको जागिर पनि खोसियो । इराकको यात्रा तामाङले ६/७ वर्ष गार्मेन्टमा काम गरे । त्यो बेलासम्म उनी एक्ला थिएनन् । विवाह गरिसकेका थिए । छोरी पनि भइसकेकी थिइन् । जिम्मेवारी पनि थपिएको थियो । यही बेला जागिर खोसिँदा समस्या भयो । उनी विदेश जाने तयारीमा लागे । विदेशका लागि इराक रोजे । त्यहाँ उनको काम थियो वाइरिङ गर्ने । पाँच वर्ष त्यहीँ काम गरे । नेपाल र विदेशमा काम गर्दा अनुभव उनीसँग फरक छ । भन्छन्, ‘आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो, दुःखी बिरामी हुँदा सकिँदैन भन्न पाइन्छ । तर, विदेशमा त्यस्तो हुँदैन । सञ्चो नहुँदा पनि काम गर्नै पर्छ ।’ विदेशमा तोकिएको तलब समयमै थाप्न पाइन्छ । पैसा पनि बच्छ । तर, नेपालमा न राम्रो तलब हुन्छ न पैसा बच्छ । विदेशमा दुःख गरे अनुसार पैसा पनि हुने उनी बताउँछन् । उनी पाँच वर्ष विदेश बसेर २०७१ सालमा स्वदेश फर्किए । होटलमा गरेको लगानी डुबेपछि... तामाङ नेपाल फर्किसक्दा पनि गार्मेन्टहरू बन्द नै थिए । उनलाई काठमाडौं यत्तिकै बस्न मन लागेन । अन्य जागिरको खोज्न न शैक्षिक योग्यता थियो न कुनै सीप । सीप भएका उद्योगहरू बन्द नै थिए । उनले अब आफ्नै व्यवसाय गर्ने योजना बनाए । यही सिलसिलामा उनको भेट एक जना होटल व्यवसायीसँग भयो । थोरै-थोरै लगानी गरेर पनि व्यवसाय गर्न सकिने भन्दै लगानी गरे आफू काममा सहयोग गरिदिने बतायो । उसकै कुरा विश्वास गरी उनले कालोपुलमा सञ्चालनमा रहेको होटल खरिद गर्ने योजना बनाए । ‘मलाई व्यवसाय कसरी गर्ने भन्ने खासै आइडिया थिएन, त्यो भाइले म सहयोग गर्छु भन्दै लगानी गर्न लगायो,’ तामाङ भन्छन्, ‘मलाई लगानीका लागि उक्सायो तर, उनी १५ दिनमा घरमा काम पर्यो भन्दै गएर त्यसपछि कता गए फर्केर आएनन् ।’ उनकै आशामा खोलेको होटल उनै फरार भएपछि चल्न सकेन लगानी डुब्यो । त्यसको केही समयपछि २०७२ सालमा भूकम्प आयो । भएको व्यवसाय पनि भताभुंग भयो । ‘भएको पैसा पनि सकियो, व्यवसाय पनि सकियो, थाहा नभएको व्यवसायमा लगानी गर्दा पाँच वर्ष बसेर विदेशबाट ल्याएको कमाइ यसैमा डुब्यो,’ तामाङले निराश हुँदै भने । व्यवसाय डुबेपछि उनी त्यत्तिकै घरमा बसे । पछि एक जना चिनेको दाईले हातमा सीप भएको मान्छे किन त्यत्तिकै घरमा बसेको काम गर भन्ने सल्लाह दिए । उनले आफ्नै पसलमा काम दिए । मासिक तलब २० हजार थियो । काम राम्रो चल्दै गएको थियो । तर, उनलाई अब आफैसँग भएको सीप प्रयोग गरेर आफै काम गर्न मन लाग्यो । त्यसपछि सुरु गरे काजबटन व्यवसाय । अब आफ्नै व्यवसाय अरूको काम गरिरहँदा तामाङलाई उनको छोरीले आफ्नै काम गर्न सल्लाह दिइन् । उनले पनि यसमा सहमति जनाए । पारिवारिक सल्लाहपछि २०७९ सालमा तामाङले सुरु गरे आफ्नै व्यवसाय । छोरीले पनि सहयोग गरिन् । श्रीमतीले पनि साथ दिइन् । परिवारको हौसलाले सुरु गरेको व्यवसाय सोंचेभन्दा राम्रो चलिरहेको छ । काम अनुसार तामाङलाई तत्काल कर्मचारीको आवश्यक थियो । तर, श्रीमतीलाई पनि काम सिकाएपछि अहिले सहज भएको छ । श्रीमतीले अकाउन्टेन्टको कामदेखि मेसिन चलाउने काम समेत गर्छिन् । ‘आफू पढेलेखेको नहुँदा हिसाबमा कमजोर पनि थिएँ, अहिले जिम्मेवारी श्रीमतीलाई सुम्पिँदा धेरै सहज भएको छ,’ उनले अनुभव सुनाए । उनकी छोरी एउटा कम्पनीमा मार्केटिङको काम गर्छिन् भने छोरा कक्षा ११ मा अध्ययन गर्छन् । ‘मसँगैका पढेका साथीहरू कोही शिक्षक छन्, कोही अधिकृत छन्, तर, मलाई नपढेकोमा पछुतो छैन, उनीहरूले कमाउने तलबभन्दा बढी पैसा मैले पनि कमाइरहेको छु,’ उनले खुसी हुँदै भने । तामाङ सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुवाले अर्को विवाह गरे । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । स्कुल जानुभन्दा घरको काममा बाल्यकाल बित्यो । समय पाउँदा उनी स्कुल गइहाल्थे । सँगैका साथीहरू स्कुल जाँदा उनी घाँस काट्न जान्थे । ‘किताबका पाना पढ्न नपाए पनि जिन्दगीका पाना राम्रैसँग पढेको छु,’ उनी भन्छन्, ‘मलाई पढाइभन्दा सीप आवश्यक जस्तो लाग्छ, पढाइ नचाहिने भन्ने होइन तर पढाइमात्र भएर हुँदैन रहेछ, म नपढेकोले त सीप भएर जिविका चालइरहेको छु भने पढेकाहरूलाई पनि सीप अनिवार्य छ ।’
संसदीय समितिमै किन अड्कियो शिक्षा विधेयक ?
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दुई साताभन्दा बढी समय बितिसक्दा पनि बस्न सकेको छैन । ‘विद्यालय शिक्षा विधेयक’मा सहमति हुन नसकेका बुँदामा अहिले निरन्तर छलफल चल्नुपर्ने हो । तर सरोकारवालाको गैर-जिम्मेवारका कारण बैठक बस्न नसकेको हो । जेठ ११ गते शिक्षामन्त्री रघुजी पन्तले समितिलाई विधेयकमा देखिएका समस्या समाधानका लागि ७ दिनको समय मागेका थिए । सात दिन भित्रमा समस्या समाधान गरेर काम सुरु गर्ने वचनवद्धता गरेका मन्त्रीले अहिलेसम्म सुझाव दिन सकेका छैनन् । मन्त्रीले सुझाव दिन त परको कुरा संसद्लाई समेत समय दिन सकिरहेका छैनन् । जसकारण समितिको बैठक समेत बस्न सकेको छैन । मन्त्रीले नै बेवास्ता गर्दा समितिको छलफल रोकिएको भन्दै सांसदहरू तोकिएको समयमा विधेयक पारित हुने आंशका व्यक्त गरिरहेका छन् । समिति सभापति अम्बरबहादुर थापा मन्त्रीको व्यस्तताका कारण समितिको बैठक बस्न नसकेको बताउँछन् । ‘मन्त्रीज्यूले ३१ गतेमात्र बैठक बोलाउ भन्नु भएको छ, अब हाम्रो बैठक ३१ गते बस्ने छ, त्यसपछि छलफल गर्नुपर्ने विषयमा निरन्तर छलफल हुने छ,’ उनी भन्छन्, ‘उहाँले म्यादमात्र थप माग्नुभएको छ, सरकार तयार नहुँदासम्म हामीलेमात्र छलफल गरेर भएन, यही अवस्था हो भने १५ गतेभित्र विधेयक पारित हुन्छ हुँदैन भन्न सकिँदैन ।’ ‘हुन त उपसमितिदेखि समितिसम्म हामीले छलफल गर्दै आएका कुराहरू छन्, केही बुँदामा मात्र समस्या देखिएको छ । यसमा पनि सहमति जुटाउनु छ तर निरन्तर सांसद अवरुद्धले पनि के हुन्छ भन्ने भन्न सकिने अवस्था छैन,’ उनले थपे । सासंसदहरू सरकारको चाहना नै विधेयक पारित गर्ने नरहेको देखिएको बताउँछन् । ‘के कारण यस्तो गरिराख्नुभएको छ थाहा छैन तर, यो विधेयक निकै महत्वपूर्ण हो, आन्दोलनका बीचबाट सहमति गरेकाले समितिको धारणा तोकिएको समयमै विधेयक आओस् भन्ने हो,’ समितिका सदस्य एवं सासंद रेखा शर्माले भनिन् । उनी यो विषयमा सरकार नै सहमत नभएको जस्तो देखिएको बताउँछिन् । अधिकांश समितिका सदस्यको धारणा सरकारले नै विधेयक असार १५ मा ल्याउन नचाहेको छ । नेकपा माओवादी केन्द्रका शिक्षा विभाग प्रमुख माया शर्मा निरन्तर यही हिसाबले संसद् अवरुद्ध हुने र सरकारले लचकता नअपनाउने हो भने शिक्षकसँग गरेको सहमतिअनुसार विधेयक पास हुने छाँट नदेखिएको बताउँछन् । सांसदहरू मन्त्रीको वेवास्ता भनिरहँदा यता शिक्षामन्त्री पन्त भने तोकिएकै समयमा विद्यालय शिक्षा विधेयक पारित हुने बताउँछन् । विभिन्न सावर्जनिक कार्यक्रममा बोल्दै उनले विधेयकमा सहमति जुट्न नसकेका विषयमा अहिले पनि शिक्षकहरूसँग छलफल भइरहेको बताउँदै विधेयक पारित हुँदैन कि भन्ने कुरामा शंका नगर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले शिक्षकहरूसँग लिखित सहमति गरेका छौं, यो विषयबाट भाग्ने भन्ने हुँदैन, यो महिनाभरी मन्त्रालय भित्रको वर्कआउट सक्छौं, त्यसपछि बाँकी काम अरु दिनमा सकेर प्रतिनिधिसभाबाट विधेयक पास गछौं ।’ मन्त्री पन्तले प्रधानाध्यापक संघ नेपाल (पान)ले असार १५ मै भन्ने नभइ राम्रो कानुन असार १७ मा ल्याउँदा पनि हुने भनेको जानकारी दिए । २०७५ सालयता विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै आएको छ । विधेयकका बुँदाबुँदामा शिक्षा समिति अन्र्तगतको उपसमितिले गहनरूपमा छलफल गरेको छ । धेरै विषयमा सहमति जुटाउन सके पनि केही विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा विधेयकलाई अझ गहनरूपमा छलफल गर्न गठन गरिएको उपसमितिले पनि निजी विद्यालयलाई गुठीमा राख्ने कि नराख्ने भन्ने विषयमा सहमति जुटाउन सकेन । उपसमितिले बालविकास केन्द्र कति वर्षको बनाउने, निजी विद्यालयलाई गुठीमा राख्न के गर्ने भन्ने लगायतका केही विषयलाई नटुग्याउँदै विधेयक शिक्षा समितिलाई पठाएको थियो । विवादित विषयमा फेरि समितिले छलफल अगाडि बढाएको छ । तर दुई साताभन्दा बढी समयमा समितिको पनि बैठक नबस्दा विवादित अन्योल सिर्जना भएको हो । यस्ता अन्योलमा रहेका विषयमा सहमति जुटाउनुपर्ने भएपनि बैठक बस्न नसक्दा शंका उत्पन्न भएको हो । कडा आन्दोलन गर्ने चेतावनी विवादित विषयमा सहमति जुटाइ गत वैशाख १७ गते सरकारसँग लिखित गरेको शिक्षक महासंघ भने कुनैपनि हालतमा १५ गते विधेयक आउनुपर्ने बताएको छ । महासंघका अध्यक्ष, सहअध्यक्षदेखि महासचिवहरू अहिले पनि नियमित सरकारसँग छलफलमा छन् । निरन्तर छलफल संवादमा रहका महांसघका प्रतिनिधि विधेयक पास गरेरमात्र घर फर्किने बताउँछन्। उनीहरू विवादित विषयमा सहमति जुटाइ तोकिएको मितिमा विधेयक नआए कडा खालको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब पनि सरकारले छक्याउन खोजे नराम्रो मूल्य चुकाउनुपर्ने बताउँछन् । पटक-पटक सडक र भेटघाटमार्फत सरकारलाई दबाब दिँदै आएको स्मरण गर्दै उनले विद्यालय शिक्षा ऐन जसरी पनि तोकिएको समयमा आउनुपर्ने जिकिर गर्छन् । महासंघका सहअध्यक्ष नानुमाया पराजुली देशको राम्रो शिक्षा नीति बनाउन भनेर सरकारलाई यसरी दबाब दिइराख्नु नै अचम्मको विषय भएको बताउँछिन् । ‘हामीले हाम्रो व्यक्तिको समस्या समाधान गर भनेको होइन, शिक्षा नीति राम्रो बनाऔं, देश राम्रो बनाऔं भन्दा पनि पटक–पटक सडकमा पुग्नुपर्ने अवस्था आउनु विडम्बना हो,’ उनी भन्छिन् । यता प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदमप्रसाद गौतम शिक्षा ऐन आउनुपर्छ तर प्रगतिशील आउनुपर्ने बताउँछन् । भन्छन्, ‘हतार गरेर पछि विरोध गर्नुभन्दा सबै कुरा समेटेर विधेयक आउनुपर्छ, हतार गरेर पूरानै ढर्राको आउने हो भने अवस्था उस्तै हुन्छ, केही दिन तलमाथि भए पनि प्रगतिशील विधेयक आउनुपर्छ ।’ २०७५ सालदेखि छलफलको विषय बनेको विद्यालय शिक्षा विद्येयक अहिलेसम्म टुंगिन नसक्नु बिडम्बना हो । हाल देशमा २०२८ सालको शिक्षा ऐनले काम गरिरहनुपरेको छ । पुरानो शिक्षा ऐनले अहिलेको अवस्था र गुणस्तरलाई समेट्न नसक्ने बताउँदै सरोकारवालाहरू विद्यालय शिक्षा विधेयक ल्याउन ढिलाइ गर्न नहुने बताउँछन् । ८० लाख बालबालिकाको जीवनमा खेलबाड विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षक कर्मचारी पटकपटक सडकमा आउँदा यसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । अभिभावक संघ नेपालका केन्द्रीय सचिव प्रवीण निरौला ८० लाख विद्यार्थीको पढाइ प्रभावित हुनेगरी शिक्षा क्षेत्रमा भइरहेको प्रवृत्तिले उनीहरूको जीवनमाथि नै खेलबाड भएको बताउँछन् । अभिभावक संघले पनि पटकपटक शिक्षा विधेयक चाँडो आउनुपर्छ भन्दै आवाज उठाइराखेको बताउँदै उनले जेठ १५ गते विधेयक आउनुपर्ने बताउँछन् । पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिले बालबालिकामाथि असर परेको उनी बताउँछन् । उनी भन्छन्, ‘समितिका साथीहरूले नै सरकारले यो विषयमा ध्यान दिएन भन्दै आउनुभएको छ । यो कुरा साँचो हो भने भोलि यसले झन् विकराल अवस्था निम्त्याउँछ। यस्तो अवस्था आउन नदिन सरकारले ध्यान दिनुपर्छ ।’
एआईमा पूर्ण रूपमा भर पर्दा नतिजा खराब आउनसक्छ, अहिले राइट गाइडेन्सको आवश्यकता छ {अन्तर्वार्ता}
काठमाडौं । ‘शिक्षा प्रविधिमैत्री हुनुपर्छ’ अहिले नेपालमा बहस हुँदै आइरहेको यो एउटा विषय हो । सरकारले पनि प्रविधिमैत्री शिक्षा बनाउन कम्प्युटर, ल्यापटप वितरण गर्नेदेखि लिएर विभिन्न विद्यालयमा डिजिटल बोर्डहरू समेत राखेको छ । के हामीले भनेको प्रविधिमैत्री शिक्षा यस्तै हो ? शिक्षा र प्रविधिलाई कसरी सँगै अगाडि बढाउन सकिन्छ । अहिलेको अवस्थामा नेपाल प्रविधिको क्षेत्रमा कुन स्थानमा छ ? कम्प्युटर वैज्ञानिक तथा एआई विज्ञ डा. दोभान राईसँग यही विषयवस्तुसँग सम्बन्धित रही विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश : नेपाली नागरिकमा प्रविधि पहुँचको अवस्था कस्तो छ ? अहिले प्रायः धेरै नागरिकको पहुँचमा फोन र इन्टरनेट पुगेको छ । सामाजिक सञ्जालको प्रयोग पनि त्यहीअनुसार बढ्दै गएको छ तर कसरी प्रयोग गर्ने भन्ने धेरै अन्यौलता छ । अर्थात सही सदुपयोग हुन सकेको छैन । कसरी यसको सदुपयोग गर्ने, यस्ता प्रविधिबाट के सिक्ने भन्ने विषयमा शिक्षा पनि छैन, जनचेतना पनि छैन । यता सरकारले पनि त्यही अनुसारको गाइड गर्न सकेको छैन । समग्रमा भन्नुपर्दा पहुँच बढिरहेको छ तर प्रयोगमा कसरी ल्याउने भन्ने विषयमा चाहिँ ध्यान दिएको छैन । नम्बर बढाउने किसिमले प्रविधिका पहुँच भनियो तर सही कुरा सिकाइएन । शिक्षामा प्रविधिमैत्री शिक्षा हुनुपर्छ भन्ने बहस धेरै हुन्छ खासमा शिक्षा प्रविधिमा कसरी आधारित हुनुपर्छ ? शिक्षा र प्रविधि आफैमा महत्त्वपूर्ण हुन् । समाजलाई कुन बाटोमा कसरी डोर्याउने भन्ने कुरामा दुवैको भूमिका उत्तिकै हुन्छ । प्रविधिले नयाँ कुरादेखि सहजीकरण गर्न नयाँ सम्भावना खोल्ने काम गर्छ । शिक्षा झन् पुरानो संस्था हो । हुन त एक तरिकाले प्रविधि केलाई भन्ने कुरा पनि आउँछ । मान्छेले आगोको विकास गर्यो, यो पनि त एउटा प्रविधि हो । तर हामीले अहिले जुन डिजिटल प्रविधि भन्छौं यो पनि मान्छेको दिमाग, सूचना सञ्चारसँग सम्बन्धित कुरा हो । शिक्षाले पनि गर्ने त्यही हो । प्रविधि र शिक्षालाई सघाउनुपर्ने भन्ने कुरा अहिले उठिरहेको छ र यसो भन्दैमा यसलाई एउटैमा थुपारेर राख्न पनि हुँदैन । प्रविधिको विभिन्न आयाम हुन्छ । त्यसैले शिक्षामा पनि प्रविधि जोड्न कस्तो खाले जोड्ने, कहाँ के गर्ने, कुन विद्यार्थीलाई कसरी गर्ने भन्ने कुरामा गहन तरिकाले बुझ्न आवश्यक छ । शिक्षामा हुनुपर्ने प्रविधि कस्तो हो ? नेपाली शिक्षा प्रविधिको कुरा गर्दा नेपाल सरकारले आईसीटी एजुकेसन भनेर कार्यक्रम सुरु गरेको पाइन्छ । किन कापी किताबमा मात्रै सीमित हुने, कम्प्युटरबाट पढाऔं भन्ने हिसाबले सुरु गरियो । किताबमा लिमिटेसन हुन्छ । कम्प्युटर जस्तो श्रव्यदृश्य हुँदैन, जिओग्राफी, हिस्ट्री पढ्नलाई किताबको कुरा पढाएर मात्र हुँदैन । त्यो के हो ? कस्तो हुन्छ भने पढाइसँगै देखाउने बुझाउने काम पनि प्रविधिले गर्छ । सूचनालाई विस्तृत तरिकाले रमाइलो गरी कसरी बनाउने भन्नेमा कम्प्युटरको ठूलो भूमिका हुन्छ । किताबको पाना सीमित हुन्छ, प्रिन्ट गर्न पैसा लाग्छ, पटकपटक परिवर्तन गर्न सकिँदैन । योभन्दा कम्प्युटरबाट अथाह सूचना अनि चाँडै जानकारी लिन सकिन्छ । यसरी नेपालको सुरुवातामा शिक्षामा प्रविधि आयो भने बिस्तारै कक्षाकोठालाई पनि एन्टरएक्टिभ ( यस्तो प्रणाली, प्रक्रिया वा प्रविधिलाई जनाइन्छ जसमा प्रयोगकर्ता र प्रणालीबीच दुईतर्फी सञ्चार हुन्छ । ) बनाउन स्मार्टबोर्डको कुरा आयो । यसले शिक्षक, विद्यार्थी र कक्षाकोठामा पनि आकर्षण देखियो । अर्को कुरा नेपालमा कोभिडको समयमा इन्टरनेटमार्फत पनि कक्षा सञ्चालनमा आयो । नयाँनयाँ टुल्सहरू पनि आइरहेका हामी देख्न सक्छौं । अहिले भने एआईको पनि प्रयोग हुन थालिएको छ । शिक्षामा एआईको प्रयोग कसरी गर्न सकिन्छ ? एआई भनेको वृहत प्रविधि हो । यसमा फरकफरक प्रविधि छन् । एउटा शिक्षकले कक्षाकोठाका सबै विद्यार्थीहरूलाई ध्यान दिन सकेको हुँदैन । कुनै विद्यार्थीले धेरै बुझिसकेका हुन्छन् त कसैले बुझेको हुँदैन । कसैलाई एउटै कुरामा धेरै सहयोग चाहिन्छ, कसैलाई एकैपटक भन्दा पनि भइहाल्छ । यस्तो अवस्थामा प्रविधिको साथ आवश्यक पर्छ । कम्प्युटरसँग विद्यार्थीले कुरा गर्दा विद्यार्थी कहाँ अड्केको छ, केमा सिकाउनु पर्ने, कसरी सिकाउनुपर्ने हो भन्ने कुरामा ध्यान दिन्छ । एआईको प्रयोग पढाउनदेखि होमवर्क गराउनसम्म सहज हुन्छ । एउटा शिक्षकलाई ५० जनाको होमवर्क गर्न गाह्रो हुन्छ । यसका लागि पनि एआईले अटोमेट गरिदिने कि भन्ने खालको कुरा पनि आइरहेको छ । एआईसँग विद्यार्थीले आफ्ना जिज्ञासा मेटाउनुका साथै विभिन्न वस्तुमा रुचि बढाउन पनि सक्छन् । एआई च्याटजीपीटीले भनेको उत्तर कति सही हुन्छ ? के विद्यार्थीले यसमा विश्वास गर्न सक्छन् ? नेपालमा कतिपय विद्यार्थीले च्याटजीपीटीलाई गुरु मानेर पनि सिक्न सक्ने वातावरण बनेको छ । तर च्याटजीपीटी, जेमीनी एआई जति पनि अहिले आइरहेका छन् यिनीहरूको आफ्नै विशेषता छ । यो यही कामको लागि भनेर बनाएको होइन । त्यसैले सहयोग पनि गर्न सक्छ तर कहिलेकाँही सोचेको भन्दा विपरीत अर्को परिणाम पनि दिनसक्छ । यसैको भर परिहाल्नु भने हुँदैन । जता पनि बहकिन सक्छ । त्यसैले विद्यार्थीको लागि राइट गाइडेन्स आवश्यक पर्छ । यो प्रविधि प्रयोग पनि गर्नुपर्छ तर यसमा एउटा गाइड गर्ने मान्छेको आवश्यक देखिन्छ । नेपाली शिक्षामा एआईको प्रयोग गर्दा हामी विश्वको कुन स्थानमा छौं ? कुनैकुनै तथ्यांक हेर्ने हो भने धेरै प्रविधि प्रयोग गर्नेमा नेपालीहरू पनि पर्छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युटुब कन्टेनमा हेर्ने हो भने हामी धेरै अगाडि छौं । यो हामी आफैले स्वस्फूर्त रूपमा चाहेर प्रयोग गरेको भयो । प्रविधिको प्रयोग एक तरिकाले व्यापक छ । तर त्यसको सही प्रयोग भएको पाइँदैन । अघि भनेको जस्तै हामीले टिकटक हेर्नलाई मात्र, युटुब हेर्नलाई मात्र होइन । हुन त यसको पनि आफ्नो भ्यालु छ । तर यसमा सूचना बाहेक हाम्रो आफ्नो नयाँ विचार, तरिका, केही कुरा सिर्जना गर्ने क्षमता अथार्त क्रिएटिभिटी, उत्पादकता अर्थात प्रडक्टिभिटीमा हामी धेरै पछाडि छौं । यसमा मैले यकिन अध्ययन त गरेको छैन तर, समग्ररुपमा हेर्दा यो पाइन्छ । गलत सूचना केही आउनेबित्तिकै पत्याइहाल्ने, त्यसैको पछाडि लाग्ने प्रवृत्ति बढ्दै गइरहेको छ । सही तरिकाले प्रयोग गर्न विद्यार्थी, शिक्षकले कसरी संयमतता अपनाउने ? सरकारले गर्न खोजेको छ तर ढंग पुगेको छैन । सरकारले गर्नुपर्छ भनेर जिम्मेवारी त गराउनुपर्ने नै हो तर हरेक कारण कहिले सत्ता परिर्वतन भइराख्छ । कहिले राम्रो मान्छे सरकारमा सहभागी होलान्, कहिले सही नियत नभएकाहरू पनि सरकारमा पुग्ने हुन्छ । यस्तो अवस्थामा हामीले सरकारलाई झकझक्याइ राख्नुपर्छ तर सबैले सरकारलाई मात्र दोष देखाएर नयाँ युवा, बालबालिकाहरूको भविष्य धरापमा राख्नु भएन । यसका लागि शिक्षक, अभिभावकका संघसंस्थाहरूले सामाजिक जागरण खालको पहल गर्नुपर्ने देखिन्छ । यसो नगरिकन यो समस्या हल हुने म देख्दिनँ । सचेतनामूलक अभियान चलाउनुपर्छ । अहिले नियममात्र बनाएर कुनै एक व्यक्तिले आवाजमात्र उठाएर, माइतीघरमा मात्र आएर समस्या समाधान हुँदैन । यसको लागि ईको सिस्टममा परिवर्तन गर्नुपर्छ । एआईको प्रवेशसँगै हरेक क्षेत्रमा कर्मचारी कटौतीको कुराहरू पनि उत्तिकै सुनिन्छ, के शिक्षा क्षेत्रमा शिक्षकको जागिर जाने सम्भावना पनि छ ? हामीले देख्दै आएको प्रविधि आएपछि केही मान्छेले गर्ने काम परिवर्तन हुँदै नै जाने हो । तर प्रविधि जति शक्तिशाली हुन्छ त्यति मान्छेको जागिर जाने दर पनि बढ्दै जान्छ । यसमा एआई अझ धेरै शक्तिशाली प्रविधि छ । पहिले मान्छेलाई गाह्रो लाग्ने काम मात्र गर्थ्यो भने अहिले सबै कुरा गरिदिन थालेको छ । यसमा आंशिक सत्य पनि छ । नेपालमा अझै पनि एआईको राम्रो एडप्सन भइसकेको छैन । अमेरिकातिर हेर्ने हो भने नयाँनयाँ कलेजबाट निस्केको विद्यार्थीले जागिर पाउन गाह्रो भइसकेको छ । किनभने धेरैकुरा अटोमेट भइरहेको छ । हलिउड, मिडिया लगायतका विभिन्न पेशामा धेरैजनाको जागिर गइरहेको छ । तर यो भन्दैमा शिक्षामा सजिलै जागिर नगइहाल्ला । किन भन्दा एआईले विद्यार्थीलाई पढाउने सम्भावना त राख्छ तर हामीसँग त्यस्तो खालको अवस्था छैन । विद्यार्थीले सिके पनि उसलाई गाइड गर्ने मान्छे चाहिन्छ । स्कुल भनेको सूचनामात्र होइन, चरित्र निर्माण पनि हो । समूहसँग मिलेर काम गर्न, समय व्यवस्थापन गर्न आदि लगायतका कुराहरू सिक्नुपर्ने हुन्छ । शिक्षा भनेको मान्छेलाई मान्छे बनाउने ठाउँ हो । यस्तो अवस्थामा तत्काल शिक्षकहरूको जागिर नै गइहाल्ला भने लाग्दैन । तर मोडालिटी परिर्वतन हुन सक्छ, जबको नेचर परिवर्तन हुन सक्छ । बाहिरतिर पनि उच्च शिक्षामा कलेजको औचित्य केहो त भन्ने प्रश्नहरू पनि आइरहेका छन् । यसले एक किसिमको बहस त ल्याउँछ तर मान्छे नै नचाहिने भन्ने होइन । नेपालको उच्च शिक्षामा एआई प्रविधिको प्रयोग कत्तिको पाउनुभएको छ ? नेपालमा आधिकारिक रूपमा एआईको प्रयोग भइरहेको छ । संस्थाले पनि यो एआई प्रयोग गर, यो नगर भनेर छुट्याएको पनि देखेको छैन । अहिलेसम्म जति गरेको छ व्यक्ति आफैले प्रयोग गरिरहेको पाइएको छ । अहिले शिक्षक विद्यार्थीले एआईको प्रयोग गरिरहेका छन् । एक वर्ष अगाडि टियूले विद्यार्थीलाई एआई प्रयोग गर्न भनेको थियो । एआई परीक्षामा प्रयोग गर्दा कसरी गर्ने, गृहकार्यमा गर्दा कसरी गर्ने, प्रोजेक्टमा कसरी कसरी प्रयोग गर्ने भन्ने विषयमा गहिरो तरिकाले फ्रेमवर्क तयार नगरी चलाउन हुँदैन । पढाइको हिसाबमा स्वदेश र विदेशमा के फरक छ ? म बाहिर पीएचडीको लागि पढ्न जाँदा स्नातक तहका विद्यार्थीलाई पढाउने अवसर पाएकी थिएँ । अमेरिका सबभन्दा सम्वृद्ध देश, नेपाल विकासोन्मुख देश, दुई देशको पढाइको कुरा गर्दा नेपालको केही कमजोर प्रणाली नै छ । यहाँ निजी क्षेत्रमा कुनैकुनै सामुदायिक विद्यालयमा पनि उदाहरणीय काम गरेको छ । तर समग्रमा भन्नु पर्दा नेपालका विद्यार्थीहरूलाई ठूलो अन्याय गरेका छौं । रिसोर्स नै नपुगेपनि जति उपलब्ध छ त्यो अनुसारको ध्यान दिएको पाइँदैन । कक्षा १० सम्म निजी शैक्षिक संस्थामा केही राम्रो प्रयास देखिएपनि उच्च शिक्षामा नेपालको स्थिति भयावह नै छ । जोसँग पैसा छ उसले ब्याचलर्स, मास्टर्सका लागि छोराछोरी बाहिर पढाउँदा यहाँ जसले बाहिर पठाउन सक्दैन उसको बच्चाहरूमात्र अध्ययन गरिरहेको पाइन्छ । बाहिरको कुरा गर्ने हो १२ सम्म सरकारले हेरेपनि माथिल्लो तहमा धनी र गरिबले पढ्ने शिक्षामा फरक नै पाइन्छ । अब भन्नूस् पढाउने तरीका कस्तो हुनुपर्छ त ? त्यहाँ शिक्षकहरू धेरै मिहिनेत गर्नुपर्छ । यति गर्नुपर्छ कि म आफै शिक्षक हुँदा छक्क परेँ । विद्यार्थी भन्दा बढी मिहिनेत शिक्षकले गर्दा नतिजा पनि राम्रो आउँछ । सिस्टम हुन्छ । तर हाम्रो यहाँ यस्तो हुँदैन । शिक्षकले यहाँ मिहिनेत गरेको देखिदैन । यहाँ सबै शिक्षकहरूले आ आफ्नै तरिकाले पढाउँने गरेको पाइन्छ । यो ज्ञान पनि विद्यार्थीले राम्ररी पाएको हुँदैन । कसरी पढाउँदा यसका राम्रो प्रभाव पर्छ यसको रिसर्च पनि हुँदैन । यो विषयमा गहन तरिकाले छलफल पनि भएको पाइँदैन । यहाँ शिक्षण पेशा पनि ज्यालादारी काम जस्तो भएको छ । यसो हुँदा गुणस्तर हुँदैन । मैले यसो भनिरहदा कतिपय राम्रो काम गरिरहेका शैक्षिक संस्थाहरूले गरेको कामलाई नजरअन्दाज गरेको होइन । तर जस्तो हुनुपर्ने त्यो भएन । यसमा हामीले इँटा थप्दै जानुपर्छ । यहाँ यस्तो हुँदैन । नेपालमा भइरहेको प्रयास कस्तो पाउनुभयो ? नेपालमा प्रयास नभएको होइन भएको छ । केही कलेजहरूले नयाँ केही गरौं भन्ने प्रयास छ तर यहाँ के लिमिटेसन देखे भने निजी संस्थाहरूको पनि भरपुर रिसोर्स छैन । भाडा तिर्नुपर्छ आफ्नै बनाउन खोज्नेहरूको पनि पूर्वाधारमै लगानी धेरै लाग्छ । यसले चाहेर पनि शिक्षामा राम्रो गर्न सक्दैन । सामुदायिक विद्यालयमा पूर्वाधार छ तर उसले गरिसकेको छैन । गर्न चाहनेहरूसँग पूर्वाधार छैन, पूर्वाधार भएकाहरूसँग राम्रो जनशक्ति छैन । निजीसँग जनशक्ति छ तर पूर्वाधार छैन । यो लिमिटेसनले गर्दा समस्या भएको देखिन्छ । यहाँ एउटा योजना पनि भएन अर्को दिगो हुन्छ कि हुँदैन भन्ने डर पनि छ । यहाँ कुन पेशामा म कति टिक्छु भन्ने नै यकिन छैन । सबैको ध्यान आफू कसरी टिक्ने भन्नेमा मात्र केन्द्रित भयो यसो हुँदा झन् समस्या निम्तियो । यो प्रवृत्तिले जुन हामीले खोजिरहेको र चाहिएको प्रविधिसहितको शिक्षामा कस्तो असर पर्छ ? अहिले नेपालमा भइरहेका धेरै काम नतिजाका आधारमा भन्दा देखाउने आधारमा भइरहेको पाइन्छ । निजी र सरकारी संस्था मिलेर केही गरौं भन्ने विश्वासको वातावरण नभएसम्म साँच्चिकै गुणस्तरको काम गर्न सकिँदैन । शिक्षामा पनि प्रविधिसहितको शिक्षा भनियो । त्यही अनुसार डिजिटल बोर्ड पनि राखियो तर त्यहाँ के पढाउने भन्ने छैन । आवश्यक भएको ठाउँमा सामग्री छैन, सामग्री भएको ठाउँमा जनशक्ति छैन । सरकारले सामान किन्ने, सफ्टवयेर किन्ने भन्ने छ । यहाँ के कता केही तालमेल नमिलेको अवस्था छ । शिक्षकलाई प्रविधिमैत्री कसरी बनाउने ? नेपालका कुनै सामुदायिक विद्यालयले राम्रो प्रयास गरेका छन् । मेरै मामाघरको एउटा जाल्पा माविले पनि राम्रो प्रयास गरेको मैले देखेकी छु । एउटा सानो विद्यालय, शिक्षकले राम्रो प्रयास गर्यो भने पनि यसको प्रभाव कम हुन्छ । यसो हुँदा उसलाई सहयोग गर्ने सघाउने पनि थाक्छ । यहाँ जति पनि प्रयास भएको छ एकजनाले अलि अलि गरेर भएको छ । प्रयासहरू छिटफुट रूपमा भए तर एकमुष्ट तरिकाले भएनन् । अब हाम्रा बच्चाहरूले अहिलेको अवस्थामा विश्वका मान्छेसँग भिड्नसक्ने चाहिँ बनाउनुपर्छ । नेपालमा सर्टिफिकेट एकदम सस्तो भइसक्यो । यो दिँदा पनि एक मापदण्ड हुनुपर्यो । परीक्षा दिएकै भरमा सर्टिफिकेट पाउने पनि राम्रो भएन । पढाइ केको लागि भन्ने कुरा आउँछ । कुनै पनि व्यक्ति जसले ब्याचलर्स, मास्टर्स गरिसकेको छ भने उसलाई आउनै पर्ने काम के हो ? आईटी पढ्ने विद्यार्थीले कुनै एप्लिकेशन बनाउन सक्नुपर्यो, सामाजिक विज्ञानको विद्यार्थीले एउटा विषलाई विश्लेषण गर्नसक्ने हुनुपर्यो । यस्ता खालका विविध कुराहरू हेरिनुपर्छ । अहिले सूचना प्रर्याप्त छ तर त्यसलाई मूल्यांकन गर्न सक्ने विद्यार्थी हुनुपर्छ । म उपभोक्ता मात्र होइन, म आफैले पनि केही नयाँ दिनसक्नुपर्छ भन्ने हुनुपर्छ । एउटा मास्टर्स गरेको मान्छेले अरुले गराएको काम गर्नेमात्र होइन, यसलाई यो तरिकाले गर्न सकिन्छ कि भन्नसक्ने हुनुपर्छ। शिक्षा र प्रविधि सँगसँगै अगाडि बढाउन के गर्नुपर्छ ? यो एक जना व्यक्ति अथवा संस्थाले गरेर मात्र हुने कुरा होइन । समष्टिगत रूपमा इकोसिस्टममा जानुपर्ने हुन्छ । यसमा अनुसन्धानको पाटो पर्छ, पूँजीको कुरा पर्छ, स्थानीय तहको कुरा आउँछ । मलाई के लाग्छ भने युवाहरू धेरै भएको, शिक्षाको लामो इतिहास नभएको, धेरै शिक्षित नभएको हाम्रो जस्तो मुलुकमा प्रविधि राम्रो पुलको रूपमा आउन सक्छ । तर प्रविधिको सही सदुपयोग गर्न सक्नुपर्छ । यसमा हाम्रो छुटिरहेको पाटो भनेको अनुसन्धान हो । शिक्षा र प्रविधिलाई समेटेर एउटा अनुसन्धान गरेर खाका मात्र बनाउन सक्यो भने पनि राम्रो गर्न सकिन्छ ।
गाउँलेले नपत्याएका डाक्टर अहिले उत्कृष्ट न्यूरो सर्जन
काठमाडौं । एउटा १०/१२ वर्षको बच्चालाई आमाले आँखा चिम्लेर काखमा कसेकी छन् । बच्चा जोडले चिच्याइरहेको छ । यता चिकित्सकले मजाले लुगा सिलाएजस्तै चुँडिन लागेको औंला सिलाइरहेका छन् । अब सम्झनूस् त यो क्षण कस्तो थियो होला ? एउटा बालकलाई कति पीडा भएको हुँदो हो ? बच्चा रोएर छट्पटाएको देख्दा आमाले कसरी आफूलाई सम्हालेकी थिइन् होला ? आजभन्दा करिब १८ वर्ष पहिले दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य अवस्था यस्तै थियो । कुनै अप्रेसन गर्नुपर्दा घाउमा बोरा सिलाएजस्तै गर्नुपर्थ्यो । जहाँ न कुनै अप्रेसन गर्ने मेसिनहरू थिए न त बिरामीलाई दुखाइ कम गर्ने औषधी नै । डा. सुशीलमोहन भट्टराईलाई अहिले त्यो दृश्य सम्झँदा सपना जस्तै लाग्छ । ‘नाइलनको डोरी भकभक उम्लिरहेको पानीमा पकाएर लुगा सिलाए जस्तै सिलाउँदाको त्यो दृश्य अहिले सम्झँदा पनि डर लाग्छ,’ उनी भन्छन्, ‘मैले पहिलोपटक अप्रेसन यसरी नै गरें, त्यतिबेला बेला न राम्रो औषधी, थियो न उपकरण । जे छ त्यसमै प्रयास गर्नुको विकल्प थिएन ।’ अहिले दूरबिनबाट घाउ नबनाएरै शरीरको अंगअंगको अप्रेसन गरिरहेका भट्टराई आफूले १८ औं शताब्दीको तरिकाले उपचार गरेको अनुभव सुनाउँछन् । डा. सुशीलमोहन भट्टराई नेपालको चिकित्सा क्षेत्रका एक प्रतिष्ठित न्यूरो सर्जन हुन् । अहिले उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जनको रूपमा काम गरिरहेका छन् । यस क्षेत्रमा उनको अनुभव, समपर्ण र दक्षता प्रशंसनीय छ । ब्रेन ट्युमर, इस्पाइनल डिसअर्डर र न्यूरोलोजिकल जटिलताहरूको सजिर्कल उपचारमा गहिरो विशेषज्ञता हासिल भएका भट्टराई आजभन्दा १७ वर्ष पहिले विभिन्न ग्रामीण बस्ती पुग्दा गर्नुपर्ने उपचारको प्रक्रिया माथि उल्लेख गरिएअनुसार थियो । उनी चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै धादिङ, इलाम, धरान पुग्दा यसरी उपचार गर्नुपर्ने अवस्था थियो । जहाँ काम गर्दा उनले फरकफरक अनुभव सगाल्ने अवसर पाए । भन्छन्, ‘उपत्यका बाहिर काम गर्दा पाइलापाइलामा फरक अनुभव हुन्छ, प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती हुन आउने महिलालाई मैनबत्ती बालेर सुत्केरी गराउँदाको क्षण कस्तो दर्दनाक थियो, अहिले त नेपालको स्वास्थ्यले धेरै फड्को मारिसक्यो ।’ अवस्था उस्तै रहेन । अहिले सबै अंगप्रत्यंग सजिलै हेर्नसक्ने प्रविधि नेपाली स्वास्थ्य क्षेत्रमा उपलब्ध छन् । होसमै राखेर पीडा हुन नदिनेदेखि बेहोस पारेर हरेक अंगमा देखिएका विकार झिक्न सक्ने उपकरण छन् । यस्ता प्रविधिले उपचार गरिरहँदा कहिलेकाँही विगतका स्मरणले घोच्दा भट्टराईको मन चिसो हुन्छ । अहिले सहरमा मात्र होइन, हरेक वडामा स्वास्थ्य संस्था छन् । हरेक पालिकामा अस्पताल छन् । १८ वर्षमा पनि नेपालको स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको उनी बताउँछन् । गाउँलेले नपत्याएका डाक्टर भट्टराईको बाल्यकाल पोखरामै बित्यो । कक्षा १० सम्म उनले पोखरामै पढाइ गरे । एसएलसीपछि उनी डाक्टर बन्ने सपनामा काठमाडौं पसे । जुन सपना बोकेर काठमाडौं पसेका थिए, यो सपना पूरा भएको १८ वर्ष भइसक्यो । उनले आइएस्सीपछि काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरे । एमबीबीएस सकेर लगत्तै चिकित्सा क्षेत्रमा प्रेवेश गरेका उनी उपत्यकाभन्दा बाहिर कामका लागि गए । ग्रामीण स्थानमा पुग्दा गाउँलेहरूले उनलाई पत्याएनन् । झट्ट हेर्दा भर्खरको २२–२३ वर्षको अल्लारे ठिटो । त्यो बेला गाउँलेहरूलाई उनी डाक्टर हो भन्ने विश्वास नै लाग्दैन्थ्यो । अस्पतालमा आउँदा उनलाई धेरैले सोध्नै चाहँदैनथिए । सोधिहाले पनि उनले प्रेस्क्रिप्सन गरेको औषधी पनि पत्याउँदैनथिए । भन्छन्, ‘ऊ राम्रो डाक्टर हो, भर्खर पढेर आएको भनेर गाउँलेलाई सम्झाउन अस्पतालका नर्स, ल्याब र औषधी पसलेहरूले धेरै मिहिनेत गर्नुपर्यो ।’ उपचार गर्न भारत जानेको लर्को देख्दा अचम्मित भट्टराई जागिरको सिलसिलामा पूर्वी इलाममा पुग्दा अनौठो दृश्य देखे । जहाँ सामान्य बिरामी पर्दा पनि उपचारका लागि नेपालीहरू भारत जान्थे । टाउको दुख्दा होस् या पेट दुख्दा भारतको दार्जिलिङ र सिलगुढीका अस्पतालमा नेपालीको भीड लाग्थ्यो । नेपालमा उपचार हुन्छ, औषधी पाइन्छभन्दा पनि नागरिकहरूले पत्याउँदैन थिए । सामान्य उपचारका लागि भारत पुगेकाहरू फर्किँदा कार्टुनभरि औषधी बोकेर फर्कन्थे। बिस्तारै भट्टराईले जनचेतना अभिवृद्धिका काममा लागे । नेपालमा हुनसक्ने उपचारका लागि भारत गइरहन पर्दैन भन्दै सबै नागरिकलाई सम्झाउन चेतनामूलक कार्यक्रमको आयोजना गरियो । नागरिकले पनि विस्तारै विश्वास गर्दै गए । अहिले त्यो क्षेत्रमा सामान्य उपचारका लागि भारत जाने संख्यामा निकै कमी आएको छ । भन्छन्, ‘यो स्वास्थ्य सेवामा भएको राम्रो प्रगति हो । नागरिक बुझ्न थाले, स्वास्थ्यप्रति ध्यान दिन थाले। यो खुसीको कुरा हो ।’ वीरमा काम गर्दाको अनुभव कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएकोे छ । काठमाडौं बाहिर सामान्य सिटामोल नपाइने अवस्था थियो । अहिले विशेषज्ञ डाक्टर हरेक जिल्लाजिल्ला पुगिसकेको छन् भने सघन उपचार कक्ष (आइसीयु), भेन्टिलेटर सेवा, अप्रेसन आदिइत्यादि सेवा पनि पाइन्छ । भट्टराईले वीर अस्पताल काम गर्न थालेको ९ वर्ष भयो । अहिले उनले टाउकाको जटिल अप्रेसन पनि गर्छन् । यस्ता जटिल अप्रेशन गर्न अनुभव र एउटा टिमवर्क चाहिने बताउँछन् । ‘समूहमा काम गर्दा जटिलता धेरै कम हुन्छ,’ उनी भन्छन्, ‘यो बाहेक कतिपय अवस्थामा जटिलता आउँछन् र तिनीहरूको सही समयमा पहिचान र उपचार गर्दा व्यक्तिको ज्यान जोगाउन सफल भइन्छ ।’ यसका लागि प्रविधिले धेरै सजिलो बनाइदिएको छ । उनी विश्वस्तरिय प्रविधि प्रयोग गरेर उपचार गर्न पाउँदा कृतज्ञ बनेको बताउँछन् । भट्टराई कहिलेकाँही उपचारमा जटिलता आउनुलाई स्वभाविक ठान्छन् । भन्छन्, ‘संसारभरि उपचार गर्दा जटिलता नआउने भनेको हुँदैन । जुनसुकै चिकित्सकले गर्दा पनि यस्तो समस्या आउँछ । तर हरेक चिकित्सकले आफ्नो विशेषज्ञाता भित्र आफ्नो उपचारलाई सही सटिक र प्रभावकारी बनाउने हरेक प्रयास गरेको हुन्छ ।’ कहिलेकाँही विरामीको अवस्था देखेर आफन्तहरूले आस मारिसकेको अवस्थामा उपचारपछि बिरामी हिँडेर घर जाँदाको खुसी अर्कै हुन्छ । नसोचेको खुसी केही समय पहिले एकजना महिलालाई प्रहरीले बोकेर अस्पताल ल्यायो । बेवारिसे अवस्थामा सडकमा भेटिएकी उनी अचेत थिइन् । इमरर्जेन्सीमा ल्याएर उनको सिटिस्क्यान गरियो । टाउकोमा ठूलो परिमाणमा रगत जमेको देखियो । ती महिलाको धड्कनमात्र बाँकी थियो । बाँच्ने आशा समेत कमै थियो । अस्पतालले सबै व्यवस्थापन गरेर उपचार गर्यो । भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको बल्ल प्राण जोगियो । उपचार गरेको तेस्रो दिन बल्ल उनले आँखा खोलिन् भने चौथो दिन बोल्न थालिन्, पाँचौं दिन बुझिने गरी कुरा गर्न थालेपछि चिकित्सकहरूले सोधे । धेरै दिनसम्म उनी को हुन् भनेर पहिचान हुन सकेन । चिकित्सकले आईसीयूमै विभिन्न प्रश्न गरे । लामो प्रयासपछि उनलाई आफन्त कसैको नम्बर याद छ भनेर नम्बर सोध्न सुरु गरियो । उनले नम्बर भन्दै गइन्, चिकित्सकले नम्बर डायल गर्दै फोन गर्न थाले । तर नम्बर जहिल्यै गल्ती हुन्थ्यो । तर एक दिन उनले भनेको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सक्यो । बल्ल सही नम्बर थाहा भयो । छोरीसँग कुरा हुनेबित्तिकै दुई घण्टाभित्र उनको परिवार आइपुग्यो । उनी उपत्यका बाहिरकी रहेछिन् । उनी कसरी काठमाडौं आइपुगिन् भन्ने समेत परिवारलाई थाहा थिएन । प्रहरीले अन्तिम अवस्थामा अस्पताल पुर्याएकी महिलालाई बचाएर परिवासँग मेल गरायो । भट्टराई यो सबैभन्दा खुसीको क्षण भएको बताउँछन् । उनका अनुसार अस्पतालमा यस्ता घटनाहरू प्रायः भइरहन्छन् । नेपालमै पढाइ नेपालमै काम न्यूरो सर्जनका रूपमा काम गरिरहेका डा. सुशील नेपालमै पढेर विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मास्टर रेजिडेन्सटी गरे । विद्यावारिधी तहको एमसीएच न्यूरोसर्जरी तालिम वी अस्पतालबाट गरेका हुन् । हरेक व्यक्तिका रुचि, इच्छा र चाहना फरक हुन्छन् र ती सानैदेखि हुन्छन् । कसैलाई परिवारले गाइड गर्छन् । कोही सानै उमेरमा कसैलाई देखेर पनि सपना बुन्छन् । त्यही सपनालाई पच्छ्याउँदै जाँदा कतिपय सफल हुन्छन् त कोही असफल । कसैले अर्कै बाटो रोज्छन् जुनमा सफल हुन्छन् । यही क्रमम आफू चिकित्सक बनेको भट्टराई बताउँछन् । उनी डाक्टर बन्नुको पछाडि डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइराला हुन् । उनीहरूलाई नदेखेर नचिनेर पनि उनले रोलमोडलको रूपमा देखे । उनीहरूका अन्तर्वार्ता टिभीमा आउँदा कहिल्यै नछुटाएर हेर्थे । उनले पढ्नेक्रममा थुप्रै चिकित्सकलाई भेट्ने चिन्ने अवसर पाए । त्यसपछि उनको मनमा झन् चिकित्सकप्रति सम्मान बढ्दै गयो । डाक्टर हुनु र बन्नुमा फरक धेरैजसो अभिभावकको सपना आफ्ना बच्चाहरू डाक्टर बनून् भन्ने हुन्छ । विद्यार्थीहरूको इच्छा पनि यसैमा हुन्छ । तर डाक्टर बन्ने चाहना राख्नु र बन्नुमा धेरै फरक हुन्छ । अहिले नेपालमा शिक्षाको नाममा चरम व्यापारीकरण हुँदै गएको छ । डाक्टर बन्न खोज्नु र हुनुमा के फरक छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षा किन्न सक्ने क्षमता छ भने डाक्टर हुन त्यति गाह्रो छैन । तर चिकित्सक बन्न एक तहको तपस्या, मिहिनेत गर्नैपर्छ । अहिले यो पेशामा लाग्ने अठोट सानै उमेरमा बनाइसक्नुभएको छ भने योसँग सम्बन्धित संघर्षलाई अगाल्ने अठोट गर्नुपर्छ ।’ ‘यो पेशा भनेको यस्तो हो कि यसले प्रतिफल दिन्छ तर सधैं दिन्छ भन्ने हुँदैन । कहिलेकाँही तपाईंले गरेका संघर्षभन्दा ठूलो प्रतिफल दिन्छ, कहिले कम दिन्छ । कहिल्यै यो प्रतिउत्पादक पनि हुन सक्छ,’ उनले थपे ।
नक्कली अकाउन्टले चिकित्सकको छवि बिगार्दै
काठमाडौं । ‘डाक्टरसाब तपाईंको फेसबुक अकाउन्टबाट पैसा माग्ने काम भइरहेको छ । मलाई यो काम तपाईंको होइन जस्तो लाग्यो र म्यासेज गरें,’ न्युरो सर्जन डा. प्रकाश काफ्लेलाई चिनेका साथीले केही दिनअघि म्यासेज गरे । काफ्ले साथीको यो म्यासेज देखेपछि झस्के । उनले तुरुन्तै कल गरे । त्यसपछि थाहा भयो– उनको नामबाट नक्कली अकाउण्ट बनाएर पैसा माग्ने काम भइरहेको रहेछ । प्रकाशलाई एकजना साथीले मात्र भनेनन् । थुप्रैले फेसबुक म्यासेन्जरमा साथी बनाउने त्यसपछि पैसाको बार्गेनिङ गर्ने गरेको पनि गुनासो गरे । आफूले गर्दै नगरेको काम साथीहरूले सुनाएपछि प्रकाशले अर्को फेसबुक अकाउन्ट कुन छ भनेर हेर्न खोजे । तर उनले भेटाएनन् । उनको नक्कली अकाउन्टबाट चिनेका करिब १२ जनालाई नै पैसा माग्नेदेखि अनेकन प्रलोभन देखाउने गरेको थाहा पाए । साथीहरूको कुरा सुनिसकेपछि उनले आफ्नो फेसबुकमा लामो स्टाटस नै लेखे । जहाँ उनले लेखेका छन्, ‘मेरो नामबाट नयाँ नक्कली फेसबुक अकाउन्ट खोलिएको जानकारी प्राप्त भएको छ, उक्त नक्कली अकाउन्टबाट फेसबुक मेसेन्जरमा पैसा माग्ने लगायत अनावश्यक कुरा गरिँदैछ । कृपया त्यो नक्कली अकाउन्टबाट आएको रिक्वेस्ट स्वीकार नगर्नुहोला र कुनै हालतमा पैसा नपठाउनुहोला ।’ प्रकाश काफ्ले विराटनगरको नोबेल मेडिकल कलेजको न्युरो सर्जरी विभाग प्रमुख हुन् । लामो समयदेखि न्युरो सर्जनको रूपमा काम गर्दै आएका उनी आफ्नै नामको नक्कली आइडीबाट आफन्त र चिनजानका साथीहरूलाई ठग्न खोज्नु साइबर अपराध भएको बताउँछन् । उनी भन्छन्, ‘मलाई त यो कुरा थाहै थिएन । चिनेकै साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा माग्ने, अनावश्यक प्रलोभन देखाउने काम भइरहेको रहेछ, यो पक्कै पनि कुनै ठगको काम हुनुपर्छ ।’ प्रकाशले आफ्नै नामको दुई तीनवटा नक्कली आइडी बनाएर ठगी भइरहेको पाइएको बताए । नेपाली चिकित्सकहरू आफूलाई लक्षित गरी नक्कली अकाउण्ट बनाएर ठगी गर्ने प्रवृत्ति बढिरहेको बताउँछन् । चिकित्सकहरूको प्रोफाइल फोटो, नाम र काम गर्ने अस्पतालको विवरण प्रयोग गरेर नक्कली अकाउन्ट बनाउने गरिएको पाइन्छ । यस्ता अकाउन्टहरू विशेष गरी फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा सक्रिय हुन्छन् । कतिपयले आफ्ना नियमित सेवाग्राहीसँग पैसा मागेको पाइन्छ भने कतिपयले साथीभाइसँग मागेको पीडितहरू बताउँछन् । प्रकाशको नामबाट ठगी गर्ने ठगले हरेक व्यक्तिको मोबाइल नम्बरको कनेक्सन बैंक अकाउन्टसँग हुने भएकाले प्रायः सबैको मोबाइल नम्बर माग्ने गरेको छ । धेरैजसो व्यक्तिले प्रयोग गर्ने मोबाइल नम्बर सामाजिक सञ्जालदेखि बैंकसम्म जोडिएको पाइन्छ । ठगहरूले त्यही मौका पार्दै व्यक्तिहरूलाई ठगी रहेका छन् । डाक्टर सम्झेर क्युआरमै पैसा पठाउँदा प्रकाशजस्तै अर्को चिकित्सकको नामबाट क्युआरमा धमाधम पैसा लिइरहेको पाइएको छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले आफ्नो नक्कली आईडी बनाएर आफ्नै पेसेन्टबाट क्युआरमै पैसा लिरहेको बताउँछिन् । अहिलेसम्म एक जनाले १० हजार र अर्को एकजनाले ७ हजार पैसा क्युआर गरी पठाएको गुनासो आफूकहाँ आइपुगेको उनले बताइन् । नुतनसँग धेरैजसो दम्पतीहरू फोन गरिरहन्छन् । महिनावारी नियमित नभएकादेखि सन्तान हुन नसकेका दम्पती कोही भेटेर त कोही फोनबाट, सामाजिक सञ्जालबाटै सल्लाह लिन्छन् । उनी सकेसम्म फोन सामाजिक सञ्जाल भन्दा भेटेर कुरा गर्न सल्लाह दिन्छिन् । करिब एक साताअघि उनको मोवाइलमा एक पेसेन्टको फोन आयो । उनले फोन उठाइन् । हत्तपत्त उताबाट एकजना महिलाले भनिन्, ‘डाक्टर खोइ त औषधी अहिलेसम्म पनि आएन । ’ उनको कुरा सुन्दा नुतन अलमलमा परिन् । के को औषधी ? पुरा शब्द सकिन नपाउँदै उतैबाट भनियो, ‘घरमै पठाइदिन्छु भन्दै पैसा पनि लिनुभयो अहिले के को औषधी भन्नुहुन्छ ?’ बुझ्दै जाँदा नुतनको अर्को आइडी बनाइ पेसेन्टलाई सात हजार पैसा लिएर औषधी पठाइदिन्छु भनेको रहेछ । यसबारेमा नुतनलाई थाहै थिएन । उनले ती व्यक्तिसँग भेटेरै कुरा गर्न भनिन् त्यसपछि ती दम्पती बिएण्डबी अस्पतालमै आएपछि आफूहरू ठगिएको थाहा पाए । दिनहुँ अस्पतालमै पैसा पठाइदिएको तर औषधी नपाएको गुनासो बढेपछि नुतनले सामाजिक सञ्जाल टिकटकमै एउटा भिडियो बनाएर पोष्ट गरेकी छिन् । सन्देशमा उनले भनेकी छिन्, ‘मेरो नामको अकाउन्टबाट मेरा पेसेन्टसँग कुरा गरेर क्युआर पठाएर पैसा लिएको गुनासो आएको छ, अनलाई पेमेन्टको कुरा वा औषधीको कुरा गरेर म्यासेजको भरमा पैसा नपठाउनुहोला ।’ उनले कसैले यसरी पैसा मागेमा आफ्नो नम्बरमा फोन गर्न भन्दै सन्देशमा आफ्नो नम्बर पनि दिएकी छन् । चिकित्सकको आग्रह धेरैजसो सामाजिक सञ्जालका अकाउन्टहरू सक्कली, नक्कली कुन हुन् भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यसमाथि चिकित्सकको फ्रेन्ड रिक्वेस्ट आएपछि धेरैजसोले हत्तपत्त स्वीकारी हाल्छन् । सामाजिक सञ्जालमा ठगी गर्नेहरू यतिसम्मको चतर हुन्छिन् कि उनीहरूले फेसबुकका साथी, र म्युचुअल फ्रेण्ड सबै सक्कलीको जस्तै देखाउन सक्छन् । यसले गर्दा पनि सर्वसाधारणलाई फेक आइडी छुट्याउन गाह्रो हुन्छ । चिकित्सक नुतन शर्मा कुनै पनि चिकित्सकसँग कुरा गर्न सामाजिक सञ्जालको प्रयोगभन्दा कि फोनमा कुरा गर्न र कि प्रत्यक्ष भेटेरैमात्र गर्न सल्लाह दिन्छिन् । भन्छिन्, ‘अहिले धेरै ठगीका घटनाहरू भइरहेका छन्, कसैले म डाक्टर हुँ भन्दै औषधी र काउन्सिलिङको कुरा गरेर आर्थिक लेनदेनको कुरा गर्न हुँदैन, कसैले यस्तो गर्छ भने कि एक पटक अस्पतालमै आएर भेट्दा ठगिने सम्भावना हुँदैन ।’ डा. प्रकाश पनि यस्तो ठगीबाट बच्न आग्रह गर्छन् । आजभोलि सामाजिक सञ्जालमा पाएको सूचनाले ठगहरूले सबै विवरण संकलन गर्नेसम्मको हैसियत राख्ने भएकाले सकेसम्म आफ्नो पुरै विवरण सामाजिक सञ्जालमा नराख्न सल्लाह दिन्छन् । १० महिनामा ७ हजार ठगीका उजुरी चिकित्सकहरूको फोटो र विवरण राखेर ठग्ने क्रम भइरहे पनि चिकित्सककै नामबाट ठगिएको यकिन उजुरीको तथ्यांक भने छैन । नेपाल साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी समग्र रूपमा ठगीका घटनाको दर निकै बढेको भएपनि चिकित्सकहरूबाटै ठगिएको भनेर छुट्टै उजुरीको तथ्यांक नरहेको बताए । उनी भन्छन्, ‘ठगीका घटना दिनहुँ बढिरहेका छन्, सामान्य किनमेलदेखि सेयरसम्मको ठगी भइरहेको हुन्छ तर, छुट्टै यो क्षेत्र, ऊ क्षेत्र भनेर छुट्याएको छैन ।’ सामाजिक सञ्जाल ह्याक गर्ने, नक्कली आइडी बनाएर आफन्तसँग पैसा माग्न, विदेशमा रहेका आफन्तहरूलाई पैसा माग्नेक्रम बढिरहेको पनि अवस्थीले बताए । चालु आर्थिक वर्षको १० महिनामा साइबर ब्यूरोमा साढे १६ हजार उजुरी परेका छन् । जसमा ठगीका मात्र ७ हजार बढी उजुरी रहेका छन् । अवस्थी करिब ४० प्रतिशत उजुरी ठगीका आउने गरेको बताउँछन् । चिकित्सकको नक्कली आइडी बनाएर अनलाइन काउन्सिलिङको नाममा पनि ठगी हुने गरेको पाइएको छ ।
कलिला मस्तिष्कमा श्रमको भारी
काठमाडौं । १४ वर्षको उमेर खेल्ने, पढ्ने अनि रमाउने उमेर हो । स्कुल जाने समयबाहेक बिहानसाँझ बाआमालाई काममा सघाउने नभए रमाएर दिनहरू बिताउने बेला हो । तर सबैको किस्मतमा त्यस्तो कहाँ लेखिन्छ र ? सके जिद्दी गरी, नसके घुर्की लगाउँदै पढ्ने र रमाउने बेलामा उदयपुरकी पुष्पा मगर कहिले इँटाभट्टा त कहिले ज्यामी काम खोज्दै हिँड्छिन् । अहिले इँटाभट्टाको काम बन्द छ । उनलाई ज्यामी काम पाउन पनि मुस्किल छ । कहिले भेटाउँदा काम गर्छिन् नभए त्यत्तिकै बस्छिन् । यद्यपि पुष्पाले आफ्नो पढाइ भने छोडेकी छैनन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा रहेको गणेश माविमा कक्षा ९ मा अध्ययन गर्छिन् । ‘मलाई चाहिने पैसा बुबालाई माग्नु नपरोस् भन्ने चाहन्छु,’ उनी भन्छिन्, ‘बुवाले पनि ज्यामी काम गरेर कमाउनुहुन्छ, त्यो पैसाले भाडा तिर्न, माम खान पनि पुग्दैन, त्यसैले आफै काम गर्छु ।’ पुष्पाको परिवारमा अहिले बुवा, भाइ गरी तीन जना छन् । उनको भाइ पनि त्यही स्कुलमा कक्षा ५ मा अध्ययन गर्छन् । उनका बुवा पहिले गाडी चलाउँथे अहिले शारीरिक अवस्थाले गाडी चलाउन नमिलेपछि पुष्पा र उनको परिवारलाई थप आर्थिक संकट परेको छ । यही संकटमा उनकी आमा अर्कै पुरुषसँग हिँडेपछि झन् पीडा भोग्नुपरेको पुष्पा बताउँछिन् । बुवा भक्तपुरमा रहेको इँटाभट्टामा काम गर्थे । उनको एक्लैको कमाइले अपुग हुन्थ्यो । उनी पनि बुवासँगै इँटा बनाउन जान्थिन् । उनी अहिले बिदाको समयमा पाएसम्म ढुंगागिट्टी बोक्ने काम गर्छिन् । उस्तै व्यथा सिन्धुलीकी मेनुका परियारको पनि छ । उनी काठमाडौंको बालसेवामा कक्षा ८ मा अध्ययनरत छिन् । दिनभरि स्कुल जाने र साँझ ४ बजेदेखि ९ बजेसम्म उनी खाजा पसलमा काम गर्छिन् । मम बनाउनेदेखि सरसफाइ गर्ने, भाँडा माझ्ने सबै काम उनले गर्नुपर्छ । दिनमा ६ घण्टा काम गरेवापत उनी मासिक चार हजार रुपैयाँ थाप्छिन् । मेनुकाले होटलमा मात्र होइन, कहिलेकाँही साहुको घरमा पनि सरसफाइको काम गर्नुपर्छ । महिनाभरि कामको कहिल्यै छुट्टी हुँदैन । उनी यो पैसाले कापी किताब र आफूलाई चाहिने लत्ताकपडा किन्छिन् । उनका बाबाले कपडा सिलाउने काम गर्छन् भने आमा घरमा काम गर्छिन् । ‘काठमाडौंमा कोठामा बस्नुपर्ने, भाइबहिनी पनि धेरै, अलिकति ऋण पनि छ,’ उनी भन्छिन्, ‘मैले काम गरे बुवालाई माग्न पर्दैन, केही भएपनि बाआमालाई सहज होस् भनेर बाध्यताले काम गरेकी हुँ ।’ सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा घोषणा गरेको छ भने कक्षा ८ सम्मा अनिवार्य भनेको छ । तर धेरैजसो बालबालिका आर्थिक अभावकै कारण विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । निःशुल्क भनिएका सामुदायिक विद्यालयले पनि विभिन्न बहानामा शुल्क लिइरहेका छन् । विद्यार्थीले परीक्षा शुल्क, वार्षिक शुल्क भन्दै पैसा तिर्नुपर्ने बाध्यता छ । किताब मात्र निःशुल्क पाएको अवस्थामा शिक्षा नै निःशुल्क भनिरहँदा आर्थिक अवस्था कमजोर परिवारका बालबालिका विद्यालयको पहुँचबाट टाढा रहनुपर्ने नियति उस्तै रहेको अभिभावक संघ नेपालका सचिव प्रवीण निरौला बताउँछन् । ‘घरमा अभिभावकको आर्थिक अवस्था राम्रो नहुँदा बच्चाहरूले समस्या भोग्नुपरिरहेको छ,’ उनी भन्छन्, ‘सरकारले अब रोजगार नभएका अभिभावकलाई उनीहरूको सीप, दक्षता अनुसार रोजगार उपलब्ध गराउनुपर्छ, यति गर्न सकेमात्र पनि धेरै इँटाभट्टा, गलैंचा कारखाना लगायत धेरै क्षेत्रमा श्रमिक बालबालिका पाउन छोड्छन् ।’ बालबालिकाको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी पनि शिक्षा र स्वास्थ्य मात्र निःशुल्क हुने हो भने बालश्रमिकको संख्या शून्यमा झार्न सकिने बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था विश्वास नेपालका मीरा बानियाँ सरकारले स्वास्थ्य क्षेत्रको निःशुल्क भनिएका सेवा पनि नागरिकले सहज रूपमा नपाउँदा र विद्यालयमा शिक्षा निःशुल्क नहुँदा बालबालिका बालश्रम गर्न बाध्य भएको बताउँछिन् । पुष्पा, मेनुका जस्तै थुप्रै बालबालिकाहरूले राम्रोसँग पढ्न पाउने वातावरण छैन । एकातिर काम अर्कोतिर पढाइ हुँदा न उनीहरू राम्रोसँग अध्ययन गर्न सक्छन्, न उनीहरूले चाहेको लक्ष्य पूरा गर्न सक्छन् । पर्साका सुविन वाइवा अहिले १२ वर्ष भए । उनी ११ वर्षदेखि काठमाडौंको गोकर्णमा रहेको एउटा गलैंचा कारखानामा काम गर्दै आएका थिए । केही दिन अघिमात्र उनलाई कारखानाबाट उद्धार गरेर एउटा सेल्टर हाउसमा राखिएको छ । आमाको फरिया समाउँदै बुवाको औंला समाएर हिँड्ने दिनमै उनी काठमाडौंको एउटा कारखानामा कामदारको रूपमा काम गर्न बाध्य भए । उनले न राम्ररी सुत्न पाउँथे न पेटभरि खान । बिहान साढे तीन बजेदेखि सुरु गरेको काम कहिलेकाहीं राति ११ बजेसम्म गर्नुपर्थ्यो । कलिलो मस्तिष्क कुन काम कसरी गर्ने भन्ने समेत मेसो नपाउँदा उनले भोग्नुपर्ने दुःखका कहानी उस्तै छन् । यसरी काम गर्दा उनी ७ हजार पैसा पाउँथे । त्यो पैसाले खाना आफै खानुपर्थ्यो । ‘कहिले कारखानाले नै खाना दिन्थ्यो, धेरै बाहिर किनेर खानुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यही पैसा बचाएर घरमा आमालाई पठाउँथे, अहिले यो संस्थामा राखेपछि पढाउन सिकाउन थालेको छ ।’ सानै उमेरमा काठमाडौं कसरी पुग्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो स्टेपफादर पट्टिको दादाले जहिले पिट्नुमात्र हुन्थ्यो, यसो हुँदा मलाई घरमै बस्न मन लागेन । अर्को जेठो दादा यही कारखानामा काम गर्नुहुन्थ्यो उहाँसँगै पछि लागेर काम गर्न आए ।’ अहिले उनी बसिरहेको संस्थाले तीन महिनामात्र उनलाई सेल्टरमा राख्ने भनेको छ । तीन महिनापछि घर जान चाहनेलाई घरमै पढ्न खर्च दिने र जान नचाहनेलाई यही पढाइदिने भनेको छ । उनी घर नगएर यही बसेर पढ्ने बताउँछन् । पारिवारिक विखण्डनको असर विभिन्न उद्योगमा काम गर्ने श्रमिक बालबालिका र सडकमा भेटिने अधिकांश बालबालिकाको पृष्ठभूमि हेर्दा पारिवारिक विखण्डन मुख्य कारण देखिन्छ । परिवारमा आमाबुवाको राम्रो मेलमिलाप नहुँदा अधिकांश बालबालिका सडकमा आउन बाध्य छन् । भोजपुरका निशान दर्जी अहिले १२ वर्षका भए । उनी आमासँगै ललितपुरको चापागाउँमा बस्थे । उनकी आमा सेक्युरिटी गार्डको रूपमा काम गर्थिन् । उनका बुवा काम गर्न विदेश गएका थिए । अहिले उनी अर्कै श्रीमतीसँग भोजपुरमै बस्छन् । निशानकी आमा र दुईजना दिदी काठमाडौंमा बस्छन् । उनी ललितपुरको सरस्वती सेकेण्डरी स्कुलमा पढ्थे । तर उनलाई पढ्न मन लागेन । आमा काममा गएको मौका छोपी उनी फर्केर घर जान थाले । स्कुल जान नमानेपछि आमाले गाली गर्दा उनी घर छोडेर सडकमा आए । उनीसँगै पढ्ने स्कुलका साथीसँगै उनी सडकमा आए । उनकी आमाले दुई–तीन पटक खोजेर घरमा ल्याउँदा पनि उनी भागेर फेरि सडकमै आउन थाले । निशानलाई दिनहुँ सडकमै देखेपछि एउटा बसको ड्राइभरले सहचालकको रुपमा काम गर्न आग्रह गरे । त्यसपछि उनले गाडीमा काम गर्न थाले । ७ महिना जति गाडीमा हिँड्दा सुरुमा राम्रै व्यवहार गरे पनि ड्राइभरले हेप्ने, रिसाउने र पैसा पनि नदिने गर्न थाले । दिनभरि गाडीमा हिँड्दा जम्मा २५० रुपैयाँ पाउँथे । त्यही पैसाले चुरोट, गाँजा खान्थे । निशानलाई गाडीमा काम गरेको देखेपछि प्रहरीले बालहेल्प लाइनमा फोन गर्यो । त्यसपछि प्रहरीले उद्धार गरेर एक महिना संरक्षणमा राख्यो । एक महिनापछि पढ्ने कि घर जाने भनेर सोध्दा उनले पढ्ने बताए । अहिले उनी काठमाडौंको एक सेल्टरमा बसेर कक्षा ६ मा अध्ययन गरिरहेका छन् । भन्छन्, ‘अब जतिसम्म संस्थाले पढाइदिन्छ पढ्छु नभए घरमै गएर ममीसँग बस्छु, अब यसरी सडकमा आउँदिनँ ।’ इँटाभट्टामा काम गर्ने पुष्पाको पनि आमाबुवाबीच राम्रो सम्बन्ध छैन । बुवा र बच्चालाई छोडेर आमा अर्कैसँग भाग्दा आफूहरूको अवस्था यस्तो भएको उनी बताउँछिन् । विशेषगरी घरेलु श्रमिक बालबालिकाहरूले शारीरिक तथा मानसिक पीडा धेरै पाउँछन् । धेरैजसो बालिका घरमा काम गर्दा मानसिक मात्र होइन, यौन हिंसाको समेत सिकार बनेका छन् । घरमा काम गर्दा यौन हिंसा भोगेका धेरै बालिकाहरू अहिले काठमाडौंका विभिन्न संघसंस्थामा संरक्षणमा बसिरहेका छन् । कमजोर आर्थिक अवस्था परिवारको आर्थिक अवस्था कमजोर हुँदा बालबालिका पढाइभन्दा बढी काममा ध्यान दिने गरेका छन् । उपत्यका वा बाहिरका इँटाभट्टा, गलैंचा कारखाना, होटललगायतका विभिन्न क्षेत्रमा बालबालिकाहरू काम गरिरहेका छन् । यसरी काम गरिरहेका बालबालिकाहरू परिवारको आर्थिक अवस्था कमजोर हुँदा काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । उपत्यकाका घरघरमा पनि उत्तिकै घरेलु बालश्रमिक रहेको बालबालिकाको क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन् । कतिपय बालबालिका काम गर्दै पढ्ने गरे पनि कतिपय बालबालिका भने शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । के छ कानुनमा ? नेपालको संविधानले बालश्रमलाई पूर्णतया निषेधित र दण्डनीय गरेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा (४) मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ । बालबालिका सम्बन्धी ऐन, २)७५ को दफा ७ को उपदफा (६) मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार उल्लेख गरिएको छ । उपदफा (() ले १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्न नहुने व्यवस्था गरेको छ । कसैले पनि बालबालिकालाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन हुंदैन । संविधानको मौलिक हकमा शोषण विरुद्धको हक, मर्यादित श्रमको हक, उचित रोजगारीको हक, बाध्यकारी श्रम तथा बालश्रमबाट संरक्षणको हक र क्षतिपूर्तिको हकको व्यवस्था गरेको छ । राज्यका नीति अन्तर्गत श्रमलाई मर्यादित र सुरक्षित बनाउने तथा सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख गरेको छ । संविधानको मौलिक हकको कार्यान्वयनका सन्दर्भमा नेपाल सरकारले श्रम ऐन २०७४, बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ तथा बालबालिका सम्बन्धी ऐन २०७५ का साथै मुलुकी देवानी संहिता २)७४ लागू गरेकोछ । यसका साथै कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐन २०५८, अपराध पीडितको हक संरक्षण गर्ने ऐन २०७५, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ पनि बालश्रमका सन्दर्भमा आकर्षित हुने राष्ट्रिय कानुनहरू रहेका छन् । कति छन् बाल श्रमिक ? एक अध्ययनअनुसार अहिले नेपालमा करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको पाइएको छ । सन् २०२१ मा गरिएको नेपाल बालश्रम प्रतिवेदनले ११ लाख बालश्रमिक रहेको देखाएको हो । जसमा दुई लाख बालबालिका जोखिमपूर्ण कार्यमा संलग्न रहेको पाइएको छ । विगतको तुलनामा सुधार भएपनि १४ वर्षभन्दा कम उमेरका झण्डै १८ प्रतिशत बालबालिका श्रम गरिरहेका छन् । बालश्रममा रहेकामध्ये सबैभन्दा धेरै ८७ प्रतिशत बालश्रमिकहरू कृषि क्षेत्रमा संलग्न छन् भने १३ प्रतिशत अन्य क्षेत्रमा रहेका छन् । बालश्रमिक हुनुमा पारिवारिक गरिबी, जनचेतनाको अभाव मुख्य कारण रहेको यो प्रतिवेदनले देखाएको छ । तर विभिन्न प्रणालीगत समस्या नियमनका सवाल लगायतका कारण पनि बालश्रम हुने गरेको विज्ञहरू बताउँछन् । बालश्रमले तत्काललाई परिवारमा आर्थिक विकल्पको भएपनि दीर्घकालमा भने देशको अर्थतन्त्र र सामाजिक क्षेत्रमै असर पर्ने उनीहरूको तर्क छ । बालश्रमका कारण करिब ११ लाख वयस्कहरू आंशिक वा पूर्णकालीन रोजगारीको अवसरबाट वञ्चित हुनेछन् भने थोरै ज्याला, औपचारिक आर्थिक प्रणालीभन्दा बाहिरबाट ज्यालाको लेनदेनका कारण राज्यको अर्थतन्त्रामा अरबौंको नोक्सानी भइरहेको छ । देश र समाजमा दीर्घकालमा ठूलो असर पर्ने भएकाले बालश्रम न्यूनीकरणमा जोड दिनुपर्ने बालअधिकारकर्मीको भनाइ छ ।
सामुदायिक विद्यालयको विश्वास खस्किँदै, ऋणधन गरेर निजीमा पढाउन बाध्य अभिभावक
काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालयले अभिभावकको विश्वास गुमाउँदै आएका छन् । विद्यालयमा राम्रोसँग अध्यापन नहुँदा क्षमता भएका विद्यार्थीले पनि अपेक्षाकृत नतिजा दिन सकेका छैनन् ।आमसर्वसाधारणमा सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गइरहेको छ । अझै पनि ग्रामीण क्षेत्रका अधिकांश ठाउँमा विषयअनुसारका शिक्षक छैनन् । गाउँका सामुदायिक विद्यालयमा पढाइ राम्रो नहुँदा धेरै अभिभावकले आफ्नो पायक पर्ने ठाउँ अथवा बजारतिर सन्तान पढाउन थालेका छन् । पहिला सामुदायिक विद्यालयले राम्रो नतिजा दिइरहँदा पनि निजीमा अभिभावकले आफ्ना सन्तान नपढाएको होइन तर पछिल्लो समय भने निजीमा पढाउनेको संख्या बढ्दै गएको छ। आर्थिक अवस्था सहज भएकाहरूले त सन्तान सहरबजारमा राखेर पढाउने गरेका छन् तर, आर्थिक अवस्था राम्रो नहुनेहरूका सन्तान भने ग्रामीण क्षेत्रमै पढ्न बाध्य छन् । ग्रामीण क्षेत्रको कुनै एक विद्यालयमा पहिला ५०० भन्दा धेरै विद्यार्थी हुने ठाउँमा अहिले १५० पनि पुग्दैन । यतिमात्र होइन, धेरै विद्यालयले विद्यार्थी समेत पाउन छाडेको खबर बेलाबेलामा सञ्चारमाध्यममा आइरहेको हुन्छ । गाउँमा विषय अनुसारका दक्ष शिक्षक नभएको र भएकाहरू पनि विद्यालयमा आएर नपढाउँदा अधिकांश बालबालिकाको शैक्षिक अवस्था डरलाग्दो रहेको छ । आर्थिक सर्वेक्षण २०८१/०८२ का अनुसार नेपालका करिब १६ हजार सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या एक सयभन्दा कम छ । कुल सामुदायिक विद्यालयको १५ हजार ९ सय ६५ अर्थात् ५७ प्रतिशतमा विद्यार्थीको संख्या न्यून छ । विज्ञहरू यो संख्याले सार्वजनिक शिक्षाको गुणस्तरमा प्रश्न उठाएको बताउँछन् । नेपालमा सार्वजनिक शिक्षाको बहस बेलाबेला चर्किन्छ तर उत्तिखेरै सेलाइ पनि हाल्छ । सार्वजनिक शिक्षा सुधार नहुँदा अभिभावक ऋण खोजेर पनि बच्चाहरू संस्थागत विद्यालयमा पढाउन बाध्य बनिरहेका छन् । सार्वजनिक शिक्षा सुधारमा सरकार नै लाग्नुपर्ने काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का सहायक प्राध्यापक विनायक थापा सार्वजनिक शिक्षा सुधारका लागि सबैभन्दा पहिले समाजलाई कस्तो खालको शिक्षा चाहिन्छ भन्ने स्पष्ट पार्न आवश्यक रहेको बताउँछन् । ‘हाम्रो समाजले कस्तो शिक्षा चाहेको छ र कस्तो शिक्षा आवश्यक छ भन्नेमा अध्ययन गरिनुपर्छ ।’ शिक्षा नीति तथा अभ्यास केन्द्रका अध्यक्ष टीकाराम भट्टराई मागमा आधारित शिक्षाका लागि समुदाय, अभिभावक सबैको प्रभाव कायम गर्नुपर्ने बताउँछन् । सार्वजनिक शिक्षा सुधार गर्नुपर्छ भन्ने जानकारी भएकाहरूले निजीमा आफ्ना सन्तान लैजाने हुनाले बहसले सार्थक रूप पाउन नसकेको औंल्याउँछन् । नेपालमा मात्र नभइ अन्य भारत बंगलादेशमा पनि अवस्था यस्तै रहेको उनको भनाइ छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष कृष्ण थापाले सरकारले निःशुल्क शिक्षाको नारा लगाए पनि व्यवहारमा लागू हुन नसकेको बताए । उनी भन्छन्, ‘शिक्षा सार्वजनिक होस् विद्यालय चाहिँ सामुदायिक हुनुपर्छ ।’ एउटा स्कुल बनाउन सरकारले कति पैसा खर्च गर्छ । अभिभावकले कति खर्च गर्छ भन्ने कुरा बुझिदियो भने मात्र पनि सार्वजनिक शिक्षामा सुधार आउने उनको भनाइ छ । थापाले सरकारले चार सय २२ वटा नमुना विद्यालयलाई नमुना बनाएको भन्दै सरकारले नै विद्यालयलाई विभेद गरेको बताए । २५ हजार बढी विद्यालयमा चार सयलाई छनोट गरेर पैसा पनि बढी त्यही दिने गरेको बताउँदै उनले यो विभेदले पनि सामुदायिक विद्यालय अघि बढ्न नसकेको जिकिर गरे। सामुदायिक विद्यालयको इतिहास एकताका थियो नेपालीहरूले पढ्न लेख्न पाउँदैन थिए । लेखपढ गर्ने अधिकार राणाका सन्तानलाई मात्र हुन्थ्यो । नेपालमा सबैभन्दा पहिले सञ्चालनमा आएको स्कुल हो दरबार हाईस्कुल । तर यो स्कुलमा सर्वसाधारणको पहुँच थिएन । बिस्तारै समय परिवर्तन हुँदै गयो । देशमा प्रजातन्त्रपछि शिक्षा सबैका लागि खुला भयो । सामुदायिक विद्यालय पनि धमाधम खुल्दै गए । अहिले नेपालमा ३५ हजार ८ सय ७६ विद्यालय छन् । जसमा २५ हजार ( सय सामुदायिक विद्यालय छन् । शिक्षकको कुरा गर्दा प्राविमा ८० हजार १ सय ७६ दरबन्दी छ भने २१ हजार ८ सय ७१ राहत दरबन्दी छ । यस्तै, निमाविमा १६ हजार २ सय २४ दरबन्दी छ । जसमा ९ हजार ६ सय ९ राहत, माध्यमिकमा १२ हजार ७ सय २५ दरबन्दीमा ६ हजार ८ सय ९८ राहत रहेको छ भने उमाविमा २ हजार दरबन्दी ४ हजार राहत गरेर १ लाख ११ हजार १ सय २५ दरबन्दी शिक्षक छन् भने ४२ हजार ३ सय ७८ राहत शिक्षक छन् । जम्मा अहिले १ लाख ५३ हजार ५ सय ३ राहत र दरबन्दीका शिक्षक छन् । नेपालमा ४ सय २२ वटा नमुना विद्यालय छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक शिक्षामा सुधार गर्ने उद्देश्यले समुदायमा राम्रा शिक्षा दिइरहेको आधारमा छनोट गरिएको जनाएको छ । केन्द्रका अनुसार पाँच सय ३७ प्राविधिक धार सञ्चालन भएका विद्यालय छन् । जसमा बाली विज्ञान, पशुविज्ञान कम्पइुटर इन्जिनियर, सिभिल इन्जिनियर गरी पाँचवटा विषयमा प्राविधिक धार सञ्चालन भएका छन् । चालु आर्थिक वर्षदेखि १ सय १४ वटा विज्ञान विषय प्रवर्द्धनका लागि सामुदायिक विद्यालय छनोट गरिएका छन् भने ४० वटा हिमाली आवासीय छात्रावासहरू सञ्चालन भएका छन् । त्यसैगरी, १७ वटा विश्वविद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । विशेष विद्यालय १२ वटा छन् भने चालु आर्थिक वर्षदेखि ७ वटा प्रदेशमा ७ वटा मेगाकिचन सुरु गरिएको छ । जनशक्ति नै कमजोर सार्वजनिक शिक्षा कमजोर हुनुमा शिक्षा क्षेत्रको जनशक्ति कमजोर भएको कतिपयको भनाइ छ । समयअनुसार प्रविधि विकास हुँदै गएको तर शिक्षक समयअनुसार चलन नसकेको भन्दै अब भएको जनशक्ति परिमार्जित गर्नुपर्ने कतिपयको भनाइ छ । अभिभावक संघ नेपालका सचिव प्रवीण निरौला नेपालमा शिक्षामा भएको जनशक्ति पुरानो भइसकेको बताउँदै उनीहरूलाई समयअनुसार तालिम दिन आवश्यक रहेको बताउँछन् । ‘अहिले जमाना फेरिएको छ नयाँ नयाँ प्रविधि आएका छन्, अब शिक्षालाई राम्रो बनाउने हो भने जनशक्ति पनि फेर्नुपर्ने देखियो,’ उनी भन्छन्, ‘यसका लागि शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ दिएर नयाँ शिक्षक ल्याउनुपर्छ ।’ राज्य भटाभट सामुदायिक विद्यालय बन्द गर्ने नीतिमा लागेकाले पनि अवस्था यस्तो आएको उनी बताउँछन् । सामुदायिक विद्यालय सरकारकै प्राथमिकतामा परेन शिक्षकहरू भने नेपालका सामुदायिक विद्यालय सरकारकै प्राथमिकतामा नपरेको बताउँछन् । सरकारले चाह्यो भने सामुदायिक विद्यालय पनि अब्बल हुन सक्ने भन्दै सार्वजनिक शिक्षा सुधार गर्न सरकारले नै कदम चाल्नुपर्नेमा जोड दिन्छन् । जनस्तरबाट सार्वजनिक शिक्षाको आलोचना भइरहँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू भने शिक्षक एक्लोको प्रयासले सम्भव नहुने बताउँछन् । काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रमका माविका प्रधानाध्यापक रीता तिवारी विद्यालयको एक्लो प्रयासभन्दा पनि स्थानीय तह, केन्द्र सबैले ध्यान दिनुपर्ने बताउँछिन् । तीनै तहको सरकार विना एक्लै विद्यालयले मात्र राम्रो गर्न नसक्ने उनको भनाइ छ । ‘काठमाडौं महानगरपालिकाले अहिले कक्षा १० सम्मै दिवा खाजा दिइरहेको छ, स्थानीय तहसँग कति पैसा हुँदोरहेछ भन्ने यहाँबाटै थाह हुन्छ,’ उनी भन्छिन्,‘ शिक्षकहरूलाई तालिम दिनेदेखि लिएर हरेक कुराको जिम्मेवारी विद्यालयभन्दा स्टकहोल्डर लिनुपर्छ ।’ तिवारी स्थानीय र केन्द्र सरकारले जिम्मेवारी नलिँदासम्म विद्यालय सुधार्न नसकिने बताउँछिन् । शिक्षाविद् डा. विष्णु कार्की सामुदायिक विद्यालयका विद्यार्थीको क्षमता अभिवृद्धि नगरेसम्म अवस्थामा सुधार नहुने बताउँछन् । विद्यार्थीलाई कसरी ज्ञान दिने, कस्तो सीप दिने भन्ने विषयमा शिक्षक र सरकार लाग्नुपर्ने उनको भनाइ छ । अहिले नेपालमा शिक्षाको भन्दा राजनीतिक चिन्ता बढी हुँदा समस्या आएको उनी बताउँछन्। नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली भने सामुदायिक विद्यालयको सुधारका लागि आफूहरू ८० दिनसम्म सडकमा बसेको बताउँछिन् । भन्छिन्, ‘शिक्षा क्षेत्र राम्रो बनाउन कानुन चाहिन्छ तर, हाम्रो राज्यले कानुन नै ल्याउन सकेको छैन, हामीले पटक पटक माग गर्दा पनि सडकमा आउनुपर्यो ।’ सार्वजनिक विद्यालयबारे सरकारलाई चिन्ता नहुँदाको परिणाम सामुदायिक विद्यालयको अवस्था यो हालतमा पुगेको पराजुली जिकिर गर्छिन् । ‘केन्द्रले कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई लगाएर आफू जिम्मेवारीबाट पन्छिएको देखियो,’ भन्छिन्, ‘स्थानीय तहलाई नियमन गर्ने, अनुगमन नगर्ने नियन्त्रण गर्ने निकाय छैन, स्थानीय सरकारको कार्यशैली जंगबहादुरको जस्तै छ ।’