विकासन्युज

ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै

पथरी । पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि   ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए । आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको मोरङ पथरी शनिश्चरेका किसान प्रेम लिम्बूले बताए ।  ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधि नभएको र रोग लागेमा औषधि समेत नपाइने भएकाले खेती गर्न समस्या भएको झापा गौरीगञ्जका उपेन्द्र थापाको भनाइ छ । जमिन र बिरुवामा जति धेरै विषादी प्रयोग गर्यो त्यती नै रोग लाग्ने सुनसरीका किसान कृपासुर घलेले बताए । अहिले ड्रागनफ्रुटका बिरुवामा चार किसिमका रोगहरू देखा पर्न थालेका छन् । ‘माटो र बिरुवाको सुरक्षाका लागि गाईको गहुँत, गोबर र कुखुराको सुली प्रयोग गर्दा रोग लाग्दैन’, उनले भने । कार्यक्रममा ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट स्वास्थ्यका लागि फलदायक र लाभकारक हुने भएकाले खेतीमा धेरै सम्भावना भए पनि चुनौती थपिँदै गएको बताए । नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञ नभएको र सरकारसँग पनि माटो परीक्षणविधि नरहेका कारण किसान समस्यामा रहेको केन्द्रीय सदस्य वासु ढकालले बताए । नेपालमा ड्रागनफ्रुटमा बीमा नीति नभएका कारण सुरक्षाको प्रत्याभूति नरहेको ढकालको भनाइ छ । कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतीको चुनौती र खेती गर्ने विधिबारे सहजीकरण गरेका थिए भने बाबुराम निरौलाले माटो सुधारका विधिबारे जानकारी गराएका थिए । भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्यसमिति समेत गठन गरेको छ । एशोसिएशनको उपाध्यक्षमा सञ्जीव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यमा टेकनाथ पौडेल, कमला गुरुङ, रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी,   मनिस राई र उसा तामाङ छन् । भेलामा प्रदेश नं १ का ५० जना भन्दाबढी किसानको सहभागिता थियो । रासस

२४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

काठमाडौं । रियलमीले संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै छ । टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ । कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ । जसले उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस दुई सय ४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्ने बताइएको छ । रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबलसमेत ल्याउँदै छ । जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको रहेको कम्पनीको भनाइ छ ।

राष्ट्रपति पाएकै भरमा कांग्रेस सरकारमा जाँदैन : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । उनले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो, आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ, अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो’, उनले भने । कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उनको भनाइ थियो । उनले भने, ‘कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन । ‘

बालेनले भेटे गभर्नर, वित्तीय संस्थाको निरिक्षण बारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । सोमबार मेयर बालेन र गभर्नर अधिकारीबीच राष्ट्रिय सभागृह मेयर चेम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति, कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ  । छलफलमा आगामी दिनहरूमा महानगर र राष्ट्र बैंकबीच आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको पनि बताइएको छ ।

अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

झापा । झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् । भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताए । आफूहरुले उठाएका व्यावसायिक मागका बारेमा प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ । उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हुँदैआएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको उनले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो सङ्ख्या चार हजारका हाराहारीमा भएको उनको भनाइ छ । यस व्यवसायमा दिनानुदिन किसान पलानयन हुने क्रममा रहेको अध्यक्ष निरौला बताउँछन् । झापामा कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि अवैध रुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डा लगायतका उपभोग्य बस्तुको प्रभावकारी नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए । जिल्लाको दमक, विर्तामोड, भद्रपुर, कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय हुँदैआएका छन् ।

बाजेको सेकुवा र रोयल लाउञ्च कारवाहीमा, एक-एक लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एयरपोर्ट र तीनकुनेमा रहेको दुई रेष्टुरेन्टलाई नगद जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा विभागले एयरपोर्टस्थित बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याक्वेट एण्ड रेष्टुरेन्टलाई कारवाही स्वरूप १-१ लाख रुपैयाँ जरिवाना गरेको हो । ५ वर्षदेखि सञ्चालनमा आएको एयरपोर्टस्थित बाजेको सेकुवाले व्यवसाय दर्ता नगरेकाे हुँदा कारवाही गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए । यस्तै, व्यवसाय घरेलु तथा स्थानीय निकायमा दर्ता नभएको भेटेपछि तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टलाई नगद जरिवाना तिराएकाे हाे । ‘७ वर्षदेखि संचालनमा रहेको उक्त रेष्टुरेन्ट कम्पनी र प्यानमा रहेपनि घरेलु तथा स्थानीय तहमा दर्ता नभएको कारण नगद १ लाख रूपैयाँ जरिवाना गरिएको हो,’ उनले भने । विभागको अनुसार दुवै रेष्टुरेन्ट सात दिनभित्र जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ ।

नेत्रज्योति संघद्धारा नेपालगंजमा २८ सय बिद्यार्थिको निःशुल्क आँखा जाँच

काठमाडौं । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो । फुलटेक्रा माध्यामिक बिद्यालयका ४०० जना, महेन्द्र माध्यामिक बिद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका बिद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए । बिद्यालय बढ्ने बिद्यार्थिहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा बिद्यार्थिहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे छ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे हाे । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुठ्ठा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गरे । गाउँपालिकाका पशुस्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँपालिकाले कृषि बीमाशुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी दिए । साथै, उनले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना वापत लिने गरेको रकम बढी भएको र बीमाशुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी दिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शीरुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।