राजु सिलवाल

विश्वकप समाप्ति : फुटबलमा नयाँ युग थालनी

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ ।  स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग गरेको आधारमा देखाएका कूल सातवटा पहेँलो कार्डमध्ये सबै कार्ड अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले पाएका थिए । अझ अर्जेन्टिनाका इन्जो फर्नाण्डिजले दोहरो पहेँलो कार्ड पाएबापत रेफ्रीले रातो कार्ड देखाइ मैदानबाट निष्काशित गरेपछि १० खेलाडीमा सीमित हुनुपरेको साविकको विजेता अर्जेन्टिनाले हार समेत ब्यहोर्नुपर्यो तर स्पेनका खेलाडीहरुले भने खेल अवधिभर कुनै कार्ड प्राप्त नगरी अनुशासनको उच्चतम नमूना प्रस्तुत गरेका थिए । खेल अवधिभर विपक्षी अर्जेन्टिनाविरुद्ध पूर्ण दबाब दिन सफल स्पेनको टिमले उत्कृष्ट रणनीति प्रदर्शन गर्दै विश्व विजेता बन्न सफल भएको थियो । स्पेनका खेलाडीहरुले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलगायतका प्रभावशाली खेलाडीहरुलाई प्रारम्भदेखि अन्त्यसम्म एकोहोरो निगरानीमा राख्न सफल हुनु नै आफ्नो टिमको विजयको कारक बन्न पुग्यो । स्पेनको रक्षा पङ्क्तिदेखि अग्रपङ्क्तिका खेलाडीहरुले लगातार खेल आफ्नो नियन्त्रणमा राखिरहेको अवस्थामा अतिरिक्त समयको एक सय छ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गरेका थिए । स्पेनको टिममा खेल कुनै खेलाडी विशेषमा निर्भर नरही सामूहिक रुपमा उचित भूमिका निर्वाह हुनुले नै टिमलाई विजयको भागीदार बनाएको अनुभव गरियो ।  स्पेनको रक्षापङ्क्तिको प्रशंसा जति गरे पनि कमी हुन्छ । रक्षापङ्क्ति बलियो हुनुको कारण नै स्पेन यसपालिको विश्वकपमा सबैभन्दा कम गोल खाने उदाहरणीय टिम बन्न पुगेको छ । समूहमा चरणमा कुनै पनि गोल नखाएर अपराजित यात्रा थालेको स्पेनले क्वाटरफाइनलमा मात्र बेल्जियमको एक गोल खाएको थियो । सो खेलमा स्पेनले बेल्जियमलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । स्पेन सेमी फाइनलमा फ्रान्सलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो । स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टिमको सक्षम नेतृत्व गरेबापत सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डेन बल प्रदान गरिएको थियो । स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाएबापत उत्कृष्ट गोल किपरका रुपमा गोल्डेन ग्लोभ प्रदान गरिएको थियो भने रक्षापङ्क्तिका कुर्बासीलाई सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका थिए ।   स्पेनले पहिलोपटक सन् १९३४ मा इटालीमा आयोजित दोस्रो फिफा विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिखेर स्पेन क्वाटर फाइनलसम्म पुगेको थियो । स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा एकपटक विश्वकप जितेको थियो । स्पेनले हालसम्म १७ पटक विश्वकपमा सहभागिता जनाएको भए पनि दुईपटक मात्र फाइनलमा पुग्न सफल भएको थियो । विश्वभर अत्यधिक रुचाएका खेलाडी नियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना विश्वकपमा अनवरत यात्राको क्रममा साबिकको विजेताबाट उपविजेतामा खुम्चनुप¥यो । अर्जेन्टिनाको पराजयको कारणमा आक्रामक खेल खेल्न नसक्नु नै देखियो । अग्रपङ्क्तिका खेलाडीहरुले विपक्षीको गोल पोष्टमा आक्रमक रुपमा अघि बढ्न खासै अवसर जुटाउन सकेनन । सामान्य पासिङमा समेत तालमेल मिल्न सकेको थिएन । विशेषतः स्पेनको तुलनामा अर्जेन्टिना कमजोर देखिएको थियो ।   अर्जेन्टिना यसपटक सातौँ चोटी विश्वकप फुटबलको फाइनलको यात्रा निरासामा परिणत भएको छ । अर्जेन्टिनाले विश्वकप फुटबलमा पहिलो प्रतियोगितादेखि लगातार सहभागिता जनाउँदै आइरहेको हो । सन् १९७८ मा पहिलोपटक आफ्नै गृहमैदानमा नेदरल्याण्डसलाई पराजित गर्दै विश्वकप जितेको अर्जेन्टिनाले सन् १९८६ मा तत्कालीन पश्चिम जर्मनीलाई हराएर उपाधि कब्जा गरेको थियो । त्यतिखेर अर्जेन्टिनाका कप्तान डियगो म्याराडोनाले इङ्गल्याण्डविरुद्ध गरेका आकर्षक गोललाई शताब्दीकै उत्कृष्ट गोल मान्ने गरिएको छ । सन् २०१४ को विश्वकपमा फाइनलमा पुगेर पनि जर्मनीसँग पराजित भएको अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा सन् २०२२ मा फ्रान्सलाई हराएर ३६ वर्षपछि पुनः उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिना इङ्गल्याण्डलाई सेमीफाइनलमा एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो । अर्जेन्टिनाले  विश्वकपका प्रारम्भिक चरणदेखि नै लगातार जित हात पार्दै विशिष्ट पहिचान बनाउन सफल भएको थियो । समूह चरणको कुनै पनि खेलमा पराजय नभोगेको अर्जेन्टिनाले त्यसपछिका नकआउट चरणमा पनि लगातार जित हासिल गर्दै सहजै अन्तिम खेलसम्म पुग्न सक्यो । मेस्सीले यसपालिको विश्वकपमा अल्जेरियाविरुद्ध पहिलो ह्याट्रिक गर्ने खेलाडीका रुपमा कीर्तिमान स्थापित गरेका थिए । विश्वकप अवधिभर उनले कूल आठ गोल गरेका थिए ।   करोडौँको पुरस्कार  यसपटकको विश्वकपमा सन् २०२२ को विश्वकपको तुलनामा पुरस्कारको राशिमा वृद्धि गरिएको थियो । फिफाले हालसम्मकै सर्वाधिक राशि पुरस्कारको व्यवस्था गर्दै कूल पुरस्कारका लागि ८७ करोड १० लाख अमेरिकी डलर छुट्याएको थियो । विश्वकप विजेता टिमले पुरस्कारबापत पाँच करोड डलर पाएका छन् । यसअघि कतारमा विश्वकप विजेता टिम अर्जेन्टिनाले चार करोड २० लाख डलर पुरस्कार पाएको थियो । यसपालिको दोस्रो टिमले तीन करोड ३० लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो टिमका लागि दुई करोड ९० लाख डलर तथा चौथो टिमका लागि दुई करोड ७० लाख डलर पुरस्कारको व्यवस्था रहेको छ ।  फिफाले विश्वकपको तयारीका लागि ४८ वटा प्रत्येक टिमलाई १५ लाख डलर प्रदान गरेको थियो । त्यस्तै क्वाटरफाइनल पुगेका प्रत्येक टोलीले एक करोड ९० लाख डलर पाएका थिए । यसअघि समूह चरण खेलेका प्रत्येक टोलीले ९० लाख डलर, राउण्ड अफ बत्तीसमा पुगेका प्रत्येकलाई एक करोड १० लाख डलर तथा राउण्ड अफ सोह्र पुगेका प्रत्येक टिमले एक करोड ५० लाख डलर प्राप्त गरेका थिए ।    असम्भव गोल विश्वकपका सन्दर्भमा थुप्रै गोल भएका छन् जसले फुटबलको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ तर केही यस्ता गोल पनि भएका छन् जुन गोललाई स्वयं फुटबल विज्ञहरुले पनि असम्भव गोल मानेका छन् । फिफाले नर्वेका एन्टोनियो नुसाले इङ्गल्याण्डविरुद्ध गरेको गोललाई असम्भव गोलका रुपमा मनोनयन गरेको छ । उनले नर्वेका गोलकिपर जोर्डन पिकफोर्डलाई झुक्याउँदै बक्सको कठिन कुनाबाट स्पिन गराउँदै सिधै गोलपोष्टको जालीभित्र छिराएर गोल गरेका थिए ।  केप भर्डे टिमका रक्षापङ्क्तिका खेलाडी सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा गरेको गोललाई पनि यो प्रतियोगिताको कठिन गोल मानिएको छ । अर्जेन्टिनाका जुलियन अल्भारेजले स्विजरल्याण्डलाई अतिरिक्त समयमा बक्स बाहिरैबाट प्रहार गरेको बल गोलमा परिणत गरेर सबैलाई चकित बनाइदिएको थिए । सर्वाधिक गोलकर्ता फ्रान्सका स्ट्राइकर एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाउन नसके पनि विश्वकपको इतिहासमै सर्वाधिक गोल गरेको कीर्तिमानसहित गोल्डेन बुट जितेका छन् । उनले विभिन्न विश्वकपमा गरी हालसम्मकै सबैभन्दा बढी २२ वटा व्यक्तिगत गोल गरेका छन् । उनले यसपटकको विश्वकपमा मात्र १० गोल गरेका थिए । उनले पछिल्लो दुई गोल इङ्गल्याण्डविरुद्ध गरेका थिए तर सो खेलमा फ्रान्स चार गोलका विरुद्ध छ गोलले हार्न पुगेको पुगेको थियो ।    मैदानमा रुवावासी विश्वकप फुटबल प्रतियोगितामा पराजय भइसकेपछि विभिन्न टिमका खेलाडीहरुको रुवावासी साँच्चिकै नरमाइलो क्षण बन्न पुगेको थियो । हालसम्मका सबै विश्वकपमा भाग लिई पाँचपटक उपाधि जितिसकेको ब्राजिलको हारले समर्थकहरुलाई ज्यादै निरास बनाएको थियो । ब्राजिलका विश्व प्रसिद्ध खेलाडी नेयमार आफ्नो टिम विश्वकपबाट बाहिरिएको अवस्थामा रोएको क्षण अत्यन्त नरमाइलो थियो । घाइते भएर लामो समयसम्म मैदानबाट बाहिर रहेका नेयमार विश्वकपको प्रतिस्पर्धामा फर्किदा पनि रोएको देखिएको थियो । पछिल्लो पराजयपछि नेयमारजस्ता प्रभावशाली खेलाडीलाई आगामी दिनका महत्वपूर्ण प्रतियोगितामा देख्न पाइने हो कि होइन फुटबल समर्थकहरुमा चिन्ता थपिएको छ ।  अधुरो सपना यसपटकको विश्वकप आफ्नो अन्तिम विश्वकप हुने सार्वजनिक घोषणा गरिसकेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको आफ्नो मुलुकलाई एकपटक विश्वकपको उपाधि दिलाउने सपना पूरा हुन सङ्केन । रोनाल्डोले आफूले खेलेका छवटै विश्वकपमा लगातार गोल गर्न सफल भई विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको रुपमा कीर्तिमान कायम गरे तापनि आफ्नो टिमलाई विश्व विजेता बनाउने सपना भने पूरा गर्न सकेनन् ।  विश्वकपमा उनको कूल गोल सङ्ख्या ११ पुगेको छ । उनले यसअघि युरोकप, नेशन्स लिग, च्याम्पियन्स लिगजस्ता महत्वपूर्ण फुटबल प्रतियोगिता जिते पनि विश्वकपमा नकआउट चरण जित्न त्यति सहज हुन सकेन । पोर्चुगलले विश्वकपमा हालसम्म तेस्रो स्थानभन्दा ठूलो उपाधि जित्न सकेको छैन ।   उदाहरणीय टिम  अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले पहिलोपटक विश्वकपमा छनोट भएर पनि सबैको मन जित्न सफल भयो । करिब पाँच लाख ६० हजार जनसङ्ख्या भएको सानो राष्ट्रको टिमले अन्य टिमलाई दिएको चुनौती प्रशंशनीय थियो । अर्जेन्टिनाजस्तो बलियो टिमलाई अतिरिक्त समयसम्म चुनौती दिनसक्नु यो टिमको सानो सफलता थिएन । अन्तिममा पनि आत्मघाती गोलका कारण यो टिम बाहिरिएको थियो । यसअघि स्पेनसँग गोलरहित बराबरी खेलेर केपभर्डेले विश्वकै ध्यान आफ्नो टिमतर्फ केन्द्रित गरेका थिए । केपभर्डे टिमले खेलेका सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै धेरै गोल बचाएर केप भर्डे टिमका ४० वर्षीय गोलकिपर भोजिन्हा उदाहरणीय खेलाडी बन्न पुगेका थिए ।      ‘तिमीलाई सम्झिरहनेछौँ’ विश्वकपमा खेल कौशल प्रदर्शन गरेर दर्शकहरुलाई प्रभावित बनाएका एक खेलाडीलाई प्रतियोगिता समाप्त नहुँदै गुमाउनुपर्दा फुटबलप्रेमीहरु अत्यन्त दुःखित भएका थिए । दक्षिण अफ्रिकाका एकजना खेलाडीले पराजयपछि घर फर्किएलगत्तै मृत्युवरण गरेको समाचारले सबैलाई स्तब्ध बनायो । दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा लैजान महत्वपूर्ण भूमिका खेलेका २५ वर्षीय खेलाडी जेडेन एडम्सको आफ्नो गृह मुलुकमा फर्केलगत्तै दुःखद् निधन भएपछि विश्वकपका खेलमा खेलाडीहरुले मौनधारण गरेका थिए । केपटाउनस्थित निजी निवासमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।  विश्वकपमा प्रतिस्पर्धा गरिरहँदा उनकी हजुरआमाको निधन भएको भए पनि उनले राष्ट्रको लागि खेललाई निरन्तरता दिएका थिए । विश्वकपमा दक्षिण अफ्रिकाले मेक्सिको, चेक गणतन्त्र र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्दा उनी मैदानमा सक्रिय देखिएका थिए । प्रतियोगिताको सहआयोजक क्यानडासँग पराजित भएपछि दक्षिण अफ्रिकी टिम स्वदेश फर्केको थियो ।        हारेर पनि जितेकाहरु  विश्वकप फुटबल केही टिमले हारेर पनि दर्शकहरुको मन जितेका छन् । यस्ता टिममा इजिप्ट अग्रपङ्क्तिमा रह्यो । बोस्निया हर्जगोभिनाले पहिलोपटक नकआउट चरणमा पुगेर बाहिरिनु परे तापनि दर्शकहरुको अपार समर्थन पाउन सफल भएको थियो । यस्तै केही अफ्रिकी टिमले देखाएको खेल प्रदर्शनबाट अफ्रिकी मुलुकको आगामी दिनमा राम्रो सम्भावना भएको आकलन गर्न सकिन्छ । अफ्रिकी टापु केपभर्डे टिम पहिलोपटक नकआउटमा पुगेर आफ्नो आकर्षक खेल देखाएको थियो । विशेषगरी अर्जेन्टिनासँगको खेलका क्रममा यो टिमले मैदान कब्जा गरेर नतिजा आफ्नो पक्षमा ल्याउन कोशिस गरेको थियो ।  कङ्गो पनि दर्शकहरुको मन जित्न सफल टिमहरुमध्ये परेको थियो । घरभित्रको कुरा नेपाली फुटबल प्रेमीहरुले विश्वकपको अन्तिम चरणमा निःशुल्क फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाएर राहतको महसुस गरे तर खेल अवधिमा केही समय विद्युत् आपूर्ति बन्द हुँदा दर्शकहरु निरास बन्न पुगे । सरकारी च्यानल एनटिभी प्लसले फाइनल र तेस्रो स्थानका लागि भएको खेलको कुनै शुल्क नतिरेरै हेर्ने व्यवस्था मिलाएको थियो । यसअघि दर्शकहरुले निजी क्षेत्रको टेलिभिजनमा शुल्क तिरेर मात्र विश्वकप हेरिरहेका थिए । स्थापनादेखि नै नेपाल टेलिभिजनले विश्वकप फुटबल निःशुल्क रुपमा प्रदर्शन गर्दै आइरहेको थियो । आगामी दिनमा यस्तो महत्वपूर्ण खेलकुद प्रतियोगिता निःशुल्क रुपमा प्रदर्शनका लागि सरकारी सक्रियता अपेक्षित मानिएको छ ।  नेपालमा विश्वकपको अत्यन्त ठूलो प्रभाव परेको देखियो । बजारमा टेलिभिजनको बिक्री ह्वात्तै बढ्न गयो । होटल, रेष्टुरेण्टले फुटबल देखाएरै उल्लेखनीय व्यापार गरे । कयौँ नेपाली विश्वकप हेर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर प्रतियोगितास्थलमै समेत पुगेका थिए । मुलुकभित्र मध्यरातको समयमा पनि फुटबल हेर्नेको सङ्ख्यामा कुनै कमी देखिएन । बाटोमा विभिन्न टिमका जर्सी लगाएर हिँड्नेहरु थुप्रै देखिन्थे, जसमध्ये अर्जेन्टिनाका कप्तान मेस्सीको नाम अङ्कित १० नम्बरको टिसर्ट लगाउनेको सङ्ख्या उल्लेख्य रहेको थियो । समग्रमा विश्वकै लामो खेलकुद प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबलले संसारभरका खेलप्रेमीहरुलाई एक सूत्रमा बाँध्दै विश्वबन्धुत्वको भावना अभिवृद्धिका लागि महत्वपूर्ण अध्याय स्थापित गरेको छ । विश्वकपका सन्दर्भमा विभिन्न १६ वटा रङ्गशालामा ३९ दिनसम्म सञ्चालन गरिएका १०४ खेलले भिन्दाभिन्दै भूगोल, संस्कृति तथा  परिवेशमा रहेका मानिसलाई अझ नजिक बनाउँदै यो फुटबल प्रतियोगिताले नयाँ युगको थालनी गरेको छ ।  यस प्रतियोगितामा अत्यन्त प्रतिस्पर्धात्भक खेलको माध्यमबाट विश्वकप विजेता चयन गरिनुका साथै अन्य विविध विश्व कीर्तिमान कायम भएका छन् । विश्वकपका सन्दर्भमा परम्परागत दाबेदार टिमहरुको छिट्टै पराजयजस्ता अप्रत्याशित नतिजा पनि देखिएका छन् । अपेक्षा नगरिएका टिम तथा चर्चामा नआएका कयौँ प्रतिभाशाली खेलाडीहरुको उचित खेल प्रदर्शन विश्वकपको विशेषता बनेको छ । विज्ञान तथा प्रविधिको उच्चतम विकासलाई खेलसँग जोडने सत्प्रयासले फुटबलमा नयाँ युगको थालनी भएको महसुस गरिएको छ ।   विश्वकपमा पहिलोपटक धेरै मुलुकले खेल्ने अवसर पाए जसले समग्र विश्वकै फुटबलको विकासमा महत्वपूर्ण योगदान पुगेको अनुभव गरिएको छ । विगतमा सीमित शक्तिशाली टिमहरुको मात्र बाहुल्यता रहने गरेको विश्वकपमा यसपटक साना मुलुकका टिमहरुले समेत देखाएको प्रसंशनीय खेलबाट आगामी दिनमा प्रतिस्पर्धा अझ बढ्नसक्ने अपेक्षा गर्न सकिन्छ । समग्रमा फिफा विश्वकप २०२६ ले जुन इतिहास कायम गरेको छ, जसले फुटबलको विश्वव्यापी मैदानलाई अझ फराकिलो बनाउँदै लगेको छ । यसबाट निकट भविश्यमा विश्वको जुनसुकै कुनामा बसेका फुटबलप्रेमीहरु पनि लाभान्वित हुनसक्ने कुरामा आशावादी हुन सकिन्छ । रासस

कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप

फिफा विश्वकप फुटबल प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेपछि हालसम्म देखिएको नतिजाले कुनै पनि टिम सुरक्षित नरहेको स्पष्ट सङ्केत देखिएको छ । समूह चरणको खेलहरुको समाप्तिसँगै सुरु भएको नकआउट प्रतिस्पर्धामा देखिएको नतिजाले जुनसुकै सहभागी टिम पनि प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था देखिएको छ ।  विगतको विश्वकपका इतिहासलाई ओझेलमा पार्दै नयाँ इतिहास कोर्ने होडमा सहभागी टिमहरु रहेका छन् । यसपटक अनुमान नगरिएका नतिजाहरु पनि देखिएका छन् । विश्वकपको दाबी गर्दै प्रतियोगितामा भिडेका प्रतिस्पर्धी टिमहरुले समेत क्वाटरफाइनलसम्म पनि नपुग्दै घर फर्कनुपरेको स्थितिको सामना गर्नुपरेको छ ।  युरोपका दुईवटा शक्तिशाली टिम जर्मनी र नेदरल्याण्डस् एकैदिन पेनाल्टी सुट आउटबाट पराजित भएको घटनालाई विश्वकपको इतिहासमा सामान्य मान्न सकिँदैन । दर्शकहरुले आफ्ना प्रिय टिमलाई गुमाउनुपरेको क्षण पनि पिडादायी रहेको छ । साना राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपको मैदानमा उत्रिएका केही  टिमले विशिष्ठ पहिचान बनाइसकेका टिमलाई दिएको चुनौतीलाई पनि कम आँक्न सकिँदैन । समूह चरणबाट विजयी भएर अघिल्लो चरणमा पुगेका बत्तीस टिमहरुको पहिलो नकआउट चरणमा तीव्र प्रतिस्पर्धा भएकाले दाबेदार टिमहरुले आफ्नो पहिलो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेको देखियो । खेलको गति पनि छिटो तथा बढी आक्रामक भएकाले दर्शकहरुले पनि खेलाडीहरुको खेलकौशलबाट रोमान्चित हुने अवसर पाइरहेका छन् ।  विशेषगरी बरोबर पेनाल्टी सुटआउट तथा कल्पना पनि गर्न नसकिने खालका आकर्षक गोलहरु राउण्ड अफ बत्तीस चरणका विशेषता बनेका छन् । रेफ्रीले विभिन्न खेलका दौरान गरेका निर्णय समेत भिडियो एसिष्टेण्ट रेफ्रीले उल्टाएर नतिजालाई समेत प्रभावित गरेको प्रसङ्ग पनि उल्लेखनीय मानिएका छन् ।      अकल्पनीय पराजय  विगतका वर्षहरुमा जस्तै यसपालि पनि विश्वकपको दाबी गर्दै आएको जर्मनी टिमले छिट्टै घर फर्कनुपर्ने स्थिति आउला भनेर कल्पना समेत गरेको थिएन । जितेर विजय उत्सब मनाउने लक्ष्य राखेको जर्मन खेलाडीहरुले पराजित भएपछि आफ्नै घरमा समेत विरोधको सामना गर्नु प¥यो । चारपटक विश्वकप जितिसकेको जर्मनी गत विश्वकपमा जस्तै यसपटक पनि पहिलो नकआउट चरणमै असफल हुनु दुर्भाग्य ठानिएको छ । विश्वका सफल पुरुष फुटबल टिममध्ये एक मानिएको जर्मनीले विश्वकपमा चार चार पटक दोस्रो र तेस्रो स्थान पनि प्राप्त गरेको इतिहास छ । पराग्वे र जर्मनीबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा पराग्वे तीन गोलका विरुद्ध चार गोलले विजयी हुन पुग्यो ।  जर्मनीले विश्वकपका खेलहरुमा आजसम्म पेनाल्टी सुटआउटबाट पराजित हुनु परेको थिएन । जर्मनी पराजित हुनुमा पहिलो गोल पराग्वेका तर्फबाट प्रहार हुनु, शसक्त आक्रमण निरन्तर गर्न नसक्नु तथा गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयले गुम्नुजस्ता मुख्य कारण मान्न सकिन्छ । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुटआउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएन । अर्को युरोपेली टिम नेदरल्याण्डस् पनि पेनाल्टी सुटआउटमै हार्न पुग्यो । मोरक्को र नेदरल्याण्डबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा मोरक्को दुई गोलका विरुद्ध तीन गोलको अन्तरले बिजयी हुन पुगेको थियो ।  टिमको पराजयपछि नेदरल्याण्डसका प्रशिक्षक रोनाल्ड कोम्यानले तत्काल राजिनामा दिएर पराजयको जिम्मेवारी लिनु परेको थियो । बेल्जियमसँगको खेलमा दुई गोल प्रहार गर्नु सफल भइसकेको सेनेगलले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुप¥यो । बेल्जियमले अतिरिक्त समयमा देखाएको चमत्कारले सेनेगललाई दुई गोलका विरुद्ध तीन गोलको अन्तरले हराएको थियो । पहिलो नकआउट चरणमा क्यानडाले दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरण प्रवेशको ढोका खोल्यो ।  ब्राजिलले एसियाली टिम जापानलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । नर्वेले आइभरी कोष्टलाई एक गोलका विरुद्ध दुई गोलले तथा फ्रान्सले स्वीडेनलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै अर्को यात्राको बाटो तय गरेको छ । मेक्सिकोले पनि इक्वेडरलाई शून्यका विरुद्ध दुई गोलले हराएर राउण्ड अफ बत्तीस पार गरेको छ ।  प्रतियोगिताको सहआयोजक क्यानडाले कठिन परिस्थितिका बाबजुद दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरणका लागि स्थान निश्चित गरिसकेको छ । मेक्सिकोले इक्वेडरलाई शून्यका विरुद्ध दई गोलले हराएको थियो । अमेरिकाले दश जना खेलाडीहरुमा सिमित रहेको स्थितिमा पनि बोस्निया हर्जगोभिनालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आगामी यात्रा सुनिश्चित गर्न सफल भयो । स्पेन पनि सशक्त रुपमा प्रस्तुत हुँदै अष्ट्रियालाई शून्यका विरुद्ध तिन गोलले सजिलैसँग हराउन सफल भयो । यसमा मिकेल ओयारबालले महत्वपूर्ण दुई गोल गरेका थिए भने पेड्रो पोरोले एक गोल थपेका थिए । पोर्चुगलले क्रोयसियालाई एक गोलका विरुद्ध दुई गोलले हराएर आगामी यात्रा सुनिश्चित गरेको छ । एक गोलले पछि परिसकेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोल तथा र गोलकालो रामोसको खेल समाप्तिको चरणमा रहेको अवस्थाको गोलको मद्दतले जित हासिल गरेको थियो ।  केही उत्कृष्ट गोलहरु  नकआउट चरणमामा विश्वास गर्न नसकिने खालका कयौं गोलहरु भएका छन् । यसमध्ये पाराग्वेका जुलियो एन्सिसोले जर्मनीविरुद्ध हेड गरेर गरेको गोल उत्कृष्ठ मानिएको छ । नर्वेका एण्टोनियो नुसाले आइभोरी कोष्टका रक्षापङ्तिका खेलाडीहरुलाई छक्याउँदै टाढाको दूरीबाटै गोल गर्न सफलता प्राप्त गरेका थिए । यो गोल यसपालिको प्रतियोगिताकै हालसम्मकै उत्कृष्ट गोलमा पर्दथ्यो । सेनेगलका इस्माइला सारले बेल्जियमविरुद्ध गरेको गोल पनि प्रशंसनीय थियो । नर्वेका एन्टोनियो नुसाले घुमाउरो प्रहार गर्दै गरेको अनपेक्षित गोलले आइभोरी कोष्ट टिमलाई स्तब्ध बनाएको थियो । फ्रान्सका स्ट्राईकर एम्बाप्पेले स्विडेनविरुद्ध गरेको दुई गोल पनि निक्कै चर्चित हुन पुग्यो । इङ्गल्याण्डलाई कङ्गोले कडा चुनौती दिएर एक गोलले पछाडि पारिरहेको अवस्थामा कप्तान ह्यारी केनले लगातार गरेको दुईवटा आकर्षक गोलले इङ्गल्याण्डका समर्थकहरुलाई निरास हुनबाट जोगायो ।  फुटबलमा भिडियो हाबी शुक्रबार पोर्चुगल र क्रोयसियाबीच भएको खेलको अन्तिम समयमा क्रोयसियाको तर्फबाट भएको गोल भिडियो एसिष्टेण्ट रेफ्रीले अफसाइड जनाएपछि क्रोयसियाले पराजय भोग्नुपरेको थियो । बिगतका दुई विश्वकपदेखि लागू गरिएको भिडियो एसिष्टेण्ट रेफ्रीको व्यवस्थाले यसपालि खेलको नतिजालाई नै प्रभावित गरिरहेको देखिएको छ । खेलमा गोल भएको वा नभएको, फाउल, ह्याण्ड अथवा अफसाइडको अवस्थामा भिडियो एसिष्टेण्ट रेफ्रीले हस्तक्षेप गर्नसक्ने नियम रहेको छ । तर अन्तिम निर्णय गर्ने अधिकार मैदानमा कार्यरत रेफ्रीकै हुने गरेको छ । पेनाल्टी गराउने वा नगराउने, रातो कार्ड देखाएर खेलाडीलाई निष्काशित गर्नसक्ने अवस्थासम्म भिडियो एसिष्टेण्ट रेफ्रीले समीक्षा गर्न सक्दछ । जर्मनीले पाराग्वेविरुद्ध गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयको कारण गुम्न पुगेको थियो । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुट आउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएको थिएन । अमेरिका र बोस्निया हर्जगोभिनाबीचको खेलमा अमेरिकी फरवार्ड फोलारिन बालोगनलाई रातो कार्ड देखाई मैदानबाट निकालिएको कारणनै भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णय थियो । उनलाई रेफ्रीले पहिले देखाएको पहेंलो कार्डको पुन समीक्षा गरिएपछि रातो कार्ड देखाइएको थियो । मेक्सिकोसँग भएको खेलमा भिडियो एसिष्टेण्ट रेफ्रीको समीक्षापछि इक्वेडर टिम १० खेलाडीमा सीमित भएको थियो । इक्वेडरका रक्षा पङ्तिका खेलाडी पिइरो हिनकेपीलाई रातो कार्ड देखाएर निष्काशित गरेपछि इक्वेडर पराजयको बाटोमा पुगेको थियो ।        खेलले जन्माएको द्वन्द्व विश्वकपको प्रतिस्पर्धाबाट बाहिरिएका विभिन्न मुलुकका सहरहरुमा समर्थकहरुले पराजित टिमको विरोध भएका छन् । जर्मन फुटबल टिमले तीब्र बिरोधको सामना गर्नु परेता पनि जर्मनीमा भने ठूला हिंसात्मक घटना घटेनन् तर युरोपका विभिन्न सहरमा झडपका घटना घटेका छन् । मोरक्कोसँग पेनाल्टी सुटआउटमा नेदरल्याण्डस् पराजित भएपछि हेग, रोटरडमजस्ता सहरमा हिंसात्मक झडप भएका थिए । समूह चरणबाट बाहिरिएपछि स्वदेश फर्केको दक्षिण कोरिया टिमको पनि विरोध गरिएको थियो । यसैक्रममा नाराबाजी समेत गरिएको थियो । प्रतियोगिता स्थल अमेरिकामा पनि खेलका क्रममा केही हिंसात्मक घटना घटन पुगे ।    उदाहरणीय टिम     जापानले विश्वकप पाँच पटक जितिसकेको ब्राजिल जस्तो प्रमुख टिमलाई कडा चुनौती दिँदादिँदै पनि विश्वकपको यात्रा टुङ्ग्यायतापछि यसपालिको विश्वकपमा सम्झिरहने टिमका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । जापानले खेलेका खेलहरु समाप्त भएपछि रङ्गशालाका प्याराफिटमा भएका फोहर सफा गरेर जापानी युवायुवतीले उदाहरणीय कार्य गरेका थिए । विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताबाट बाहिरिनु भनेको त्यति सहज परिस्थिति होइन । यस्तो अवस्थामा विपक्षी टिमसँग आक्रामक हुनु, रेफ्री वा अन्य अफिसियलप्रति नकारात्मक व्यवहार देखाउनु वा रिस प्रकट गर्नेजस्ता कार्य बेलाबखत फुटबलमा देखिनु सामान्य हो ।  जापान नकआउट चरणमा प्रवेश गरेसँगै ब्राजिलसँग पराजित हुनु परे पनि जापानी प्रशिक्षक, खेलाडी तथा जापानी दर्शकहरुले प्रदर्शन गरेको विनम्रता भने साँच्चिकै सम्झनलायक थियो । जापानी प्रशिक्षक हाजिमे मोरियासुले उच्च खेल संस्कारको प्रदर्शन गर्दै रङ्गशालामा उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । जापानी टिमका खेलाडीहरु रोइरहेको अवस्थामा पनि शरीर झुकाएर आभार व्यक्त गरिरहेका थिए । प्रतियोगिता सम्पन्न भएको रङ्गशालामा खेल हेर्न उपस्थित भएका जापानी दर्शकहरुले पनि रोएरै सहज रुपमा पराजयलाई स्वीकारेको दृष्यले धेरैको आँखा रसाएको थियो । विश्वकप फुटबलको राउण्ड अफ बत्तीसको समापन सँगसँगै अब अझ कठिन मोडअर्थात् उत्कृष्ट १६ मा प्रवेश गर्दैछ । केही दाबेदार टिम बाहिरिनु तथा अनुमान नगरिएका टिमले विगतमा इतिहास बनाएका टिमहरुलाई दिएको सानदार चुनौतीले फुटबलप्रेमीहरुलाई चकित बनाइदिएको छ । अबका खेलहरु अझ प्रतिस्पर्धात्मक तथा रोचक हुँदै जाने आकलन गरिएको छ । विश्वकपका खेलहरु टिमहरुबीचको आपसी भीडन्तमा मात्र सीमित रही नयाँ इतिहास बनाउने महत्वपूर्ण अवसर भएकाले आगामी खेलहरुका प्रत्येक पल निर्णायक हुने अपेक्षा गरिएको छ । रासस

फिफा विश्वकप २०२६ : इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता

चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ ।  नेपालको समयअनुसार जेठ २९ गते मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुने विश्वकप साउन ४ गते मध्यराति १२ बजेर ४५ मिनेट जाँदा सुरु हुने फाइनल खेलपछि टुङ्गिने खेलतालिका रहेको छ । विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्रीअनुरुप सञ्चालन गरिने विश्वकप फुटबलले समग्र रूपमा विश्वमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रको विकासका लागि समेत यथोचित योगदान गर्ने आशा गरिएको छ ।   विगतभन्दा फरक   यसपालि पहिलोपटक तीनवटा देश मिलेर संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् । अमेरिका, क्यानडा र मेक्सिकोले सञ्चालन गर्ने यस प्रतियोगिताको विशेषता भनेको फुटबलप्रेमी दर्शकहरूले धेरै खेल हेर्ने अवसर प्राप्त गर्नु हो । प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते मेक्सिको सिटीमा ‘ए’ समूहमा रहेको विश्वकपको सहआयोजक मेक्सिको तथा दक्षिण अफ्रिकाबीच हुँदैछ । जेठ ३० गते अर्को सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनियासँग टोरोन्टोमा तथा सहआयोजक अमेरिकाले पाराग्वेसँग क्यालिफोर्नियामा पहिलो खेल खेल्ने कार्यक्रम छ । यसरी विभिन्न तीन देशमा आयोजना हुने बेग्लाबेग्लै उद्घाटन खेलले विश्वमा रहेका सम्पूर्ण मुलुकहरूलाई नै फुटबलमय बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ ।  विश्वकपका सहभागी मुलुकहरूको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि गरिनु सन् २०२६ को अर्को उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । विगतका विश्वकपहरूमा ३२ टोलीको मात्र सहभागिता हुने गर्दथ्यो भने अब ४८ मुलुकका टोलीले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने मौका पाएपछि थप थुप्रै टिम तथा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् । विश्वकपको इतिहासमा खेल सङ्ख्या पनि अत्यधिक मात्रामा वृद्धि गरिएबाट प्रतियोगिताको रौनक अझ बढन पुगेको छ । प्रतियोगिताको सहभागी मुलुकभित्र व्यापक चासो र चिन्ता हुने गरेको विश्वकपको लहरले सम्पूर्ण विश्वलाई प्रभावित गर्नेछ । यो प्रतियोगिता विश्वकै लामो प्रतियोगिताका रूपमा स्थापित हुँदैछ ।  यसअघिका विश्वकपमा ६४ वटा खेल हुने गरेकामा अब खेल सङ्ख्या बढेर १०४ खेल हुने भएपछि यसको सकारात्मक असर ती खेल सञ्चालन हुने तीनवटै मुलुकका विभिन्न १६ वटा सहरमा पर्ने देखिएको छ । विभिन्न देशबाट खेल हेर्न ती शहरमा जाने पर्यटकको घुइँचोले समग्र आर्थिक अभिवृद्धिमा प्रभाव पर्न जानेछ । सन् २०२२ को कतारमा भएको विश्वकपमा भन्दा यसपटक ४० वटा बढी खेल हुने भएपछि फुटबलप्रेमीहरूलाई धेरै खेल हेर्न पाउने अवसर जुटेको छ । यसअघि समूहगत खेलका लागि सहभागी टिमहरूलाई आठ समूहमा विभाजन गर्ने गरिएको थियो भने यसपटक समूहको सङ्ख्या बढ्न गई ‘ए’ देखि ‘एल’ समूह गरी १२ वटा समूहमा विभाजन गरिएको छ । यसअनुसार प्रत्येक समूहमा चारवटा टोली रहेका छन् । प्रत्येक टोलीले खेल्ने लिग र नकआउट चरणका सम्पूर्ण खेलहरूले व्यापक रूपमा फुटबलको लहर ल्याउनेछ ।  सम्भावित प्रतिस्पर्धा  प्रतियोगिताका सहभागी टिमहरूमध्ये गत विश्वकप विजेता अर्जेन्टिना यसपालि पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । विपक्षीलाई सन्तुलित रूपमा दबाब दिन यो टिम सफल मानिएको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कुशल नेतृत्व यो टिमको प्रमुख शक्ति रहेको छ । सन् २०१० मा एकपटकमात्र विश्वकप जितेको स्पेनका खेलाडी पनि राम्रो फर्ममा रहेको विश्लेषकहरूले जनाएका छन् । फिफाको विश्व बरियतामा विभिन्न पटक शीर्षस्थानमा रहन सफल स्पेन वर्तमान युरोपेली च्याम्पियन पनि हो । स्पेनको टिम शक्तिशाली राष्ट्रिय टोलीमध्ये एक मानिएको छ ।  गत विश्वकपको उपविजेता फ्रान्स पनि विपक्षी टिममाथि आक्रमण गर्न पारङ्गत देखिएको छ । प्रतिभाशाली खेलाडीहरूले भरिएको फ्रान्सेली टिम तेस्रोपटक विश्वकप जित्ने लक्ष्य लिएर मैदानमा उत्रिँदैछ । विपक्षीतर्फ आक्रमण गर्ने सन्दर्भमा इङ्गल्यान्डको टिम पनि कम देखिएको छैन । यो टिम अनुभवी खेलाडीहरूले भरिएका छन् । इङ्गल्यान्डले सन् १९६६ मा एकपटकमात्र आफ्नै गृह मैदानमा विश्वकप जितेको थियो । यस्तै अनुभवी कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको टिम यो विश्वकपमा सन्तुलित टिममध्ये एक मानिएको छ । यो टिममा मिडफिल्ड होस् वा फूलब्याकजस्तो महत्त्वपूर्ण स्थानमा यथोचित व्यवस्थापन भएको देखिएको छ । विश्वकपमा बलियो टिमका रूपमा हेरिने गरिएको पोर्चुगलले एकपटक पनि विश्वकप जित्न सकेको छैन । सन् १९६६ मा पोर्चुगल तृतीयसम्म भएको थियो ।  त्यसैगरी, ब्राजिल पनि विश्वकपका सहभागी टिमहरूमा शक्तिशाली टिमहरूमध्ये पर्दछ । विश्वमा सबैभन्दा धेरैचोटी पाँचपटक विश्वकप जित्न सफल ब्राजिल अहिले छैटौँपटक उपाधि जित्ने दाउमा रहेको छ । अनुभवी खेलाडीहरूको कमी नदेखिएको ब्राजिलले विश्वकप फुटबल प्रतियोगिता आयोजना भएको प्रारम्भिक दिनदेखि नै प्रतिस्पर्धा गर्दै आइरहेको छ । चारपटक विश्वकप जितिसकेको जर्मनीजस्ता टिम पनि विश्वकपका बलिया दाबेदार मान्न सकिन्छ । तर सन् २०१८ तथा २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक त्यस्तो पीडा फेरि नपरोस् भन्नेतर्फ सचेत रहेको छ । विश्वकपमा दुईपटक तृतीय भइसकेको क्रोयसिया तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा क्रोयसियासँग एक गोलअन्तरले मात्र पराजित भएपछि विश्वव्यापी रूपमा चर्चित भएको मोरक्कोजस्ता टिमबाट पनि यसपटक अझ उत्कृष्ट नतिजाका लागि प्रयत्न हुने नै छ । यस्तै नेदरल्यान्डस्, बेल्जियमजस्ता टिमलाई पनि कम आँक्न सकिँदैन ।  धेरै पटक जित्नेहरू  फिफा विश्वकप फुटबल हालसम्म सबैभन्दा धेरैपटक ब्राजिलले जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र सन् २००२ मा गरी पाँचपटक विश्वकप हासिल गरेको थियो । यस्तै जर्मनीले चारपटक उपाधि हात पारिसकेको छ । जर्मनी सन् १९५४, १९७४, १९९० र २०१४ मा विजेता बन्न सफल भएको थियो । उपाधि चारपटक नै जितेको इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा ट्रफी कब्जामा लिएको थियो । तीनपटक जितिसकेको अर्जेन्टिनाले सन् १९७८, १९८६ तथा अघिल्लो विश्वकप २०२२ मा विजेता बनेको थियो । फ्रान्स र उरुग्वेले भने दुईदुईपटक विश्वकप जितेका छन् । फ्रान्सले सन् १९९८ र २०१८ मा तथा उरुग्वेले सन् १९३० तथा १९५० मा उपाधि हात पारेका थिए ।  अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको पछिल्लो विश्व वरियताक्रममा अर्जेन्टिना सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ । दोस्रो स्थानमा स्पेन तथा तेस्रो स्थानमा फ्रान्स रहेका छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ स्थानमा छन् । अत्यधिक गोल फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गरेको इतिहास जर्मनीका मिरोस्लाभ क्लोसले कायम गरेका छन् । उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारवटा विश्वकपमा कुल १६ गोल गरेर कीर्तिमान राखेका थिए । विश्वकपमा धेरै गोल गर्नेहरूको सूचीमा दोस्रो स्थानमा रहेका ब्राजिलका रोनाल्डोले कुल १५ गोल गरेका थिए । तत्कालीन पश्चिम जर्मनीका गेर्ड मुलरले कुल १४ गोल, फ्रान्सका जष्ट फोन्टाइनले कुल १३ गोल गरेका थिए । हालसम्म पाँचवटा विश्वकप खेलिसकेका अर्जेन्टिनाका लिओनेल मेस्सीले कुल १३ गोल गरिसकेका छन् । एउटै प्रतियोगितामा सबैभन्दा धेरै १३ गोल फ्रान्सका जष्ट फोन्टाइनले सन् १९५८ को विश्वकपमा गरेका थिए । मेस्सीको छैटौँ विश्वकप अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले छैटौँपटक फिफा विश्वकपमा भाग लिएर इतिहास रच्दै छन् । सम्भवतः यसपालिको विश्वकप उनको लागि अन्तिम विश्वकप हुनेछ । मेस्सीले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा १८ वर्षकै उमेरमा डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए । उनले त्यतिखेर सर्बियाविरुद्ध पहिलो गोल गरेका थिए ।   सन् २०१० मा दक्षिण अफ्रिकामा दोस्रोपटक विश्वकप खेलेका मेस्सीले सन् २०१४ मा ब्राजिलमा विश्वकपको फाइनलमा आफ्नो टिमलाई प्रवेश गराउने अवसर पाए पनि जर्मनीसँगको नमीठो हार व्यहोरेका थिए । आफ्नो टिम फाइनलमा पराजित भए पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा मेस्सीले गोल्डेन बुट जित्नु सामान्य सफलता थिएन । सन् २०१८ मा समेत विश्वकप खेलेका मेस्सीले सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका थिए । मेस्सीले प्रतियोगितामा सात गोल गर्नुका साथै दोस्रोपटक गोल्डेन बल जितेका थिए । करोडौँ पुरस्कार फिफा विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता भनेको आकर्षक पुरस्कार पनि मानिएको छ । यसमा विजेता बन्ने टिमले करोडौँ रकम पुरस्कार पाउनेछन् । फिफाले विश्वकपका विजेता टिमलाई पुरस्कारबापत पाँच करोड डलर रकम प्रदान गर्नेछ । उपविजेताले तीन करोड तीन लाख डलर पाउनेछ । तेस्रो स्थान प्राप्त गर्ने टिमले दुई करोड ९० लाख डलर तथा चौथो हुने टिमले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गर्नेछ । यसबाहेक खेलाडीहरूलाई सम्बन्धित मुलुकका सरकार तथा विभिन्न संस्थाका तर्फबाट पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचलन रहेको छ । फिफा विश्वकप विजेताले प्राप्त गर्ने ट्रफीको मूल्य पनि सामान्य छैन । फिफा विश्वकप ट्रफीको लागत करिब दुई लाख ४२ हजार ७०० डलर भएको अनुमान गरिएको छ । ट्रफीको तौल छ किलोभन्दा बढी रहेको छ । यसको निर्माण १८ क्यारेटको सुनबाट गरिएको हो । उक्त सुनको ट्रफी स्थायी रूपमा फिफाको स्वामित्वमा रहने नियम छ । यस्तो महत्तवपूर्ण ट्रफीलाई राष्ट्र प्रमुखहरू, फिफा अध्यक्ष र पूर्व विश्वकप च्याम्पियनहरूले मात्र छुन पाउने नियम रहेको छ । नयाँ परिवर्तन  विश्वकप फुटबलका सिलसिलामा केही परिवर्तनहरू देख्न पाइने भएको छ । खेल सञ्चालनका लागि खटिने रेफ्रीहरूलाई सघाउन भिडियो सहायक रेफ्रीको व्यवस्था गरिएको छ । खेल सञ्चालनका क्रममा रेफ्रीले कुनै खेलाडीले समय खेर फालिरहेको देखेमा थ्रो–इन तथा गोलकिकको लागि पाँच सेकेन्ड काउन्टडाउन गर्न सक्ने नियम बनाइएको छ । त्यो समयभित्र खेल पुनः सुरु गर्न असफल भएमा विपक्षी टोलीलाई अवसर दिइने नियम बनाइएको छ । यसअनुसार खेलाडीले ढिलो गोलकिक प्रहार गरे विपक्षी टिमलाई कर्नर किकको अवसर प्रदान गरिने छ ।  खेल सञ्चालनका क्रममा रेफ्रीका निर्णयहरूको समीक्षा भिडियो सहायक रेफ्रीले गर्न सक्नेछन् । यसरी रेफ्रीले खेल सञ्चालन हुँदा देखाएका पहेँलो तथा रातो कार्डबारे पनि समीक्षा गर्न सकिने भएको छ । खेलका बेला कुनै पनि खेलाडीलाई मुख ढाक्न प्रतिबन्ध लगाइएको छ । खेलको समयमा कुनै खेलाडीले आफ्नो मुख हातले छोपेमा तुरुन्तै रातो कार्डको सामना गर्नुपर्ने भएको छ । कुनै खेलाडी परिवर्तन गरिँदा १० सेकेन्डभित्र मैदान छोडिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै खेलको बेला घाइते भएका खेलाडीलाई मैदान बाहिर उपचार गरिसकेपछि कम्तीमा ६० सेकेन्डसम्म मैदानबाट बाहिरै रहनुपर्ने नियम बनाईएको छ । गर्मीको चुनौती  विश्वकप गर्मीयाममा सञ्चालन गरिने भएकाले खेल सञ्चालनका बेला खेलाडीहरूको सुविधाका लागि प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेटको विश्राम दिइने भएको छ । प्रतियोगिता सञ्चालन गरिने सहरहरूमा हुने गरेको अत्यधिक गर्मी चिन्ताको विषय भएकाले खेल सुरु भएको २२औँ तथा ६७औँ मिनेटमा विश्राम दिइने व्यवस्था मिलाइएको छ । यस्तो विश्राम सबै खेलमा दिइने भएको छ । रङ्गशालाको तापक्रम जस्तोसुकै भए तापनि प्रत्येक खेलमा विश्राम दिइने नियम बनाइएको हो । यस अवधिमा खेलाडीलाई पानी पिउन, आराम गर्न तथा प्रशिक्षकलाई थप रणनीति बनाउन अनुमति दिइने छ । यसअघि तापक्रम ३१ डिग्री सेल्सियस नाघेको अवस्थामा मात्र विश्राम दिइने गरिन्थ्यो ।  नेपालको सहभागिता  नेपालले विश्वकप फुटबलमा सहभागिताका लागि लामो समयदेखि प्रयास गर्दै आएको भए तापनि हालसम्म सफलता मिल्न सकेको छैन । नेपालले हालसम्म नौवटा विश्वकप छनोट प्रतिस्पर्धामा भाग लिए तापनि नतिजा सन्तोषजनक हुनसकेको छैन । नेपालमा फुटबलको संस्थागत विकास भएको लामो समय भइसकेको भए तापनि नेपालका लागि विश्वकप फुटबल ज्यादै कठिन प्रतियोगिताका रूपमा रहेको छ । नेपालमा २००७ साल अगाडि नै तत्कालीन राणा शासनकालमा फुटबल सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबल महासङ्घ फिफाको सदस्यता लिएको पनि ५० वर्ष नाघिसकेको छ ।  नेपालले विगत केही वर्षदेखि विश्वकपका लागि छनोट चरणमा खेल्दै आए तापनि त्यसभन्दा अगाडि भने बढ्न सकेको छैन । नेपाल विश्वकप २०२६ को छनोटमा प्रारम्भिक चरणमै रोकिएको थियो । नेपालले फिफाको विश्व वरियताक्रममा लगातार सुधार नगरेसम्म नेपालको फुटबल टिमले विश्वकपका प्रारम्भिक चरणभन्दा अघि बढन कठिनाइ देखिएको छ । विश्वकपमा पुग्न पहिले एसियाली कपमा स्थापित हुनुपर्ने जरुरी देखिएको छ । एसियाकै उज्वेकिस्तान, जोर्डन तथा बहराइनजस्ता मुलुकले एसियाली कपको अनुभवपछि विश्वकपमा सहभागी हुने अवसर पाएका हुन् । नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबललाई विश्वकप लक्षित दीर्घकालीन योजनालाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने आवश्यकता टड्कारो महसुस गरिएको छ ।   नेपालले पहिलोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् १९८५ को मार्च २ तारिखका दिन काठमाडौँको दशरथ रङ्गशालामा नेपालले गरेको पहिलो प्रतिस्पर्धामा दक्षिण कोरियासँग शून्यका विरुद्ध दुई गोलले पराजय भोगेको थियो । सन् १९९० मा इटलीमा भएको विश्वकपका लागि नेपालले दक्षिण कोरिया, मलेसिया र सिङ्गापुरसँग खेलेका छवटा खेलमा नेपालले कुल २८ गोल खाएर सबै खेलमा पराजित भएको थियो । नेपाल सन् १९९४ को विश्वकपको छनोटबाट बाहिरिएको थियो । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको लागि ओमानमा भएको छनोट खेलमा नेपालले पहिलोपटक अङ्क प्राप्त गरेको थियो ।  नेपाल तथा मकाउबीच भएको खेलमा दुवै पक्षबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएकाले नेपालले पहिलो अङ्क पाएको थियो । नेपालको तर्फबाट विश्वकप छनोटमा पहिलो गोल प्रहार गर्ने कीर्तिमान हरि खड्काले राखेका हुन् । सो खेल प्रारम्भ भएको २२औँ मिनेटमा हरि खड्काले उक्त ऐतिहासिक गोल गरेका थिए । सोही छनोटका सिलसिलामा जापानमा मकाउसँगको खेल पनि एक–एक गोल भई बराबरीमा सकिएको थियो । दोस्रोपटक मुलुकका लागि गोल हान्ने खेलाडी दीपक अमात्य थिए । सन् २००२ मा दक्षिण कोरिया तथा जापानमा संयुक्त रूपमा आयोजित विश्वकपको छनोट चरणमा नेपालले पहिलोपटक मकाउलाई दुईवटा खेलमा हराउन सफल भएको थियो । नेपालले मकाउलाई पहिलो खेलमा एक गोलका विरुद्ध चार गोलले हराएको थियो । उक्त खेलमा निराजन रायमाझीले दुई तथा हरि खड्का तथा वसन्त थापाले एक–एक गोल गरेका थिए ।   दोस्रो खेलमा पनि नेपालले मकाउलाई एक गोलका विरुद्ध छ गोलले हराएर विजय हासिल गरेको थियो । उक्त खेलमा नेपालीका लागि  निराजन रायमाझीले ह्याट्रिक गरेका थिए भने हरि खड्का, बालगोपाल महर्जन तथा दीपक लामाले एक–एक गोल गरेका थिए । नेपालले इराकविरुद्ध खेलेको पहिलो खेलमा निराजन रायमाझीले एक गोल गरेका थिए भने अर्को खेलमा निराजन रायमाझी र  हरि खड्काले एक–एक गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोट चरणमा नेपालले टिमोर लिष्टेलाई अनिल गुरुङ र जुमानु राईको गोलको मद्दतले पराजित गरेको थियो । दोस्रो खेलमा टिमोर लिष्टेलाई शून्यका विरुद्ध पाँच गोलले हराउँदै छनोट चरणको दोस्रो चरणमा प्रवेश गर्दा मुलुकका लागि गोल प्रहार गर्ने खेलाडीहरूमा अनिल गुरुङ, जुमानु राई, भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ थिए । दोस्रो चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग पहिलो खेलमा शून्यका विरुद्ध नौ गोलको भारी अन्तरले हार्न पुगेको थियो भने दोस्रो खेलमा दुवै टिमबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्ग्याउन नेपाल सफल भएको थियो । त्यतिखेर महत्तवपूर्ण गोल गर्न सफल खेलाडी भरत खवास थिए ।   सन् २०२२ मा कतारमा भएको विश्वकपको छनोट चरणको दोस्रो चरणमा सोझै खेल्ने अवसर पाएको नेपालले चाइनिज ताइपेइलाई दुई खेलमा पराजित गरेको थियो । पहिलो खेलमा अन्जन विष्टले शून्यका विरुद्ध दुई गोल प्रहार गरेका थिए भने दोस्रो खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलको मद्दतले नेपाल शून्यका विरुद्ध दुई गोलले विजयी भएको थियो । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणमा नेपाल र लाओस दुवैतर्फबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका लागि उक्त गोल अन्जन विष्टले गरेका थिए । दोस्रो खेलमा मनिष डाँगीको गोलद्वारा नेपाल लाओसलाई शून्यका विरुद्ध एक गोलले हराउन सफल भएको थियो । यसरी नेपाल दोस्रो चरणमा प्रवेश गरेपछि यमनसँग दुई–दुई गोल गरेर बराबर गर्न सफल भएको थियो । ती गोल सञ्जीव विष्ट र जिलेस्पी कार्कीले गरेका थिए । तर यमन र बहराईनसँग भने नेपाल भारी गोलको अन्तरले पराजित भएको थियो ।  नेपालले संयुक्त अरब इमिरेटस युएई, बहराइन र यमन कुनै टिमलाई जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल युएईसँग दुवै गोलमा शून्यका विरुद्ध चार गोलको अन्तरले हारेको थियो । नेपाल बहराइनसंँग पनि दुवै खेलमा शून्यका विरुद्ध पाँच गोलले हार्न पुगेको थियो । त्यतिखेर नेपालले आफ्नो गृहमैदान काठमाडौंँको दशरथ रङ्गशालामा खेल्न पाउने एउटा खेलमैदानको स्थिति राम्रो नभएकाले बहराइनमै दुवै खेल खेल्न बाध्य भएको थियो । नेपाललाई यमनले पनि दुवै खेलमा हराएको थियो । नेपाल पहिलो खेलमा शून्यका विरुद्ध तीन गोलले तथा दोस्रो खेलमा शून्यका विरुद्ध चार गोलको अन्तरले पराजय हुनुपरेको थियो । अन्त्यमा, विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबल प्रतियोगिताको अवधि हालसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म सञ्चालन हुँदैछ । यो प्रतियोगिता समग्रमा विगतका प्रतियोगिताहरूभन्दा थप रोचक तथा रोमाञ्चक हुनसक्ने सम्भावना देखिएको छ । फुटबलमा आधिपत्य जमाइरहेका टिमहरूको अग्रता यसपटक पनि जारी रहने आकलन गर्न सकिन्छ तर कम चर्चित टिमलाई नकार्न सकिँदैन । प्रतियोगितामा सहभागी मुलुक धेरै भएकाले अप्रत्याशित नतिजा पनि आउनसक्ने सम्भावना पनि छँदैछ तर समूह चरणमै प्रत्येक टिमले खेल्न पाउने तीन–तीन खेलमै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।   विश्वकपका खेलहरू सुरु भइसकेपछि टिमहरूले प्रारम्भिक खेलहरूमा देखाउने खेलको आधारमा आगामी नतिजाको आकलन गर्न सकिनेछ । समग्रमा फिफा विश्वकप फुटबल सन् २०२६ ले विश्वभर छरिएका नागरिकहरूलाई फुटबलप्रति आकर्षित गर्दै विश्वलाई एक गाउँको रूपमा परिणत गर्न महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपले फरक भूगोल, फरक भाषा तथा संस्कृति भएका मानिसहरूलाई खेलमार्फत जोड्दैछ । ठूलो होस् वा सानो भूभाग भएको राष्ट्र जोसुकै भए पनि एउटै मैदानमा स्वच्छ खेलको भावना राख्दै खेलिने यस प्रतियोगिताको माध्यमबाट शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह हुनजाने आशा गरिएको छ । रासस