मुक्तिनाथ विकास बैंकले तीन दिनभित्रै २ करोडसम्मको कर्जा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले मिस्ड कल गरी वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन ।
नेपाल रेमिटबाट पठाएको पैसा सिधै आइएमई पे वालेटमा
काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तीले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशियाले सर्वश्रेष्ठ बचत खाताको बीमा अन्तर्गत दियो १० लाख रुपैयाँ
काठमाडाैं । एनआईसी एशिया बैंकले घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत रकम भुक्तानी गरेकाे हाे । ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत ३ करोड, दुर्घटना बीमा वापत १ करोड ३० लाख र मेडिकल बीमा वापत ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
लक्ष्मी बैंकले धितोमा राखेका ४६ वटा मोटरसाइकल र स्कुटर बेच्दै
काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी बिक्री गरेर असुल गर्ने भएको हो । व्यास नगरपालिका तनहुँका ऋणी खड्गमाई मोटर्सका सञ्चालक राम कुमारले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । गोप्य सिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय दमौली, तनहुँमा दाखिला गर्नुपर्नेछ । ऋणी राम कुमार श्रेष्ठको नाममा रहेको व्यास नगरपालिकामा रहेको कित्ता नम्बर २१ को ८–१–०–० क्षेत्रफल भएको जग्गा र जमानतकर्ता कल्पना श्रेष्ठको नाममा रहेको कित्ता नम्बर १४१९ को ०–२–३–२ क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता रही ऋणी खड्गमाई मोटर्सले लिएका विभिन्न कम्पनीका मोरसाइकर र स्कुटर्सहरु बिक्रीमा राखिएको हो । यदि ७ दिनभित्रमा कर्जाको सम्पूर्ण साँवा ब्याज तथा हर्जना लगायतका अन्य दस्तुर चुक्ता गरेमा धितो फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ ।
प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्दै आइएमई लाइफ इन्स्योरेन्स
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १७६ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।
इम्पेरियल वर्ल्ड स्कुलले बनायाे ‘गणित पार्क’
सांकेतिक तस्विर काठमाडौं । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्रचार्यले पार्कको उद्घाटन गरिन् । पार्कमा विद्यार्थीहरुले गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न यो पार्कको भूमिका रहने अपेक्षा गरिएको छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै पार्कमा गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणितप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताइन् । उनले मन्त्रालयले हाल ‘स्टीम’ शिक्षाका सामग्री तयार पार्ने गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने बताइन् । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा पनि हुन आवश्यक रहेको बताइन् । अङ्ग्रेजी जानीनजानी बोल्ने गरिए पनि गणितको सिकाइ सोअनुसार नहुने भन्ने विषय महत्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टीम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् । रासस
नबिल सक्षम कर्जा : सस्तो ब्याजमा एक करोडसम्म ऋण, बीमा सुविधा पनि
काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्नेलगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकल ‘नबिल सक्षम कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी उक्त प्रडक्ट ल्याएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो । बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन तथा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी सक्षम कर्जा प्रडक्ट ल्याएको एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज कुमार बस्नेत बताउँछन् । उनका अनुसार यस प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्छ,’ उनले भने । बस्नेतका अनुसार यस प्रडक्ट मार्फत् कूल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ । नबिल बैंकको प्रडक्टले नयाँ तथा पुराना व्यवसायीको व्यवसाय थप फस्टाउने उनको भनाइ छ । नबिल सक्षम कर्जा मार्फत् ऋण लिने व्यवसायीहरुको धेरै रहेको उनले बताए । उनका अनुसार हालसम्म २ सयभन्दा बढीले नबिल सक्षम कर्जामार्फत् ऋण लिएका छन् । ‘नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म सीमा तोकिएको छ, हालसम्म २ सय लगानीकर्ताले नबिल सक्षम कर्जा लिएका छन्, कर्जा अवधि १० वर्ष हुन्छ,’ उनले भने । नबिल सक्षम कर्जा अन्य ऋण लिने प्रक्रिया जस्तै गरी लिन सकिन्छ । देशभरका नबिल बैंकका शाखाबाट नबिल सक्षम कर्जा लिन सकिने बस्नेत बताउँछन् । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको आधारमा कर्जा दिइरहेको उनले बताए । बैंकबाट कर्जा लिँदा घर, जग्गा, गाडी, स्टक धितो सुरक्षणमा राख्न मिल्ने उनले बताए । ‘नबिल सक्षम कर्जा लामो समय अवधिसम्मको लागि प्रयोग गर्न पाइन्छ, कर्जा लिनको लागि आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ, प्रक्रिया त्यति धेरै असहज छैन,’ उनले भने, ‘कुन प्रयोजनको लागि कर्जा लिन खोजिएको हो स्पष्ट खुलाउनुपर्छ, बैंकले अध्ययन गरेर प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँछ ।’ यो कर्जा सुविधा लिनका लागि धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाइनेछ । सहजै कर्जा सुविधासँगै निःशुल्क क्रेडिट कार्ड, एसएमएसमार्फत् निःशुल्क कारोकार अलर्ट, निःशुल्क मासिक बैंक स्टेटमेन्ट र नबिल केयरद्वारा घातक रोगको बीमा सुविधा प्रदान गर्नेछ ।
‘खेतबारीमा विद्यार्थी’ अभियान : नाफाको ७५ प्रतिशत विद्यार्थीलाई, बाँकी विद्यालयले लिने
गलेश्वर । शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौं,’ शिक्षालयका प्रमुख कँडेलले भने, ‘हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौं ।’ कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ । बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनाका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए । यस शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । ‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं,’ शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।’ विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् । ‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन,’ तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौं ।’ विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ आइएसइएजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भनिन्, ‘सानैदेखि घरमा बुबाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे, सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा खुशी छु ।’ ‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर हामीले आफ्नै छात्रबास निर्माण गर्यौं,’ शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौं । छात्रबासमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन ।’ रासस