विकासन्युज

सुजल डेरीको ३ महिनामा डेढ अर्ब आम्दानी, ९५ करोड ६१ लाख रुपैयाँ ऋण

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा करिब डेढ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ आम्दानी हासिल गरेको हो । सुजल डेरीको सञ्चालन आम्दानी क्रमशः आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८८ करोड ३० लाख, आव २०८०/८१ मा २ अर्ब ३३ करोड १० लाख, आव २०७९/८० मा १ अर्ब ८६ करोड ९० लाख, आव २०७८/७९ मा १ अर्ब ७१ करोड ६० लाख र आव २०७७/७८ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ पुगेको थियो । विसं २०६२ (सन् २००५) मा स्थापना भएको सुजल डेरीले स्ट्यान्डर्ड दूध, फुल क्रीम दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनीर, फुल क्रीम मिल्क पाउडर लगायतका दुग्धजन्य उत्पादन गर्दै आएको छ । यी उत्पादनहरूले कुल आम्दानीको करिब दुई तिहाइ हिस्सा ओगटेका छन् भने बाँकी आम्दानी पनीर, घिउ, स्किम्ड मिल्क पाउडर र बटरजस्ता विविध उत्पादनबाट आएको हो । कम्पनीका उत्पादनहरू ‘सफल’ र ‘लभ बड्र्स’ ब्रान्ड नामबाट बिक्री वितरण भइरहेको छ । सुजल डेरीको दर्ता कार्यालय र उत्पादन इकाई पोखरा-१, कास्की, गण्डकी प्रदेशमा रहेको छ । सुजल डेरीका प्रमुख सेयरधनीहरूमा अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सुनील श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन्, जसले प्रत्येकले करिब १८ प्रतिशत सेयर धारण गरेका छन् । बाँकी करिब १० प्रतिशत सेयर लक्ष्मी ग्रुपकै अर्को कम्पनी सुजल फुड प्रालिको नाममा रहेको छ ।  कम्पनीका अनुसार जुलाई २०२५ सम्म आफ्नो ड्रइङ पावर करिब १४१ प्रतिशत उपयोग गरिएको छ । पछिल्ला तीन वर्षमा नेपालमा दूध उत्पादन वृद्धिदर ०.४ प्रतिशतदेखि १.८ प्रतिशत सीमित रहेकाले दूध संकलनमा तीव्र प्रतिस्पर्धा छ । उच्च प्रतिस्पर्धा र प्रमुख दुग्धजन्य उत्पादनमा मूल्य समायोजनको सीमित क्षमताले लागत बढ्दा नाफामा दबाब परेको छ । साथै, कृषि-जलवायु जोखिमले दूध आपूर्तिमा समस्या ल्याएर कच्चा दूधको मूल्य बढाउने जोखिम रहेको कम्पनीले जनाएको छ ।  यद्यपि, २० वर्षभन्दा बढी अनुभव, किसान र सहकारीहरूसँग स्थापित बलियो सम्बन्ध तथा पछिल्ला दुई वर्षमा देखिएको उल्लेखनीय आम्दानी वृद्धिले कम्पनीलाई मजबुती प्रदान गरेको छ । घरेलु उपभोक्ता तथा खाद्य प्रशोधन उद्योगबाट स्थिर माग रहनु पनि सकारात्मक पक्ष मानिएको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६० करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र ३४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९५ करोड ६१ लाख रुपैयाँ बराबर ऋण लिएको देखिन्छ । यसअघि ६५ करोड १२ लाख रुपैयाँ दीर्घकालीन र २४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ७ लाख रुपैयाँ लिएको थियो । 

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मंगबारको तुलनामा आज सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८० निर्धारण भएको छ ।  हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ ।  साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको निधन

काठमाडौं । अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारद्वारा जारी वक्तव्यमा मंगलबार बिहान उनको निधन भएको जानकारी दिइएको छ । वक्तव्य अनुसार अन्तिम क्षणमा ज्याक्सन परिवारजनको साथमै रहेका थिए । साथै उनको निधन शान्तिपूर्वक भएको पनि उल्लेख गरिएको छ । मृत्युको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । यद्यपि, ज्याक्सन ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी’ नामक रोगबाट पीडित थिए र गत वर्षको अन्त्यतिर अस्पतालमा भर्ना भएका थिए। पूर्वराष्ट्रपति बाराक ओबामा लगायतकाले उनलाई श्रद्धाञ्जलि दिएका छन् ।

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा १९ रुपैयाँ १२ पैसा

काठमाडौं । नेपाल लेयर्स संघले बुधबार (आज) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।  ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ ।  अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त हिमालयन बैंकको बत्तीसपुतली शाखा पुनः सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा-सुविधासहित सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका-९, बत्तीसपुतलीस्थित नेपाल राष्ट्रिय मारवाडी परिषदको भवन (द्वारिका होटल अगाडि, राम मन्दिर जाने बाटो) मा रहेको बत्तीसपुतली शाखा फागुन १० गतेदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ । यस असहज अवधिमा ग्राहकले बैंकप्रति देखाएको सदाशयता र सहयोगप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । साथै, शाखा बन्द रहँदा ग्राहकहरूलाई परेको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

७ दिनभित्र स्पष्टीकरण नदिए १५ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम नगर्ने तथा ढिलासुस्ती गर्ने कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्दै चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको समयसीमा दिएर स्पष्टीकरण माग गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि पुनः ७ दिनको अल्टिमेटम दिइएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम सूचना प्रकाशित गरिएको र तोकिएको समयभित्र स्पष्टीकरण नआएमा कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।  तालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिज विषयको परीक्षा तोकिएको छ ।  उक्त परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीका लागि लागू हुनेछ । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले जनाएको छ । 

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७ कित्ता, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३ कित्ता र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२ कित्ता सेयर सूचीकृत भएको हो ।