नागा बाबा र साधुसन्तलाई ३० लाख रुपैयाँ बजेट, ५ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिँदै
काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्व उप-प्रशासक एवं साधुसन्त बिदाइको धेरै पटक संयोजन गरेका दीपकबहादुर पाण्डेले जानकारी दिए । बिदाइका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए । ‘पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो । कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ,’ उनले भने । पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ । पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो । ‘कोषले ५ हजार एक रुपैयाँदेखि १०१ रुपैयाँसम्म दक्षिणा दिने तयारी गरेको छ,’ कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, ‘कोषले २० साधुलाई ५ हजार १ रुपैयाँ, २ सय साधुलाई १ हजार १ रुपैयाँ, एक हजार साधुलाई ७०१ रुपैयाँ, एक हजार साधुलाई ५०१ रुपैयाँ, १ हजार ३ सय साधुलाई ३०१ रुपैयाँ, सबै जोगीलाई २०१ रुपैयाँ र लाइनमा बस्ने जति सबैलाई १०१ रुपैयाँ दक्षिणास्वरुप दिनेछ ।’ साधुलाई दान दक्षिणाका लागि ८ लाख रुपैयाँ बजेट कोषले छुट्याएको उनको भनाइ छ । कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र ५ दिन र बाहिर ४ दिन धुनी जगाउनलाई ७ लाख रुपैयाँको ५० हजार किलो दाउरा किनिएको संस्थानका उप-प्रशासक पाण्डेले बताए । भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी १५ करोड रुपैयाँ पुगिसकेको पनि कोषले जनाएको छ । पशुपतिमा फोहोरको डङ्गुर शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहोरको डङ्गुरले भरिएको छ । करोडौंको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहोरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहेका स्थानीयवासी गोपाल प्रसाद सुवेदीले बताए । ‘कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन,’ उनले भने । फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आउनुभएका दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताए । हजारौं कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आम भक्तजनको गुनासो रहेको छ । कोषका सदस्य सचिव डा. टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए । नागाबाबा हेर्नेको घुइँचो शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो । नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्दै आएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए । क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ । भारत वनारसबाट आएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।
उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल, तराईमा कुहिरो
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्यान्हसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नासा सेक्यूरिटीजमा २ करोडसम्म मार्जिन ट्रेडिङ सुविधा सुरु, ३० प्रतिशत प्रारम्भिक मार्जिनमै सेयर खरिद गर्न सकिने
काठमाडौं । नासा सेक्यूरिटीजले लगानकर्ताले ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोवार सुविधा सोमबार (आज) बाट सुरु भएको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धि निर्देशिका, २०८२ लागू गरेसँगै नासाले मार्जिन ट्रेडिङ कारोवार सुरु गरेको हो । अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउने दावी कम्पनीको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ । कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुविधासम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको मार्जिन ट्रेडिङ योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजनाअनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँ देखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ। यस मार्जिन ट्रेडिङ सुविधा मार्फत लगानीकर्ताहरूले अझ ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ । ऋणसम्बन्धी थप प्रक्रिया अघि बढाउन अब कम्पनीको नजिकको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक जानकारी तथा कागजातहरू पेश गर्न सक्नेछन् । आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउन आवश्यक थप कार्यहरू अगाडि बढाइने कम्पनीले बताएको छ । यद्यपि यस सेवाको लाभ लिनका लागि ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूचीभित्र मात्र कारोबार गर्नुपर्नेछ।
६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक खाता
काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्नको लागि हालसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उम्मेदवारको करिव २० प्रतिशत हो । राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ । हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । उम्मेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनले बताए । उनका अनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए । वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ । उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन लगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए । यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनको भनाइ छ । उनका अनुसार आयोगले गरेको छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको थियो ।
कजारियाको एक्सक्लुसिभ शोरुम अब जनकपुरमा पनि
जनकपुर । कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरुम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले शोरुमको उद्घाटन गरे । ग्राहकहरूले शोरुममा आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू अवलोकन गर्न सक्नेछन् । कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२) सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४० सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
कुमारी बैंकले पायो आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा प्रमाणपत्र
काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । यसमा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल (८), फिजिकल (१४) र टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ । यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओ/आईईसी २७००१/२०२२ प्रमाणपत्र प्रदान गरिन्छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ । साथै यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनी प्रमाणित गर्छ । बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ । बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।
मायाखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीतर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । मायाखोला हाइड्रोपावरको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रूपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनाको निर्माण गरी २०८० को असारदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ । यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।
दुई पुनर्बीमा कम्पनीको विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी, कुनमा कति ?
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनी नेपाल रि र हिमालयन रिले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमालयन रि इन्स्योरेन्सले १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । बीमा कम्पनीहरूको ठूलो लगानी बैंकहरूको मुद्दति निक्षेपमा भएजस्तै पुनर्बीमा कम्नपनीहरूको पनि सबैभन्दा धेरै लगानी त्यसैमा देखिएको छ । नेपाल रिको कुल लगानीमा बैंकहरूको मुद्दतिको हिस्सा ७८.३४ प्रतिशत रहेको छ । बैंकहरूको मुद्दति निक्षेपमा नेपाल रिको लगानी १४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ । नेपाल रिले क वर्गको बैंकमा १२ अर्ब ८२ करोड रुपयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गको मुद्दति निक्षेपमा १ अर्ब १४ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी रहेको छ । नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी रहेको छ। हिमालयन रिको वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ६३.३३ प्रतिशत लगानी रहेको छ । हिमालयन रिले क वर्गका बैंकहरूको मुद्दति निक्षेपमा ११ अर्ब ९० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ६२ करोड १६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २० करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७९ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ ।