काठमाडौं महानगरले २५ सय जनालाई दियो कपाल काट्नेदेखि ड्रोन उडाउने तालिम
काठमाडौं । काठमाडौं महानगरले आयोजना गरेको दोस्रो संस्करणको सीप मेला शनिबार सकिँदैछ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर जेठ ७ गतेदेखि सुरु भएको ३० दिने सीप मेला शनिबार सकिन लागेको हो । मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गरिएको छ । दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइएको छ । आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियन, बौद्धिक कृत्रिमताका लागि एआई र यसको प्रयोग एआई एन्ड इट्स एप्लिकेसन गरी पाँच विधामा तालिम दिइएको सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झाले बताए । उनका अनुसार स्पेसल एभिलिटी सपोर्ट स्किल साउन सिन्ड्रोम, अटिज्म हाउस किपिङ पिडब्लुडी र केयर सर्भिस गरी दुईओटा विधाका तालिम इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम दिइएको छ । गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधा कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम दिइएको छ भने हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा दिइएको छ भने अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल इभी मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाइट भेहिकल मेसिन, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम दिइएको छ । आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स टेराकोटा गरी दुई विधामा तालिम गर्दै ज्योतिष र पुरोहितको पनि तालिम दिइएको छ । कृषिमा फूलको सजावटसम्बन्धी तालिमसहित सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम समेत महानगरले दिएको छ । महानगरले काठमाडौं महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखेको थियो । महानगरले २०८२ मा कम्तीमा २०८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्ये लिएको थियो तर लक्ष्यभन्दा बढीलाई सीप तालिम दिइएको छ । जसमा महानगरले २ हजार ५ सय जनालाई तालिम दिइएको संयोजक झाको भनाइ छ । उनका अनुसार तालिममा सहभागिहरुले महानगरप्रति राम्रो प्रतिक्रिया दिने गरेका छन् । उनले भने, ‘महानगरको यो कदमप्रति सबै खुसी छन् । महानगरले राम्रो गरिरहेको छ भनेर प्रतिक्रिया दिने गरेका छन् । सीप मेलामा सिक्नेहरु धेरै उत्साहित छन् । उनीहरुले काठमाडौंमा रहेका विभिन्न उद्योगहरुमा काम गर्ने अवसरका रुपमा लिइरहेका छन् । यसवर्ष आइटी क्षेत्रमा बढी सहभागि छन् । गत वर्षको तुलनामा यसमा हामीले नयाँ १५ वटा कार्यक्रमहरु थप गरेका थियौं । जसमा डिजिटल, मल्टीमिडिया, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियनलगायतका कार्यक्रम थप गरेका हौं । तालिम सकिएपछि सबैको मूल्याकंन गर्ने गरेका छौं ।’ यस्तै, सीप मेलामा पछिल्लो समय सबैको आर्कषण बढिरहेको तर त्यसमा सबैभन्दा बढी डिजिटल मार्केटिमा बढी रहेको उनको भनाइ छ । हस्पीटालिटी र व्युटीतिर समेत आर्कषण बढिरहेको बताए । उनले थपे, ‘हामीले यदि समृद्धिको बाटोमा लाग्ने हो भने लगानी मानव पुँजी गर्नुपर्छ । ह्युमन क्यापिटल नै सबैभन्दा ठुलो क्यापिटल हो । हामीले बोलेर भन्दा पनि गरेर केही सन्देश दिन खोजेको हो । यो महानगर प्रमुख जिको भिजन हो । सबैले आआफ्नो भिजनअनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ । ’ यस्तै, सीप तालिममा सहभागिहरु सीप तालिम पाउँदा हर्षित देखिन्छन् । काठमाडौंकी कल्पना घर्ती मगर आफूले सीप मेलामा धेरै कुराहरु सिकेको बताउँछिन् । लाइट भकलबारे तालिम लिएको र आफ्नो सिकाईमा धेरे राहत पुगेको उनले बताइन् । उनले भनिन्, ‘म मेकाइनिकल इन्जिनियर पढिरहेकी छु । सीप मेलाले सिकाइमा थप सहयोग पुर्याएको छ । यसमा धेरै खुसी छु । महानगरले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गरिराख्नुपर्छ । यसमा हामी सबैले दिनुपर्छ । हामी युवाहरुले यस्तै चाहेका छौं । यस्ता मेलाहरु काठमाडौंले मात्र नभएर देशभरका सबै स्थानीय तहले गर्नपर्छ । यो अपरचोनिटिका लागि महाजगरलाई धेरै धन्यवाद दिन चाहान्छु । ’ यस्तै सोपना पोखरेलले पनि सीप मेलाबाट धेरै कुराहरु सिक्ने मौका पाएको बताउँछिन् । उनले सीप सिकाईमा महानगरप्रति आभारी रहेको सुनाइन् । उनकाअनुसार यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष दिइरहनुपर्छ । पोखरेलले भनिन, मेलामा प्रशिक्षण दिने प्रशिक्षकहरु पनि राम्रा थिए । घरमा सिक्नु र यता सिक्नुमा धेरै फरक छ । हामीले नेपाली इन्डियन डिसहरु बनायौं तर कतिपय कुराहरु प्याक्टिकल्ली सिक्दा खेरी काठमाडौंले मात्रै होइन् यस्ता कार्यक्रमहरु अन्य पालिकाहरुले तथा वडा लेभलमा दिँदा एकदमै बेटर हुन्छ । हामीले रमाइलो गरेर तालिम लियौं । हामी खुसी छौं । ’ यस्तै सीप मेलाबाट मल्टीमिडियाको बारेमा धेरै कुराहरु सिकेको राजेन्द्र कुमारी अधिकारले बताए । उनले भने, ‘रमाइलो छ । सिक्ने क्रम जारी नै छ । जीवनै हाम्रो सिकाई हो । यो एक महिनाको समयमा ग्राफिक डिजाइनविजनेस कार्ड बनाउने भिडियो अडियो एडिलगायतका कुराहरु सिके । हामी सुरुमा के गरु भन्ने दुविधामा थियौं । महानगरलाई यो मेला ल्याएपछि हामीलाई धेरै फाइदा भएको छ ।’ यस्तै, ज्योतिष विधाका प्रशिक्षक विभय पौडेल ज्योतिशास्त्रतर्फ युवाहरुको आर्कषण बढिरहेको बताउँछन् । उनका अनुसार सीप मेलामा १० देखि १२ कक्षामा पढिरहेका युवाहरुको ज्योतिष विधामा सहभागि रहेका थिए । उनले भने, पछिल्लो समय ज्योतिष विधामा युवाको आर्कषण बढी छ । यो विधा साइन्स हो । यसमा सत्यता छ भनेर युवाहरुले बुझेका छन् । जुन यो महानगरको सीप मेला युवाहरुको सहभागिता, र त्यो चासो भोकले बुझायो । उनीहरुलाई सिकाउन पाउँदा म एमदमै खुसी छु । महानगरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रहरु ल्याइरहोस् । ’ ज्योतिष शास्त्रलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको भनाई छ । उनले नासा जस्तो देशले ज्योतिष शास्त्रमा धेरै लगानी गरिरहेको समेत बताए । उनकाअनुसार धर्म, संस्कृतिक, तिथि, मितिलगायतका कुरामा सत्यता छ । यसमा राज्यले पनि सहयोग गरिनुपर्नेमा उनले जोड दिए । ड्रोन प्रशिक्षक मनिस शर्मा आफूले ड्रोन सिकाउन पाउँदा निकै उत्साहित भएको बताउँछन् । उनले भने,‘ तालिम कसरी सिकाउने भन्ने कुरा म आफैमा भर पर्छ । मैले यो एक महिनाको अन्तरालमा ड्रोनबारे धेरै कुराहरु सिकाएको छु । ड्रोनमा मैले कसरी चलाउने, यसका नियमहरुदेखि विभिन्न चरणहरु सिकाएको छ । उनीहरुले फेनटम, एपीबिलगायत आफैले नयाँ बनाएको ड्रोन चलाउन, बनाउन र उडाउन पनि सक्नेछन् । उनीहरु अब स्किल पाइलट नै भइसकेका छन् । उनीहरुलाई फिल्डमै लगायो भने काम गर्न सक्नेछन् । विद्यार्थीहरु यो सिकाईमा निकै हर्षित देखिन्छ । ’ यसैगरी पछिल्लो समय युवाहरुले ड्रोनप्रति चासो राखेको जोन हब नेपालका प्रबन्ध निर्देशक प्रविन भट्टराई बताउँछन् । उनले भने, ‘महानगरले एकदमै महत्वपूर्ण काम गरिरहेको छ । सीप सिकेकाहरूले यसलाई सही सदुपयोग गरी देशमै केही गर्न सकिन्छ भनि गरेर देखाउन आवश्यक छ । यसरी नै देशलाई विकास गर्न सकिन्छ । नयाँ परिवर्तनको लागि टेक्नोलोजीलाई बढी प्राथमिकता दिएको छ यो राम्रो पक्ष रहेको छ । अरूले गरेको कुरा हामी किन गर्न सक्दैनन् भन्ने महानगरले प्रमाण गरिदिएको छ । सबैको हातमा सीप हुन आवश्यक छ । देश तथा विदेशमा सीपको आवश्यक पर्ने हुँदा सीप सिक्न जरुरी छ ।’ अनिवार्य रुपमा हरेक वडादेखि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्नपर्ने भन्दै महानगरले यस्तो कार्यक्रम सन्चालन गरेकोमा खुशी व्यक्त गरे । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरेको थियो ।
नाडाविरुद्ध अदालत जाने आकाश गोल्छाको तयारी, अध्यक्ष र महासचिवसँग ‘टसल’
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा ) को वरिष्ठ उपाध्यक्ष पदबाट हटाएपछि आकाश गोल्छा कानुनी उपचारमा जाने तयारीमा जुटेका छन् । नाडाले वरिष्ठ उपाध्यक्ष पदबाट हटाउने निर्णय लिएको र त्यसको जवाफ माग्दा पनि नपाएपछि गोल्छा कानुनी लडाइँमा जाने तयारी गरेका हुन् । गोल्छाले वरिष्ठ उपाध्यक्ष पदबाट किन हटाएको भन्दै एक महिनाअघि लिखित रूपमा नाडाको केन्द्रीय कार्यसमिति तथा महासचिवसमक्ष सत्य तथ्य खुल्ने कागजातहरू माग गरेका थिए । उनले संस्थाभित्र मुख्य सरोकारवाला व्यक्तिको हैसियतले कुनै जानकारी नपाएको र सोही कारण आफू कानुनी उपचार खोज्न बाध्य भएको जानकारी दिए । नाडाको तर्फबाट भने हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक भइसकेको छैन । गोल्छाले भने, ‘नाडालाई पत्र पठाएको एक महिना भइसक्यो । धेरै कुरा भनिसकेको छु । हालसम्म न केही जवाफ आएको छ नत कुनै पत्र पठाएको छ, अब नाडामा ताला लगाउनुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने । आफूलाई वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष करण चौधरी र महासचिवले निकालेको उनको आरोप छ । ‘जिल्ला प्रशासनले गरेको भए उसले लिखित रूपमा पत्र लेखेर पठाउँछ । मैले पनि भनेकै छु । यदि प्रशासनले मलाई वरिष्ठ पदबाट हटाएको भए खै त पत्र ? यो सबै हल्ला हो । जिल्ला प्रशासन यो गर्न मिल्दैन । यदि गरेको हो यो साधारण सभाबाटै हटाइनुपर्छ,’ उनले थपे । उनले नाडाको विधान संशोधनको प्रक्रिया, त्यसको वैधानिकता र पारदर्शिता सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । चौधरीको नाडा कार्यसमिति सञ्चालन गर्ने शैली व्यक्तिगत चासो र पूर्वाग्रहमा आधारित रहेको गोल्छा बताउँछन् । उनले २०७७ सालमा नाडाको ४७ औं वार्षिक साधारण सभाबाट पारित गरिएको संशोधित विधान जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भए पनि सो विधान सचिवालयले फिर्ता ल्याएको आरोप लगाए । प्रमुख जिल्ला अधिकारीले सो संशोधन स्वीकृत नभएको स्पष्ट पारेको उनको दावी छ । गोल्छाका अनुसार संस्थाको विधानमा गरिएको संशोधन अभिलेखीकरण मात्र पर्याप्त हो । कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति आवश्यक छैन । सो संशोधनमार्फत वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरिए पनि त्यसलाई नाडाले औपचारिक रूपमा कार्यान्वयन नगरेको उनको आरोप छ । गोल्छाले नाडाको १३ औंदेखि १८ औं कार्यसमिति बैठकको माइन्युट, ४७ औं र ४८ औं वार्षिक साधारण सभाको कार्यवृत्त, ४७ औं साधारण सभाबाट पारित तिन महले विधान संशोधनको प्रतिलिपि, तत्कालीन अध्यक्ष ध्रुव बहादुर थापाको कार्यकालका २३ औं र २४ औं बैठकहरूको माइन्युट लगायतका कुरा माग गरेका छन् । गोल्छा र चौधरीबीचको सहमतिअनुसार गोल्छालाई स्वतः अध्यक्ष बनाउने सम्झौता भएको थियो । तर, चौधरी अध्यक्ष बने बित्तिकै एकतर्फी निर्णयहरू गरेको आरोप गोल्छाको छ । विसं २०८० को मंसिरमा भएको नाडाको ४७ औं साधारणसभाले नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । त्यतिबेला अध्यक्षका लागि करण चौधरी र गोल्छाको चर्चा थियो । तर, नाडाकै नेताहरू तथा पूर्वअध्यक्षहरूले यस पटक चौधरीलाई अध्यक्ष बनाउने र गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर अर्को पटकका लागि स्वतः अध्यक्ष बनाउने सहमति भएको थियो । गोल्छाले पनि अध्यक्ष बन्ने चाहना त्यागेर अर्को पटक अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्षमा बस्न राजी भएका थिए । सबैको सहमतिमा साधारणसभामा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको पद सिर्जना गर्ने प्रस्ताव पनि स्वीकृत भएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले विधान संशोधन अस्वीकृत गरेपछि समस्या सिर्जना भएको हो । यसैबीच नाडा फुटेर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को जन्म भयो । सो संस्थाको स्थापनामा गोल्छाको भूमिका पनि ठूलो रह्यो । नाडाका केही पदाधिकारीले नाइमा जन्मिनुमा गोल्छाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कारवाही गरेको रूपमा पनि बुझेका छन् । नाडाका अध्यक्ष करण चौधरी पत्रबारे नाडाको कार्य समितिको आफ्नै आन्तरिक कुरा भएको बताउँछन् । उनी भन्छन्, ‘यस विषयमा म केही बोल्दिनँ । यो हाम्रो कार्य समितिको कुरा हो । ’ यस्तै, महासचिव सुरेन्द्र उप्रेतीले पनि आफूहरूले गोच्छालाई वरिष्ठ उपाध्यक्ष पदबाट नहटाएको जिकिर गर्छन् । उनले भने, ‘कसैलाई कसैले हटाएर हटाइने कुरा हुँदैन । उहाँलाई हामीले हटाएका होइनौं । त्यो त जिल्ला प्रशासनले नै गरेको हो ।’ पछिल्लो सयम नाडाभित्रको यो आन्तरिक विवादले संस्थाको निर्णय प्रक्रिया, पारदर्शिता र कानुनी संयन्त्रप्रति प्रश्न खडा भएको छ ।
सेकेन्ड ह्याण्ड ईभी बेच्न चुनौती, व्यवसायी भन्छन्- रिसेल मूल्य घटेको भ्रममात्रै हो
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को सेकेन्ड ह्याण्ड मूल्य घटेको भन्ने चर्चा बजारमा व्यापक छ । तर अटो व्यवसायीहरूले भने यो हल्ला मात्र भएको दाबी गर्दै ईभी र इन्धन गाडी (आईसीई) दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् । फोर्ड गाडीका आधिकारिक बिक्रेता जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार, कुनै पनि गाडी किनेपछि बेच्दा किनेको मूल्यभन्दा कम नै पाउने परम्परा छ । उनले भने, ‘रिसेल भ्यालु सबै गाडीमा उस्तै हो । जुन ईभीमा मात्रै मूल्य घट्छ भन्ने हल्ला छ, त्यसमा कुनै तथ्य छैन । एक महिनामै बेच्दा पनि २०/२५ प्रतिशतसम्म मूल्य घट्नु सामान्य हो । ईभी मात्र घट्छ भन्ने गलत हो ।’ हाल नेपाली बजारमा ईभीको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । गोल्छाका अनुसार आईसीईभन्दा ईभीमा धेरै फिचर र सुविधाहरू हुन्छन् । ब्याट्री क्षमता, कम चार्जिङ खर्च, वातावरणमैत्री प्रविधि र आधुनिक डिजाइनका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए । उनका अनुसार अहिले धेरै ग्राहकहरूले इन्धन र ईभी दुवै प्रकारका गाडी प्रयोग गरिरहेका छन् । बजारमा नयाँ प्रविधि आउँदा उपभोक्तामा स्वाभाविक रूपमा आकर्षण बढ्ने उनको तर्क छ । अहिले नेपालमा बिक्री हुने कुल सवारीसाधनमध्ये करिब ७० प्रतिशत विद्युतीय गाडी भएको गोल्छाले जानकारी दिए । बीवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले पनि रिसेल भ्यालुमा समस्या ब्याट्रीको मूल्य घटबढका कारण आउने बताइन् । उनका अनुसार इन्धन र ईभी दुवै गाडीको सेकेन्ड ह्याण्ड मूल्य कम नै पर्छ । उनले भनिन्, ‘ईभी नयाँ प्रविधि भएकाले सेकेन्ड ह्याण्ड कस्तो होला भन्ने बुझाउन नसक्दा मूल्य घटेको हो । जस्तो मोबाइल दुई महिनामै बेच्दा मूल्य झर्छ, गाडी पनि त्यस्तै हो ।’ श्रेष्ठले ४० मा किनेको गाडी एक वर्षपछि बेच्दा रिसेल भ्यालु ३५ लाख पाएपछि गाडी बेचेको सुनाइन् । उनले रिसेल भ्यालु राम्रो पाएको भन्दै खुसी भएको समेत बताइन् । अहिले बजारमा १०/१२ लाखदेखि ४/५ करोडसम्मका ईभी पाइने उनको भनाइ छ । मर्मतसम्भारको आवश्यकता समेत ईभीमा कम हुने उनी बताउँछिन् । महाप्रबन्धक श्रेष्ठले भनिन्, ‘अन्य सवारीसाधनहरुमा इन्धन हालिराख्नुपर्छ । मर्मत गरिराख्नुपर्छ । इन्जिन फेरिराख्नुपर्छ । ईभीमा न त तेल फेर्नुपर्ने झन्झट छ, न त इन्जिन बिग्रने चिन्ता । डर केवल सहज र कुशल यात्राको हुन्छ ।’ ‘हाल संसार प्रविधिमैत्री बन्दै गइरहेको छ । ईभीमा आकर्षित हुनु राम्रो पक्ष हो । ईभी वातावरणमैत्री हुनुले पनि सबैको रोजाइमा परिरहेको हो,’उनले थपिन् । श्रेष्ठले हाल नेपालमा ५० भन्दा बढी ब्राण्डका ईभी चलिरहेका बताइन् । उनका अनुसार राजधानीमा सबैभन्दा धेरै ईभी गुडिरहेका छन् । २०१७ मा ५० हजार डलर पर्ने ईभी अहिले उस्तै प्रविधियुक्त २५ हजार डलरमै उपलब्ध रहेको पनि उनले जानकारी दिइन् । लक्ष्मी ई मोबिलिटीका प्रबन्धक दीपक थपलिया पनि ईभी र आईसीई दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् । बजारमा फैलिएको हल्लामा विश्वास नगर्न उनले आग्रह गरे । ‘बजारमा आएका हल्लामात्र हुन् । दुवैको रिसेल भ्यालु उस्तै हो । एकै दिनमा पनि रिसेल भ्यालु फरक हुन्छ,’ उनले भने । यता एचबी मोटर्सका प्रबन्ध निर्देशक दीपेश हुमागाईं सेकेन्ड ह्याण्ड ईभी बिक्री गर्न समस्या भइरहेको बताउँछन्। उनले भने, ‘सेकेन्ड ह्याण्डमा ईभी गाडी बेच्न गाह्रो छ । अधिकांश सेकेन्ड ह्याण्ड ईभी किन्न रुचाउँदैनन् । हामीले ५० लाखमा किनेको ईभीलाई छ महिनापछि बेच्दा ३०/३२ लाखसम्ममा बिक्री गर्नुपर्ने हुन्छ ।’ नेपालमा ईभी गाडीको आयात भर्खरै मात्र तीव्र रूपमा अघि बढेको हुनाले ईभी रिकन्डिसन बजारमा एकदमै कम आउने गरेको उनी बताउँछन् । उनका अनुसार नेपालको सेकेन्ड ह्याण्ड बजारमा ५ प्रतिशत मात्र ईभी बिक्रीका लागि आउने गरेका छन् ।ईभी गाडीको प्रयोग र आयात बर्सेनि तीव्र गतिमा बढ्दै गएको छ । नेपालका सडकमा विभिन्न ब्राण्डका विद्युतीय सवारीसाधनहरूको उपस्थिति दिनदिनै विस्तार भैरहेको छ । सरकारले पनि कर छुट, अनुदान र प्रोत्साहन नीति मार्फत ईभीलाई प्रोत्साहन गरिरहेको छ । तर यसरी नयाँ ईभीको माग उच्च हुँदै जाँदा समेत त्यसअनुसार सेकेन्ड ह्याण्ड बजार भने अपेक्षित रूपमा विकास हुन सकेको छैन । उपभोक्ता नयाँ प्रविधि, ब्याट्रीको दीर्घकालीन क्षमता र मर्मतसम्भारमा अनिश्चितता जस्ता कारणले पुराना ईभी किन्न अझै हिच्किचाइरहेका छन् । यसले गर्दा ईभीको रिसेल भ्यालु अझै कमजोर देखिएको विज्ञहरूको भनाइ छ। आगामी दिनमा प्रविधि अझ परिस्कृत हुँदै जाँदा र उपभोक्तामा विश्वास बढ्दै जाँदा मात्र सेकेन्ड ह्याण्ड बजार पनि क्रमशः सबल हुँदै जाने उनीहरूको अनुमान छ ।
नाडाभित्र हाम्रा पीडा समेटिन नसक्दा नाइमा खोलेका हौं : रितुसिंह वैद्य
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट एण्ड म्यानुफ्क्चर्स एशोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) मा आफ्ना पीडा तथा गुनासो नसुनेकाले नाइमाको जन्म भएको बताएकी छन् । नाडामा राजनीतिक गतिविधि बढ्दै गएको र नीतिगत तहमा प्रभावकारी लबिङ गर्न नसकेकाले नाइमा संस्था जन्मिएको व्यवसायीहरूले बताउँदै आएका छन् । यसै विषयसँग केन्द्रित रही हामीले अध्यक्ष वैद्यलाई ५ प्रश्न गरेका छौं : तपाईंहरूले नाइमा खोल्नुपर्ने अवस्था किन आइलाग्यो ? नाइमा खोलिनुको मुख्य कारण नाडाभित्र धेरै सदस्य हुनु हो । त्यहाँ हाम्रा पीडा तथा गुनासोहरू कसैले सुनिदिएनन् । हामी आयातकर्ताहरूलाई आफ्नै एजेण्डा तथा आफ्नै पोलिसी चाहिएको थियो । पछिल्लो समय नीतिगत लबिङमा नाडा निकै कमजोर भयो अनि हाम्रा मुद्दा पनि उठाउन सकेन । त्यसकारण हामीले नाइमा खोल्न बाध्य भएका हौं । सरकारले ल्याएको बजेटप्रति नाइमाको दृष्टिकोण कस्तो छ ? सरकारले बजेट स्वागतयोग्य छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । विद्युतीय सवारीसाधनमा कर बढाएको छैन, जसले गर्दा हामीलाई ठूलो राहत भएको छ । हामी एकदमै खुसी छौं । नाइमाको तर्फबाट सरकारलाई धन्यवाद दिन चाहन्छु। आवश्यकताभन्दा बढी ल्याएका ईभीले बजार पाउनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ? हाम्रा साथीहरूरुले आआफ्नो योजनाअनुसार नै बजेट आउनुभन्दा अगाडि भित्र्याउनुभएको हो । करको विषयलाई लिएर अहिले बजारमा आवश्यकताभन्दा बढी ईभी गाडी ल्याएको छ भन्नु हल्ला हो । यसमा उहाँहरूले आफ्नो तरिकाले बिक्री गर्नुहुन्छ होला, यसमा कुनै समस्या छैन । दुई-तीन महिनामै सबै बिक्री भइसक्छन् । बन्दरगाहमा एउटा पनि गाडी भेटिने छैन । नेपालको अटो क्षेत्रलाई सुधार गर्न नाइमाको भूमिका कस्तो रहनेछ ? सबैभन्दा पहिले नाइमा खोलेको धेरै समय भएको छैन । यसको खास उद्देश्य नेपालको अटोमोबाइल क्षेत्रका समस्याहरू सरकारसमक्ष पुर्याउनु हो । हाम्रो संरचना नै फरक किसिमको छ । नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्नेछ । नाइमा र नाडा अब कसरी अगाडि बढ्नेछन् ? हामी नाडासँग सहकार्य गर्न तयार छौं । अहिले हामी नाइमा मोबिलिटी एक्स्पोको तयारीमा जुटिरहेका छौं । यदि नाडाले एक्स्पोमा सहकार्य गर्छ भने हामी तयार छौं । सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्न कत्तिको चुनौती छ ? सरकारले निजी क्षेत्रलाई सधैं सकारात्मक रूपमा हेरिदिनुपर्छ । हामी सरकारसँग सहकार्य गरेरै जान्छौं । हाम्रा धेरै समस्या छन्, यी सबै समस्या सरकारले सम्बोधन गर्नेछ, यसमा हामी आशावादी छौं । नाइमाको आफ्नै योजना छ । हामीले खोलेको एक महिना पनि पुरा भएको छैन, जुन हामीले चाँडै पहिलो सिरिज सुरु गर्दैछौं । नाइमा मोबिलिटी एक्स्पो तपाईं साउन २१ गते देख्न सक्नुहुनेछ । हामी अटो क्षेत्रका समस्याहरूलाई लिएर अगाडि बढ्नेछौं ।
सार्वजनिक गाडी नचलेको मौका छोप्दै पठाओ र इन्ड्राइभ, मनपरि भाडा असुल्दै
काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन् । सोमबार बिहानदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू सडकमा अलपत्र छन् । सोमबारदेखि गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले देशव्यापी रूपमा आन्दोलन गरेका हुन् । धादिङका सुरेन्द्र भण्डारी गाडी नचल्दा अलपत्र परेका छन् । उनलाई अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र बनेपा जानुपर्ने थियो । तर, गाडी चलेपछि उनलाई कहाँ जाऔं के गरौं भयो । उनका छोरा अपाङ्ग बाल अस्पताल बनेपाको बेडमा छन् । छोराका लागि खानेकुरा, लत्ता कपडा लिएर जानुपर्नेमा उनी अलपत्र अवस्थामा परेका छन् । उनले भने, ‘बिहानै चन्द्रागिरीबाट साझा यातायात चढी रत्नपार्कसम्म आएँ । यहाँदेखि सधैं बनेपा गइरहन्थें । तर आज गाडी नै भेट्टाइरहेको छैन । अस्पतालमा बाबुको खुट्टाको अप्रेसन गरेर राखेको छ । बाबुका लागि खानेकुरा र लत्ताकपडा लिएर जानुपर्ने छ तर यता गाडी पाइँदैन । पठाओ अनि इन्ड्राइभमा जाऊँ भनेको भाडा दोब्बर देखाइरहेको छ ।’ भण्डारीले आज पठाओ र इन्ड्राइभले पनि मौका पारेर बढी भाडा असुलिरहेको गुनासो पोखे । आफूहरू जस्ता आर्थिक अवस्था कमजोर भएका गरिखाने सर्वसाधारणलाई गाह्रो परिरहेको उनको भनाइ छ । यसैगरी, सार्वजनिक यातायात बन्द हुँदा निकै सास्ती खेप्नुपरेको निराजन रिजाल बताउँछन् । उनले क्याम्पस पुग्नका लागि माछापोखरीबाट साझा यातायातमा रत्नपार्क आएको बताए । उनी भन्छन्,‘ धेरै सास्ती खेपिरहेका छु । क्याम्पस जानुपर्ने ढिलो भइसक्यो । धेरै हिँडिसकें । लगनखेल पुग्नु पर्नेछ । अब क्याम्पस जाने कि नजाने भनेर दुविधामा छु । यस्तो त नगरिदिनुपर्ने हो । हामी विद्यार्थीलाई अब समस्या हुने भयो । ’ यस्तै, सडकमा भेटिएका गणेश घिमिरे हरेक संघ संगठनहरूले आन्दोलन गरिरहँदा यसको मारमा सर्वसाधारण पर्ने गरेको बताउँछन् । यो विषयमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । उपत्यकामा ४० वटा साझा बस सञ्चालनमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प रहँदा साझा यातायात भने सञ्चालनमै रहेको छ । उपत्यकाका विभिन्न रुटमा बस सञ्चालनमै रहेको साझा यातायातका अनुगमन सहायक हीरामणि खनालले बताए । उनले भने, ‘ सार्वजनिक बसहरू बन्द हुँदा बिहानैदेखि सर्वसाधारणको खासै चहलपहल छैन । सबैले पठाओ, इन्ड्राइभ गर्न सक्दैनन् । ट्याक्सी चढ्न सक्दैनन् । जनताले दुःख नपाउन् भनेर हामीले ४० वटा बस सञ्चालनमा राखेको छौं ।’ उनका अनुसार साझा यातायातले प्रहरीसँग सहकार्य गरी प्रत्येक गाडीमा प्रहरी राखेर गाडी सञ्चालन गरिरहेको छ। मौका छोप्दै पठाओ र इन्ड्राइभ सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको मौकामा राइड सेयरिङहरूले सर्वसाधारणलाई मनपरी भाडा असुलेको गुनासो गरेका छन् । सार्वजनिक गाडी नचल्दा सर्वसाधारणहरू दोब्बर पैसा तिरी पठाओ तथा इन्ड्राइभमा यात्रा गर्न बाध्य छन् भने धेरैजना विद्यालय र अफिस जान पाएका छैनन् । सार्वजनिक यातायात ठप्प भएको मौकामा बाटोभरि पठाओ/इन्ड्राइभका राइडरहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । उनीहरूले अफलाइनमा बसी यात्रुसँग बार्गेनिङ गरिरहेका छन् । सार्वजनिक बसमा चढ्ने यात्रुहरू सबै पठाओ र इन्ड्राइभमै जान थालेपछि राइडरको कमी भएको र भाडा बढेको चालक रविन खत्री बताउँछन् । उनका अनुसार पठाओ र इन्ड्राइभको भाडा राइडरले बढाउन मिल्दैन । भाडा एपले नै आफै बढाउने गरेको उनको भनाइ छ । उनले भने, ‘पठाओ र इन्ड्राइभको हिजोअस्तिको तुलनामा भाडा आज दोब्बरले बढेको छ । पठाओ र इन्ड्राइभ एपले जानीजानी यस्तो गरिरहेका छन् ।’ उनले आफूहरूले १० देखि १५ रुपैयाँ मात्रै बढाउन मिल्ने बताउँदै यो माथिबाटै बढाएर आएपछि आफूहरूले त्यत्तिकै बस्न नमिल्ने उनको भनाइ छ । उनले भने,‘हामीले यात्रुको इच्छाअनुसार मात्रै हामीले एसेप्ट गछौं । यस्तो नगर्नुपर्ने हो । पठाओ र इन्ड्राइभमा फिक्स रेट हुनुपर्ने हो तर त्यस्तो छैन । पानी पर्दा जाम हुदाँखेरी रेट बढ्ने गरेको छ ।’ प्रहरीका दुई बस निःशुल्क सञ्चालनमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ । प्रहरीले यात्रुको सहजका लागि उक्त बस सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयलका अनुसार उपत्यकाको दुई रुटमा दुईवटा बस सञ्चालनमा ल्याएको हो । यात्रुहरूको आवातजावत सहज बनाउनका लागि प्रहरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । गिरीका अनुसार बस सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘हामीले अलपत्र परेका यात्रुहरूको सहजताका लागि उपत्यकामा दुईवटा बसहरू सञ्चालनमा ल्याएका छौं । यी दुबै बस उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन छन् ।’ रुट नम्बर १ मा नयाँबसपार्क, बालाजु, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, जय नेपाल हल, पुतलीसडक,माइतीघर, थापाथली, जाउलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कंलकी, स्वयम्भुको रुटमा चलिरहेका छन् । रुट नम्बर २ मा एयरपार्ट, कोटेश्वर, ठिमी, सल्लघारी, सुर्यविनायक, चाविल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपल र गौशाला रुटमा सेवा दिइरहेका छन् । यसैगरी, सार्वजनिक बस ठप्प हुँदा उपत्यकामा यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल नेपालले पनि दुईवटा बस नि:शुल्क सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरीका अनुसार सर्वसाधारणको सहजताको लागि बस नि:शुल्क रुपमा सञ्चालनमा ल्याइएको हो । गाडीमा चालकसहित तीन/तीन जना सशस्त्र प्रहरी समेत रहेका छन् । सशस्त्र प्रहरीका गाडीका चालकले भने, ‘ यातायात व्यवसायीसँग सरकार वार्ता गरिरहेको छ । यदि वार्तामा सहमति जुटेन भने अवस्था यस्तै रहेको खण्डमा उपत्यकाभन्दा बाहिरबाट समेत गाडी मगाउने कुरा भइरहेको छ । मंगलबारसम्म सम्भवत: यसको वार्ता सकारात्मकै आउँछ होला । सोमबारको जस्तो न होला ।’ बढी भाडा नलिन निर्देशन प्रहरीले यात्रुहरूसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । कसैले नियम विपरीत यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०४ मा कल गरेर जानकारी गराउन अनुरोध गरेको छ । उजुरी दिनसमेत प्रहरीले आग्रह गरेको छ ।
सोमबारदेखि सवारी चल्न नदिने चेतावनी, १३ खर्ब लगानी र १५ लाख रोजगारी प्रभावित हुँदै
काठमाडौं । निजी सवारीसाधनलाई भाडामा चलाउन दिने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीहरू सडकमा उत्रिएका छन् । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक तथा ढुवानी व्यवसायी महासंघ, नेपाल स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले आइतबार माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्याली निकालेका थिए । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गर्दै ल्याएको ‘राइड सेयरिङसम्बन्धी नियमावली २०८२’ विरुद्ध व्यवसायीले प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार प्रदेश सरकारले ल्याएको नियमावली संविधान र ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ विपरीत छ । उनले संघीय कानुनको अवमूल्यन गर्दै सातै प्रदेशले फरक-फरक नियमावली ल्याउने क्रम सुरु भएकोप्रति आपत्ति जनाए । उनले भने, ‘राइड सेयरिङ र प्रविधिको हामी विरोधी होइनौं, तर कानुन बाहिर गएर प्रदेश सरकारले यस्तो नियमावली ल्याउन मिल्दैन । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेट सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिनु अनुचित छ ।’ यस्तै, सार्वजनिक यातायात केद्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले पनि आफूहरू बाध्यताले सडकमा आएको बताए । उनले भने, ‘सोमबारदेखि देशभर यातायात बन्द गर्छाैं । गण्डकीमा तीन दिनदेखि ठप्प गरेका छौं भने अब देशभर बन्द हुन्छ । हालसम्म सरकार मौन छ । न हामीलाई वार्तामा बोलाएको छ, न कुनै जानकारी नै दिएको छ । जनतालाई कति समस्या भइरहेको छ । यो पीडा कसले बुझ्ने ? हामीले जनताका लागि नभई सरकारका लागि बाटाे बन्द गरेका हौं ।’ विशेषगरी सवारी ऐन, २०४९ अनुसार निजी सवारीले भाडाका यात्रु बोक्न दिनुमा उनीहरूको असहमति छ । संघीय ऐन विपरीत प्रदेश सरकारले अधिकार नाघेर नियमावली ल्याएको उनीहरूको दावी छ । नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी राइडर सेयरिङकाे नाममा निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० वर्षे २ पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारीसाधन सरह प्रयोग गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन् । यस्ता छन् व्यवसायीहरूका सात बुँदे माग गण्डकी प्रदेशको ‘राइड सेयरिङ नियमावली २०८२’ को दफा २ (ज) खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको चैत्र २० गतेको परमादेश तत्काल कार्यान्वयन गरिनुपर्ने, सवारी ऐन २०४९ संशोधन नभएसम्मको लागि सरकारले यातायात महासंघ तथा मजदुर संगठनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सार्वजनिक यातायातको सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गरिनुपर्ने र बिमा दर निर्देशिका २०७३ संशोधन गरी दुर्घटना राहत कोष स्थापना गरिनुपर्ने, ढुवानी ऐन लागू गरी मालवस्तुमा अनिवार्य बीमा व्यवस्था गर्नुपर्ने, छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा लागू गरिएको असमान नीति, विशेषतः ७२ घण्टे सुविधा हटाइनुपर्ने आन्दोलनले जनजीवन प्रभावित विरोधका कारण पोखरालगायत गण्डकी प्रदेशका प्रमुख सहरहरूमा सार्वजनिक सवारी अवरुद्ध भएको छ । शनिबार मात्रै प्रहरीले स्कर्टिङमार्फत पोखराबाट काठमाडौं यात्रु पुर्याएको थियो । पर्यटन क्षेत्रमा समेत असर पर्न थालेको छ । व्यवसायीहरूले विदेशी पर्यटकबाहेक अन्यको टिकट बुकिङ नगर्न पर्यटन व्यवसायी संघ (नाट्टा) गण्डकीलाई आग्रह गरेका छन् । गण्डकी सरकार भन्छ- नियमावली फिर्ता हुँदैन गण्डकी प्रदेश सरकार भने नियमावली फिर्ता नहुने अडानमा अडिग छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘राइड सेयरिङ’ लाई वैधता दिँदा युवाहरूको वैदेशिक पलायन कम हुने तर्क गरेका छन् । उनले भने, ‘नियमावली फिर्ता हुँदैन, तर अवैध रूपमा चलेकालाई कानुनी दायरामा ल्याउने उद्देश्य प्रदेश सरकारको हो ।’ गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । मन्त्रालयले व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ । तर व्यवसायीहरूले नियमावली खारेज नभएसम्म वार्ता नबस्ने अडान दोहोर्याएका छन् । गण्डकीमा मात्रै १५ हजारभन्दा बढी सार्वजनिक सवारी रहेका छन् भने ३० भन्दा बढी समिति सक्रिय छन् । सार्वजनिक यातायात बन्द हुँदा लामो तथा छोटो दुरीका यात्रु मर्कामा छन् । पोखरा र ठुला सहरहरूमा राइड सेयरिङहरुले सेवा दिएका छन् । यसअघि व्यवसायीहरुले बुधबार सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई मागपत्र बुझाएका थिए । सोमबारदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधनहरू घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने उनीहरूले चेतावनीको छ । २०७४ सालमा सरकारले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै संघ समितिलाई निलम्बन गरी सम्पत्ति रोक्का गरी कम्पनीमा रूपान्तरण गर्दा यातायात क्षेत्र नै अस्तव्यस्त भई हजारौं यातायात व्यवसायी पलायन भएको व्यवसायीको भनाइ छ । आफ्ना माग पूरा नभए सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा पर्ने यातायात व्यवसायीहरू बताउँछन् । यातायात क्षेत्रमा १५ लाखले प्रत्यक्ष रोजगारी पाएको र ४० लाख परिवार सार्वजनिक यातायात क्षेत्रमा आश्रित रहेको व्यवसायीको दाबी छ । व्यवसायीहरूको सात बुँदे माग पुरा नभए देशभरको सार्वजनिक यातायात ठप्प हुने चेतावनीले सर्वसाधारण जनतालाई थप सास्ती हुने देखिएको छ । वार्ता र संवादमार्फत समाधान खोज्ने प्रयास भइरहे पनि दुवै पक्ष अडानबाट पछि नहट्दा समस्या जटिल बन्दै गएको छ ।
नाडा र नाइमाको एक्स्पोले व्यवसायी विभाजित, को कुन धारमा ?
काठमाडौं । अटो व्यवसायीहरूबीच एकले अर्कालाई सकाउने खेलको सुरुवात भएको छ । नाडाकै केही पदाधिकारीहरूको प्रयासमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) स्थापनादेखि सुरु भएको खेल अटो एक्स्पोको संघारमै प्रष्ट देखिएको हो । दुवै संस्थाले अटो एक्स्पो आयोजना गर्ने घोषणा गरिसकेका छन् । नाइमाले बुकिङ रजिस्ट्रेसन पनि बन्द गरिसकेको छ भने नाडाले अगाडि नै रजिस्ट्रेसन खोले पनि अहिलेसम्म बन्द गरेको छैन । अर्थात नाडाले विगतको जस्तै बिजनेस पाउन सकेको छैन । अधिकांश अटो व्यवसायीहरू नाइमामा जाँदा नाडा अटो शोको भविष्यमाथि नै प्रश्न उठेको छ । नाइमाको नेपाल मोबिलिटी एक्स्पोको लागि स्टल बुकिङ चाहिएभन्दा बढी भए पनि नाडा अटो शोका लागि भने स्टल नै बुकिङ हुन सकेनन् । व्यवसायीहरूले एक-आपसमा जुँगाको लडाइँ गर्दा नाडा अटो शोको भविष्यमाथि प्रश्न उठेको हो । कुन व्यवसायी कुन संस्थामा ? युनाइटेड टेडर्स सिण्डिकेट नेपालमा टोयोटा ब्राण्डका गाडीहरूको एकमात्र आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड टेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक तथा नाइमाकी अध्यक्ष हुन् रितुसिंह वैद्य । उनी व्यवसायी सुरज वैद्यकी श्रीमती पनि हुन् । भारतको नयाँदिल्लीमा जन्मिएर नेपालका प्रतिष्ठित घराना वैद्यज अर्गनाइजेनसभित्र भित्रिएकी रितु हाल टोयोटा ब्राण्डको गाडी प्रवर्द्धनमा तल्लीन छिन् । टोयोटा नेपाल भित्रिएको ५१ वर्ष भैसकेको छ भने रितु यही ब्राण्डको विस्तारका लागि स्ट्राटेजी बनाइरहेकी छिन् । उनले सेल्स, सर्भिस, स्पेयर पार्टस सबै आफैले समालिरहेकी छिन् । नाइमाकी अध्यक्ष समेत रहेकी रितुले नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा ब्राण्डसँगै लेक्सस तथा एथर ब्राण्डका सबै गाडीहरू प्रर्दशनमा राख्नेछिन् । उनी जसरी पनि नाइमाको एक्स्पो सफल बनाउन लागेकी छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालि सुहृद घिमिरे किया गाडीको आयातकर्ता तथा आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष हुन् । उनी नाइमामा पनि संग्लन छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया, इसुजु, कोमात्सु र ओटिस जस्ता प्रतिष्ठित ब्राण्डहरू बिक्री गर्दै आइरहेको छ । जसले व्यावसायिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । आगामी साउनको अन्तिम सातातिर भृकुटीमण्डपमा हुने नेपाल मोबिलिटी एक्स्पोमा किया गाडीका ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक हुन् अञ्जन श्रेष्ठ र निराकार श्रेष्ठ । नेपालको ठूला व्यावसायिक ग्रुपको पहिचान बनाएको लक्ष्मी ग्रुपको नेतृत्व तहमा रहेर काम गरिरहेका अञ्जन श्रेष्ठ नेपालका एक सफल व्यवसायीका रुपमा पनि परिचित छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् भने उनी नाडाको पूर्व अध्यक्ष समेत हुन् । निराकर नाडा र नाइमाका पनि सदस्य हुन् । नेपाल मोबिलिटी एक्स्पोमा हुण्डाई र फोरथिङ गाडीको ब्राण्डहरू प्रदर्शनमा राखिने जानकारी छ । शारडा ग्रुप नेपालका आमोडा जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स तथा शारडा ग्रुपका निर्देशक गौरव शारडा हुन् । गौरव नाइमाको मोबिलिटी एक्स्पोका संयोजक समेत हुन् । उनी एसपीजी अटोमोबाइलको स्थापनासँगै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका हुन् भने गौरवले नेपाली बजारमा चेरी ब्राण्ड, निसान, डाटसन र नयाँ ईभी ब्राण्ड ओमोडा विक्री वितरण गर्दै आएका छन् । नाइमा मोबिलिटी एक्स्पोमा यी ब्राण्डहरुका साथै यही साता मात्रै नेपाल भित्र्याइएको विन्डसर नयाँ ब्राण्डका विद्युतीय कार (इभी) हरू प्रर्दशनीमा राखिनेछन् । विशाल ग्रुप नेपालका लागि मोरिस ग्यारेज एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट माेटर्स तथा विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् निकुञ्ज अग्रवाल । नेपालकै ठूलो व्यापारिक समूहमध्येको एक विशाल ग्रुप हो । निकुञ्जले उक्त व्यावसायिक समूहको नेतृत्व गरिरहेका छन् । यो ग्रुपले नेपाली अटो बजारलाई तताएको छ । विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्राण्डका गाडी ल्याएर बिक्री गर्दै आएको छ । यस ग्रुपले फक्सवागन, रेनो, एमजी, विलिङ, सुजुकी मोटरसाइकल, माज्दा, मेक्सस, भिनफास्ट, ग्रेटवाल जस्ता ब्राण्ड बिक्री गरिरहेको छ भने नाइमाको एक्स्पोमा एमजी फस्कवागेन, टिभीएस, ग्रेटवालल ब्राण्डहरू प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ । साइमेक्स इंक प्रालि बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक हुन् यमुना श्रेष्ठ । उनी नाइमाकी सदस्य पनि हुन् । पछिल्लो समय उनले नेपाली अटो बजार तताएकी छन् । पछिल्लो समय उनको कम्पनी नेपाली बजारमा सर्वाधिक विद्युतीय बीवाईडी गाडी बिक्री गर्ने कम्पनी बनेको छ । जबकि सन् २०२४ मा कम्पनीले ६ हजार थान गाडी बिक्री गरेर नेपालकै पहिलो नम्बरमा पर्न सफल भएको थियो । ६ महादेशमा ३० भन्दा बढी औद्योगिक पार्कहरू स्थापना गरेको बीवाईडीले इलेक्ट्रोनिक्स, अटोमोबाइल बजारमा छल्याङ मारेको छ । यमुनाले अटोमोबाइलका साथै हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गरिरहेकी छिन् । साउनमा हुने नाइमा एक्स्पोमा कम्पनीले बीवाईडी विभिन्न ब्राण्डहरूसँगै यहीँ साता नेपाल भित्र्याइएको नयाँ गाडी सिलायोन ७ मोडेलको गाडी नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ । आइएमई मोटर्स कमर्सियल भेहिकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स हो । यसका प्रबन्ध निर्देशक निसान ढकाल हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन् । उनी नाडामा आमन्त्रित सदस्यका रूपमा छन् । तर उनले आफ्ना गाडीको प्रदर्शनी भने नाइमामा राख्नेछन् । उक्त कम्पनीले कमर्सियल भेहिकलमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ भने नाइमा एक्स्पोमा अशोक लेल्याण्डले कमर्सियल भेहिकल गाडीहरू प्रदर्शनमा राख्नेछ । पद्म ज्योति ग्रुप होन्डा बाइक तथा स्कुटर र होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ तथा पद्म ज्योति ग्रुप हो । जसका प्रबन्ध निर्देशक सौरभ ज्योती हुन् भने उनी नाइमा पनि आवद्ध छन् । उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पद्म ज्योतिका छोरा हुन् । उक्त कम्पनीमा हाल मिरा ज्योति सुधृण ज्योति, सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन् । उक्त ग्रुपले होन्डा मोटरसाइकल बिक्री गर्दै आएको छ भने आगामी साउनमा हुने नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले होन्डा ब्राण्डका सवारी साधनहरू प्रर्दशनमा राख्नेछ । शौरव नाडाका पूर्व अध्यक्ष समेत हुन् । तर, उनी पनि नाइमामा आवद्ध भएका छन् । महिन्द्रा अग्नि ग्रुप महेन्द्रा गाडीको लागि आधिकारिक बिक्रेता अग्नि इन्करपोरेटेड प्रालिले तथा अग्नि ग्रुप हो । यसका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ हुन् । यस कम्पनीले महिन्द्रा र याज्दी ब्राण्डका गाडीहरू बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा प्रदर्शनमा राख्न पनि यी दुवै ब्राण्डका साथै महिन्द्राको नयाँ ब्राण्ड बीई सिक्स र एक्सयुभी नाइन ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको र मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिने जानकारी दिएको छ । अल्फा अटोमोटिभ रोयल इन्फिल्डको लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोटिभ हो । यसका प्रबन्ध निर्देशक हर्ष सांघाई हुन् । अल्फा अटोमोटिभले रोयल इन्फिल्डको दुईपाँग्रे सवारीसाधनबाट नेपालभरि आफ्नो बजार विस्तार गरिरहेको छ । रोयल इन्फिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय छ । नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको ब्रान्ड रोयल इन्फिल्ड हो । अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका साथै डोङफेङ, कर्मसियल गाडी, क्लासिक ३५० को नयाँ भर्सन एफआई, इलेक्ट्रा, सिग्नल्स, मेटेओर ३५०, हिमालयनलगायतका मोडलहरू बिक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले मोबिलिटी एक्स्पोमा रोयल इनफिल्ड र डोङफेङ कमर्सियल ब्राण्डका गाडीहरू प्रदर्शनीमा राख्नेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी बजाज बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी हो । यस कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् । कम्पनीले नेपाल बजारमा बजाज मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा बजाजसँगै सिट्रोन, लिपमोटर, प्युजो ब्राण्डका गाडीहरू प्रदर्शनमा राख्नेछ । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघसँगै नाडाका अध्यक्ष भइसकेको व्यवसायी हुन् । उनी पनि नाइमामा आवद्ध भएका छन् । नाडा अटो शोमा सीमित व्यवसायी एक दर्जन गाडी तथा बाइकको लागि आधिकारिक बिक्रेता कम्पनी एमडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, विवेक सिकारिया, सिजी माेटर्सका निर्वाण चौधरी तथा सिप्रदी ट्रेडिङ प्रालिका राजनबाबु श्रेष्ठ नाडामा अटो शो मा सहभागी हुने छन् । सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता हो सिप्रदी ट्रेडिङ प्रालि । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । उनी नाडाका उपाध्यक्ष पनि हुन् । सिप्रदी ट्रेडिङले टाटा ब्रान्डका गाडीहरू बिक्री गर्दै आएको छ । यो कम्पनीले भदौ पहिलो सातादेखि सुरु हुने नाडा अटो शोमा सहभागी हुनेछ भने प्रदर्शनमा टाटा ब्रान्डका गाडीहरू राख्नेछ । एमएडब्ल्यू ग्रुप एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन् । एमएडब्ल्यूले हेभी इक्युपमेन्टदेखि चर्चित प्यासेन्जर गाडीसम्म बिक्री गर्दै आएको छ भने दुईपाँग्रे यामाहा र हेभीइक्युपमेन्टमा जेसीबी र चारपाँग्रेमा जिप, स्कोडा र पछिल्लो समय चर्चित ब्रान्डको रूपमा स्थापित सेरेस बिक्री गर्दै आएको छ । यस कम्पनीले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ । यो कम्पनी नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो दुवैमा देखिनेछ । यसैगरी एमडब्लूले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि अटो नाडा शोमा अवलोकन गर्न सकिने बुझिएको छ । चौधरी ग्रुप चौधरी समूह अन्तर्गतको सिजी मोटोकर्पले मारुती सुजुकीका चारपाँग्रे गाडी बिक्री गर्दै आएको छ । जुन हाल नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष करण चौधरीले नेतृत्व गर्दै आएका छन् । अटो व्यवसायमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेशसँगै चौधरी ग्रुपले हाल धमाधम विद्युतीय ब्रान्ड भित्र्याइरहेको छ । चौधरी ग्रुपले नेटा, आयोन, एक्सपेङ, स्मार्ट, रिडारा, विद्युतीय गाडी तथा कमर्शियलतर्फ केवाईसी, किङलङका गाडी बिक्री गर्दै आएको छ । हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पा, अप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुईपाँग्रे सवारी साधनहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ ।
उच्च मागसँगै नाइमाको बुकिङ बन्द, नाडाले पाएन बिजनेस
काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शो यसपटक भने संकटको संघारमा पुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) छुट्टिएर जन्मिएको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) को नेपाल मोबिलिटी एक्स्पो हुने भएपछि नाडा अटो शो संकटमा पुगेको हो । नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको थियो । नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरक–फरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । विगतका वर्षमा मिलेर नाडा अटो शो आयोजना गर्ने व्यवसायीहरू यसवर्ष छुट्टाछुट्टै अटो शो गर्ने भएपछि नाइमाको मोबिलिटी एक्स्पोमा उत्साह र रौनक देखिने निश्चित भएको छ भने नाडालाई बिजनेस पाउन नै हम्मेहम्मे भएको छ । यसले नाडा अटो शो हुने कि नहुने भन्ने मै दुबिधा देखिएको छ । नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो’ गर्ने जानकारी गराइसकेको छ । जसका लागि फागुन २७ गतेदेखि चैत ४ गतेसम्मका लागि भन्दै रजिष्ट्रेसन खोलेको थियो । तर, सो रजिष्ट्रेसन अहिलेसम्म पनि बन्द भएको छैन । ढिलो गरेर रजिष्ट्रेसन खोलेको नाइमाले बन्द गरिसकेको छ । नाइमाले वैशाख २२ गते देखि २९ गतेसम्म स्टल बुकिङ खुला गरेमा सोचेभन्दा बढी स्टल बुकिङ भएपछि बन्द गरिसकेको छ । नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने घोषणा गरिसकेको छ । नेपालमा बिक्री हुने मुख्य ब्राण्ड नाइमामा आवद्ध व्यवसायीले आयात गर्ने भएकोले पनि नाडा अटो शोभन्दा नाइमा मोबिलिटी एक्स्पो प्रभावशाली हुने देखिएको छ । नाडा अटो शो २०२५ मा सोचेभन्दा कम कम्पनीले मात्र स्टल बुकिङ गराएपछि बुकिङ बन्द नभएको बताइएको छ । नाइमाले भने सोचेभन्दा बढी स्टल पाएको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले माग गरेभन्दा बढी आवेदन परेपछि सबैलाई समेट्न अतिरिक्त स्टलहरूको व्यवस्था गर्नुपरेको बताइन् । ‘यसलाई हामीले नेपालमा मोबिलिटी क्षेत्रमा देखिएको उत्साह र सम्भावनाको स्पष्ट संकेत भएको बुझेका छौं, हामीले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिएका छौं, नाडाको भन्दा हाम्रो व्यवस्थित स्टल हुन्छ,’ उनले भनिन् । नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत नाडा अटो शोभन्दा फरक तरिकाले, प्रविधिनिर्भर, इन्टरएक्टिभ र उपभोक्तामैत्री अनुभव दिने उद्देश्य लिएको उनको भनाइ छ । मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैलाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलग्गै दिनको व्यवस्था गरिएको छ । व्यवसायीले आफ्ना स्टलहरू बाहिर गार्डेनमा राख्नु नपर्ने बताइन् । उनकाअनुसार पहिलो संस्करणकै प्रदर्शनीका लागि अटो क्षेत्रबाट आएको सहभागिता उल्लेखनीय रहेको छ । नाइमाले सुरुमा ४४ वटा स्टलको व्यवस्था गरेको थियो । तर, सहभागी कम्पनीहरूको चापका कारण ४८ वटा आवेदन प्राप्त भएपछि बुकिङ बन्द गरी थप स्टल निर्माण गरेको हो । नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुनेछन् । मोबिलिटी एक्स्पोमा चारपाँग्रे, दुईपाँग्रे तथा व्यावसायिक सवारीसाधन उत्पादन तथा आयातमा संलग्न ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन् । प्रदर्शनीमा चार पाँग्रेअन्तर्गत बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी ०१, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा र जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर रहनेछन् । दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, यज्दी र जीहो रहने नाइमाले जनाएको छ । यसैगरी, कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ सहभागी हुनेछन् । यो एक्स्पोले नेपालका मोबिलिटी क्षेत्रमा क्रान्तिकारी सोच प्रस्तुत गर्नेछ भने आगन्तुक तथा प्रदर्शक दुवैका लागि नयाँ अनुभव दिने नाइमाको दाबी छ । पहिलो पटक आयोजना गर्न लागेको यो एक्स्पो ऐतिहासिक हुने अपेक्षा र विश्वास नाइमाको छ । मोबिलिटी एक्स्पोले नेपालको विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी समाधान र दिगो यातायात प्रणालीप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने विश्वास नाइमाको छ । फागुनमै रजिष्ट्रेशन खोलेको नाडा अटो शोमा भने हालसम्म कुन–कुन ब्राण्ड सहभागी भए ? कति भए भन्ने यकिन जानकारी नाडाले दिन चाहेको छैन । नाडाका अध्यक्ष करण चौधरीले चाँडै सार्वजनिक गर्ने तयारी भइरहेकोले अहिले नबताउने तर्क राखे । ‘बुकिङ खुल्ला नै राखेका छौं । हामीले हालसम्म स्टलबारे यति भए भनेर सार्वजनिक गरेका छैनौं । समय भएको छैन, अझै धेरै छ । स्टल बन्द गरेर सबैलाई जानकारी गर्नेछौं,’ उनले भने । एक अटो व्यवसायीका अनुसार नाइमामा सहभागी भएका कम्पनी नाडा र नाडामा सहभागी भएका कम्पनी नाइमाले आयोजना गरेको एक्स्पोमा सहभागी हुने छैनन् । नाइमाको आयोजनामा हुने एक्स्पोमा केही ठूला कम्पनीहरु सहभागी नहुने नाडाका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार नाडासँग असन्तुष्ट व्यवसायीहरु मिलेर नाइमा गठन गरेपछि आयोजना गर्न लागेको यो एक्सपोमा सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुपलगायत केही अन्य प्रमुख कम्पनीहरु नदेखिने भएका हुन् । नाडा अटो शोको विषयमा अझै पनि छलफल नै भइरहेको ती सदस्यले बताए । उनले नाइमामा अधिकांश अटो मोबाइल आयातकर्ता तथा उत्पादकहरुको सहभागिता भए पनि, सिप्रदी ट्रेडिङ र एमएडब्लू ग्रुप सहभागी नहुने जानकारी दिए । अटोमोबाइल बजारमा तीव्र गतिमा विस्तार भइरहेको सिजी मोटर्स र सुजुकी गाडीको बिक्री गर्ने सिजी मोटोकर्प पनि नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने निश्चित भएको छ । उनका अनुसार सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटा ब्रान्डका कारहरु र एमएडब्लु ग्रुपले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाइमा मोबिलिटी एक्सपोमा अवलोकन गर्न पाइने छैन । यसैगरी एमडब्लु ग्रुपले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि नाइमा एक्सपोमा सहभागी नहुने उनी बताउँछन् । सिजी मोटर्सले आयात गरी बिक्री गर्दै आएको एवोन, एक्सपेङ, अवतार, नेटा, स्मार्ट, केवाईसी र किङलङ ब्रान्डका ईभी (इलेक्ट्रिक भेहिकल) र हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पारअप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुई पाँग्रे सवारी साधनहरु नाडामै रहेको बुझिएको छ ।