विकासन्युज

मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छिन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताइन् । उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । उनले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् । उनले भनिन्, ‘अब गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गरेर प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौँ । १५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’ स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।

विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने, भागेर गरेको विवाह दर्ता नै नहुने

काठमाडौं । विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर २ ले विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले बाल विवाह मैलाएको भन्दै विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले पुसको पहिलो साता विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने निर्णय गरेको वडा नम्बर २ का वडा सदस्य अमृका प्रसाद थारुले बताए । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य रहेको भन्दै सूचना समेत प्रकाशन गरेको उनले जानकारी दिए । ‘हाम्रो वडामा केही समय अगाडि बाल विवाह हुँदैछ भनेर कसैले प्रहरीमा उजुरी गरिदिएछ, त्यस पश्चात् ठूलो विवाद भयो, विवाह पनि रोकियो, त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर विवाह गर्दा वडाको स्वीकृति लिनुपर्न व्यवस्था गरेका हौं,’ उनले भने । जुनसुकै उमेर समूहका नागरिकले पनि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने पनि थारुले जानकारी दिए । सिफारिस नलिई विवाहको गरेको थाहा पाएमा कारबाही गर्ने समेत चेतावनी वडा कार्यालयले दिएको छ । उनले भागेर गरेको विवाह दर्ता नहुने पनि जानकारी दिए ।

शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय अगाडि बढेको छ । शिक्षामन्त्रीको जिम्मेवारीमा शिशिर खनाल आएसँगै उनले सो विषयलाई अगाडि बढाएका हुन् । शिक्षा मन्त्रालयमा भएको छलफलका कार्यक्रममा मन्त्री खनालले सो विषयलाई प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ । मन्त्री खनालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षकहरुले मासिक रुपमा तलब नपाउने समस्याको कारणको विषयमा १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । अहिलेसम्म शिक्षकहरुले आफ्नो तलब चौमासिक रुपमा बुझ्दै आएका छन् । शिक्षा मन्त्रीले तलब मासिक रुपमा उपलब्ध गराउनेगरी छलफल अगाडि बढाएपछि शिक्षकहरु उत्साहित भएका छन् ।

हिउँ पन्छाइएपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी सडक

मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्ध सडक सञ्चालनमा आएको हो । यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए । विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्ध हुने गरेकामा चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।

नागरिकता लिन रवि पुगे जिल्‍ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ । शुक्रबार सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो ।

कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीइओ)मा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ १५ गतेदेखि लागु हुने गरि कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका उनले कामु सीइओको जिम्मेवारी पाएका हुन् । उनी यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

ह्याकरको कारण आइतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या

काठमाडौं । आईतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले आईतबार बिहानैदेखि पुनः वेबसाइटमा समस्या देखिएको जनाएको छ । सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल शनिबारदेखि निरन्तर रुपमा अट्याक्ट आउँदा समस्या भएको बताउँछन् । ‘अहिले पनि विभिन्न देशबाट नियमित रुपमा अट्याक्क आइरहेको छ, हामीले रोक्ने प्रयास जारी गरी राखेका छौँ’, उनले भने, ‘आइतबार बिहानैदेखि समस्या देखिएको छ, यो क्रम दिनभर चल्न सक्छ ।’ मल्टिपल ठाउँबाट यस्तो अट्याक (आक्रमण) आएको भन्दै उनले आइतबार साँझसम्म पत्ता लाग्ने बताए । पोखरेलका अनुसार साइबर आक्रमणबाट सरकारी वेबसाइटका डाटा र सूचनामा भने कुनै हानि भएको छैन । उनले नियमित रुपमा नभएर केही केही समय वेबसाइट चल्ने गरेको बताए । उनले प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको बताए । त्यसलाई रोक्न एनआईटीसीले प्रयास गरिरहेको बताए । शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट करिब ४ः३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको थियो । लामो समयसम्म सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिए । कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।