विकासन्युज

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको निधन, २४ जना घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु वाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।  मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।  उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा  बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उनको भनाइ छ । 

फोहरजन्य वस्तु बिक्री गरी ७ महिनामा साढे १४ लाख आम्दानी, बायो ग्यास उत्पादन गर्दै

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म १४ लाख ५० हजार ६११ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिकाले फोहरमैला, सिसाजन्य वस्तु बिक्रीबाट उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ ।  कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए । उनले भने, ‘एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।’ फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकालाई आन्तरिक स्रोत वृद्धिमा सहयोग पुगेको लम्सालले बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने र नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता चिजहरू छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालिएको बताए ।  नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ । ३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, ‘विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।’ नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायो ग्यास उत्पादन गर्ने काम गरिरहेको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

नेपाली सडकमा ‘यात्री पी-टु’ को सफल परीक्षण, ७ हजार किलोमिटर गुडेको कम्पनीको दाबी

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एकपछि अर्को गर्दै नयाँ क्रान्तिको लहर चलेको छ । पछिल्लो समय नेपालमै बाइक, कार र बस एसेम्बल हुन थालेका छन् । जसमा सिप्रदी ट्रेडिङ्ग र यात्री मोटरसाइकलको सहकार्यमा बनेको इलेक्ट्रिक स्कुटर ‘पी-टु’ को सडक परीक्षण गरिएको छ ।   नेपालमै डिजाइन र विकास गरिएको यो पहिलो इलेक्ट्रिक स्कुटरले हालसम्म देशका विभिन्न सडकहरूमा ७ हजार किलोमिटरभन्दा बढीको यात्रा सफलतापूर्वक पूरा गरिसकेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ ।  ‘पी-टु’ स्कुटरलाई सामान्य सहरी सडकमा मात्र नभई नेपालको भौगोलिक विविधताअनुसारका कठिनतम परिस्थितिमा परीक्षण गरिएको कम्पनीको भनाइ छ ।  कम्पनीले यसलाई काठमाडौंका सडकदेखि नुवाकोट र जिरीका विकट पहाडी उकालो–ओरालो हुँदै हेटौंडा र भरतपुरका समथर तराईका राजमार्गसम्म दौडाएर परीक्षण गरिरहेको छ ।  कम्पनीका अनुसार परीक्षणका क्रममा हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोट, कुरी, जिरी, मूलकोट, कटारी, हेटौंडा, भरतपुर, राम्दीघाट र वालिङजस्ता १० भन्दा बढी स्थानका सडकमा यसको क्षमता जाँचिएको छ ।  दैनिक ४०० किलोमिटरभन्दा बढी गुडाएर यसको ब्याट्री पर्फमेन्स, मोटरको शक्ति र समग्र टिकाउपनको गहन परीक्षण भइरहेको यात्रीले जनाएको छ । उसो त ‘यात्री पी-टु’ स्कुटर एक उत्पादन मात्र होइन, यो नेपाली इन्जिनियरिङ, डिजाइन र नवप्रवर्तनको उदाहरण पनि हो । यसअघि ‘पी–जिरो’ र ‘पी-वान’ जस्ता प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेर चर्चा कमाएको यात्रीले ‘पी-टु’ मार्फत आम नेपाली उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ । सिप्रदी कम्पनी र यात्री जस्तो नवप्रवर्तक स्टार्टअपको सहकार्यले यस परियोजनालाई थप विश्वसनीय र शक्तिशाली बनाएको बताइएको छ । यो स्कुटर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसको व्यापक परीक्षणले छिट्टै बजारमा आउने संकेत गरेको छ ।  नेपाली बजारमा विदेशी ब्रान्डको वर्चस्व रहेको बेला ‘मेड इन नेपाल’ ट्यागसहित आउन लागेको ‘यात्री पी–टु’ लाई नेपाली उपभोक्ताका लागि नयाँ विकल्पका रुपमा हेरिएको छ । 

मनमैजुको घरमा छिरेको चितुवाको उद्धार

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा छिरेको चितुवालाई उद्धार गरिएको छ  । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा छिरेको चितुवालाई उद्धार गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  उनका अनुसार काठमाडौं डिभिजन वन कार्यालयको टोली र नेपाल प्रहरीको टोलीले सँगै उद्धार गरेको हो । साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो ।  चितुवाले आक्रमण गर्दा ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीया मायानाथ वाग्लेलाई घाइते बनाएको थियो । उनीहरू दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ ।

कजारिया रमेश टाइल्सको नयाँ शोरूम सल्लाघारीमा सञ्चालनमा

काठमाडौं । टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको इटापाको, सल्लाघारीमा नयाँ शोरूम उद्घाटन गरेको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको हो र फागुन ९ गतेदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ । उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई झल्काएको छ । रिबन काटेर सम्पन्न गरिएको उद्घाटनले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल समाधान उपलब्ध गराउने नयाँ अवसरको सुरुवात गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा आश्मा केसीको उपस्थितिले समारोहलाई थप आकर्षक बनाएको थियो । उक्त अवसरमा कम्पनीका प्रतिनिधिले कजारियाले सधैँ उत्कृष्ट उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्दै नयाँ सल्लाघारी शोरूममार्फत ग्राहकहरूलाई आधुनिक, मजबुत र आकर्षक टाइल समाधान अझ सहज रूपमा उपलब्ध गराउने बताए । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा कम्पनीले अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शन गरिएको छ, जसले ग्राहकहरूलाई आफ्नो इन्टेरियर आवश्यकताअनुसार विभिन्न डिजाइन र विकल्प सहज रूपमा छनोट गर्न सहयोग पुर्‍याउनेछ । कम्पनीका अनुसार यस पहलले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै नेपालमा ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाएको छ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको अत्याधुनिक टाइल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तरका ३ हजार भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई आकर्षक, टिकाउ र आधुनिक बनाउने कम्पनीको विश्वास छ ।

मोटरसाइकल र मोबाइल चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र मोबाइल चोरी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय मेन्सुहाङ राई, १८ वर्षीय समिर तामाङ, १८ वर्षीय प्रज्वल राई र १८ वर्षीय जनम तामाङ रहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले तीन वटा चोरीका मोटरसाइकल, २ वटा स्कुटर र मोबाइल ७ थान सहित नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका ६ बाट चोरी भएको बागमती प्रदेश ०२-०६० प ४९५८ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल  काठमाडौं महानगरपालिका २६ ठमेलबाट चोरी भएको बागमती प्रदेश ०२-०१९ प ३३४१ नम्बरको १२५ सिसिको रेयाज स्कुटर रहेको छ ।  त्यसैगरी, ललितपुर महानगरपालिका १४ शोभाहिटीबाट चोरी भएको बाप्र ०२-०३७ प ५२९६ नम्बरको डियो स्कुटर, काठमाडौं महानगरपालिका १३ कालीमाटीबाट चोरी भएको बाप्र ०२-०१५ प ५४९९ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल र बानेश्वरबाट चोरी भएको मधेश प्रदेश ०३-०३६ प ९०४६ (परिवर्तित) नम्बरको बुलेट मोटरसाइकल रहेको छ । बरामद चोरीका मोबाइलहरू आइफोन १६ प्लस, सामसुङ मोबाइल २, आइफोन १६ प्रोम्याक्स १, ओप्पो मोबाइल १, रेडमी १ र होनोर १ थान रहेको छ ।  

लोपोन्मुख वनकरिया भन्छन् - लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ

बागमती । मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका राम वनकरियाले सामाजिक सञ्जालबाट यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनबारे थाहा पाए पनि मत कसलाई र कसरी हाल्ने भन्ने अन्योलमा छन् । गाउँसहर सबैतिर चुनावको चर्चाले व्यापकता पाइरहँदा पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दूरीमा रहेको वनकरिया बस्तीमा भने अझै कुनै चुनावी चहलपहल छैन । सोही कारणले निर्वाचनमा कुन उम्मेदवारलाई, कसरी मत हाल्ने भन्नेमा अन्यौलता भएको रामको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मत माग्न सो बस्तीमा अहिलेसम्म कुनै उम्मेदवार तथा दलका नेता कार्यकर्ता नपुग्दा स्थानीय बेखर जस्तै भएका हुन् । ‘अहिलेसम्म कुनै नेता भोट माग्न आएका छैनन् । भोट कसरी हाल्ने भन्ने सिकाउन पनि कोही आएका छैनन्’, राम वनकरियाले भने, ‘मोबाइल र रेडियो एफएमबाट चुनावबारे खबर पाएका छौँ, तर कसरी भोट हाल्ने भने हामीलाई केही थाहा छैन ।’ ‘गाउँघरमा चारैतिर उम्मेदवार मत माग्न पुगे पनि हाम्रो बस्तीमा कुनै उम्मेदवार आउनु भएको छैन’, उनले भने, ‘खोई के कारणले हाम्रो बस्तीमा उम्मेदवार मत माग्न आएनन् थाहा छैन ।’ उक्त बस्तीमा २४ परिवार वनकरिया समुदायको बसोबास छन् । कुनैबेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रूपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानवबस्तीमा सारेको थियो । जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर जमिन उपलब्ध गराएको थियो । सोही ठाउँमा ती जातिका मानिस करिब २० वर्षदेखि बन्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार वनकरिया जातिको कूल जनसङ्ख्या १८० र मातृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ । वनकरिया जातिको नेपालको त्यो बस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले जानकारी दिए । उनका अनुसार बस्तीमा हाल ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया छन् । बस्तीका ९१ मध्ये ५० जनाको नागरिकता बनिसकेको जनाउँदै उनले २६ जनाको मतदाता नामावलीमा नाम रहेको उल्लेख गरे । केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छन् भने कोही ज्यालामजदुरीको काम गर्दछन् । बिहान र बेलुकाको जोहो गर्नमा व्यस्त रहने ती बस्तीका स्थानीय सन्तमाया वनकरियाले भने, ‘अहिलेसम्म तीन वटा चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठायौँ तर, कसैले आफूहरूको समस्या बुझ्न सकेका छैनन् ।’ त्यसैले आफ्ना समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उनको कथन छ । निर्वाचनका बेला आफूहरूलाई भोट लिने तर चुनाव जितेपछि नेताहरूे बस्तीमा फर्केर नआउने गरेका भन्दै यहाँका मतदाताले गुनासो गरेका छन् । वनकरियाले बसोबास गरिरहेको जग्गाको लालपुर्जा माग गर्दै आएका छन् । ‘सरकारले हामीलाई यहाँ ल्याएर राख्यो, हामी २० वर्षदेखि यहाँ बस्दै आएका छौँ’, सन्तमायाले भने, ‘२० वर्षका लागि हामीलाई यहाँ बसोबास गरायो, अहिलेसम्म हाम्रो नाममा जग्गा आउन सकेन् । कुन दिन यो ठाउँ पनि छोड्नुपर्ने हो भन्ने अन्योल र त्रासमा हामी छौँ ।’ ‘चुनावका बेला नेताहरूले लालपुर्जा दिलाउँछौँ भन्ने प्रतिबद्धता गरेर जान्छन्’, विष्णुमाया वनकरियाले भने, “तर जितेर गएपछि फर्किएर कोही आउँदैनन् । हामीले लालपुर्जा पाउने कि नपाउने ? भन्ने अन्योलतामा छौँ ।’ बसोबास गरेको जग्गाको लालपुर्जा नहुँदा चाहरे पनि कुनै व्यापार, व्यवसाय गर्न नसकिएको उनको भनाइ छ । ‘आफूहरू मुख्य समस्या जग्गाधनी लालपुर्जा हो’, सन्तोषी वनकरियाले भने, ‘जग्गाधनी लालपुर्जाका लागि स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सरकारलाई गुहार्‍यौँ, तर अहिलेसम्म सफल हुन सकेका छैनौँ ।’ ‘हामीले मत दिएर नेतालाई जिताएर पठाउँछौँ, तर अहिलेसम्म जग्गाधनी पुर्जा पाउने वा नपाउने निश्चित भइसकेको छैन’, सन्तमायाले भने, ‘हाम्रो भोट लिएर थुप्रै नेता कुर्सीमा पुगे, तर हाम्रो समस्या ज्यूँकात्यूँ छन् । चुनावका बेला यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर मत लिने, तर चुनाव जितेपछि हाम्रो समस्या बुझ्न एकपटक आउँदैनन् ।’ मतदान गर्न तयार भए पनि कसलाई र कसरी मत हाल्ने भन्नेमा अन्योलता रहेको बताउँदै उनले हामीलाई जग्गाको लालपुर्जा दिलाउने उम्मेदवारलाई मात्र मतदान गर्ने धारणा राखे । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र पाँच गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाल कम्युनिष्ट पार्टी (एमाले( बाट महेशकुमार बर्तौला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट लवशेर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रामबहादुर थोकर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रशान्त उप्रेती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिंतान, उज्यालो नेपाल पार्टीबाट डा प्रविणकुमार स्याङ्तान चुनावी मैदान छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम घलान, जनता समाजवादी पार्टीबाट छविलाल वाइबा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रूपमा कृष्णराम श्रेष्ठ, रमेश आचार्य, प्रतिक्षा बानियाँ, अमृत बललगायत चुनावी प्रतिस्पर्धामा छन् । यीमध्ये एमालेका बर्तौला अघिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट ३४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका थिए । राप्रपाका थोकर दोस्रो पटक चुनावी प्रतिस्पर्धा उत्रिएका छन् भने अन्य उम्मेदवार पहिलो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । कांग्रेसका लामा पार्टीको मकवानपुर जिल्ला सभापति छन् । अन्य दलबाट उम्मेदवार फेरिँदा एमालेले पुनः बर्तौलालाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गराएसँगै यतिबेला उम्मेदवार आफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यो क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको चार वटा वडासहित थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुर गाउँपालिकाको दुई वटा वडा पर्छन् । मकवानपुर क्षेत्र नं २ मा ८२ हजार ३३३ पुरुष र ७४ हजार ५६६ महिला गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् । सो क्षेत्रमा १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र रहेका छन् । भौगोलिक रुपमा विकट मानिएको यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्यता छ । जनजाति बाहुल्य रहेको सो क्षेत्रमा जातीय मत आकर्षित गर्ने रणनीतिका साथ नेपाली कांग्रेसले लामालाई उम्मेदवार बनाएको देखिन्छ । थाहा नगरपालिकाको निवर्तमान नगरप्रमुख लवशेर विष्टलाई नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । रासस

निर्वाचनमा खटिने कर्मचारीका लागि सामूहिक दुर्घटना बीमा, प्रति व्यक्ति २० लाखको क्षतिपूर्ति

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्वाचनमा खटिने कर्मचारीका लागि लक्षित गर्दै सामूहिक दुर्घटना बीमा पोलिसी जारी गरेको छ । कम्पनीले निर्वाचन आयोगसँगको साझेदारीमा यो पोलिसी जारी गरेको हो । कम्पनीका अनुसार यो पोलिसी नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृतसमेत भइसकेको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ । यही सन्र्दभमा निर्वाचन आयोगले खटाउने कर्मचारीहरूका लागि लक्षित गर्दै सामूहिक दुर्घटना बीमा पोलिसी लागू गरिएको हो । को-को समेटिन्छन् ?  निर्वाचन अधिकृत, सहायक कर्मचारी, मतदान केन्द्रमा खटिने कर्मचारी, मतपेटिका व्यवस्थापनमा संलग्न जनशक्ति र निर्वाचनपछि मतगणनामा खटिने कर्मचारी यो पोलिसीभित्र समेटिन्छन् । यी कर्मचारीहरू निर्वाचनको पूर्वतयारीदेखि मतगणना सम्पन्न नहुन्जेलसम्म जोखिममा हुन्छन् । झडप, राजनीतिक तनाव, भीड व्यवस्थापनको चुनौती, लामो कार्यघण्टा र मानसिक–शारीरिक थकान सबै सम्भावित जोखिम हुन्छन् । यो पोलिसी दुर्घटना बीमाअन्तर्गत जारी भएको हो । कुनै पनि दुर्घटना जस्तै झडप वा हिंसात्मक घटनाबाट हुने क्षति, निर्वाचनमा खटिएको अवस्थामा उत्पन्न स्वास्थ्यसम्बन्धी आकस्मिक समस्यालगायत यो पोलिसीले बहन गर्छ । विशेषगरी निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा आकस्मिक दुर्घटना भएर मृत्यु भएमा वा औषधी उपचार  गर्नुपरेमा पोलिसीले बहन गर्ने कम्पनीले जनाएको छ ।  फागुन २१ मा हुने निर्वाचनमा आयोगले २ लाख १३ हजार कर्मचारी खटाएको र ती सबैको बीमा गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । सूचना अधिकारी घिमिरेका अनुसार ती सबै कर्मचारीको प्रिमियम आयोगले नै व्योहोर्न व्यवस्था गरिएको छ । यो पोलिसीले प्रति कर्मचारी २० लाख रुपैयाँसम्मको बीमा कभर प्रदान गरेको छ । अवधि कति ? पोलिसी निर्वाचन अवधिका लागि लागू हुन्छ । राष्ट्रिय बीमा कम्पनीका अनुसार सामान्यतः १५ दिन, ३० दिन वा अधिकतम ३ महिनासम्मको अवधि तोकिएको छ, जुन कर्मचारी खटाइने समयअनुसार फरक पर्न सक्छ । यसले तयारी चरणदेखि मतगणना सम्पन्न नहुन्जेलसम्मको जोखिम समेटिएको छ ।  आयोगको सिफारिस अनिवार्य बीमा कम्पनीका अुनसार दाबी गर्नका लागि सम्बन्धित घटनाबारे जानकारी गराई क्लेम दर्ता गर्नुपर्छ । भुक्तानीका लागि निर्वाचन आयोगको सिफारिस अनिवार्य गरिएको छ । यसले दाबी प्रक्रियामा आधिकारिक प्रमाणीकरण सुनिश्चित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।  बीमा कम्पनीका अनुसार आवश्यक कागजात प्राप्त भएपछि दाबी भुक्तानी प्रक्रिया छिटो र सहज रुपमा भुक्तानी हुने कम्पनीको भनाइ छ । जोखिम व्यवस्थापनका दृष्टिले बीमा कम्पनीले सम्पूर्ण जोखिम आफैं नराखी पुनर्बीमामार्फत पनि गरिने कम्पनीले जानकारी दिएको छ ।