विकासन्युज

बोतल र जारको पानीको मूल्य तोकियो, बढी शुल्क लिएमा कारबाही गरिने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले आज एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौं उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानीको काठमाडौं उपत्यकाका लागि ४७ रुपैयाँ र उपत्यका बाहिरका लागि ६० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ । विभागले पानी बिक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

मूल्य वृद्धि १.८७ प्रतिशत, खाद्य समूहको १.३४ प्रतिशतले ऋणात्मक

काठमाडौं । गत भदौ महिनामा वार्षिक विन्दु गत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ ।  यस्तै, गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो । गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेँडागुडीको ३.५८ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९१ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९, मधेसको १.७४, बागमतीको १.७२, गण्डकीको १.४७, लुम्बिनीको १.७६, कर्णालीको १.८५ र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१, तराईको १.७०, पहाडको १.६८ र हिमालको २.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

सर्वोच्चमा नयाँ मुद्दा अगाडि बढाउने पहिलो दिन नै सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया सुरु भएसँगै मंगलबार चारवटा रिट निवेदन दर्ता भएका छन् ।  सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न सुरु गरेसँगै आज चारवटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए ।  उनका अनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ । पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै १० वटा मुद्दा आएको पनि बताए ।  यद्यपि ती मुद्दाहरू अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ । जेन–जनी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो।  उनले मंगलवार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको जानकारी दिए । उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो । तिहारपछि सर्वोच्चका सबै सेवाहरु भवनहरूबाटै सुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ । 

२ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका खरिदार भण्डारीमाथि विशेष अदालतमा मुद्दा

काठमाडौं । मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । यसअघि भण्डारीलाई काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस—७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय  मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।   

४९ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको दायरा

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत ४९.१९ प्रतिशतमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आउने जनसंख्या ७ प्रतिशतले बढेको छ ।  प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा बीमाको दायरामा समेटिएको जनसंख्या ४२.९२ प्रतिशत थियो । भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या २७.२२ प्रतिशतले वृद्धि भएको छ ।  तथ्यांकअनुसार गत आवको भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या ४९ लाख ३१ हजार ३१९ थियो । चालु आवको भदौसम्मममा सो संख्या बढेर ७५ लाख ४५ हजार ९३३ पुगेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या २०.२७ प्रतिशतले बढेर २५ लाख ९२ हजार ५५ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या २१ लाख ५५ हजार रहेको थियो । तथ्यांकअनुसार कुल सक्रिय जीवन बीमालेखको संख्या १५.६२ प्रतिशतले बढेर एक करोड ५९ लाख ३६ हजार पुगेको छ । गत आवको सोही अवधिमा कुल सक्रिय जीवन बीमालखेको संख्या एक करोड ३७ लाख ८४ हजार थियो । भदौसम्ममा कुल जारी जीवन बीमालेखको संख्या ११ लाख ९८ हजार ६४३ र कुल निर्जीवन बीमालेखको संख्या ४ लाख ९० हजार ३०७ पुगेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरूले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरूले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म प्रथम बीमाशुल्क २७.७७ प्रतिशतले बढेको हो । त्यस्तै, भदौसम्ममा कम्पनीहरूले २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् ।  गत आवको सोही अवधिमा कम्पनीहरूले २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।

२ महिनामा मोबाइल बैंकिङमा साढे ४ खर्ब रुपैयाँको कारोबार

काठमाडौं । २ महिनाको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ४ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा मोबाइल बैंकिङ अन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको भदौसम्ममा क्युआर कोड भुक्तानी अन्तर्गत ४ करोड १० लाख वटा कारोबार मार्फत १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ कारोबार भएका छन् । २ महिनाको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबार मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । 

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

जनकपुर । मधेस  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।  मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो ।  यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी बुधबारदेखि ललितपुरको जावलाखेलस्थित रामबाग महलमा सुरु हुँदैछ । तीन दिन चल्ने बैठकमा पार्टीभित्रको तयारीदेखि राष्ट्रिय राजनीति, संसद पुनःस्थापनाको रणनीति र आगामी महाधिवेशनका एजेन्डासम्म गहन छलफल हुने भएको छ । नेकपा एमालेले असोज २९ गतेबाट सुरु हुने १० औं केन्द्रीय कमिटी बैठकका सबै तयारी पूरा गरेको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक जावलाखेलको भनीमण्डलस्थित रामबाग महलमा तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ । बैठकको प्रारम्भमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थितिमाथि विस्तृत राजनीतिक प्रतिवेदन पेश गर्ने तय भएको गौतमले जानकारी दिए ।  गौतमका अनुसार उक्त प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, प्रधानमन्त्रीको संवादहीनता र निष्पक्ष निर्वाचनबारे बढ्दो शंका जस्ता विषयहरू समेटिएको छ । उनका अनुसार ओलीको प्रतिवेदनले हालको सत्तारूढ गठबन्धनको व्यवहार, शान्ति र स्थायित्वका चुनौती र नयाँ पुस्ताको आन्दोलनले ल्याएको राजनीतिक चेतनालाई समेत सम्बोधन गर्नेछ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका कार्यक्रमहरूमा अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ । प्रचार प्रमुख गौतमले भने, ‘बैठकले संविधान, लोकतान्त्रिक गणतन्त्र र सुधारमुखी शक्तिसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेन्डालाई सशक्त रूपमा अघि बढाउने निर्णय गर्नेछ ।’  उनका अनुसार बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो सुझाव राख्ने छन् र छलफलका क्रममा बिबिध प्रस्तावहरूमाथि निर्णय हुने कार्यसूची रहेको छ ।  जेनजी आन्दोलनपछि एमालेको यो पहिलो पूर्ण बैठक हुन लागेको हो । पार्टीभित्र नयाँ पुस्ताको भूमिका, संगठनात्मक पुनर्संरचना र आगामी चुनावी तयारीबारे समेत बैठकमा गम्भीर बहस हुने अनुमान गरिएको छ । एमाले नेतृत्वले यो बैठकलाई राजनीतिक दिशा निर्धारणको निर्णायक मोडका रूपमा लिएको छ । अध्यक्ष ओलीले बैठकमार्फत पार्टीलाई पुनःसङ्गठित गर्दै सरकारविरुद्ध प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउने सन्देश दिने तयारी गरेको बुझिएको छ ।