बैंक तथा वित्तीय संस्थाले ऋणीलाई किन राख्छन् कालोसूचीमा ?
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ऋण नतिर्ने ऋणीहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने ऋणीको संख्या विगतको तुलनामा ह्वात्तै बढिरहेको देखिन्छ । काठमाडौंको कमलादीस्थित कर्जा सूचना केन्द्रको माघ १४ गतेको विवरण अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट ४१ हजार ४६५ जना र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुबाट २१४ जना ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भइसकेका छन् । जसबाट बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको र देशको आर्थिक अवस्था नाजुक रहेको यथार्थ चित्रण हुन जान्छ । नेपालमा पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको प्रत्यक्ष असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक वातावरणको कारणले गर्दा नेपालको अर्थतन्त्रले निकै ठूलो चुनौतिको सामान गरिरहेको छ । आर्थिक गतिविधि चलायमान तथा तरलता समस्या तत्कालै समाधान हुने आंकलन गर्न कठिन छ । बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय साथै आन्तरिक अर्थतन्त्रले भोगेका कठिन चुनौतिहरुको सामना अझै गर्नुपर्ने देखिन्छ । जसको मुख्य कारण देशको अनिश्चितकालिन राजनीतिक वातावरण, अर्थतन्त्रमा सीमित व्यक्तिको पहुँच, लगानीको वातावरण नहुनु, आयात, निर्यातमा असमानता, दीर्घकालिन सोचको कमी, पर्यटन क्षेत्रमा परेको प्रभाव, कानूनी शासनको कमी, उत्पादनशील क्षेत्रमा लगानी नहुनु, श्रमको सम्मान नहुनु आदि हुन् । देशमा आएको आर्थिक मन्दिको कारणले कैयौं जनताहरुले रोजगारी गुमाउनु परेको, नयाँ व्यवसाय सञ्चालन गर्ने वातावरण नभएको कारणले गर्दा जनताहरुले दैनिकी गुजारा चलाउन समेत अप्ठ्यारो स्थितिको सामना गरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ऋणको असुली प्रक्रियामा समेत प्रत्यक्ष रुपमा असर पुगि खराब कर्जा बृद्धि भएको देखिन्छ । अझ पछिल्लो समयमा ऋणीहरु संगठित भएर बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रक्रियामा अवरोध गर्ने, कानुनको उल्लंघन गर्ने, ऋण नतिर्ने अभियान नै सञ्चालन गरिरहेको देखिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुले पनि ऋण लिँदा संस्थासँग गरेको सम्झौताको उल्लंघन गर्ने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन तथा संस्थाको कर्जा असुली नीति अनुसार सार्वजनिक पत्र-पत्रिकामा सूचना प्रकाशन गर्ने, ऋणी तथा जमानीकर्ताहरुलाई प्रचलित कानुन अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने कार्य निरन्तर गरिरहेको देखिन्छ । कालोसूची सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्थाले कालो सूचीमा समावेश गर्नको लागि नेपाल राष्ट्र बैंकको निर्देशन तथा कर्जा सूचना केन्द्रको प्रचलित नियमअनुसार ऋणी तथा ऋणसँग सम्बन्धित पक्षहरुलाई कालो सूचीमा समावेश गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकको निर्देशन २०७८ को इ.प्रा. निर्देशन नं. १२/०७८ मा कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई नियतवश कर्जा नतिर्ने ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्नको लागि सिफारिश गर्न सक्नेछन् । नियतवश ऋण नतिर्ने ऋणीहरु क) भुक्तानीको भाखा नाघेको १ वर्षसम्म पनि बैंकको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका, ऋणको पुनरसंरचना र पुनरतालिकीकरण समेतको प्रक्रिया शुरु नगरेका र भुक्तानीको प्रतिबद्धता जाहेर नगरेका । ख) संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै पनि बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गर्ने । ग) एकभन्दा बढी व्यवसाय सञ्चालन गरी आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति ऋण तिर्नमा प्रयोग नगर्ने । घ) संस्थाबाट जुन परियोजनाको लागि ऋण लिएको हो उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गर्ने (डाइभर्जन अफ फण्ड), व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गर्ने (शिफोनिङ्ग अफ), अन्य सम्पत्ति सिर्जना गर्ने, अल्पकालीन कर्जाबाट दीर्घकालीन उपयोग गर्ने तथा सम्झौता विपरित कम्पनीबाट सहायक कम्पनी वा अन्य फर्म/कम्पनीमा साधन प्रवाह गर्ने । ङ) आफ्नो नियन्त्रणमा रहेको परियोजना वा व्यवसायमा अन्य व्यक्ति वा तेश्रो पक्ष जस्तै: कामदार, कर्मचारी आदिको नाम उपयोग गरी आफ्नो संलग्नता रहेको नदेखाउने मनसाय राखी ऋण लिएका । च) कर्जाको भाखा नाघेपछि संस्थाले मागेको बखत अन्य थप सुरक्षण वा व्यक्तिगत जमानी नदिने । छ) धितो वा व्यवसायको सन्दर्भमा जानीबुझी झुठोविवरण प्रदान गर्ने । ज) ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएमा । झ) ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग/लाई मिलीमतो गरी, दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दवाव दिने । ञ) परियोजनाको वित्तीय, प्राविधिक, व्यवस्थापकीय तथा माग, आपूर्ति वा बजारपक्षको गलत विश्लेषण गरी पुँजीको लागत अस्वाभाविक रुपले वृद्धि (ओभरक्यापिटलाइजेशन) गर्ने लगानीकर्ता । परिस्थितिवश ऋण नतिर्नेहरु ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि काबु बाहिरको परिस्थिति (द्वन्द्व आदिका कारण देशमा उत्पन्न असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकुल बाह्य अवस्था) का कारण व्यवसाय घाटामा गई वा समस्याग्रस्त बनी ऋण तिर्न सक्दैनन् । म्यादभित्र ऋण तिर्न नसकेपनि आफूले ऋण लिएको संस्थाको सम्पर्कमा आई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरणको प्रक्रिया पुरा गरी संस्थालाई मान्य हुने तवरबाट भुक्तानीको प्रतिबद्धता जाहेर गरेका ऋणीहरु बुझिन्छ । बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोप परेमा, कालोसूचीमा समावेश हुनु अगावै रुग्ण उद्योग पुनरुत्थान समितिको सिफारिसमा पुनरकर्जा प्रदान गरिएका ऋणीलाई पुनरकर्जाको सुविधा उपयोग गर्न पाउने अवधिसम्म र नेपाल सरकारले ग्राहकको जायजेथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेमा उनीहरुले ऋण तिर्न सक्दैनन् । तर, त्यस्तो निर्णय आधारहरु स्पष्ट रुपमा खुलाउनु पर्नेछ । ऋणीको काबुभन्दा बाहिरको उल्लिखित कुनै असामान्य परिस्थितिको कारणबाट उत्पन्न समस्याले गर्दा समयमा साँवा र/वा ब्याज चुक्ता गर्न नसकेको व्यहोरा ऋणीले अनुरोध गरेमा र त्यस्तो व्यहोरा मनासिव देखिएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले त्यस्ता ग्राहकलाई कालोसूचीमा समावेश नगर्ने निर्णय गर्न सक्नेछ । कालोसूचीमा समावेश गर्ने प्रक्रिया तथा पक्षहरु बैंक तथा वित्तीय संस्थाले ऋणी तथा ऋणसँग सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालो सूचिमा समावेश गर्नको लागि सार्वजनिक पत्र-पत्रिकामा ऋण चुक्ता गर्न आउने सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको हुनुपर्दछ । नेपाल राष्ट्र बैंकको निर्देशन २०७८ को इ.प्रा. निर्देशन नं. २/०७८ को बुँदा नं. ४० मा कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ । पत्र-पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि ऋण चुक्ता नगरी कर्जा खराब वर्ग (लस) मा परिणत भएमा बैंक तथा वित्तीय संस्थाले ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रमा कालोसूचिमा समावेश गर्नको लागि सिफारिश गर्न सक्नेछन् । कर्जा संकास्पद वर्गमा रहेको अवस्थामा पनि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी धितो लिलामीको सूचना प्रकाशन गरिसकेपछि पनि धितो लिलाम बिक्रि नभएमा वा ऋण चुक्ता नभएमा संस्थाको नाममा गैह्र बैंकिङ्ग सम्पत्ति सकार गर्ने प्रयोजनको लागि ऋणी तथा सम्बन्धित पक्षलाई कालो सूचिमा समावेश गर्न सक्नेछन् । कर्जाको साँवा वा साँवाको कुनै किस्ता वा ब्याजको भुक्तानी मिति १ वर्ष नाघेमा (कुनै ऋणीले उपभोग गरिरहेको विभिन्न कर्जा मध्ये कुनै एउटा कर्जाको भुक्तानी मिति नाघेमा पनि), कर्जा जुनसुकै वर्गमा रहेको अवस्थामा पनि कर्जा दुरुपयोग भएको लेखापरिक्षकबाट प्रमाणित भएमा, ऋणी वेपत्ता भई ९० दिनसम्म सम्पर्कमा नआएमा, प्रचलित कानुन बमोजिम ऋणी टाट पल्टेमा, संस्थाले ऋणी विरुद्ध अदालत वा ऋण असुली न्यायधिकरणमा मुद्दा दायर गरेमा, क्रेडिट कार्डबाट सिर्जना भएको कर्जा ९० दिन नाघेमा त्यस्ता कर्जालाई बैंक तथा वित्तीय संस्थाले १०० प्रतिशत प्रोभिजन गरी खराब वर्गमा वर्गिकरण गरेर (लस) बुक गरी ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालो सुचिमा समावेश गर्नको लागि सिफारिश गर्न सक्नेछन् । कर्जा अपलेखन गर्दा, गैह्र बैंकिङ्ग सम्पत्ति सकार गर्दा, कुनै व्यक्ति वा संस्था नक्कली चेक, विदेशी मुद्रा, डेबिड कार्ड÷क्रेडिट कार्ड आदि प्रयोग गरेर ठगी गरी कसुरदार ठहरिएमा, कुनै व्यक्ति वित्तिय अपराधमा संलग्न भएको पाइएमा, खातामा अर्पयाप्त मौज्दात रहेको जानि–जानि वा गलत हस्ताक्षर गरी चेक दिएको अवस्थामा चेक ३ पटक बाउन्स भई सात दिने पत्र मार्फत सूचना दिँदा पनि रकम जम्मा गरेमा चेक लेख्ने व्यक्तिलाई कर्जा सूचना केन्द्रको कालो सूचिमा समावेश गर्न सक्नेछन् । कुनै इजाजतपत्रप्राप्त संस्थाले धितो लिलामी गर्दा धितो मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको रकम पुनरमूल्याङ्कन गर्दा दुई तिहाई भन्दा कम भएमा वा गलत स्थान/प्रकृतिको धितोलाई सही हो भनी मूल्याङ्कन गरेमा त्यस्ता धितो मूल्याङ्कनकर्तालाई इजाजतपत्रप्राप्त संस्थाको सिफारिसमा केन्द्रले कालो सूचीमा समावेश गर्नु पर्नेछ । कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि नयाँ कर्जा/सुविधा प्रदान गर्न, खाता खोल्न, बैंकिङ्ग कारोबार गर्न वा जमानत स्वीकार गर्न समेत पाउने छैनन् । कालोसूचीमा परेका व्यक्तिहरुको नयाँ राहदानी जारी नगर्न तथा भईरहेको राहदानी जफत गर्न इजाजतपत्रप्राप्त संस्थाले नेपाल राष्ट्र बैंक मार्फत नेपाल सरकारलाई सिफारिस गर्न सक्नेछ । बैंक तथा वित्तीय संस्थाले ऋणी तथा जमानीकर्ताहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेमा कालोसूचीमा परेका व्यक्तिहरुसँग सम्बन्धित परिवारका सदस्यहरुलाई कुनै इजाजतपत्रप्राप्त संस्थाले कर्जा प्रदान गर्ने छैनन् यदि गर्न चाहेमा सञ्चालक समितिले गरेको निर्णय अनुसार कर्जा प्रदान गर्न सक्नेछ । यसरी प्रदान गरिएको कर्जाको हकमा प्रचलित व्यवस्थाको दोब्बर कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । तर सम्पूर्ण कर्जाहरुको हकमा शतप्रतिशतभन्दा बढी कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछैन । (क्षेत्री बैंकिङ्ग कानुनका अधिवक्ता हुन् ।)
अनेरास्ववियुले महाधिवेशन प्रचारमा डिजिटल डिस्प्लेको प्रयोग गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए । उनका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनको भनाइ छ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेछ । महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौंका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए । जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमान्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ । गण्डकी प्रदेशको उत्तरी ढोकाको पहिचान बनाएको यो मुस्ताङको उपल्लो थलो ‘ल्हो’ उपत्यका हो । जुन ऐतिहासिक ल्हो राज्यको राजधानी पनि हो । यहाँ ग्रामीण नेतृत्वका रुपमा मुखियाको नियुक्ति तथा परिचालन गर्ने परम्परा धेरै पहिलेदेखि चल्दै आएको अनुसन्धानकर्ता रामचन्द्र बराल बताउँछन् । बरालको ‘ल्हो राज्यका घेन्पा राजनीतिले सिकाएका पाठ’ शीर्षकको अनुसन्धानमा नेपालको एकीकरण भन्दाअघि भोट र भारतका बीच आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएका पाँच वटा पैदलमार्गमध्ये सबैभन्दा होचो र छोटो मार्गका रुपमा ल्होमन्थाङले आफ्नो परिचय बनाएको उल्लेख छ । तत्कालीन भोट–भारत व्यापारका अन्य मार्गमा केरुङ, ओलाङचुङगोला, हुम्लाको हिल्सा र कालापानी रहेको बरालले बताए । ल्होमन्थाङ प्रागऐतिहासिक समाजको अध्ययनको पनि महत्वपूर्ण थलो रहेको बताउँदै उनले भने, ‘यहाँका गुफाको जीवन, भेडा तथा चौँरी पाल्ने प्रचलन आदि प्रागऐतिहासिक समाजका जीवन्त प्रमाण हुन् ।’ तत्कालीन ल्हो राज्यअन्तर्गत यहाँका विभिन्न सात गाउँहरू समेटिएका थिए । जसमा ल्होमान्थाङसहित छुनुप, छोसेर, चराङ, सुर्खाङ, घमी र घिलिङ हुन् । ल्होमान्थाङ आउने पर्यटकले यहाँको ऐतिहासिकस्थलमा रमाउने मात्र नभई हिमाली संस्कार र संस्कृतिका जीवित इतिहास प्रत्यक्ष अनुभूति गर्न पाउँछन् । यहाँ ऐतिहासिक मुस्ताङी राजाको दरबार छ । लोमान्थाङको दरवार, गुम्बा, छोर्तेन, किल्ला र मानवबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा ल्होमान्थाङ दरबार, चराङ दरबार र घमी दरबारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । ल्होमान्थाङ दरबारको पर्खालसँगै यहाँका हरेक भूभागलाई घेरिएको पर्खाल मौलिक विशिष्टता हो । ल्होमान्थाङ प्रवेश गर्ने स्थानमा निर्मित प्रवेशद्वारले यहाँको अवस्थितिको सङ्केत गर्दछ । पछिल्ला समयमा अधिकांश सहर प्रवेश गर्ने स्थानमा प्रवेशद्वार राख्ने प्रचलन ल्होमान्थाङकै सिको गर्दै गरिएको हुनसक्ने अनुमान गरिन्छ । बौद्ध धर्मगुरु पद्मसम्भवले तान्त्रिक विधिद्वारा यस स्थललाई शुद्धीकरण गर्दै बस्तीयोग्य बनाएको विश्वास पनि कायमै छ । यहाँ गुरु पद्मसम्भवलाई अत्यन्त श्रद्धाका साथ पुज्ने गरिएको छ । ल्होमान्थाङको प्रवेशद्वारबाट छिर्नासाथ यहाँको मौलिकताको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ । प्राचीन कला, संस्कृति, मानव बस्तीका गुफा र पर्खालले घेरेको सहर नै यहाँको मौलिकता हो । एकैठाउँमा मिलेर बसेको बस्ती र यहाँ पाइने आतिथ्यताले जो कोही पर्यटकलाई लोभ्याउने गरेको छ । विशेषगरी यहाँ तिब्बती संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ । लोमान्थाङ मात्र नभई मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा प्रचलनमा रहनु यहाँको अर्को मौलिकता हो । लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । सकेसम्म प्रहरी र अदालतमा नजाने गरी आफ्ना आन्तरिक समस्या गाउँमा नै समाधान गर्ने यहाँको परिपाटी अहिले पनि कायमै छ । यहाँका स्थानीयवासीले आफ्ना अधिकांश समस्या मुखिया कहाँ नै पुगेर छिनोफानो गर्दै आएका छन् । गुफा, गुम्बालगायतका माटो निर्मित संरचना भएका कारण ल्होमान्थाङले माटोको सहरका रुपमा पनि उपमा पाएको छ । पछिल्ला समयमा जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रका माटो निर्मित संरचना जोगाउने विषय चासो र चिन्तामा परेको छ । विगतमा हिउँ पर्ने स्थानहरूमा पानी पर्नेक्रम बढ्दै जानुले यहाँका प्राचीन बस्ती एवं मौलिकता जोगाउने चिन्ता बढेको स्थानीयवासी बताउँछन् । दुई वर्षअघि मुस्ताङका लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर गरेको थियो । उपल्लो मुस्ताङका अधिकांश जनता दसैँपछि पोखरा झर्छन् । केही पालो गरेर गोठ कुरेर बस्छन् । केही जिम्बु, क्युरियोलगायतका सामग्री झोलामा हालेर जाडो छल्न पहाडतिर झर्ने गर्छन् । विद्यार्थी घुम्ती विद्यालयमा पढ्न पोखरा जाने गर्छन् । यहाँका नागरिकको जीवन र जीविका गहुँ, फापर, उवा, केराउ, साग, आलुलगायतसँग जोडिएको छ । चौँरी, भेँडाच्याङ्ग्रा, गाई, घोडा, हिमाली नागरिकका सुखदुःखका साथी हुन् । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने यी बस्तीमा पानी पर्दा अधिकांश घरमा क्षति पुगेको थियो । माटोको प्रयोगबाट निर्माण गरिएका घर, गुम्बा एवं बस्तीमा पानी पर्न थालेसँगै आगामी दिनमा यी संरचना कसरी जोगाउने भन्ने चिन्ता जगाएको छ । हिउँ नपरे पनि चिन्ता हुन्छ, बढी परे पनि नोक्सानै बनाउँछ । प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र तातो हुनु यहाँको विशिष्टता हो । पछिल्ला समयमा हिउँ पर्न छोडेर पानी पर्नेक्रम बढ्दा यी ऐतिहासिकस्थलको माटोसँग जोडिएको मौलिकता जोगाउने विषय यतिखेर सर्वत्र चासो बनेको छ । उपल्लो मुस्ताङका ल्होमान्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमीलगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा वर्षेनी खानेपानीको अभाव बढ्दै गएको स्थानीयवासी बताउँछन् । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई सात/आठ वर्षअघि पानीकै खोजीमा नमासुङ भन्ने गाउँमा स्थानान्तरण गरिएको थियो । ल्होमान्थाङ र आसपासका क्षेत्रमा प्राग ऐतिहासिक युगमा मानिसले विभिन्न ढुङ्गामा खोपेर बनाएका चित्रहरू पाउन सकिन्छ । पुरातत्व विभागले उपल्लो मुस्ताङका समर आसपासका स्थानमा ढुङ्गामा खोपिएका त्यस्ता चित्र संरक्षण पनि गर्दै आएको छ । पछिल्ला समयमा यहाँको पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्व विभागले चासो दिएको छ । ल्होमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा यसअघि नै राखिसकिएको छ । पहिले आफैँ विकास निर्माणको काम गर्ने लोमान्थाङवासी पछिल्लो समय सरकारसँग हात फैलाउन थालेका छन् । देश सङ्घीय संरचनामा गइसकेपछि गाउँगाउँमा सरकार बनेपछि उनीहरू सरकारको सहयोगको आशा गर्ने भएका हुन् । ऐतिहासिकस्थल भएर पनि यो क्षेत्र अझै पनि प्रवद्र्धनको पर्खाइमा रहेको ल्होमान्थाङ गाउँपालिकाका पूर्वध्यक्ष सुवर्ण विष्ट बताउँछन् । सरकारले उपल्लो मुस्ताङलाई चिन्न नसकेको बताउँदै उनले पछिल्ला समयमा स्थानीय पालिका एवं प्रदेशमार्फत सहयोग गर्न थालिए पनि उक्त सहयोग पर्याप्त हुन नसकेको बताए । ‘यहाँ पर्यटक लोभ्याउने र भुलाउने धेरै चीज छन् यसको प्रचारमा अझै कमी भएको छ’, उनले भने, ‘यो गाउँका बारेमा प्रचारप्रसार हुनसके पनि भने जस्तो विकास गर्नसके पर्यटकको ओइरो लाग्ने निश्चित छ ।’ स्थानीयवासी पेम्बा विष्टले उपल्लो मुस्ताङमा सरकारले विकासको पूर्वाधारमा ध्यान नदिएको बताउँछन् । ल्होमान्थाङमा बाटो, बिजुली, मोबाइल नेटवर्कलगायतमा समस्या रहेको उनले बताए । राज्यले ल्होमान्थाङलाई हेर्ने नजर फरक रहेको बताउँदै उनले भौगोलिक विकटता भए पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण ल्होमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घरहरू लगायतको संरक्षण एवं प्रवद्र्धनका लागि राज्यको आँखा जानुपर्ने बताए । रासस
बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा छलफल भएको हो । कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तररूपमा आयोजना गर्नुपर्ने विचार व्यक्त गरे । साथै, उनीहरूले बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणबाट निर्देशन दिइएको जानकारी दिए । यसैगरी, शुक्रबार नै नुवाकोटको सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई बीमा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरू तथा कक्षा १०, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस्तै, नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा बिहिबार आयोजना गरिएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि तथा कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, कृषकहरू लगायतको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई पनि समेट्ने र कृषि बीमाशूल्कमा गाउँपालिकाका तर्फबाट समेत अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले बीमा दाबीका लागि कागजात जुटाउन समस्या पर्ने गरेको र दाबी भुक्तानीमा पनि ढिलाई हुने गरेको उल्लेख गर्दै बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत र सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।
भिर छिचोलेर बागलुङको घुम्टे लेकमा पदमार्ग
गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् । कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । ‘चट्टाने भिरमा मजदुरले काम गरे’, उनले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ ।’ चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उनले सुनाए । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए । त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताए । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उनको भनाइ थियो । जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो । ‘भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएकोछ’, अध्यक्ष थापाले भने, ‘थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ ।’ अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उनले जानकारी दिए । गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो । अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ । त्यसका लागि थप ३० लाख बजेटको खाँचो छ । ‘बीचमा कतैबाट पनि बजेट आउन सकेन, झण्डै दुई वर्षजति पदमार्गको काम रोकियो”, उनले भने, ‘यो वर्ष प्रदेशबाट आएको पाँच लाख बजेटबाट तीन सय मिटर जति पदमार्ग बनिसकेको छ ।’ बाँकी खण्ड सजिलो ठाउँको भएकाले कम बजेटमा पनि धेरै काम गर्न सकिने भएको छ । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताए । ‘छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ’, अध्यक्ष थापाले भने । पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ । उक्त पदमार्गमा सङ्घ र प्रदेश सरकारको गरी हालसम्म ३५ लाख खर्च भइसकेको छ । भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो । उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले पर्यटन विकासका लागि पदमार्गसहित अरु पूर्वाधार पनि चाहिने बताए । ‘पदमार्ग बन्दैछ अब पर्यटक आकर्षित गर्ने खालका गतिविधि पनि सञ्चालन गरिनुपर्छ’, उनले भने, ‘पूर्वाधार बनाउनसके घुम्टेमा पर्यटक आउँछन् ।’ पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिए । एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ । बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । त्यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन् । घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ । वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ । यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ । गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पु¥याउन लगानी गरिरहेको छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ । हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे पुगिन्छ । गलकोट–१० पाण्डवखानी र ताराखोला–३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ । रासस
भिभोद्वारा नेपालमा वाई ०२ सार्वजनिक
काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले बताएको छ । वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम+३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन १२,४९९ रुपैयाँ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । वाई ०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू-कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । वाई ०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ । वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५००० एमएएच ब्याट्री, २ जीवी+३२ जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई ०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।’ शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री भिभो वाई ०२ मिडियाटेक पी २२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीवी र्याम+३२जीवी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् । उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम-ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन-प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई वृृद्धि गर्दछ । परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् । निर्विघ्न अनुभव नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई ०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ । – फेस वेकः भिभोको फेस वेक सुविधाले दु्रत गतिमा फोन अनलक गर्छ – मल्टि टर्बो ५.५ः भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ । यो उपकरण मेमोरी र सिपियूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरू एकैसाथ चलिरहेको बेला) इन्जिनियर गरिएको छ ।
साढे ८ करोड ठग्ने लालुपाते सहकारीका अध्यक्षलाई कारबाही गर्न निर्देशन
खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउन वा असुल उपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुल उपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुल उपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतमन प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो । कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेकाे निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुल उपरको प्रक्रिया अघि बढाउन भनिएको छ । साथै आवश्यक परे हिनाहिनाको मस्यौदामा दोषी भएका उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायतमन निर्देशन दिइएको छ । लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रू नौ करोड ११ लाख १७ हजार छ सय ७८ मध्ये सहकारी बैंकले धितो लिलाम गरेर ८० लाख असुल उपर गरेको थियो । यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुल उपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि बचतकर्ता रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरुको रू सात करोड बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आफूहरुको बचत रकम फिर्ता गर्न पटक-पटक माग गर्दा पनि सुनुवाइ नभएपछि सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवम् बचतकर्ता धनीराम नछुङले बताए । चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नारा/जुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । रासस
मालीबाट मालिक बनिन् ‘सनसरी’
वालिङ । विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झरिन् सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आइन् । बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाले । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । ‘नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ’, उनले भनिन्, ‘दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।’ खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उनी सम्झिन्छिन् । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रुपमा काम गर्न थालिन् । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरुको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो । कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्थिइन् । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झन्छिन् उनी । ‘बाटो हिँड्नेक्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें’, उनले भनिन्, ‘सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।’ मालीका रुपमा काम गर्न थालेकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उनले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गर्नुभयो र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गरिन् । नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिइन् । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन् । ‘पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें’, उनले भनिन्, ‘तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।’ सरसफाइमा झण्डै १५ वर्षजति काम गरेकी सनसरीले आठ/नौ वर्षदेखि सरसफाइसँगै मालीका रुपमा फूलबारीको स्याहारसुसार गर्छिन् । वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उहाँको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्छिन् । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उनले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाइन् । नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उनले वालिङ बजारमै २० लाख मूल्यमा चार आना घडेरी खरिद गरिन् । अहिले उनको तीनकोठे पक्की घर छ । उनकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गरेकी हुन् । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरु उनको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायतका कार्यका लागि फूलको मालाहरु उपलब्ध गराउँदै आएकी छिन् । वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यकपर्ने फूल काठमाडौं, पोखरा, बुटवललगायतका ठाउँबाट आउने गरेको उनले बताइन् । ‘फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न’ उनले भनिन्, ‘त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरु थप गर्ने तयारीमा छु ।’ वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उनी बताउँछिन् । चार्डपर्वका समयमा सयपत्री, मखमलीलगायतका फूल तथा मालामो माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आएकी छिन् । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उहाँको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उनले भनिन्, ‘कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदै छु ।’ आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उनी बताउँछिन् । जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उनको विश्वास छ । नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताए । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरु तथा विभिन्न प्रजातिका फूलहरुको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उनी अहिले पनि सम्झिन्छन् । ‘काठमाडौं, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो’, उनले भने । तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आउनुभएको हो । ‘स्मार्ट सिटी’को अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरु बाह्रै मासे फूलिरहेका हुन्छन् । फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उनलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउँछन् वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । ‘कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ’, उनले भने, ‘नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।’ उनको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानसमेत गरेको थियो । रासस