एफवान सफ्टको बैंकर्स मिटअप, पछिल्ला दिनमा उत्पादित प्रविधिबारे छलफल
काठमाडौं । अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम गरेको छ। कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो । कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेसनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाइल बैंकिङमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाइल बैंकिङलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ। साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माइक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको बताइएको छ। कार्यक्रममा आगामी दिनमा बैकिङ क्षेत्रमा मोबाइल बैंकिङको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो। ‘हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये बैंकर्स मिटअप एक हो। यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुसी लागेको छ। हामीले बैंकिङ उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ। यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौं,’ कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने ।
निजी क्षेत्रलाई साथमा लिन सक्यो भने पालिकामा धेरै काम गर्न सकिन्छ : अध्यक्ष पाण्डे
नवलपरासी जिल्लामा पर्ने हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् लक्ष्मी देवी पाण्डे । उनी गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनबाट सो संस्थाको अध्यक्षमा समेत निर्वाचित भएकी छन् । गाउँपालिकाको अध्यक्ष भएर एक कार्यकाल बिताइसकेकी पाण्डे दोस्रो पटक पनि थप लोकप्रिय मतका साथ विजय भइन् । पहिलो कार्यकालको अनुभवलाई मिसाउँदै आफ्नो गाउँपालिकालाई शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा नमुना काम गर्न खोजेको बत्ताउँछिन् । महासंघको नेतृत्व सम्हालेसँगै गाउँपालिकाहरूको विकासको निमित्त कामको मोडल तयार गरिरहेको उनी बताउँछिन् । अध्यक्ष पाण्डेसँग पालिकाले अगाडि बढाएको योजना, पूर्वाधार विकासका कार्यक्रम, महासंघले अगामी दिनमा पालिकाको विकासको निम्ति चाल्ने कदम लगायतका समसामयिक विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुरानी गरेका छन् । दोस्रो पटक हुप्सेकोट गाउँपालिकाको नेतृत्वमा आउनुभएको छ, पहिलो कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ? संघीयता लागू भएको पहिलो चरण भएकाले धेरै कुरा सिक्नु पर्ने, ऐनहरू बुझ्नु पर्ने, संविधान अनुसारको काम गर्ने कुरा र स्थानीय तहमा विभिन्न विषयको आवश्यकता पनि उतिकै थियो । लामो समय विकास नभएका संरचना हेर्दा हेर्दै समय बित्यो । हामीले धेरै नयाँ कामको सुरुवात अघिल्लो कार्यकालमा गरेका छौं । कतिपय शुरु गरेको काम पुरा भए भने केही हुने चरणमा छन् । हामीले भएको बजेटको सही व्यवस्थापन गर्ने कुरामा निकै मिहिनेत गर्यौं । हामीले यिनै पेरीफेरीमा पहिलो कार्यकाल बितायौं । तपाईंले पालिकाको नेतृत्व गरेर साढे ५ वर्षको समय बिताइसक्नुभएको छ । नीतिगत तथा कानुनी विषयहरूको काम पूरा गर्नुभयो की बाँकी छन् ? स्थानीय तहलाई दिएको एकल अधिकारको प्रयोग गरी ऐनहरूको निर्माण गरी काम अगाडि बढायौं । साझा अधिकार भित्र रहेका कुरामा हाम्रो मात्र अधिकार पर्दैन । यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ । हामीसँग साझा अधिकारको विषयमा कहिले पनि संघ र प्रदेशबाट छलफल गरेको छैन । त्यस कारण यो अन्योलयताको विषय बन्यो । हामी आफूले गर्न सक्ने र मिल्ने कुराहरूलाई आफ्नो तवरबाट काम गरेका छौं । तपाईंले अघिल्लो कार्यकालमा लक्ष्य अनुरूपमा काम गर्न सक्नु भयो कि भएन, अबको ५ वर्ष भित्र पालिकामा के गर्ने सोच बनाउनु भएको छ ? देशमा ७ सय ५३ स्थानीय तह छन् । ती पालिकाहरूको फरक–फरक भूगोल र आवश्यकता छन् । बजेट पनि फरक छ । त्यहाँ सबैको एउटै चाहाना र आवश्यकता हुँदैन । तर, पहिला हामी पालिकामा निर्वाचित भएर आउँदा पूर्वाधारको विकास, स्थानीय आवश्यकता, संरचना निर्माण लगायत काम गर्न धेरै बाँकी थिए । त्यो बेला वडा भवन थिएनन् । कति पय ठाउँमा दुई वटा वडा मिलेर एउटा वडा, कही एउटा गाविस मिलेर एउटा वडा बनेको थियो । हामीले अघिल्लो ५ वर्षमा जनता र पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्यौं । ठूला तथा दीर्घकालीन योजनाहरूको काम तत्काल सकिँदैन । त्यसको लागि समय लाग्छ । त्यस कारण उक्त कामहरू अधुरा छन् । ती अधुरा कामलाई पुरा गर्ने गरी यो अवधिमा काम गर्दैछौं । हामीले पाँच वर्ष भित्र गर्ने कामको परिकल्पना धेरै गरेका छौं । तर, कल्पना गरेको सबै कामहरू गर्न सकिँदैन । दोस्रो कार्यकाल हुने बित्तिकै सबै काम सम्पन्न हुन्छ भन्ने कुरा असम्भव छ । हामीले हाम्रो पालिकामा पूर्वाधार निर्माण, रोजगारीको सिर्जना गर्ने, आर्थिक विकास, नागरिकलाई आत्मनिर्भर बनाउने, दक्ष जनशक्ति उत्पादन तथा वैदेशिक रोजगारीमा गएकाहरूलाई फिर्ता गरी यही व्यवसायी बनाउन सक्यो भने विकासले पनि गति लिन्छ भन्ने कुराको महसुस गरेका छौं । हाम्रो गाउँपालिका कृषिको उर्वर थलो पनि हो । हामी कृषिमा अब क्रान्ति गर्नुपर्छ भनेर लागेको छौं । सबैको प्रकृति अनुसारको आवश्यकता छन् । यहाँ ज्येष्ठ नागरिक, बालबालिका, शिक्षा, स्वास्थ्य आदिको आआफ्नै समस्या छन् । हामीले यहाँको नागरिकको भावना अनुसार काम गर्ने हो । पालिकामा भएको बजेटको सही सदुपयोग गरेर थोरै बजेटले धेरै काम गर्ने संकल्प छ । तपाईंले वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि नेपाल फर्काएर गाउँमा रोजगारी दिलाउने प्रयत्न गर्छौं भन्नु भयो, उनीहरूलाई अब कसरी फर्काइ रोजगारी दिने योजना बनाउनु भएको छ त ? यसमा हाम्रो पालिका मात्र हैन । सबै लाग्नु पर्छ । यो काम अवश्य गर्न सकिन्छ । हामीले राम्रो पढेका विद्यार्थीलाई अमेरिका, अष्ट्रेलिया जापान पढाउने, अनि नपढेका बेरोजगार छन् । पढेनन् र काम पाएनन् भन्ने साउदी अरब र मलेसिया पढाउने । आज नेपालबाट गएका नागरिकको श्रम लिएर ती देश धनी भइसके । आज नेपालमा जसले पढेको छैन, त्यसले जागिर खाँदैन भन्ने मानसिकताको विकास भएको छ । नेपालमा जोसित जे क्षमता छ, त्यसलाई त्यही अवलम्बन गर्न सक्नु पर्याे । त्यसपछि विकासको एउटा मोडलको अगाडि बढ्न सक्छ । नपढेकाले जागिर नपाउने हो भने उनीहरूले विदेशमा कसरी जागिर पाए ? उनीहरूमा पनि नयाँ आइडिया हुन सक्छ । मान्छेलाई सीप दिनु पर्याे । त्यो सीप अनुसारको काम गर्ने वातावरण सबैले मिलाउनु पर्छ । यसमा एउटा स्थानीय तह मात्र लागेर हुँदैन । हाम्रो ठाउँमा यसको व्यवस्थापन कसरी सकिन्छ भनेर हामी लागेका पनि छौं । तपाईं एक कार्यकाल पालिकाको अध्यक्ष भइसकेपछि प्रदेश वा संघीय संसदको सदस्य बन्नेतर्फ कोसिस नगरेर किन पुनः पालिका प्रमुख नै रोज्न पुग्नु भयो ? हामीले एक कार्यकाल स्थानीय तहमा काम गरेको एउटा अनुभव बोटुल्यौं । त्यसले गर्दा अर्को कार्यकालमा काम गर्न सजिलो हुन्छ । यसको वास्तविकता बल्ल बुझिन्छ । र, हामीले सुरु गरेका अधुरा कामको छिटो र छरितो तरिकाले सम्पन्न गर्न सकिन्छ । पालिकाले नागरिकलाई सेवा दिने कुरा हो । संघ र प्रदेशको काम पनि यही हो । यहाँको अनुधारा काम माथिल्लो निकायमा गएर मात्र हैन, नागरिकको तीव्र चाहाना र आवश्यकता यहाँका अधुरा विकास निर्माणको काम यही स्थानीय तहमा बसेर राम्रो बनाउन सकिन्छ । एक पटको अनुभवलाई मिसाएर अर्को कार्यकाल दोहोर्यायो भने यहाँ विकास निर्माणदेखि हरेक क्षेत्रको राम्रो काम गर्न सकिन्छ भनेर एक कार्यकाल दोहोर्याएको हो । फेरी मेरो अनुभव यही पोख्छु, अझै राम्रो काम गर्नुपर्छ भन्ने मेरो संकल्प हो । त्यसका मैले स्थानीय तह नै दोहोर्याए । तपाईंको गाउँपालिकामा निजी क्षेत्रबाट लगानी गर्न चाहनेहरूको लागि के गर्नुभएको छ ? सो विषयमा कत्तिको ध्यान पुर्याउनुभएको छ ? हामीले यसमा धेरै कसरत गरिरहेका छौं । तर, ऐनले के भन्छ भन्ने कुरा छ । ऐनले धेरै कुरालाई बाँधेको छ । मैले अघिल्लो कार्यकालमा लगानी सम्मेलनको अभियान चलाएकी थिएँ । मैल लगानी सम्मेलन गर्न यहाँको प्राविधिक कारणले सकिनँ । विकासका पुर्वधारहरु सरकारले बनाउने हो । निजी क्षेत्रले व्यवसाय गर्छ, कर तिर्छ, रोजगारी दिन्छ, वास्तविकताको पहिचान गर्छ, उसले आम्दानी गर्दा राजश्व सरकारलाई आउने हो । यो चाहिँ सरकारको कर्तव्य हो भनेर मैले निजी भित्र्याउनु पर्छ भनेर योजना बनाएको छु । कतिपय कुरा आफूले चाहेर पनि नहुँने विषयहरू छन् । हामीले सक्ने ठाउँमा निजी क्षेत्रलाई पनि सहयोग गर्छौं । निजी क्षेत्रलाई साथमा लिएर काम गर्न सक्यो भने धेरै विकास गर्न सकिन्छ । हुप्सेकोट चक्रपथको निर्माणको काम सम्पन्न भयो ? यसको काम अहिले पनि चलिरहेको छ । सो चक्रपथ निर्माणको काम गर्न सबैभन्दा असजिलो छ । तराईको क्षेत्रमा चक्रपथ निर्माण गर्न गाह्रो छैन । यहाँ ट्र्याक पनि ओपन नभएको पहाडी क्षेत्र छ । तिनतले गाउँपालिका छ । तराई क्षेत्रमा पर्ने चक्रपथको कतै कालोपत्रे पनि भइसकेको छ । पहाडी क्षेत्रमा कही चट्टान छ कही पहिरोले बिगारेको छ । यसको व्यवस्थापन सहित काम गरेर बाह्रै महिना सडकमा यातायात सञ्चालन गर्ने अवधारणको साथ चक्रपथ निर्माणको काम सुरु गरेका हौं । अहिले पनि यस वर्षको बजेटको काम भइरहेको छ । यस वर्ष लगभग ट्र्याक ओपन गर्ने काम सकिन्छ । केही ठाउँमा चट्टान भेटिएको छ । उक्त ठाउँमा बलास्ट गरेर सडक निर्माण हुने भनिएको छ । डेढ सय मिटर ठाउँमा बलास्ट गर्नुपर्ने हुन्छ । बलास्ट गर्दा पहिरो जाने डर हुन्छ । त्यसको अध्ययन गरेर काम सुरु गर्नेछौं । अरू ठाउँमा स्तरोन्नतीको काम भइरहेको छ । हामीले यस वर्ष चक्रपथलाई जोड्छौं । अब महासंघको प्रसंग जोडौं, गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष पदमा निर्वाचित हुन भएको छ, स्थानीय तहको विकासको निमित्त यसले कस्तो भूमिका खेल्छ र आगामी दिनमा कसरी अगाडि बढ्ने सोच बनाउनु भएको छ ? स्थानीय तह बलियो बनाउने भन्ने कुरामा गाउँपालिका महासंघ लाग्छ । संघ प्रदेश तथा विकास साझेदार संस्थासँग लबिङ गर्छ । जनप्रतिनिधिहरूको क्षमता विकासको काम गर्छ । र, मुद्दा मामिला धेरै सिर्जना भए भने त्यसको समाधान गर्छ । स्थानीय तहलाई कमजोर गाराउँने विषय उठे भने ध्यानाकर्षण गराउँछ । यसको समस्याको समाधान गर्छ । गाउँपालिका महासंघले पालिका विकासको निमित्त सधै लाग्छ । पञ्च वर्षीय रणनीतिक योजना बनाउने तयारी भइरहेको छ । योजना नबनाई हामी अगाडि बढेर मात्र हुँदैन । त्यसकारण योजना बनाउँदा विज्ञहरूसँग बसेर राय÷सुझाव लिएर कस्तो खाल्को रणनीतिक योजना बनाउँदा महासंघ सफल हुन्छ । जसका कारण स्थानी तह बलियो हुन्छ भनेर लागेका छौं । हामी यही योजनाको साथ अगाडि बढ्छौं । गाउँपालिका राष्ट्रिय महासंघले पनि आफ्नो एक कार्यकाल पूरा गरेर महाधिवेशनमार्फत् नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विगतको कार्यकाललाई कसरी समीक्षा गर्नुभएको छ ? विगतमा धेरै काम गर्नुपर्ने थियो । तर, गर्न नसकिएका कामहरू छन् । अब हामी ती काम गर्छौं । हामी रचनात्मक तथा नयाँ कामहरूको सुरुवात गछौं । स्थानीय तहका धेरै जनप्रतिनिधिहरूले प्रदेश सरकारको आवश्यकता छैन भन्छन् नि ? हामी यसको डिसिजन कर्ता हैन । हिजो संघीयताको मोडल धेरै विज्ञहरूले बनाई संघीयता कार्यान्वयन गर्दा ल्याएको प्रणालीलाई हामीले यो छैन र छ भन्दैमा खारेज भइ हाल्नु आवश्यक छैन । अभ्यास गर्दै जाँदा जे कुरा उपयुक्त हुन्छ, संघीयता कार्यान्वयन गर्दा सबै भन्दा राम्रो के हुन्छ भनेर संघ र प्रदेश सरकारले नतिजा हेर्न भ्याको छैन । हामी स्थानीय तहमा छौं । हामीलाई जनताको सेवा गर्न भ्याइ नभ्याई छ । कामको परिणाम आजको भोलि नै आउँदैन । भएको संरचनाले राम्रो काम गर्नु पर्याे । यसको समिक्षहरु गर्नु पर्याे । यो नहुँदा पनि राम्रो हुने रहेछ, स्थानीय तहले प्रदेश चाहिँदैन, प्रदेशले संघ चाहिन्न, संघले यी दुवै चाहिन्न भन्ने हैन । हामीले लड्नको लागि यी निकाय ल्याएको हैन । यसको समन्वय गर्ने सहकार्य गर्ने, सम्बन्धको विकास गर्दै जाने हो । हामीले नागरिकको अनुहार हेरेर काम गर्नुपर्छ । जहाँ बढी खर्चिलो छ, त्यो चिजको कटौती गर्नु पर्याे । हामीलाई अनावश्यक तड्क भडक गरेर जनतालाई बिर्सन छुट छैन । आवजहरु आएको छन्, प्रदेश सरकार खर्चिले भयो भनेर । हामीलाई पनि आरोप छ । स्थानीय तहका जनप्रतिनिधि सधै गाडी चढेर हिड्छन, पदको दुरुपयोग गर्छन्, जनताको गरिब छन्, त्यहाँ मलम पट्टी लगाउँदैनन् भनेर । हाम्रो आवश्यकता होकि हैन भने कुराको पहिचान गर्न सक्ने बनाउने काम हाम्रो हो । खर्च स्थानीय प्रदेशमा बढ्यो भन्नु भन्दा पनि यो बनेको संरचनालाई कसरी अधिकतम उपयोग गरी आफ्नो देशको विकास गर्न सकिन्छ भन्ने सबै लागौं । सरकारले देशमा धेरै राम्रो काम गर्न सक्छ । प्रशासनिक, आर्थिक र राजनीतिक संघियता आउनु पर्यो । संविधानमा मात्र हैन कार्यान्वयन पनि आउनु पर्यो । यी आयामहरु बलियो हुनस पर्छ । यी आयमको विकास भयो भने देश साँच्चै विकास हुन्छ । आयात बस्तु बृद्धि भएको हामी विर्सन्छौं । अन्य देशबाट सियो पनि आयात गरेर ल्याउँछौं, तर यही उत्पादन चाहादैनौं । अरूलाई दोष देखाएर अब देश बन्न सक्दैन । त्यस कारण अब हामीले नयाँ परिकल्पना गरेर अगाडि बढ्नु पर्याे । राज्यको ढिकुटि बढाउनु पर्याे भन्ने कुरामा लाग्नु पर्याे । यो राम्रो र नराम्रो भन्नु आवश्यक छ जस्तो भन्नु मलाई लाग्दैन । स्थानीय तहहरूमाथि सुशासन र पारर्दशिताको प्रश्न उठेको छ । स्थानीय तहहरूलाई सुशासित र विश्वसनिय बनाउन के गर्न सकिन्छ ? हामी जनप्रतिनिधिहरू पनि यसैलाई बलियो बनाउन पर्छ भनेर लाग्ने हो । यहाँ खटिएका कर्मचारी पनि त्यही अनुरूपको संकल्प सहित अगाडि बढ्नु पर्याे । एउटा स्थानीय तह कमजोर भएको देखियो भने त्यसको अनुगमन मूल्याङकन गर्ने त्यसलाई सहजीकरण गरिदिने, क्षमता विकास गर्ने नेपाल र प्रदेश सरकारको काम हो । एउटा स्थानीय तहले गल्ति गर्यो भने सवै तहलाई मुछ्ने चलन छ । त्यस्तो हैन । एउटा सांसद अथवा मन्त्रीले गल्ती गर्यो भने उसको पद जान्छ देशै भरी सांसद अथवा मन्त्रीको पद जाँदैन । त्यस्तै पालिकामा गल्ती रहेर सजाय दिनु पर्याे । राम्रो कामको उजागर गर्नु पर्यो । अहिले गाउँमा धेरै परिवर्तन भएको पाउनु हुन्छ । हामीले आफ्नो स्थानीय तहमा अर्को स्थानीय तह भन्दा कमजोर हुन्छ कि भनेर काम गर्छौं । नाराले मात्र देश संवृद्ध बनाउँछु भनेर हुँदैन । सुशासनमा स्थानीय तहलाई ल्याउन सकिन्छ । हामीलाई नागरिकले नजिकबाट निहाली रहेको हुन्छ । सिंहदरवारमा के भइरहेको छ यहाँबाट देख्न सक्र्दनन् तर हाम्रा काम जनताले हेरिरहेका हुन्छन् ।
सुर्खेतमा पढ्दै कमाउँदै कार्यक्रममा रमाउँदै विद्यार्थी
सुर्खेत । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा(आमालाई पनि सिकाउन पाएका छन् । ‘विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु’, उनले भने, ‘अहिले उहाँहरु पनि व्यावसायिक कृषि गरिरहेका भने यसले उत्पादन पनि बढाएको छ ।’ सुदीपजस्तै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममार्फत् कृषिमा आबद्ध भएका छन् । साथै अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरेरित गरिरहेका छन् । ‘हामीले कृषिसँग सम्बन्धित प्राविधिक ज्ञान व्यवहारमा पनि लागू गरेका छौँ’, कक्षा ९ कि स्मृति रानाले भनिन्, ‘विद्यालयमा सिकेको कृषि उत्पादन गर्ने तरिका घरमा गएर सिकाउँछौँ । यसले प्राविधिक ज्ञानसमेत सिक्न पाएका छौँ ।’ पहिले परम्परागत तरिका अपनाउँदा तरकारी किनेर खानुपर्ने बाध्यता आधुनिक तरिका अपनाएपछि हटेको रानाको भनाइ छ । विद्यार्थीले ‘पढ्दै कमाउँदै कार्यक्रम’मार्फत् कृषि तथा पशुपालन गर्दै आएका छन् । जुन नेपालकै पहिलो नमूना कार्यक्रम हो । त्यसबाट हुने आम्दानी विद्यार्थी आफ्नो शिक्षामा खर्च गर्दै आएका छन् । कार्यक्रममा सहभागी अर्की छात्रा मनिसा तारामीले कार्यक्रममा सहभागी भएकाले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि दिएको बताइन् । जनज्योति मावीका शिक्षक नारायणविक्रम जिसीले शिक्षालाई आयाआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताए । ‘हामी शिक्षालाई व्यावहारिक बनाउन चाहान्छौँ’, उनले भने, ‘पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।’ बराहाताल गाउँपालिकाले पनि पढ्दै कमाउँदै कार्यक्रमलाई प्रत्येक विद्यालयमा लागू गर्नेयोजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले भनिन्, ‘नेपालमै नमूना कार्यक्रमका रुपमा जनज्योति मावीले ‘पढ्दै कमाउँदै कार्यक्रम’लाई पालिकाभरका विद्यालयमा लागू गर्ने योजना बनाएका छौँ । विद्यालयलाई जग्गा उपलब्ध गाराइदिने र व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाको योजना छ ।’ विसं २०६८ देखि प्राविधिक विषय अध्यापन सुरु भएको माविमा २६ जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । कृषि विषय अध्ययन गर्ने विद्यार्थीलाई च्याउ खेती, पशुपालन, तरकारी खेतीका लागि ऋणसहित खेतीयोग्य जमिन उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले कृषि उत्पादनमा लागेर विद्यालयको मासिक शुल्क बुझाएर बचतसमेत गर्ने गरेका छन् । यो कार्यक्रमलाई अहिले सङ्घीय सरकारलेसमेत अपनत्व लिँदै देशभर नै लागू गर्न सुरु गरेको छ ।
रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् । ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं, लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ,’ उनले भने । रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौं भन्नुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताए । गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै पौडेलले भने,‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौं, त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं, त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुनेछ ।’ वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनु पर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने जनाए ।
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामी सबै तिल रोकायाको घर बनाउन आएका मिस्त्री थिए । गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञानप्रतिष्ठान लगिएको थियो । गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरमा १८ करोडको ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन
भरतपुर । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ । “रङ्गशालाको ऋण तिर्नुपर्ने छ, यसका लागि उपायको खोजी भइरहेको छ,” उनले भने । निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउनुहुँदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताइन् । सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि रू २२ करोड र प्रदेश सरकारले रू पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट आठ करोड रुपैयाँँ खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको दाहालको भनाइ छ । रङ्गशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उहाँले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताए । यसअघि फाउण्डेसनले निर्माणको जिम्मा लिएपनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो । फाउण्डेसनले महानगरपालिकालाई रङ्गशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो । रासस
गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी
काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले कति हण्डर/ठक्करहरु खाएर काम गरिरहेका छौं,’ कुराकानीको सुरुमै एउटा बुट देखाउँदै नैराश्यता व्यक्त गरे गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.का अध्यक्ष अमिर प्रताप जंगबहादुर राणाले । उनी रोकिएनन् । ‘म धेरै सार्वजनिक हुन चाहँदिन, पत्रकारहरुसँग पनि कुराकानी गर्न खासै चाहना राख्दिनँ तर बोलेपछि भने मनका सबै बहहरु पोखिहाल्छु, यस्ता अनगिन्ती ठक्करहरु त किरण शुजले कति भोगेको छ कति,’ उनले मुस्कुराउँदै थपे– ‘त्यसैले त हामी अहिले यो अवस्थामा आइपुगेका छौं, र देशकै ठूलो फुटवेयर उद्योग भनेर परिचित छौं ।’ नेपाली फुटवेयर उद्योगमा किरण शुज म्यानुफ्याक्चर एक अग्रणी र ट्रेण्ड सेटर कम्पनीको रुपमा स्थापित भएको छ । आजभन्दा तीन दशक अगाडि अर्थात् सन् १९९० तिर नेपालमा जुत्ता चप्पलको प्रयोग कमैले गर्थे । बजारमा विदेशबाट आयातित जुत्ता चप्पल थिए । नेपालको त्यो अवस्थालाई बुझेर विवेक लगाए पाल्पाका नुरप्रताप जंगबहादुर राणाले । उनले दुई जना अन्य साथीहरुको सहयोगमा हेटौंडामा हात्तीछाप चप्पल कारखाना खोले । राणालाई सुरुमै सन्तोष राठीले साथ दिए, पछि विरेन्द्र शाहले पनि लगानी गरे । अमिरका पिता स्वर्गीय नुरप्रताप जंगबहादुर राणाका लागि सुरुवाती दिनहरु निकै सकसपूर्ण रहे । चप्पल उद्योग तयार भयो, उत्पादन शुरु भयो तर चप्पलको फिनिसिङ्ग राम्रो आएन । चिटिक्क परेका विदेशी चप्पल लगाउने बानी परेका नेपालीहरुका सामू उनको हात्तीछाप चप्पलले बजार पाएन । तर, राणाले हरेश खाएनन् । बरु झन् सशक्त बन्दै अझै बढी मिहिनेत गर्न थाले । भारतबाट विकसित प्रविधि भित्र्याए । त्यसपछि चप्पलले राम्रो फिनिसिङ्ग पायो । हात्तीछाप चप्पल किन्नेहरुको उद्योगमै लाइन लाग्न थाल्यो । हरेक नेपालीको खुट्टामा हात्तीछाप चप्पल पुग्न थाले । ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ ‘उस्तै हो नानु’ बोलको रेडियो विज्ञापन हरेक नेपालीको मुखबाट सुनिन थाल्यो । यो परिवारले सन् १९७० देखि नै हो यस्तै हण्डर/ठक्कर र विविध झमेलाहरु झेल्नु परेको । त्यो सिलसिलाा अझैं रोकिएको छैन । अध्यक्ष राणा भन्छन्– ‘यस्तै अल्झनहरुले मलाई थप सशक्त बनाउँछ, बुबाले कर्मठ, लगनशीलता, जुझारुपन र मिहिनेत सिकाउनु भयो, आमाले संस्कार र अनुशासन सिकाउनुभयो, फुटवेयर मेरो प्यासन हो, म यो क्षेत्रमा काम गरेर कहिल्यै थाक्दिनँ ।’ गोल्डस्टार नेपालको ‘नम्बर वान’ फुटवेयर ब्राण्ड हो । गोल्डस्टार उत्पादक कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई नेपाल सरकारले सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रुपमा र सबैभन्दा बढी रोजगारी दिने कम्पनीको सम्मान गरिसकेको छ । अहिले ९ वटा देशमा गोल्डस्टार निर्यात भइरहेको छ । कम्पनीका अध्यक्ष अमिरप्रताप राणा सरकारसँग अनुमति लिएर विभिन्न देशमा गोल्डस्टारका फ्याक्ट्रीहरु खोल्ने, गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने र देशको डलर आम्दानी वृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् । राणाको हात्तीछाप चप्पल कारखाना आज देशको सबैभन्दा ठूलो फुटवेयर उद्योगका रुपमा परिचित भएको छ । फुटवेयर उद्योग अमिरप्रताप राणाको परिवारका लागि एक आदत बनिसकेको थियो । ‘कर्म गर फलको आशा नगर’ भन्ने सिद्धान्तमा उनको परिवार झुमिसकेको छ । हात्तीछाप चप्पलपछि किरण उद्योगले वि.सं. २०५० सालबाट गोल्डस्टारको उत्पादन सुरु ग¥यो । गोल्डस्टारको हालत पनि सुरुमा हात्तीछापको जस्तै भएको अध्यक्ष राणा सुनाउँछन् । तर, पछि फिनिसिङ्ग राम्रो बनेपछि सबैको रोजाइमा गोल्डस्टार जुत्ता परेको उनी बताउँछन् । ग्राहकको रोजाइमा गोल्डस्टार परे पनि विभिन्न समयमा किरण शुजले भोग्नु परेका समस्या र सकसहरु अमिरप्रताप राणाको दिमागमा अहिले पनि ताजै छन् । नेपाली व्यवसायीहरुले चीनबाट गोल्डस्टार जस्तै जुत्ता ल्याएर गोल्डस्टारको लोगो हालेर बिक्री गर्नेदेखि सस्तो र टिकाउ भएकाले माओवादी लडाकुले यो जुत्ता लगाएकै कारण तत्कालीन शाही सरकारले गोल्डस्टार जुत्ता बिक्रीमा बन्देज लगाउनेसम्मका दुःखद दिनहरु अमिरप्रतापको दिमागमा नमिठो छापका रुपमा बसेका छन् । ‘सुरुवातमा ग्राहकले जुत्ता/चप्पल मन नपराएर दुःख पाइयो, पछि बढी बिक्री भएपछि दुःख पाइयो, कति रातहरु बुबा घरमा आएर आमासँग रुनु हुन्थ्यो, बुबाले त्यतिबेला हरेश नखाएकै कारण आज गोल्डस्टार ग्लोबल ब्राण्ड बन्ने प्रयास गरिरहेको छ,’ अध्यक्ष राणाले विगत स्मरण गर्दै र भावी योजनाहरु सुनाउँदै भने । ग्लोबल ब्राण्ड बन्ने दौडमा अहिले नेपाली सीमित वस्तु मात्रै विदेश निर्यात हुन्छन् । निर्यात भएर विदेशी बजार पनि कब्जा गर्ने तागत गोल्डस्टारले राखेको छ । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाब्लिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने अध्यक्ष राणा बताउँछन् । यो नै सबैभन्दा बढी जुत्ता चप्पल निर्यात गर्ने उद्योग बनेको छ । सन् २०१५ मा नेपालबाट सबैभन्दा बढी निर्यातबापत् सरकारले गोल्डस्टार उत्पादक किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई उत्कृष्ट करदाताको रुपमा सरकारले सम्मानित गरेको थियो । सन् २०१५ मा उद्योगले करिब ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन हालसम्मकै उच्च कारोबार हो । सोही वर्ष यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । उद्योगमा हालसम्म ४ अर्बको हाराहारीमा लगानी भएको उनको अनुमान छ । उद्योगले दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । करिब ३ हजारले रोजगारी दिएको किरण शुज उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । ‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाब्लिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्– ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ ग्लोबल ब्राण्ड बनाउनका लागि यसमा सरकारको महत्वपूर्ण साथ चाहिने उनी बताउँछन् । नेपाली जुत्ताका लागि अमेरिकाले ३७.५ प्रतिशत ‘ड्युटी ट्याक्स’ लगाउँछ । कर अवरोध हटाउन धेरै व्यक्ति तथा निकायसँग छलफल भइरहेको उनी सुनाउँछन् । नेपाली उद्यमीले विदेशमा लगानी गर्न, उद्योग खोल्न, उत्पादन गर्न पाउने नीति सरकारले बनाउनु पर्ने उनको भनाइ छ । ‘सरकारले अनुमति दियो भने म भोलि नै भारतमा उद्योग खोल्न जान्छु, भारतमा जुत्ताको धेरै ठूलो बजार छ’ उनले भने– ‘नाफा नेपालमै आउने हो, अब नीति परिवर्तन हुनुपर्छ, हामीले हाम्रो नीति मात्रै हेरेर हुँदैन, विदेशी अर्थात् हामी जस्तै देशले अवलम्बन गरेको नीति हेरेर पनि हाम्रो नीति बनाउन सक्छौं, लगानी बाँधेर हुँदैन ।’ उद्यमी जस्तै नीति निर्माता पनि समयअनुसार चल्नु पर्नेमा उनले जोड दिए । ‘समयअनुसार चल्न नसक्नेहरु पछि पर्छन्, हराउँदै जान्छन्’ उनले भने । सबैको एउटै रोजाइ ‘गोल्डस्टार’ समयक्रमसँगै सहज, सस्तो र टिकाउ यसको अर्को महत्वपूर्ण विशेषता हो । त्यसैले पनि अहिले गोल्डस्टार जुत्ता सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । गोल्डस्टारले समयलाई बुझ्छ । मान्छेहरुको रोजाइलाई बुझ्छ । र, यसले मार्केटिङ्ग गर्न जान्दछ । अध्यक्ष राणा भन्छन्– ‘यो उद्योग एउटा इनोभेसन हो, तीन/तीन महिनामा फेसन परिवर्तन हुन सक्छ, वस्तुको ब्राण्डिङ र मार्केटिङ्ग गर्न सक्नुपर्छ, त्यससँगै एउटा जुत्ताले मान्छेको चाहना, इच्छा र आकांक्षा पुरा गर्न सक्नुपर्छ ।’ त्यसैले त अहिले गोल्डस्टार बच्चादेखि वृद्धहरुको रोजाइ बनेको छ । उद्योगपतिहरु यसको खुलेर प्रशंसा गर्न रुचाउँछन् । ट्वाइलेट जाँदा लगाउने चप्पलदेखि पार्टीमा जाने जुत्तासम्म गोल्डस्टार नै हुन्छ । ‘बिहान उठेर ओछ्यान छोड्दा लगाउनेदेखि राती सुत्न जानुभन्दा अगाडि लगाउने सबै जुत्ता चप्पल गोल्डस्टारले नै उत्पादन गर्छ, गोल्डस्टार मानिसको जीवनशैलीसँग जोडिएको छ,’ उनले भने । ‘मान्छे आफ्नो लक्ष्य भेटाउनका लागि लाग्नु पर्छ, लगाव झुकाव हुनुपर्छ । धेरै उद्यमीहरु लगानीको विविधीकरणमा जोड दिन्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हललगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफ्नो स्वामित्वमा लिएका छन् । ‘हुन त मैले धेरै गर्न सकिरहेको छैन तर पनि अझै गोल्डस्टारको प्रतिस्पर्धी नेपालमा छैनन्, म फुटवेयरको व्यवसाय गर्ने साथीहरुलाई मिहिनेत गर्नुस्, लागि रहनुस् भन्छु, उहाँहरुको मिहिनेत भएन भने मेरो पनि उर्जा घट्छ, उहाँहरुले राम्रो ग¥नुभयो भने प्रतिस्पर्धी आयो भनेर म पनि राम्रो गर्छु, बजार आफै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘तर, अझै पनि प्रतिस्पर्धी देख्दिँन, चाइनाबाट जुत्ता ल्याएर नेपालमा प्रदर्शनी गरेर देश बन्दैन ।’ उनी नेपाली फुटवेयर उद्योगमा धेरै सम्भावना भएको सुनाउँछन् । फुटवेयर उद्योगमा धेरै सम्भावना भएकै कारण धेरैले रोजगारी पाउन सक्ने उनी बताउँछन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा अहिले सबै व्यवसायबाट व्याक भएर फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् । कुमारी बैङ्कमै ६ वर्ष काम गरेकी राणाकी श्रीमती विदुषी राणा उद्योगको म्यानेजिङ्ग डाइरेक्टरका रुपमा काम गरिरहेकी छिन् । अहिले यही दम्पत्ति गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउन तम्सिएको छ । अध्यक्ष राणा भन्छन्, ‘फुटवेयर मेरो आदत बनिसकेको छ, म यो क्षेत्र छोडेर बाहिर जान सक्दिन, बाहिर हुँदा टाउको दुख्यो भने म अफिस आउँछु, अफिस आएपछि आफै ठीक हुन्छ, औषधि नै खानु पर्दैन, यो क्षेत्र मेरो लागि प्यासन भइसक्यो, अब जे गर्छु यही क्षेत्रमा गर्छु ।’ धेरै उद्यमीहरु लगानीको विविधिकरणको कुरा गर्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हल लगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा पछिल्लो मर्जसँग कुमारी बैङ्कलाई टप फाइभमा पु¥याउन सफल भएकोमा खुसी छन् । उनको प्यासन, उनको फोकस ‘गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने’ मा केन्द्रीत छ । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव
म्याग्दी । पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब १० करोड रुपैयाँको कारोबार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।’ आयोजकले महोत्सव अवधिभर १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो । महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न सङ्घसंस्था र जनजातिको झाँकी, वेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पु¥याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले बताए । महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा एक करोड २४ लाख ८७ हजार आम्दानी र एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिए । परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे ।