प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवासुविधामा छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आईफोन र म्याकबुकका एसेसरिजमा २० प्रतिशतसम्म छुट पाउने छन् । बैंकका क्रेडिटकार्ड होल्डरलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ। प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ६० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि अन्तर बैंक ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो । राष्ट्र बैंकले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ माग गरेको छ । यस प्रक्रियाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थालाई ध्यानमा राखी बढी भएको मात्र रकम केन्द्रीय बैंकमा जम्मा गर्नेछन् । राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राखेको करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले सो रकम व्यवस्थापन गर्न निक्षेप संकलन जारी गरिएको हो । गत शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बढी तरलता रहेको र हाल करिब साढे ६ खर्ब बराबरको तरलता राष्ट्र बैंकमा रहेको जानकारी समेत दिइएको छ ।
अब सुन आयात गर्दा ५ लाख डलरसम्मको सटही सुविधा, यस्तो छ नयाँ नियम
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट सुनचाँदी आयात गर्दा ५ लाख डलरसम्मको सटही सुविधा दिने भएको छ । आइतबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई परिपत्र जारी गर्दै सटही सुविधाको सीमा बढाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्त्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ । यसअघि तीन लाख डलरको सीमा थियो । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, चांदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न व्यवस्था गर्दै सटही सुविधा प्रदान गर्न सकिने उल्लेख गरेको छ । राष्ट्र बैंकले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, बुंदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ यस्तै, सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्ने व्यवस्था गरिएको छ ।
स्मार्ट बत्तीसहित भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे
चितवन । कुनै समय कालोपत्रे सडक देख्न नारायणगढ बजार पुग्नुपर्ने भरतपुर अहिले सडक सञ्जालले भरिपूर्ण बनेको छ । अब महानगरका १ देखि २९ वडासम्म पुग्न ३० मिनेट छुट्याए पुग्ने अवस्था बनेको छ । भरतपुर महानगरपालिकामा पछिल्ला ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे भएका छन् । यी सडक ६ देखि १६ मिटर चौडाइसम्मका रहेका छन् । यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किलोमिटर सडक थप बनेका छन् । महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किलोमिटर सडक बनेको छ । यही गतिमा काम अघि बढे दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने अनुमान गरिएको छ । 'विकासको पहिलो आधार सडक नै हो,' दाहालले भनिन्, 'सडकले समय बचत गर्छ, यातायात खर्च घटाउँछ र अन्य विकासका आधारहरूलाई पनि जोड्छ ।' सडक निर्माणसँगै भरतपुर महानगरले हरियाली र सौन्दर्यीकरणमा पनि जोड दिएको छ । सडकको दायाँ–बायाँ वृक्षरोपण भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथजस्ता ठूला संरचनाहरू सङ्घीय सरकारको सहयोगमा निर्माण सम्पन्न भइसकेका छन् । संघीय बजेटमार्फत मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर लामो प्रचण्ड पथ बनेको छ भने महानगरको ८८ किलोमिटर लामो चक्रपथ पनि निर्माण हुँदैछ । यस्तै, सडक संरचनाको सौन्दर्यीकरणमा ध्यान दिँदै महानगरले हाल ८० किलोमिटर सडक क्षेत्रमा स्मार्ट बत्ती जडान गरिसकेको छ भने बाँकी १५० किलोमिटर सडक क्षेत्रमा पनि स्मार्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन
काठमाडौं । पोखरामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को कास्की जिल्ला तदर्थ समिति गठन भएको छ । समिति गठन कार्यक्रम नेशनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । गीता राणा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक समेत हुन् । तदर्थ समितिको अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । यस्तै उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा केसी र कोषाध्यक्षमा कमल थापा रहेका छन् । सदस्यमा अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खाली रहेका छन् । समितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष राणाले पदस्थापन गराउँदै सपथ ग्रहण गराइ प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकारले ल्याएको पूर्ण छात्रवृत्तिमा संशोधन आवश्यक रहेको बताइन् । उनले शिक्षक क्षमतावृद्धि, पाठ्यक्रम सुधार र नीति निर्माणमा केन्द्रबाट अघि बढाइरहेको कामको जानकारीसमेत गराएकी थिइन्। साथै, कम्पनीबाट गुठी जाने विद्यालयले फरफारक गरेर मात्र जानुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रम संयोजक तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले स्वागत मन्तव्य राखेका थिए। कास्कीका पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले एन प्याब्सन कास्कीको विगतदेखि वर्तमानसम्मका अनुभव सुनाउँदै बधाई ज्ञापन गरे। लेखनाथ पत्रकार मञ्चका अध्यक्ष बिष्णुहरि पौडेल, केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश समन्वय उपसमिति संयोजक कुमार भट्टराई, गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, लुम्बिनी प्रदेश समन्वय उपसमिति संयोजक सुबोध डाँगी, बागमती प्रदेश समन्वय उपसमिति संयोजक सुर्यबहादुर अधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा, पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको व्यवस्थापन केन्द्रिय उपसमिति संयोजक कमल रानाभाटले गरेका थिए। यसै क्रममा तनहुँ जिल्ला तदर्थ समितिका अध्यक्ष बिश्वेश्वर खनालले पनि शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा तनहुँ जिल्ला शाखाबाट उत्साहजनक उपस्थिति रहेको थियो । समितिका अध्यक्ष कोइरालाले आफ्ना प्रतिबद्धता र आगामी योजनासँग सम्बन्धित मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले गरेका थिए ।
निःसन्तान उपचारका लागि मापदण्ड जारी, डोनरको उमेर २० देखि ३५ वर्ष बीचको हुनुपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार ९आइभीएफ० सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् । यो मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ । मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए । उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो । उनले भने, ‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्यामात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रुपमा काम गर्ने छ ।’ डा. शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिनसक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्नसक्ने खतरा थियो,’ उनले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । भ्रुणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्नसक्ने व्यवस्था गरिएको छ । शुक्रकिट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।
नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । 'नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ', प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।
कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले रुपन्देहीको बुटवल, मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । श्रावण महिनाको अन्तिम सातादेखि स्वस्तिपूर्वक उद्घाटन गरी शाखा सञ्चालनमा आएको हो । बुटवल शाखामार्फत रुपन्देहीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका नजिकका जिल्लाका सर्वसाधारणले दोस्रो बजारमा नयाँ प्रविधिमार्फत सेयर कारोबार गर्न अझ सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए । कम्पनीले निकट भविष्यमा अन्य सम्भावित स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले दिए । उनका अनुसार, कम्पनीले आम सर्वसाधारणलाई सहज र पहुँचयोग्य बनाउँदै सेयर कारोबार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकलाई प्रविधिमैत्री ढंगले धितोपत्र ब्रोकरेज र निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष प्रदिप केसीले बताए ।