विकासन्युज

जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 'स्वस्थ जीवनका लागि जीवन बीमा' भन्ने मूल सन्देशसहित काठमाडौंसहित सातै प्रदेशमा प्रभातफेरी आयोजना गरिएको हो । जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै वार्षिकोत्सवलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गर्दै, प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने र जीवन बीमाको आवश्यकता तथा फाइदाबारे बुझाउने उद्देश्य राखिएको बताए ।

नेरुडे मिर्मिरे लघुवित्तका सीईओ भोजराज बस्यालको कार्यकाल थपेन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  बाट भोजराज बस्यालको कार्याकाल सकिएको छ । कम्पनीले उनको कार्यकाल थप नगर्ने निर्णय लिएको छ ।  २०८२ साउन मसान्तमा बस्यालको कार्यकाल सकिएको कम्पनीका सचिव तुलसीराम पाठकले जानकारी दिए । 

शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन्  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ ।  नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य कारण देखाउँदै रेग्मीले पद त्याग गरेका हुन् । उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । रेग्मीलाई २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो । सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ कार्यकारी अधिकृत कृष्ण दवाडीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । गत साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आगामी साधारणसभासम्मका लागि स्वतन्त्र सञ्चालक पदमा रहेर काम गर्नेछन् । यसअघि स्वतन्त्र सञ्चालक अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो । टण्डनको राजीनामा वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । त्यसपछि रिक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।

सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी

काठमाडौं । धेरै महिनादेखि नगद संकलन गरिरहेका विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले दोस्रो त्रैमासिकमा आफ्नो पोर्टफोलियोमा ठूलो परिवर्तन गरेका छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेले युनाइटेडहेल्थ ग्रुपमा १।६ अर्ब डलरको लगानी गरेको हो ।  ह्याथवेले यस बीमा कम्पनीका ५० लाख कित्ता सेयर खरिद गरेको हो । यो खबर बाहिर आएपछि युनाइटेडहेल्थको सेयर करिब १२ प्रतिशतले बढ्यो । तर बफेटको यस निर्णयलाई लिएर बजारमा आश्चर्य छाएको छ । यसको कारण के भने एक समय विश्वका शीर्ष कम्पनीमध्ये पर्ने युनाइटेडहेल्थको सेयर गत एक वर्षमा आफ्नो उच्चतम स्तरबाट ६० प्रतिशतसम्म घटिसकेको छ । हालैको केही समयदेखि युनाइटेडहेल्थको छवि कमजोर बन्दै गएको छ । न्याय विभागले कम्पनीविरुद्ध मेडिकेयर बिलिङसम्बन्धी अनुसन्धान गरिरहेको छ । यसबाहेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएका थिए र नाफासम्बन्धी धेरै चेतावनीहरूसमेत सार्वजनिक भएका थिए ।  यी सबैबीच पनि बफेटले यस कम्पनीमा ठूलो बाजी थापे‍का छन् । अब युनाइटेडहेल्थ बफेटको पोर्टफोलियोमा सामेल भएको १८औं ठूलो सेयर बनेको छ । शुक्रबार युनाइटेडहेल्थको सेयर ११.९८ प्रतिशतले बढेर बन्द भयो । यससँगै कम्पनीको बजार मूल्य (मार्केट क्याप) बढेर २७५.३३ अर्ब डलर पुगेको छ । एप्पलका सेयर बिक्री यसबीच बर्कशायरले एप्पलका करिब २ करोड सेयर बेचिसकेको छ । यसका कारण आईफोन निर्माता कम्पनीमा बर्कशायरको सेयर मूल्य ९.२ अर्ब डलरले घटेको छ । तर पनि बर्कशायरको पोर्टफोलियोमा एप्पल अझै शीर्ष स्थानमै छ ।  बफेटको कम्पनीले दोस्रो त्रैमासिकमा बैंक अफ अमेरिकाका २.६ करोड सेयर समेत बेचेको छ । अब यस बैंकमा कम्पनीको हिस्सेदारी करिब ८ प्रतिशत मात्रै बाँकी छ । साथै बर्कशायरले टी-मोबाइल यूएसमा गरेको १ अर्ब डलर बराबरको सम्पूर्ण लगानी पनि फिर्ता लिएको छ । यसरी बफेटले टेलिकम क्षेत्रबाट पूर्ण रूपमा हात झिकेका छन् । बर्कशायरले नुकोर (स्टिल कम्पनी) र होममेकर लेनारमा पनि लगानी गरेको छ भने डीआर हर्टनका सेयर बिक्री गरिसकेको छ । यसबाहेक बफेटको कम्पनीले लामर एडभर्टाइजिङ (आउटडोर विज्ञापन कम्पनी) र एलिजियन (सेक्युरिटी प्रडक्ट कम्पनी) मा पनि सानो हिस्सेदारी किनेको छ । बफेट यो महिनामा ९५ वर्षका हुनेछन् र वर्षको अन्त्यतिर बर्कशायरको सीईओ पदबाट अलग हुने तयारीमा छन् । जूनको अन्त्यसम्म बर्कशायरको सबैभन्दा ठूलो हिस्सेदारी भएका कम्पनीहरू एप्पल, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, कोका-कोला र शेवरान रहेका थिए । विश्वका सबैभन्दा सफल लगानीकर्तामध्ये एक बफेट मानिन्छन् ।  सन् १९६५ मा उनले बर्कशायर ह्याथवेमा नियन्त्रण लिएपछि यसलाई विश्वकै ठूलो लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । बफेट दीर्घकालीन लगानी रणनीतिका लागि चर्चित छन् । उनले प्रायः त्यस्ता कम्पनी रोज्छन् जसको व्यवसाय मोडेल स्थिर, ब्रान्ड बलियो र दीर्घकालीन आम्दानी सम्भावना उच्च हुन्छ । यही कारणले उनले कोकाकोला, अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा लगानी गर्दै आएका छन् । फोर्ब्सका अनुसार बफेट संसारका सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक हुन् । उनको नेटवर्थ १२० अर्ब डलरभन्दा बढी छ । उनले आफ्नो सम्पत्तिको ९० प्रतिशतभन्दा बढी परोपकारका लागि दान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उनी संसारकै धनी व्यक्तिहरूमध्ये भए पनि अत्यन्तै सादा जीवनशैलीका लागि चर्चित छन् । बफेट अझै पनि १९५८ मा ३१ हजार ५०० डलरमा किनेको आफ्नै पुरानो घरमै बस्छन् । उनलाई फास्ट–फूड, कोकाकोला र साधारण कार मन पर्छ ।

विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो, साढे १४ अर्बबाट कसरी झर्यो ९ अर्बमा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा एक अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणको अघिल्लो आर्थिक वर्षको तुलनामा सो नाफा घटेको हो ।  गत आव २०८१/८२ मा ९ अर्ब ७ करोड बराबर नाफा गरेको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा गरेको उल्लेख गरिएको छ ।  तर, नेपाल विद्युत प्राधिकरणबाट बाहिरिँदा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । उनले सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेका थिए । यस्ताे थियाे कुलमानले सार्वजनिक गरेकाे तथ्यांक आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । घिसिङले आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । तर, वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो आवमा १० अर्ब ५३ करोड रुपैयाँमात्रै नाफा गरेको देखाएका छन् ।  प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएपछि शाक्यले श्वेतपत्र पनि जारी गरेका थिए । उनले श्वेतपत्रमार्फत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाएका थिए ।  निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ४७ अर्ब सञ्चित नाफा र चालु आवको ६ महिनासम्म ११ अर्ब बढी नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको भए पनि शाक्यले भने प्राधिकरण नोक्सानमा रहेको तथ्यांक सार्वजनिक गरेका थिए ।  श्वेतपत्रमा आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख थियो भने गत आव २०८१/८२ को फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा रहेको श्वेतपत्रमा उल्लेख थियो ।   शाक्यले श्वेतपत्र मार्फत नै फागुनसम्म प्राधिकरण ९ अर्ब ४८ करोड रुपैयाँ खुद नाफामा रहेको देखाए पनि असार मसान्तसम्म भने ९ अर्ब ७ करोड रुपैयाँ मात्रै रहेको उल्लेख गरेका छन् । यसले उनी प्राधिकरणको नेतृत्वमा आएपछि नाफा झन घटेको बुझ्न सकिन्छ ।