अतिरिक्त शुल्क नलिन स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीअन्र्तगत पर्ने उपचार, औषधी, प्रयोगशाला, क्लिनिकल सेवा तथा सामाग्रीका नाममा थप शुल्क नलिन निर्देशन दिएको छ । आज (सोमबार) बोर्डले सूचना जारी गर्दै सो निर्देशन दिएको हो । बोर्डका अनुसार हाल कतिपय स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमाअन्तर्गतका औषधी र सामग्री स्टकमा नभएको भन्दै बिरामीलाई बाहिरबाट खरिद गर्न लगाउने र सो क्रममा अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो प्राप्त भएको पत्रमा उल्लेख गरेको छ । बोर्डले जारी गरेको पत्रमा सुसिवधा थैलीमा पर्ने वस्तु तथा सेवाका हकमा बीमाले तोकेको सहभुक्तानी बाहेक अतिरिक्त शुल्क लिनु बीमाको मापदण्डविपरीत उल्लेख गर्दै नलिनको लागि अनुरोध गरेको छ । यदि लिएको पाइएमा ‘स्वास्थ्य बीमा ऐन २०७४ को दफा ३२ तथा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ प्रथम संशोधन, २०८१’ अनुसार कारबाही हुने बोर्डले जनाएको छ ।
गभर्नरलाई कसैले पनि घर भाडामा दिन मानेनन्
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि घर भाडामा दिन कोही पनि घरबेटीहरू इच्छुक नभएकाे बुझिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकर्ताहरूले गभर्नर पौडलको निजी घरमा आगजनी गरेपछि राष्ट्र बैंकले उनका लागि घर भाडामा खोजिरहेको थियो । तर, ललितपुरका घरबेटीहरू उनलाई भाडामा घर दिन अनिच्छुक देखिएका हुन् । गत असोज १२ गते राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा दिन इच्छुकलाई आवेदन आह्वान गरेको थियो । घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीलाई राष्ट्र बैंकले आज असोज २७ गतेसम्म प्रस्ताव पेस गर्न भनिएको थियो । तर, यस अवधिमा कुनै पनि घरबेटीले घर भाडामा दिन इच्छा जाहेर नगरेपछि आवेदन दिने समय थपिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएकाे छ । ‘आज आवेदन दिने अन्तिम दिन थियो । तर, आवेदन नपरेपछि समय लम्ब्यायौं । एक/दुई जना बुझ्न आउनु भएको थियो । तर, आवेदन दिनु भएन । त्यसैले कात्तिक १६ गतेसम्म समय थप गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आजसम्म बुझ्न मात्रै आउनु भयाे । तर, आवेदन भने दिनु भएन ।’ राष्ट्र बैंकले भने दशैं-तिहार तथा छठ पर्वको बिदालाई मध्यनजर गरी घर भाडाका लागि आवेदन दिने म्याद थप गरिएको जानकारी दिएकाे छ । ‘चाडवाडको समयमा मान्छेहरू कोही विदेश, कोही कतै घुम्न जानु हुँदो रहेछ । कति मान्छेहरू विदेशमा भएका कारण पनि समय लागेको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कतिपयले विदेशबाट पनि सम्पर्क गर्नु भएको छ । विविध कारणले आवेदन परेन ।’ साथै गभर्नर सार्वजनिक तथा प्रतिष्ठित व्यक्ति भएकाले पनि घर दिन अनिच्छा गरेको हुन सक्ने राष्ट्र बैंकका ती उच्च अधिकारी बताउँछन् । ‘एक/दुई जनाले चासो भने लिनु भयो । फाँटमा आएर फर्म लिनु भयो । तर, आवेदन भने बुझाउनु भएन,’ ती अधिकारीले भने । राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो । घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । साथै २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । बीमा अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनसको माग गर्दै आएकोमा आफूले त्यसलाई सम्बोधन गर्न नसक्ने भएपछि विधानअनुसार नै राजीनामा दिएको सीईओ कर्णले विकासन्युजलाई जानकारी दिए । अभिकर्ताहरूले केही समयअघिदेखि बोनस, सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दै आएका थिए । हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर एवं पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव अम्बिका गौतमले बोनससम्बन्धी माग सम्बोधन गर्न नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएको बताइन् । सीईओले राजीनामा दिएसँगै अब अभिकर्तालाई गरेको व्यवहार, बीमितको बोनस दरमा सुधार आउने र सुशासन भएपछि बीमा कम्पनीले लय समात्ने उनको भनाइ छ ।
सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरू आन्दोलित
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरूको तलब १५ देखि २० हजार रुपैयाँ मात्रै तलबभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् । बिरामीहरूको असुविधाको लागि माफी माग्दै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ । उनले भनिन्, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’ नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ ।
नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्यो डेढ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ । कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ । कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ । ‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो । नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो । नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।
फोर्थिङ तिहार भाइब अभियान सुरु
काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको अधिकृत वितरकले तिहारको अवसरमा आकर्षक अफर सहितको विशेष अभियान फोर्थिङ तिहार भाइब सुरु गरेको छ। यो अफर असोज २७ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेमा विशेष पाउनेछन्। बुकिङमा आईफोन १७ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क रहेको छ । फोर्थिङ फ्राइडेले नेपाली ईभी बजारमा नयाँ स्तरको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ । ६४।४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहितको यो एसयूभीले डब्ल्यूएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटर सम्मको दायरा प्रदान गर्छ। कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङको शोरुममा आमन्त्रणसमेत गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, 'विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।' स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।
पूर्वसभामुख महराविरुद्ध साढे ८ करोडको बिगो माग गर्दै मुद्दा दर्ता, ३ वर्ष बढी कैद सजाय माग
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि सुन तस्करी प्रकरण मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्ष बढी अवधि कैद सजाय माग दाबी गरिएको छ। महरा आइतबार पक्राउ भएका थिए । के हो प्रकरण ? २०७९ पुस १० मा मा फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । सो सुटकेशमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको बुझिएको थियो । यो प्रकरणका महराका छोरा राहुल महरा पक्राउ भएर पनि कारागार चलान भएका थिए । सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको खुलेको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका महरा पटक–पटक पक्राउ हुँदै छुट्ने गरेका थिए ।