विकासन्युज

महालक्ष्मी विकास बैंकद्वारा आश्रमलाई भवन बनाउन आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । त्यस्तैगरि, बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पु¥याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो । यसका साथै, बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयका १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको जनाएको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकको लागि यो सुविधा बैंकका फागुन १५ गतेसम्म कायम रहने बैंकले जानकारी दिएको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ । यसका साथै, माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताले ० प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।

जसरी पनि सुकुम्वासी बस्ती हटाउने अडानमा बालेन, यसरी तुहियो पुनः डोजर चलाउने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाको ऐतिहासिक भौतिक र सांस्कृतिक पक्षको संरक्षण गर्दै व्यवस्थित बनाउने एजेन्डालाई मुख्य बनाएर निर्वाचन जितेका काठमाडौंका मेयर बालेन शाहले सुकुम्वासी बस्ती हटाउने विषयलाई केही महिनादेखि प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । गत मंसिर १२ गते काठमाडौं महानगरको प्रहरी परिचालन गरेर मेयर बालेनले थापाथलीमा रहेका सुकुम्वासी वस्ती हटाउने प्रयास गरेका थिए । सुकुम्वासीसँग मुठभेड भएर दुबैतर्फ घाइते भए, अवस्था तनावपूर्ण बन्यो तर, महानगर सुकुम्वासी बस्ती हटाउन सफल भएन । प्रयास असफल भएपछि सोही साँझ मेयर बालेन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सहयोग माग्न पुगेका थिए । प्रधानमन्त्री देउवाले मेयर बालेनलाई सहयोग गर्ने प्रतिवद्धता सहित गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन पनि दिएका थिए । तर, त्यसको भोलिपल्ट सुकुम्वासी बस्ती हटाउने महानगरको प्रयासमा भने प्रधानमन्त्री देउवाको प्रतिवद्धता अनुरुप मेयर बालेनले सहयोग पाएनन् । महानगरको आफ्नै तागतमा सुकुम्वासीलाई हटाउन नसकेपछि मेयर बालेनले राज्यको शक्तिकेन्द्रको सहायता लिएर सो कामलाई फत्ते गर्ने कोसिस गरिरहेका छन् । जसको लागि उनले राज्यको शक्तिकेन्द्र धाउन लागेका छन् । मेयर बालेनको उद्देश्यलाई सहयोग पुर्याउनेगरी आफ्नो समेत कार्यक्षेत्र भएको एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीका सुकुम्वासीलाई हटाउनको लागि मंसिर ५ गते सार्वजनिक सूचना जारी गरेर वस्ती खाली गर्न भनेको थियो । तर, महानगर र समितिको प्रयासबाट सुकुम्वासी बस्ती हटाउने कार्य तत्कालका लागि सफल हुन सकेन । सुकुम्वासी पक्षधर र मुख्य गरेर राजनीतिक वृतबाट बल प्रयोग गरेर सुकुम्वासी हटाउने कार्यको विरोध भयो । त्यस्तै राष्ट्रिय भूमि आयोगले पनि मंसिर १६ गते सूचना प्रकाशन गरेर लगत संकलन र प्रमाणिकरणको कार्य सम्पन्न नभएसम्मका लागि बस्ती हटाउने र उनीहरुलाई असुरक्षित हुने गरी काम नगर्न भन्यो । राष्ट्रिय भूमी आयोगले गत भदौ ९ गते महानगरभित्र रहेका भूमिहिन र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने सहमति गरेको थियो । सोही अनुसार आयोगले भदौ २९ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेर सुकुम्वासी तथा भूमिहिनहरुलाई ३५ दिनभित्र निवेदन दिन भनेको थियो । मंसिरमा भएको निर्वाचनको आचारसंहिता अनुरुप आयोगले सो अवधिभर लगत संकलन गर्ने रोकेको थियो । भूमि आयोगसँग सम्झौता गरेपनि मेयर बालेन भने आफ्नै ढंगले सुकुम्वासी वस्तीलाई खाली गर्न शक्तिकेन्द्र धाउन थाले । सोही अनुरुप मंसिरमा भएको निर्वाचन लगत्तै नयाँ सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा रवि लामिछाने आएपछि पुस १३ गते नै महानगरले थापाथलीको वस्ती हटाउन आवश्यक सहयोग गृहमन्त्रालयसँग माग गर्यो । तर, मन्त्रालयले घुमाउरो रुपमा प्रकृया मिचेर बस्ती हटाउन नसकिने जवाफ दियो । कतैबाट सहयोग नमिलेपछिको एक महिना मेयर बालेन सुकुम्वासी वस्ती हटाउने समय पर्खदै ब्याक भए । सोसँगै रवि लामिछाने गृहमन्त्री बनेपछि पटक–पटक कोसिस गरेका मेयर बालेन माघ १२ गते सिंहदरबारमा नै पुगेर उनीसँग भेटघाट गरे । उक्त भेटमा मेयर बालेनले सुकुम्वासी बस्ती हटाउने कार्यमा सहयोग माग गरेका थिए । मेयर बालेनको सहयोग प्रस्तावमा तत्कालीन गृहमन्त्री लामिछानेले कानूनसम्मत ढंगले सहयोग गर्न मन्त्रालय तयार भएको र पछि उत्पन्न हुन सक्ने परिस्थिति नहेरी एकैपटक सुकुम्वासी हटाउन नहुने सुझाव दिएका थिए तत्कालीन गृहमन्त्री लामिछानेलाई सर्वोच्चको आदेशले पदमुक्त गरिदियो भने उनले मेयर बालेनलाई आवश्यकता अनुसारको साथ दिने बचन पनि दिएका थिएनन् । सोही सुकुम्वासीको विषयलाई लिएर मेयर बालेन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष भेटघाट गरेका छन् । सो भेटमा पनि पछिल्ला गतिविधि र सुकुम्वासी समस्या समाधानका विषयमा द्विपक्षीय छलफल भएको महानगरले जनाएको छ । मेयर बालेनले सुकुम्वासी बस्ती हटाउने विषयलाई निकै प्राथमिकताका साथ लिइरहेको र त्यसकालागि गृहमन्त्रालयको सहयोग मागिरहेको महानगरका प्रवक्ता नवीन मानन्धर बताएका छन् । विकासन्युजसँग कुरा गर्दै उनले महानगरले मेयर बालेनले सुकुम्वासी हटाउने विषयलाई प्राथमिकतामा राखेको तर गृहमन्त्रालयको साथ नभएसम्म सम्भव नहुने बताए । त्यसपछि रोकियो डोजर चलाउने योजना महानगरले केही दिन अघि पुनः सुकुम्वासी बस्तीमा डोजर चलाउने योजना बनाएको थियो । गृह मन्त्रालयसँग सुरक्षा माग गरेर बस्तीमा डोजेर चलाउने योजना महानगरको थियो । सोही ध्येयका साथ मेयर बालेन लामिछानेलाई भेट्न पुगेका थिए । तर, अहिले नै साथ दिन सक्ने स्थिति नरहेको भन्ने प्रतिक्रिया पाएपछि उनी डोजर चलाउने योजनाबाट पछि हटेको बुझिएको छ । गत पुस महिनाको दोस्रो सातामा महानगरले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेको थियो । सुकुम्वासी बस्ती हटाउन गृहले सुरक्षा दिनेमा महानगर विश्वस्त भएपनि पछि साथ नदिएपछि महानगर पछि हटेको बुझिएको हो । महानगरको यो कार्यप्रति सुकुम्वासीसहित बृहत नागरिक आन्दोलनले पनि विरोध गर्दै आएका छन् । महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउने महानगरले जनाएको छ । तर, हालसम्म अगाडि बढेका योजनामा मेयर बालेन सफल भइरहेका छैनन् । उनले गरेको कामको विरोधमा आइतबार काठमाडौंमा विरोध समेत भएको थियो । उनी बनाउने भन्दा पनि भत्काउने काममा केन्द्रित भएको भन्दै उनको आलोचना समेत भइरहेको छ । सम्बन्धित सामग्री : बालेनका ५ कदम : चर्चा पाए, सफलता पाएनन्

नेशनल लाईफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तीन दिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ । ‘इण्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराको साथ संचालन गरिएको कन्फरेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । चालु आ।व।को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे ब्रिफिङ गरिएको थियो । सीइओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाँसिल गर्न सहयोग गर्न अनुरोध गरेका थिए ।  कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीज्यूले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तती दिएका थिए । यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् । सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सो अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे ।

अनलाइनबाट हुने औषधी किनबेचलाई नियमन गरौं : राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो बताएकी हुन् । ‘फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन् । उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् । ‘नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु हुँदैन, सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुन्छ,’ उनले भनिन् ।

१५ अंकले घट्यो सेयर बजार, प्राइम लाइफले सबैभन्दा बढी गुमायो

काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड रुपैयाँको गरेको छ । यस्तै, आज सबैभन्दा बढी आम्दानी आदर्श लघुवित्तले गर्दा प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी गुमाएको छ ।

बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ काे बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउँदै समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे । ‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो,’ मन्त्री पौडेलले भने । ‘ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, ट्रेड ब्योलेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ,’ उनले थपे । सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बनाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो । मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे । ‘गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छु, उनले भने, ‘यसले पैसा र युवा जनशक्ति दुवै पलायन भइरहेको छ ।’ उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायत्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए । उनले सो अवसरमा हाइड्रो इञ्जिनीयर स्व बलराम प्रधानले ऊर्जा क्षेत्रमा पु¥याउनुभएको योगदानको अनुशरण गर्न आग्रह गरे । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, रजिष्टार डा अच्यूत वाग्ले, स्कुल अफ साइन्सका डीन मनिष पोखरेललगायतले विश्वविद्यालयमा कार्यरत प्राध्यापक स्व प्रधानले ऊर्जा क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । नेपालका पहिलो सङ्गठित ल्यावका रुपमा विश्वविद्यालयमा स्थापित उक्त दुई तले ग्रीन हाइड्रोजन ल्याव भवन कूल दुई करोड ६८ लाख लागतमा निर्माण भएको हो । कूल लागतमध्ये ४५ लाख स्व प्रधानको परिवारले सहयोग गरेको हो । रासस