नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समेत कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।
उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने बताएका छन् । उनका अनुसार नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ । अध्यक्ष ढकालले भने–‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ । त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ । १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०/५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ ।’ महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वर्षौँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताए । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्र्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे ।
रुकुम–पूर्वमा मतदान अधिकृत बन्न शिक्षा अधिकृतले गरे अस्वीकार
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम–पूर्वमा कर्मचारी खटाउने र व्यवस्थापन गर्ने कार्यलाई लिएर विवाद चर्किएको छ । निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि कर्मचारी खटाउने विषयमा असन्तुष्टि जनाउँदै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेपछि विवाद सतहमा आएको हो । जिल्ला निर्वाचन कार्यालयले शिक्षक र शिक्षा क्षेत्रका कर्मचारीलाई अपमान गर्नेगरी निर्वाचनमा कर्मचारी खटाएको आरोप खड्काले लगाएका छन् । खड्काले निर्वाचन कार्यालयले शिक्षकहरूलाई अपेक्षाकृत कम प्राथमिकता दिँदै स्वास्थ्यकर्मीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा बढी खटाएको आरोप लगाएका हुन् । शिक्षा क्षेत्रका कर्मचारीलाई उपेक्षा गरिएको भन्दै खड्काले आफूले तोकिएको जिम्मेवारी नलिने जानकारी सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन् । खड्काले विगतका निर्वाचनमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई प्राथमिकताका साथ खटाइने अभ्यास रहे पनि यसपटक भने शिक्षा सेवाका कर्मचारीलाई पाखा लगाएर स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएकोले आफू निर्वाचनमा खटिन असमर्थ हुने बताए । यता जिल्ला निर्वाचन कार्यालय रुकुम–पूर्वका प्रमुख पुष्पराज शर्माले भने कर्मचारी खटनपटन कानुन र उपलब्ध जनशक्तिको अवस्थालाई आधार मानेर गरिएको दाबी गरेका छन् । ‘आफ्नो कार्यालयको दायित्व कर्मचारीको लिष्ट दिने काम हो । अरू मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने हो,’ उनले भने । निर्वाचनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी बनाउन सक्षम र उपलब्ध कर्मचारीको लिष्ट आफूले उपलव्ध गराएको शर्माको दाबी छ । हर्माका अनुसार आवश्यक परे समन्वय र पुनरावलोकन गर्नेकाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्दछ । स्थानीय तहका केही कर्मचारी र शिक्षक संघ–संगठनले समेत विषयप्रति चासो देखाएका छन् । उनीहरूले निर्वाचन जस्तो संवेदनशील कार्यमा सबै क्षेत्रका योग्य जनशक्तिलाई समान अवसर दिनुपर्ने माग गरेका छन् । पुथा उत्तर गँगाको एक विध्यालयका प्रधानाध्यापकले भने निर्वाचन जस्तो संवेदनशील कार्यमा सबै क्षेत्रका योग्य जनशक्तिलाई समान अवसर दिनुपर्ने माग गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा कर्मचारी व्यवस्थापनसम्बन्धी विवादले निर्वाचन तयारीमा असर पार्ने चिन्ता व्यक्त गरिएको छ । सम्बन्धित निकायले छिट्टै संवादमार्फत समाधान खोज्नुपर्ने स्थानीय सरोकारवालाहरूको धारणा छ ।
एशियन लाईफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा फागुन ११ गते सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअन्तर्गत चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर र ५.५२६३ प्रतिशतका दरले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ ९१ पैसा (करसहित) नगद लाभांश वितरण गरिनेछ । यसैगरी, आर्थिक वर्ष २०८१/०८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सो अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । साथै, साधारण सभाको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।
माघसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २७ अर्बमाथि, अग्रस्थानमा शिखर र सलिको
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ)सम्ममा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्बभन्दा बढी व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १६ लाख ५६ हजार ३३६ बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको तुलनामा १३.४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । बीमा कम्पनीहरूले माघ महिनामा मात्रै २ लाख ३६ हजार ७८८ बीमालेख जारी गरेर ३ अर्ब ८६ करोड २१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । सर्वाधिक व्यापार भित्र्याउनेमा शिखर अगाडि चालु आवको माघसम्ममा सर्वाधिक व्यापार शिखर इन्स्योरेन्सले भित्र्याएको छ । चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले वृद्धि भएको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले माघसम्ममा २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.७७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो आवको माघसम्ममा १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ४७.७४ प्रतिशतले बढेको छ । त्यस्तै, माघसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय २.७६ प्रतिशतले वृद्धि भएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा कम्पनीको व्यवसाय १७.४५ प्रतिशतले वृद्धि भएको छ । ७ महिनाको अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७५ करोड ७३ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा एनएलजीको ३४.९५ प्रतिशत, नेको इन्स्योरेन्सको १०.३२, युनाइटेड अजोडको २५.३९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको १०.६४ प्रतिशत,सानिमा जीआईसीको १५.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.८८ प्रतिशत र नेसनल इन्स्योरेन्सको १५.३१ प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको भने ५.१२ प्रतिशतले व्यापार घटेको छ ।
नेपाली कांग्रेसले साम्बालाई गर्यो ५ लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसीएलमा गम्भीर चोटका कारण हाल साम्बा जटिल शल्यक्रियाको तयारीमा रहेकी छन् । कांग्रेसले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य रहेको बताएको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघका अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा पाँच लाख रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि साम्बालाई सबैले साथ दिन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउनु पर्ने पनि बताएको छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । मंगलबार स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शंकर पोखरेलको दाबी : दाङलाई शैक्षिक प्राविधिक केन्द्र बनाइने
काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले दाङलाई शैक्षिक र प्रविधिमैत्री जिल्लाका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन योजना अघि बढाइएको बताएका छन् । उनले दाङको विकास कुनै एक राजनीतिक दलको चुनावी नारामा सीमित नभई जिल्लावासीको साझा आकांक्षा भएको उल्लेख गरे । पोखरेलका अनुसार लामो समयदेखि अन्योलमा परेको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत घोराहीमा प्रस्तावित क्याम्पस निर्माणले अहिले ठोस गति लिएको छ । स्रोत सुनिश्चिततापछि गत वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र माघ ८ गते निर्माण कम्पनीसँग २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी उनले दिएका छन् । प्रारम्भिक चरणमा ३० करोड रुपैयाँको बजेट व्यवस्थापन गरिएको पनि उनको भनाइ छ । उनले २०८४ सालभित्र पूर्वाधार निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए । 'दाङका विद्यार्थीलाई उच्च प्राविधिक शिक्षा अध्ययनका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो उद्देश्य हो,' पोखरेलले भने । पोखरेलले अत्याधुनिक प्रयोगशाला, डिजिटल लाइब्रेरी र अनुसन्धान केन्द्रसहितको क्याम्पस निर्माण गरिने दाबी गरेका छन् । यसले सूचना प्रविधि, स्टार्टअप र नवप्रवर्तन क्षेत्रमा नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । पोखरेलले दाङलाई भारतको बैंगलुरु जस्तै सूचना प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने ‘मोडेल’ अघि सार्दै ‘दाङ भ्याली’ अवधारणा सार्वजनिक गरेका छन् । उनका अनुसार शैक्षिक पूर्वाधारसँगै प्रविधि पार्क, सीप विकास केन्द्र र उद्योगसँगको एकेडेमिक सहकार्यलाई पनि सँगसँगै अघि बढाइनेछ । स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्यमा दाङलाई लुम्बिनी प्रदेशकै शैक्षिक तथा प्राविधिक हब बनाउने लक्ष्य राखिएको उनले स्पष्ट पारेका छन् । जिल्लाको भौगोलिक अवस्थिति, सडक सञ्जाल र बढ्दो सहरीकरणले यो सम्भावनालाई बल पुर्याएको पोखरेलको दाबी छ । उनले विकासका यस्ता परियोजनालाई चुनावी एजेन्डाभन्दा माथि उठेर साझा अभियानका रूपमा समर्थन गर्न सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वानसमेत गरेका छन् ।