हेटौँडा-काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा
बागमती । हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ । उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो । अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
अमेरिकामै रहेको बेला उपसभामुखलाई हटाउने रणनीति, रास्वपाभित्र तरंग
काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगर अमेरिकामै रहेको बेला हटाउने तयारी गरेका छन् । प्रतिनिधि सभाकी उपसभामुख मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गरेर उनलाई हटाउने तयारी एमाले र कांग्रेसको छ । सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । दुवै दलले सो प्रस्तावका लागि हस्ताक्षर संकलन थालेका छन् । यति बेला उपसभामुख राना मगर भने अमेरिकामा रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार उनी साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बुझिएको छ । उपसभामुखलाई हटाउने चर्चा भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तरंग मच्चिएको छ । अहिले नेताहरू धमाधम पार्टी कार्यालयमा उपस्थित हुन थालेका छन् । पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्ने बाटोतर्फ लागेका हुन् । संवैधानिक परिषदमा बहुमत पुर्याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ ।
गौर नरसंहारको पुनः अनुसन्धान गरे निष्पक्ष सहयोग गर्छु : अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । सोही विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले अनुसन्धानमा सहयोग गर्ने बताए । उनले अदालतलाई आफूहरूले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको बताए । न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत यस विषयमा अनुसन्धान गरेर आफ्ना प्रतिवेदनहरू ल्याइसकेको उनको भनाइ छ । त्यही बेला नै मुद्दा अघि बढ्नसक्ने अवस्था नरहेको र करिब १९ वर्षपछि आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुनसक्ने अध्यक्ष यादवको जिकिर छ । तर अझै पनि फैसलाको पूर्णपाठ नआइकन मुद्दाबारे बोल्नु हतार हुने अध्यक्ष यादवले बताए । आफूहरू जनताको अधिकारको लागि लडेको व्यक्ति भएकाले आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । गौर नरसंहारमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए । मुद्दामा विपक्षी बनाइएकाले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका नाममा समेत सर्वोच्च अदालतले आदेश दिएको छ । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव गर्ने तयारी, सांसदकाे हस्ताक्षर संकलन
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गर्ने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारूढ दलहरूले मंगलबार नै उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् । सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भइसकेको छ भने कांग्रेस संसदीय दलको बैठक पनि केहीबेरमै सुरु हुँदैछ । बैठक आकस्मिक रूपमा बोलाइए पनि सांसदहरूलाई एजेन्डा भने खुलाइएको छैन । तर, एमालेका एक सांसदका अनुसार बैठकको मुख्य एजेन्डा उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोगको प्रस्ताव रहेको सुनाए । पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्नेबारे छलफल गर्न बैठक बोलाएको बताइएको हो । ती सांसदका अनुसार एमालेको संसदीय बैठकमा हस्ताक्षर संकलन पनि सुरु भइसकेको छ । अब कांग्रेसले पनि सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रक्रिया अगाडि बढाउने छ । सांसदहरूको हस्ताक्षर संकलन भएपछि संसदमा महाअभियोग प्रस्ताव गर्ने तयारी रहेको ती सांसदले बताए । संवैधानिक परिषद्मा बहुमत पु¥याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको एमएल र सीएफटी तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरण नियन्त्रण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुबास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिए । साथै, एमएल र सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशन र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश घोषणा
काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ। भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
युवाहरू वैदेशिक रोजगारीतर्फ, बैतडीमा उद्योग दर्ता घट्यो
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् । आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो । तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ । त्यसैगरी, आव २०८१/८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा एक सय ६३, २०८०/८१ मा एक सय ७३ र गत २०८१ र८२ मा ६३ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताए । आव २०७९/८० मा दुई सय ५१, आव २०८०/८१ मा दुई सय चार र गत आव २०८१/८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उनले बताए । तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए । सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए । त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ । रासस
एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ । वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ । यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं. इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ ।