निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : डा. तुलाधर
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनु आवश्यक रहेको बताएकी छिन् । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिन् । आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।’ उनले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताइन् । आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ । पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ ।’ पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक रहेको बताउँदै उहाँले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गरिन् । उनले भनिन्, ‘पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न पाइने छैन । प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लङ्घनतर्फ सचेत रहनु जरुरी छ ।’ आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह सुझाव दिइन् ।
सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन
काठमाडौं । चितवनका मुख्य सडकमा हुने स-साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ । सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा ६ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । उनले भने, ‘सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालय अन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।’ प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी-एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उनको भनाइ छ । कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उनले बताए । ‘सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,’ उनले भने, ‘यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।’ अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउ समेत भएको कार्यालयको दाबी छ । हाल करिब १ हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उनले जानकारी दिए । कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उनले जिल्लाको नारायणगढ-मुग्लिन, नारायणगढ-लोथर, भरतपुर-माडी तथा भरतपुर-मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिए । यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उनले बताए । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उनको भनाइ छ ।
३४ उम्मेदवारलाई स्पष्टीकरण, २४ जनाले मात्रै बुझाए जवाफ
काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका मध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेका मध्ये २४ जनाले बुझाएपनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले आचारसंहिताको प्रभावकारी परि पालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताको लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ । जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ ।
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
नेपालमै पहिलोपटक ‘लाइट गेज स्टिल फ्रेम’ सार्वजनिक, अग्ला भवनहरू निर्माण गर्ने हुलास इन्फ्राको तयारी
काठमाडौं । पूर्वाधार निर्माणका क्षेत्रमा चिनिएको कम्पनी हुलास इन्फ्राले अत्याधुनिक र नवीनतम उत्पादनहरू प्रदर्शन गरिरहेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा विभिन्न उत्पादनहरू सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इम्तियाज अलीका अनुसार हुलास इन्फ्राले नेपालमै पहिलोपटक ‘लाइट गेज स्टिल फ्रेम’ प्रविधि भित्र्याएको छ । यो प्रविधि आधुनिक र सुरक्षित घर निर्माणका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यसका साथै सडक सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले ‘क्र्यास ब्यारियर’ र ’थ्रि बिम’ जस्ता महत्त्वपूर्ण उत्पादनहरू पनि प्रदर्शनीमा राखेको छ । हुलास इन्फ्राले काठमाडौंमा स्टिलका अग्ला भवनहरू निर्माण गर्ने तयारी थालेको छ । प्रदर्शनीमा यस्ता भवनहरूको नमुना समेत राखिएको छ, जसले आगन्तुकहरूको ध्यान तानिरहेको छ । कम्पनीले पछिल्लो समय सोलार माउन्ट स्ट्रक्चरको उत्पादन समेत सुरु गरिसकेको छ । यसबाहेक ट्रान्समिसन टावर, हाई मास्ट पोल, मोनोपोल, वेयरहाउस निर्माणका सामग्रीहरूका साथै उच्च गुणस्तरका प्रि-जीआई र जीआई पाइपहरू पनि कम्पनीका मुख्य उत्पादनमा पर्छन् । सीईओ अलीले यी अत्याधुनिक प्रविधि र उत्पादनहरूबारे प्रत्यक्ष जानकारी लिनका लागि निर्माण व्यवसायी, इन्जिनियर र सर्वसाधारणलाई स्टल नम्बर ३२ मा भ्रमण गर्न आग्रह गरेका छन् । नेपालको आफ्नै उत्पादन र नयाँ प्रविधिको प्रयोगले देशको पूर्वाधार विकासमा नयाँ आयाम थपिने विश्वास कम्पनीले लिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता रहेको छ । प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको छ ।
घरमै बसेर डिशहोम गोमा ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ हेर्न सकिने
काठमाडौं । डिशहोम गोले दर्शकहरूका लागि दुई नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ । प्रदर्शनका क्रममा सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ । नेपालभित्रका दर्शकहरूले यी चलचित्र प्रतिफिल्म २२५ रुपैयाँमा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले डिशहोम गोमार्फत ६.९९ अमेरिकी डलरमा मनोरञ्जन लिन सक्नेछन् । ‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो । जितु नेपाल, सम्राज्ञी आरएल शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यो रोमान्टिक कमेडी चलचित्रले हल प्रदर्शनका क्रममा दर्शकको राम्रो साथ पाएको थियो । सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस चलचित्र विशेषगरी पारिवारिक दर्शकबीच लोकप्रिय छ । त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको अभिनयले चलचित्रलाई प्रभावशाली बनाएको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस चलचित्रले भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो । डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली तथा अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने ओटीटी प्लेटफर्म हो । मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ ।
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी २४ लाख ९९ हजारमा पाइने
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा अफर सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजनाअन्तर्गत ग्राहकहरूले टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् । यसअघि २७ लाख ४९ हजार रुपैयाँ रहेको टियागो इभीको बजार मूल्य सीमित अवधिका लागि घटाएर २४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो अफर सबै नयाँ टियागो इभीमा लागू हुनेछ । नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन खोज्ने ग्राहकहरूका लागि यो योजना उत्कृष्ट अवसर हुने सिप्रदीको विश्वास छ । विशेषगरी सहरको भिडभाडमा सहज यात्रा र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता तथा नयाँ जोडीहरूबीच लोकप्रिय बन्दै गएको छ । टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा पुगेर यस अफरको लाभ लिन सक्नेछन् ।
राजनीतिक दललाई आर्थिक सुधारमा ध्यान दिन मोरङ उद्योग व्यापार संघको अनुरोध
काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आम निर्वाचन २०८२ का लागि दर्ता भएका राजनीतिक दलहरूलाई आफ्नो–आफ्नो घोषणा–पत्रमा संघले तयार पारेको १५ बुँदे आर्थिक सुधार एजेन्डा समावेश गर्न आग्रह गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संघले मुलुकको अर्थतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि हासिल गर्न यी एजेन्डाहरू आवश्यक रहेको उल्लेख गर्दै सबै दलहरूलाई अपील गरेको हो । संघका अनुसार हाल नेपालमा नीति अस्थिरता, खुला सीमा नाकाबाट हुने अवैध कारोबार, उच्च सरकारी खर्च, कमजोर प्रशासनिक प्रणाली तथा उद्योगमैत्री नीतिको अभावजस्ता समस्याका कारण अर्थतन्त्र गम्भीर दबाबमा परेको छ । यी समस्याको समाधान नगरेसम्म देशको आर्थिक पुनरुत्थान सम्भव नरहेको संघको ठहर छ । यही अवस्थालाई मध्यनजर गर्दै संघले हालसम्म दर्ता भएका करिब १३६ राजनीतिक दललाई आफ्नो घोषणा–पत्रमा आर्थिक सुधारसम्बन्धी एजेन्डा अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको हो । संघले प्रस्तुत गरेको १५ बुँदे एजेन्डामा कृषि उत्पादकत्व वृद्धि, सहुलियत दरमा मल, बीउविजन र आधुनिक औजारको उपलब्धता, पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने नीति, सीमावर्ती क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान सञ्चालन, अवैध कारोबार नियन्त्रण, स्वदेशी उद्योगको संरक्षण तथा प्रवर्द्धन, नियमित विद्युत आपूर्ति र विद्युत उत्पादन विस्तारजस्ता विषय समेटिएका छन् । यसैगरी निर्यात प्रवर्द्धनका लागि समुद्री बन्दरगाहसम्मको पहुँच सहज बनाउने, निर्यात अनुदान दिने, औद्योगिक कोरिडर विकास गर्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी स्थल निर्माण गर्ने, उद्योग व्यवसायको सुरक्षाका लागि कडा नीति लागू गर्ने लगायतका प्रस्ताव पनि एजेन्डामा समावेश छन् । एजेन्डामा करदाता व्यवसायीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, कर्मचारी सरुवा र नियुक्तिमा मेरिट प्रणाली लागू गर्ने, विकास निर्माणका काम समयमै सम्पन्न गर्ने, डिजिटल गभर्नेन्समार्फत सरकारी खर्च घटाउने तथा श्रम ऐनलाई उद्योगमैत्री बनाउने विषय पनि समेटिएका छन् । संघले यी आर्थिक सुधार एजेन्डा कार्यान्वयनमा ल्याएमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राजस्व संकलनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ । साथै, सरकार र राजनीतिक दलहरूसँग सहकार्य गर्दै देशको आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ ।