विकासन्युज

भोजपुरे खुकुरीको माग बढ्यो, कालीगढ भने अभाव

भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ । यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, ‘विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’ कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउछन् । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाटसमेत हुने गरेको छ’, व्यवसायी श्रेष्ठले भने, ‘खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन । पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ ।’ दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए। ‘खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ’, विश्वकर्माले भने, ‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।’ पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उनको कथन छ । ‘चार दशक बढी समयबाट यो काम गरिरहेको छु’, उनले भने, ‘यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ । मेहेनत बढी गर्नुपर्छ । आम्दानी कम छ ।’ नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उनको भनाइ छ । स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ । ‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, उनले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।’ सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ । आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ । खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन् । मेहेनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ–५ मझौलेमा कालीगढ पेसा गर्दै आएका गोर विश्वकर्माले बताए । पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ । ‘कालीगढ काममा दुःख छ’, उनले भने, ‘पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन । सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ । राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने । त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके ।’ राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ । ‘पेसाको संरक्षण अहिलेको आवश्यकता हो’, विश्वकर्मा भने, ‘यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ । राज्यले त्यो वातावरण बनाइदिनुप¥यो । राज्यबाट पनि खास प्रोत्साहन छैन । यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए ।’ जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ । पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन् । विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ । रासस

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन् । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उनले अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन नसकेर ओछ्यान परेका हुन् । ‘आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरायौँ’, पीडित चौधरीका छोरा लक्ष्मणले भने,  ‘आफन्त, चिनेजानेका व्यक्तिबाट रु चार लाख ५० हजार जम्मा गरी खर्च गरेर उपचार गरायौँ, उपचारपछि हिँडडुल गर्न सक्ने हुनुभयो ।’ ‘अस्पतालको सल्लाहमा भारतमा थप उपचारका लागि लग्न भनेपछि लग्यौँ’, उनले भने, ‘उपचार गराउनकै लागि ७० हजार भारतीय रुपैयाँ ऋण गरेर उपचार गरायौँ, जाँच गर्दा आन्द्रामा क्यान्सर देखियो ।’ क्यान्सर देखिएपछि अझै उपचार गर्नुपर्ने भएकाले रकम अभाव भएको उनको भनाइ छ । उपचार खर्च नहुँदा चौधरी परिवारले धनबहादुरको उपचार गराउन सकेका छैनन् । घरमा कमाउने भनेकै धनबहादुर हुन् । उनले बोरिङ गाड्ने ठेक्का लिएर काम गर्दैआएका थिए । सोही रकमबाट दुई छोरा र श्रीमतीको खर्च धान्दै आएका थिए । घरका एक्ला कमाउने व्यक्ति ओछ्यान परेपछि परिवारलाई दुई छाक जोहो गर्न मुस्किल भएको पीडित धनबहादुरका साला रमेश चौधरीले बताए । ‘जग्गाका नाममा घरबासका लागि मात्रै जग्गा छ’, उनले भने, ‘त्यसमा बनेको सानो झोपडीमात्रै सम्पत्तिका रूपमा रहेको छ, उपचार खर्च अभाव भएपछि दातृ निकायलाई गुहार्दै हिँडेका छौँ ।’ बजार क्षेत्रमा व्यानरसहित सहयोग रकम जुटाउन लागे पनि उपचारका लागि पुग्ने खर्च जुट्न नसकेको उनले बताए । ‘दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो’, उनले भने, ‘त्यसका लागि सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई सहयोगको याचना गर्दै हिँडेका छौँ ।’ नगरपालिका र प्रदेश सरकारसँग सहयोग रकम माग्नका लागि आवश्यक कागजपत्र बुझाए पनि सहयोग रकम भने अहिलेसम्म पाउन नसकिएको उनको गुनासो छ । रासस

मर्जरबिनै ठूला बैंकलाई टक्कर दिँदै एभरेष्ट, नाफामा कुन बैंकको प्रतिस्पर्धा को सँग ?

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११ प्रतिशत मात्रै वृद्धि भएको हो । बैंकहरुको खराब कर्जा दर बढेपछि नाफामा असर गरेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा दर बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खासै प्रगति गर्न नसकेका बैंकहरु दोस्रो त्रैमासदेखि भने बढ्ने अपेक्षा गरेका थिए । तर, दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा वृद्धिदर सुस्ताएको देखिन्छ । पछिल्लो समय बैंकहरुले रिकभरीमा जोड दिएपनि कर्जा उठ्न नसक्दा नाफामा प्रभाव पारेको बैंकरहरु बताउँछन् । निक्षेप संकलनका लागि ब्याजदर बढाएपनि कर्जा प्रवाह शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदरमा ठेस लागेको हो । पुस मसान्तसम्मको वित्तीय विवरण २१ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अन्य सबै बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ३ करोड ३१ लख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा ११.१० प्रतिशत बढी नाफा आर्जन गरेका हुन् । यस अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने आधा दर्जन बैंकको नाफा घटेको छ । कृषि विकास बैंक नोक्सानीमा रहेको छ । बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, सिटिजन्स बैंकको ३२.११ प्रतिशत, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत, सनराइज बैंकको १२.२८ प्रतिशत, प्रभु बैंकको ४.९१ प्रतिशत र प्राइम बैंकको १.८५ प्रतिशत नाफा घटेको हो । समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक आक्रामक बनेको छ । बैंकले सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको हो । तर, सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंक बनेको छ । नम्बर वानको दौडमा रहेको नबिल बैंकले ५६.६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको ३६.२७ प्रतिशत बढेर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ, तेस्रोमा ग्लोबल आइएमई बैंकको ४.४६ प्रतिशत बढेर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ, चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१.२७ प्रतिशत बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सिभिल बैंकले गत वर्ष भन्दा नाफा उल्लेख्य बढाए पनि समिक्षा अवधिमा पुच्छारमा रहेको छ । बैंकको २६.३९ प्रतिशत बढाएर ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, ६ महिनाको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड रुपैयाँ, सानिमा बैंकको १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशत बढेर १ अर्ब १७ करोड रुपैयाँ, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत बढेर १ अर्ब ७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.४२ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ, कुमारी बैंकको ६.१२ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ र हिमालयन बैंकको २८.४२ प्रतिशत बढेर ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यस्तै, सनराइज बैंकको १२.२८ प्रतिशत घटेर ६५ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३२.११ प्रतिशत घटेर ८४ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकको १.८५ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ, प्रभु बैंकको ४.९१ प्रतिशत घटेर १ अर्ब १९ करोड रुपैयाँ, नेपाल बैंकको १७.३९ प्रतिशत घटेर १ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।

रुकुमगाड जलविद्युत्को काम सकियो, परीक्षण बाँकी

रुकुम । रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो । आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई दुई सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए । उनका अनुसार पवरहाउसभित्रको दुईवटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको दुईवटा रनर, दुईवटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ । यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताए । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च एक अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुआतीमा आएर सकिएको छ । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

पर्वत प्रशासन कार्यालयले शुरु गर्‍यो स्तनपान कक्ष

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो । गत बिहीबारदेखि स्तनपानकक्ष सञ्चालनमा ल्याइएको उनको भनाइ छ । दुधे बालकसहित सेवाग्राहीका रूपमा आएकी फलेवास नगरपालिका–१ कार्किनेटाकी कुमारी केसीलाई स्तनपान कक्षमा लगी स्तनपान गर्न लगाएर उक्त कक्षको शुभारम्भ गरिएको थियो । सो अवसरमा आमा र बच्चालाई खादा ओढाएर सम्मान गरिएको थियो । जिल्ला प्रशासनमा शुरुआतसँगै जिल्लाका सबै सरकारी कार्यालयमा सेवाग्राहीका लागि स्तनपान कक्ष, खानेपानीको व्यवस्थालगायत सेवाग्राहीमैत्री वातावरण बनाउन प्रजिअ सापकोटाले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । गृह मन्त्रालयबाट स्तनपानकक्षको व्यवस्थापनका लागि रु दुई लाख प्राप्त भएकाले सोही रकमले व्यवस्थापन गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले स्तनपानकक्ष सञ्चालनमा ल्याइएको प्रजिअ सापकोटाले जानकारी दिए । यसअघि विसं २०७४ मा गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाख लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्तनपान कक्ष बनाएर सेवा शुरु गरे पनि पछिल्लो समय प्रभावकारी हुन सकेको थिएन । कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ, जसलेगर्दा उनीहरूको काम छिट्टै सम्पन्न हुन थालेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सुविधासमेत शुरुआत गरिएकोमा अहिले भने हटाइएको छ । रासस

‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गरेका छन्  अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उनले सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको बताए । सचिव रेग्मीले भने, ‘बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।’ एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उनले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिए । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाए । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताए । नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राखे । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गरे । राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले  बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु, एसियाली विकास बैंकको ७ मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उनले बताए । विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट क्लियरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताए । ‘निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आएका छन्, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगत्तै निर्माणको काम अघि बढ्छ’, गाउँपालिका अध्यक्ष गिरीले भने । एक सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाटस्थित सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताए । लो भोल्टेससहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकामा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उनले बताए । ‘अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ, लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थिति छ, अब चाँडै ती समस्या समाधान हुनेछ’, अध्यक्ष गिरीले भने । गाउँपालिकाभित्रका वडा नं ३ र ५ मा अझै विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिकाभित्र सबै क्षेत्रमा सहजरूपमा विद्युतीकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताए । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतीकरणसहित लघुजलविद्युत् आयोजनाबाट विद्युतीकरण गरिएको भए पनि समस्या धेरै रहेकाले ती समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उनले बताए । सबस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताए । ‘लो भोल्टेज हुँदा घरयासी उपभोक्तासहित भएका उद्योगले थप समस्या झेलिरहेका छन्, भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योग आउन खोजिरहेका छन्, तर विद्युत् छैन, यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगिकरणमा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ’, अध्यक्ष गिरीले भने, ‘यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ ।’ दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ । रासस