विकासन्युज

जहाजको इन्जिनमा आगो लागेपछि क्यानले रोक्यो श्री एयरलाइन्सका सबै उडान

फाइल फाेटाे काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । बिहीबार बसेको क्यान बैठकले अर्काे निर्णय शुक्रबारदेखि लागु हुनेगरी अर्काे निर्णय नहुँदासम्म श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गर्ने निर्णय गरेको हो । बिहीबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो । बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ । क्यानले यसअघि कर्मचारीलाई सेवासुविधा नदिएको भन्दै गुण एयरका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरिएको जहाज अझै सञ्चालन हुन सकेको छैन् ।

रित्तिए गाउँ, भरिए बजार

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला-ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ,’ उनले भने । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ । योसँगै पोखरा, काठमाडौं, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन् । ‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्,’ अध्यक्ष बुढामगरले भने । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन् । उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट-७ का विष्णु थापाले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् । रासस

नेपाल एसबिआई बैंकले एटिएम मेसिनसहित स्थीर सम्पत्ति बेच्दै

काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग (स्थीर) सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । बैंकको काठमाडौं महानगरपालिका २८ कमलादीमा रहेका पुराना सामान तथा स्थिर सम्पत्तिहरु जे जस्तो अबस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, वित्तीय संस्था, कम्पनी वा फर्महरुले बैंकको प्रधान कार्यालयको सामान्य सेवा विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकले एक थान ३२० केभीए साइलेन्ट डिजेल जेनेरटर, एक थान ट्रान्सफर्मर, एक÷एक थान एकाउन्ट ओपनिङ, डेबिट कार्ड प्रिन्टिङ र २ थान चेक डिपोजिट किओस्क र एटिएम मेसिन २ थान बिक्री गर्ने भएको हो । कति मुल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा स्पष्ट बुझिने गरी बोलपत्र पेश गर्नुपर्नेछ । खरिद गर्न चाहेको प्रत्येक सामानको छुट्टा–छुट्टै रकम अंकित गनुपर्नेछ र प्रत्येक सामानको छुट्टा छुट्टै रकम अंकित बोलपत्र पेश गर्न सकिनेछ ।

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, ३ अर्ब पूँजी पुर्याइने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते, आम्रपाली ब्याङ्क्वेट बालवाटार काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, अधिकृत पूँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

एक लघुवित्तले जम्मा गर्याे ३० प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लघुवित्तले बुक क्लोज गरेको दिन (माघ २ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन, साल्ट ट्रेडिङको ३९४.९ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साना किसान लघुवित्त, आशा लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पारेशन र सांग्रीला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी चार कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । साना किसान लघुवित्तको २६ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ८८८.१० रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । साल्ट ट्रडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले प्रतिकित्ता ३९४०.९१ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँमा अन्मित कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९४.९ रुपैयाँ घटेको हो , यस्तै, सांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३११.४२ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार बैंकको सेयर प्रतिकित्ता ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७५२.५० रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार लघुवित्तको प्रतिकित्ता ८६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

दुग्ध पदार्थको मूल्य लिटरमा १४ रूपैयाँ बढ्यो

काठमाडौं । दूग्ध पदार्थको उपभोक्ता मूल्य ह्वात्तै बढेको छ । दुध डेरीहरुले बिहीबारदेखि दुग्ध पदार्थको मूल्य बढाएका हुन् । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँ वृद्धि गरेका हुन् । यस्तै, निजी डेरीहरुको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँ वृद्धि गरेको हुन् । यस्तै, पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँ र घ्यूको प्रतिलिटर २०० रुपैयाँ बढेको छ । यसअघि दुध ८६ रुपैयाँ, दही १६५ रुपैयाँ, पनिर ७ सय रुपैयाँ र घ्यू १ हजार १ सय रुपैयाँ थियो । मूल्य बढेपछि दुध १ सय रुपैयाँ, दही १९० रुपैयाँ, पनिर ८४० रुपैयाँ र घ्यू १ हजार ३ सय रुपैयाँ पुगेको छ । गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । सोही अनुसार बिहीबार निजी डेरीहरुले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका हुन् ।

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्ता किन्न पाइने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले आज फागुन २६ गतदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेपश्चात आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा फागुन ३० गते र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयर प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।